प्रचण्डको शासन, रासनविनाको भाषण | Khabarhub Khabarhub

प्रचण्डको शासन, रासनविनाको भाषण



एकपटक सहरमा ठूलाबडाको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो। उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो- ‘मित्रहरु, म तपाईंहरु समक्ष भन्न चाहन्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ।’

यो कुरा आगोसरि फैलिएर प्रधानमन्त्रीको कानमा पुग्यो। उनले सिपाही लगाएर घिसार्दै आफन्तीलाई बादशाह अघिल्तिर हाजिर गराए। प्रधानमन्त्रीले आफूलाई निन्दा गरेको दोषारोपण गर्दै कडाभन्दा कडा सजायको माग गरे। रिसले चुर हुँदै आफन्तीलाई बादशाहले सोधे- ‘तिमीले प्रधानमन्त्रीभन्दा मेरो गधा नै बुद्धिमान छ भनेर कसरी भन्यौ ? तिमीसँग के प्रमाण छ ?’ ‘मसँग प्रमाण छ’ आफन्तीले जवाफ दियो- ‘एकचोटि म मेरो गधा चढेर पुलबाट जाँदै थिएँ।

कुनै जनावरको खुट्टा त्यस पुलको यौटा प्वालमा परेर झिक्न कठिन भएको रहेछ। मेरो गधाको प्रयासबाट त्यसले बल्ल बल्ल आफ्नो खुट्टा प्वालबाट झिक्न सफल भयो। यसको केही दिनपछि म फेरि त्यही पुलबाट जानु पर्यो। त्यसबेला के भयो भने मेरो गधा त्यो प्वालमा खुट्टा पर्ला भनेर होसियार भयो। तर सरकारको प्रधानमन्त्री कस्तो छ नजर गरिबक्स्योस। जनताले बिहानदेखि बेलुकासम्म ठग, बदमास, चोर भन्ने गर्छन। त्यही पनि उसले जनता ठग्ने, लुट्ने र दुःख दिने काम छोडेको छैन। सरकार के मेरो गधा यो प्रधानमन्त्रीभन्दा बुद्धिमान छैन र ?’ हा…हा..हा ठीक छ, ठीक छ। प्रधानमन्त्रीतिर हेरेर बादशाहले उर्दी जारी गरे- ‘आजदेखि तिमीले उसका गधाको अनुशरण गर्नू।’

केपी ओलीले नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री पदको जागिर कति निरीह बनेको छ भन्ने दृश्य चौथो पटक विश्वासको मत लिँदा संसदको माहोलले स्पष्ट गर्छ।

केपी ओलीले नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री पदको जागिर कति निरीह बनेको छ भन्ने दृश्य चौथो पटक विश्वासको मत लिँदा संसदको माहोलले स्पष्ट गर्छ। प्रतिशोध र दम्भमा गिरिजाप्रसाद कोइरालाको अवतार मानिने केपी ओली चरित्रको टेलरबाट नै चेतबाबाकाशी भएका प्रचण्ड अन्ततः त्यही ओख्लीमा मुन्टो राखेर सुरक्षित भएको अभिनय गर्न पुगेका छन्।

पहाडमुनिको सतहमा पुगेपछि ऊटले आफ्नो औकात थाहा पाएजस्तै केपीको संगतले बिक्नभन्दा टिक्नमा आफ्नो भलो हुने दीक्षाबाट प्रचण्ड ओतप्रोत छन्। सांगठनिक हिसाबले नै हेर्ने हो भने एमाले जालो हो भने माओवादी मूलतः बर्खेभेल। बर्खामा भेलको सौन्दर्य देखिए पनि बिजुली निकाल्न यसको काम आउँदैन।

प्रकारान्तरमा जहाजको कोपाइलट त के कपास बाँड्ने एयरहोस्टेज पाए पनि प्रचण्डका लागि स्वीकार्य छ। माओवादीका लागि भोलि पाउने मयूरभन्दा अहिले हातमा रहेको परेवा महत्त्वपूर्ण बन्दै गएको छ। माओवादीसँग सत्ताको सम्बन्ध कमण्डलु र जोगीको जस्तै हो। पछिल्लो भद्दा गठजोड बर्दीका खातिर नै हो।

वर्तमान शासन प्रणालीमा जुनसुकै व्यक्ति आविष्कार भए पनि परिणाम यही नै हो। जनता सुखी, मुलुक समृद्ध र राज्यप्रणाली सुशासनको यात्रामा अघि बढेको दृश्य प्रधानमन्त्रीको चश्माले मात्र देख्छ। अहिलेका लागि मानौं प्रचण्ड प्रधानमन्त्री हुनु नै नेपालीका लागि गौरव हो। यसमै कृतज्ञ हुनुमा सबैको भलो छ। मुलुकको गति नाप्ने यन्त्र भनेको तथ्यांक हो।

भावनाले शासन चल्दैन। घरमा भएका तीन पुस्तालाई हेरेर नीति निर्माण गर्ने हो भने त्यो जस्तो प्रभावशाली योजना खोज्न कतै भौंतारिनै पर्दैन।

भावनाले शासन चल्दैन। घरमा भएका तीन पुस्तालाई हेरेर नीति निर्माण गर्ने हो भने त्यो जस्तो प्रभावशाली योजना खोज्न कतै भौंतारिनै पर्दैन। उम्रेदेखि खुम्रेसम्मकाले बोकेको मोबाइलमा हालिने रिचार्ज कहाँबाट आउँछ ? किशोरकिशोरीले चढ्ने बाइकको तेल कुन आयश्रोतबाट भरिन्छ ? यसको पृष्ठभूमि खोज्ने कित्तिक्कै अर्थशास्त्रको चुरोमा स्वत पुग्न सकिन्छ। लाखौं किशोरकिशोरी बिहान १० बजे पढाइ सकेपछि दिनभर फेसबुकमा झुण्डिएर बस्छन्। यो ऊर्जावान जनशक्तिलाई ज्यालादारी नै सही, सरकार र निजीक्षेत्रका फ्रन्टडेस्क काम दिने हो भने ग्यारेन्टी दिएर भन्न सकिन्छ, त्यसपछि कुनै युवापुस्ता विदेश पलायन हुँदैन।

सत्ययुगमा रावणको कब्जाबाट नारीत्व बचाएर फर्किएकी सीता आफ्नै पति राजा भएको रामराज्यभित्र अग्निपरीक्षामा होमिनु परेको थियो। आलोचक भनिएको धोवी पात्र त एउटा निहुँ मात्र थियो। सत्ता र शक्तिको अहं कति विवेक शून्य हुन्छ भन्ने उदाहरणको तस्बिर त्यो बेलादेखि यो बेलासम्म आउँदा सक्कल बमोजिम नक्कल उस्तै छ। पोखरीमा माछाले हजारौं, लाखौं फूल पार्छ तर कसैलाई पत्तो हुन्न, यद्यपि कुखुराको पोथीले एउटा अण्डा पारेपछि बस्ती नै थर्काउँछ।

प्रधानमन्त्री दाहालप्रति अनास्था हैन तर माइक पाउनासाथ उहाँका हुँकार पनि कुखुरीको कोरकोराई भन्दा कम छैन्। प्रधानमन्त्रीले सूत्रवद्ध बोल्नुपर्छ। मन, मुटु, मस्तिष्क सन्तुलित बनाउनुपर्छ। आशा जगाउनुपर्छ। शास्त्रले भन्छ- चारै प्रहर जागा रहनुपर्छ। आश्चर्य त के छ भने देश चलाउने मुखियाका पदभन्दा प्रोफाइल नभएका मानिसबाट जनताको इच्छा अपेक्षा बढ्दो छ।

निजीक्षेत्र जस्तो सुक्सुकाउँदो सरकारी अस्पताल किन बनेन ? तीनवटा कोठामा निजी बैंकले दिएको सुविधा सरकारी बैंकले बंगला हुँदा पनि किन दिन सक्दैन ?

सामाजिक सञ्जालमा महत्त्व पाएका विषय राजनीति धर्म, मर्मलाई सोतर पार्ने खालका छन्। यस्तो अवस्थामा राजनीतिकर्मीलाई राजनीति र ओहोदाको वजन बढाउन सत्कर्मको जरुरी छ। निजीक्षेत्र जस्तो सुक्सुकाउँदो सरकारी अस्पताल किन बनेन ? तीनवटा कोठामा निजी बैंकले दिएको सुविधा सरकारी बैंकले बंगला हुँदा पनि किन दिन सक्दैन ? ठूला व्यापारीले उत्पादन गर्ने विस्कुट, चकलेट, चाउचाउ, मदिरा देशव्यापी हुन चौबीस घण्टा काफी छ। तर सरकारी संयन्त्रले दिने मलखाद, चामल, नून बरु कुहिन्छ, कुपोषणले मानिस मरेको समाचार आइपुग्दा समेत मुखमा सितो पुग्दैन।

एउटा गरिबले ज्यान जोखिममा राखेर जम्मा पारेको एकमुठी यार्सागुम्बा, ठूलो ओखती, चिराइतो, जुम्ला-हुम्लाको स्याउले गन्तव्य पुग्ने क्रममा देशका सबै कानुन आकर्षित हुन्छन्। भरसक उसलाई काठमाडौं झर्दा त्यो ‘अवैध’ माल बस्तु सहित पुलिस पत्रकार सम्मेलन गर्न हतारोमा पुगिसक्छ।

माओत्सेतुङका नाममा यहाँको राजनीतिमा किलो गाढेको माओवादीका नेता, कार्यकर्तालाई थाहा हुनुपर्ने हो, चीनमा व्यक्तिलाई बाघ पाल्ने अनुमति दिएको हुन्छ। सर्प पालिन्छ। यहाँ परिवर्तनका नाटक भए तर आफ्नो बारीमा हुर्काएको सालको बोट काट्दा ज्यान मारेको भन्दा ठूलो सजाय हुन्छ। मानिस अरबपति त भए तर उसले निजी विमान किनेर चढ्ने अधिकार आजका मितिसम्म कानुनले बन्देज लगाएको छ। जनतामारा यति कानुन छन्, जसको नामेट गर्ने हिम्मत कसैमा छैन।

सरकारी संयन्त्रको नेतृत्वमा भएका विकासप्रति कसैको भरोसा छैन। उपभोक्ताले किनेको माटाको सानो घैंटो पानी चुहुने भयो भने व्यापारीले आँखाको चालमा चालमा साट्छ। सरकारी कुर्सीमा बसेर गर्ने गल्तीका भागिदारको अवस्था के छ ? दुई वर्षअघि अख्तियारको कारवाहीमा परेर तारिख धाउने कर्मचारी दुई वर्षपछि अख्तियारको अब्बल अनुसन्धानकर्ता भएर थिति बसाउन तम्सिन्छ।

भन्सार, राजश्व, अध्यागमन, नापी, मालपोत यस्ता सुन्दर उपवन हुन, नोकरी गर्नेलाई दशैंमा आशिर्वाद दिँदा समेत यी ठाउँमा ‘सरुवा भएस’ भन्न बेर लाग्दैन। राजनीति गर्नेको काम खोसेर अरुले आफ्नो बनाएका छन्। कोही केपी ओली सतिसाल भनेर उफ्रिएका छन्। कसैले त्यही सतिसाललाई ढोडको लौरो देखेका छन्। सतिसाल र ढोडको भेद खुट्याउने मापन केही छैन।

भन्सार, राजश्व, अध्यागमन, नापी, मालपोत यस्ता सुन्दर उपवन हुन, नोकरी गर्नेलाई दशैंमा आशिर्वाद दिँदा समेत यी ठाउँमा ‘सरुवा भएस’ भन्न बेर लाग्दैन।

अतिवादको हावाले सबैलाई सोतर बनाएको छ। त्यसैले राजनीतिलाई आफ्नो स्वामित्वमा ल्याउनुस्। गाडी चलाउने चालक, ठेकेदारलाई ठेक्का, विद्यार्थी पुस्तक, कर्मचारी जनताको काम, पत्रकार लेखन र डाक्टरलाई बिरामीको उत्थानमा सीमित गरिदिनुस्। यिनीहरुको स्वधर्म यसैभित्र छ। यसका लागि सबै खाले ट्रेड युनियन, विद्यार्थी संगठन माटोमा मिलाइदिनुस्। फेसबुकले लाखौं पानी फोके सेलिब्रेटी जन्मिए। ती सबैलाई काम दिनुस्। अमूर्त र अनुत्पादक क्षेत्रमा दिइएका अरबौंका अनुदान हटाएर चामल बीस रुपियाँ र बोइलर कुखुराको मासु पचास रुपियाँ किलोमा उपलब्ध गराइदिनुस। क माने कलम हैन, क माने कर्म भनेर अन्तरचक्षुले घोकेका दिन विकास घोटाइरहन पर्दैन। दिनमा दुईछाक मासुभात खाएर निस्किएको त्यो जनशक्ति अमेरिका पठाउनुहुन्छ कि असन त्यसपछि गर्नुस गलफत्ती। अरुले तथास्तु गरेर देश समृद्ध भएको उदाहरण छैन। अर्काका देशमा कुदेको चुचे रेलको कथा भनेर यहाँ त्यो रेल गुड्दैन।

सपना देख्नुअघि यहाँका चुहेका घर टाल्न उत्प्रेरक भइदिनुस्। घरघरमा तीनपुस्ताको अघोषित लडाईंलाई साम्य पार्ने उपाय खोजिदिनुस्। हजुरबा पुस्ता घरलौरी अनाथ बनेको छ, तिनको मुहारमा हाँसो ल्याउन गाउँ गाउँमा सामाजिक क्लब बनाइदिनुस्। शिक्षा र स्वास्थ्य यति सरल र सहज होस् कि रातमाटे स्कुलमा पढ्नेहरुको बहुमत डाक्टरको दीक्षान्त समारोहमा देखियोस्। विदेशमा सीप, ज्ञान हासिल गरेका विज्ञलाई आकर्षक मान, सम्मान दिएर स्वदेशमा तान्नुस्। उम्दा प्रतिभालाई एक्काइसौं शताब्दीको विकास अवलोकन गर्न देश विदेश पठाउनुस्। भिजन पेपरका आधारमा मानिसलाई अवसर दिनुस्। कम्युनिस्ट, काँग्रेस हैन सबल, सक्षम जनशक्ति जन्माउनुस्।

कसैको मादल भ्वाङ पर्दैमा संसारबाट मादलको घिन्ताङ त किमार्थ हराउँदैन। माओवादीले भएजति सबै फेर्न खोजेकै हुन। आखिरमा उनीहरु आफू चाहिँ फेरिनुपर्यो।

मार्क्सवाद, लेनिनवाद, माओवादजस्ता घिउ नलाग्ने दर्शन घोकाएर अब एक्काइसौं शताब्दीमा खोलेफाँडो जुटाउने कल्पनासम्म पनि असभ्य कर्मभित्र पर्छ। कसैको मादल भ्वाङ पर्दैमा संसारबाट मादलको घिन्ताङ त किमार्थ हराउँदैन। माओवादीले भएजति सबै फेर्न खोजेकै हुन। आखिरमा उनीहरु आफू चाहिँ फेरिनुपर्यो।

दलदले भूमि सिंगापुरलाई हिराको डल्लोमा रुपान्तरण गर्ने लिक्वान कुनै सरकारी कागजमा दस्तखत गर्नु अघि यौटा प्रश्न गर्थे- ‘यो निर्णयले सिंगापुरलाई हित गर्छ कि अहित ?’ कर्मचारीले उपलब्धिको बेलिविस्तार लगाउँथे। त्यसपछि उनी आँखा चिम्लेर सही धस्काउँथे। देश बनाउनेले आफ्नो कर्मले जवाफ दिनुपर्छ। ट्याउँ ट्याउँ त पिँजडाको सुँगाले पनि बोल्छ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : ५३ बजे

रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका

रौतहट। रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा शनिबार एक जना

घट्यो मधेशको बजेट आकार, ४३ अर्ब ८९ करोड अनुमान (पूर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का

बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठ)

काठमाडौं– बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख

दिक्तेलमा साकेला उँभौलीको मैझारो

सारङ्गी र्‍याइँ–र्‍याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला

‘अपरेसन के’मार्फत पश्चिमा देशमा भारत बिरोधी अभियान चलेको खुलासा

भारत । पश्चिमा मुलुकमा भारतविरोधी प्रदर्शन गराउने योजनाको खुलासा भएको