मुकुम्लुङ यात्राको सामरिक सन्देश | Khabarhub Khabarhub

मुकुम्लुङ यात्राको सामरिक सन्देश



सर्वत्र जगजाहेर छ, करिब डेढ बर्षदेखि पूर्वमा प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको नेतृत्वमा प्रदेश नाम कोशी खारेज आन्दोलन विध्यमान छ। त्यस अघिदेखि नै श्री लिङ्खिम संयोजकत्वमा मुकुम्लुङ रक्षा संघर्ष समिति र खगेन्द्र फेम्बू संयोजकत्वमा केवलकार खारेज संघर्ष समिति आन्दोलनरत छन्।

हामीलाई जानकारी भएअनुसार मंसिर २०८० देखि ६ दर्जनको संख्यामा युवाहरु मुकुम्लुङ फेदीस्थित रुख कटान रोक्न तैनात छन्।

तर, २०८१ बैसाख ३१ गते राति केवलकारवाला कम्पनीले गुराँस, चाँप र लोटसल्लाका हजारौं रुखहरु फँडान गर्यो। तब मुकुम्लुङ रक्षा संघर्ष भौतिक भिडन्तमा बदलियो ।

उपरोक्त पृष्ठभूमिमा काठमाडौं-मुकुम्लुङ यात्रा संस्मरण स्वरुपमा यो आलेख लेखिएको छ।

यात्राको तयारी

प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिमा समग्र संघर्ष र विशेषत: ईलाम उपनिर्वाचन समीक्षा निमित्त भौतिक उपस्थितिको बैठकवारे छलफल चलिरहेको थियो।

अन्तत: २०८१ जेठ २० गते बसेको जुम बैठकले २०८१ असार १ र २ गते ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङमा संघर्ष समितिको बैठक बस्ने निर्णय लियो। जसबाट मुकुम्लुङमा जारी स्थानीयजनको नैसर्गिक आन्दोलनलाई सघाऊ पुर्याउन तथा उत्पन्न जटिल समस्याको शान्तिपूर्ण हल खोज्न सकियोस्।

पूजा र वृक्षारोपण योजना

प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको कार्यादेशमा गठित तेस्रो जनआन्दोलन तयारी समिति र पहिचानवादी मोर्चावीच सहकार्य बढाउँदै राजनीतिक शक्ति निर्माण लक्ष्यमा अघि बढ्नेवारे एक कार्यक्रम आयोजना गरियो।

काठमाडौंस्थित २०८१ जेठ २२ गते उक्त सहकार्य घोषणा लगत्तै बसेको छलफलमा जेठ ३१ र ३२ गते मुकुम्लुङमा आयोजित कार्यक्रमबारे सरसल्लाह चल्यो। राम मादेन, कृष्ण चोङ्बाङ, डा. महेन्द्र लावती, खगेन्द्र माखिम, सरु सिङगक, अशिम पालुङ्वा, चन्द्र मादेन, विराज आङ्देम्बे लगायत हामीवीचको छलफलबाट जेठ ३१ र ३२ को निम्न कार्यक्रममा सहभागी हुने सल्लाह गरियो:

१. पवित्र मुन्धुमीस्थलमा केवलकारवालाले रुख फँडान गरी अशुद्ध पारेको हुनाले सो स्थानमा क्षेमा पूजासहित व्यापक संख्यामा बिरुवा रोपण गर्ने । र,

२. मुकुम्लुङमा फेदाङमा, बिजुवा र सेवासावाद्वारा क्षेमायाचनासहित मौलिक पूजा कार्यव्यवस्था पुनर्स्थापना गर्ने।

बेलटार-तोपगाछी हुँदै मुकुम्लुङ

जेठ २७ गते हामी आफ्नै काम विशेषले काठमाडौंबाट उदयपुरको बेलटारतिर लाग्यौं। २८ गते बिहान पुगेर स्थानीय मनकुमार राई, होटल व्यवसायी प्रमोद राई, विश्व राईहरुसँग भेटघाट गरी इटहरी हुँदै तोपगाछी, झापातिर लाग्यौं।

डा. महेन्द्र लावती टोलीले एउटा स्कर्पियो गाडी व्यवस्था गरेको थियो। कृष्ण चोङ्बाङ र राम मादेनको तत्वावधानमा त्यस गाडीमा हामीलाई एउटा सिट निश्चित गरिएको थियो। २९ गते दिउँसो २ बजे साथीहरु काठमाडौंदेखि आइपुगे। चुलाचुलीमोडबाट उक्त गाडीमा हामी चढ्यौं।

काठमाडौंबाट आएका मित्र लिङ्देन बिर्तामोडमा ओर्लिए। अलिक मास्तिर दुईजना बहिनीहरु चढे। फिक्कल बजारमा पुगेर बास बस्यौं। लक्ष्य रह्यो- ईलाम बजार, राँके, फिदिम हुँदै फुङ्लिङतर्फको।

दिवङ्गत मन्त्री बिष्णु मादेनको घरमा

खरो चिन्हारीका दिवङ्गत मन्त्री बिष्णु मादेनका छोरा चन्द्र मादेन काठमाडौं टोलीमा थिए। उनकै माध्यमले बिष्णु मादेनको ऐतिहासिक घरमा पुगेर खाना खायौं। चन्द्रजीका दाजू-भाउजू घरमा रहेछन्। आदिवासी ढाँचाको स्वागत सत्कार प्राप्त गरियो।

३० गते बेलुका ठूलोफेदीमा

फुङ्लिङदेखि सुकेटार विमानस्थल हुँदै उकालो २२ किलोमिटर रहेछ, काफ्लेपाटीसम्म। भाडाको गाडीमा गएका हामी, त्यहाँबाट भने पैदल उकालो लाग्यौं। बुलुडाँडा पुग्दा साँझ पर्यो। सानो बजार रहेछ, तैपनि भोलिका निम्ति व्यापक संख्यामा रमझम् चलिरहेको थियो। संघर्ष समितिका साथीहरुसँग वार्तालाप र तातो चिया पिउँदै केही घण्टा बितायौं। सामुहिक खाना पकाउने कार्य चलिरहेको थियो। खाएर ढिलो गरी उकालो लाग्यौं।

रातको समय ठूलो फेदी पुगियो। नम्बर १ होटल नोगु थरका लिम्बूको रहेछ। बुवा घरतिर गएको हुँदा छोरीले होटल चलाइरहेकी रहिछन्। ती छोरी व्यवसाय सञ्चालनमा पोख्त देखिन्थिन्। हाम्रो टोली त्यहीँ होटलमा बस्यो।

३१ गते उज्यालो भयो। बाहिर निस्केर हेर्दा ठुलै बजार पो रहेछ फेदी त ! केही नास्ता गर्यौं र बिस्तारै उकालो लाग्यौं।

उकालोमा बाटैभरि देख्यौं, केवलकार माफियाहरुले मच्चाएको बिनासलीला । लालीगुराँस, चाँप, धुपी र लोटसल्लाको जंगल भयानक फँडानी गरेछन । जुन रुखहरु फाँडिए, तीमध्ये कतिपयको आयु हजार बर्ष भन्दा पुरानो बताउँथे जानकारहरु।

बामे सराइको हिँडाइमा फेदीदेखि मुकुम्लुङ पुग्न हामीलाई तीन घण्टा लाग्यो। जे होस्, जीवनमा प्रथमपटक मुकुम्लुङ पुगियो।

मुकुम्लुङको दर्शन

फाल्गुनन्द खण्डको तीर्थस्थलमा सेवा सावाको पूजा-अर्चना धुमधाम चल्दैथ्यो। साथी रामभक्त कुरुम्बाङ्ले माङ्हिमको वर्णन गरिरहेका थिए। करिब ४० मिनेटको वर्णन र अवलोकनपछि हामी पूर्वतर्फको खाली ठाउँमा गएर बस्यौं।

समुन्द्र सतहबाट ३ हजार ७९४ मिटर उच्चाइको मुकुम्लुङ्बाट दुई दर्जन साथीहरुसँग देशभर फोन सम्बाद गरियो। डाटाको वाइफाईले काम नदिएको हुँदा सामाजिक सञ्जालमा सन्देश लेख्नचाहिँ पाइएन। फेरि पनि उच्च स्थानमा पुग्दा विपश्यना विज्ञानको मन अत्यन्त प्रशन्न बन्यो।

केहीपछि मुकुम्लुङ खण्डमा फेदाङमा र बिजुवाहरुको पूजा-विधि धुमधाम सुरु भयो।

सेवा सावाहरु समेत त्यसमा सहभागी रहे। आफ्नै विशिष्ट पोशाकमा काँसको थाल बजाउँदै, काँप्दै काव्यिक शैलीमा मुन्धुम वर्णन गरिरहेका फेदाङमाहरुलाई देख्दा लाग्दथ्यो- यिनीहरु नै युमासाम-थेबासामका साक्षात प्रतिनिधिहरु हुन !

क्रमश: सभा सुरु भयो। धमाकेदार माइकबाट बोल्दै श्री लिङ्खिमले घोषणा वाचन गरे। भनियो : मुकुम्लुङको रक्षा गर्न अबोप्रान्त यहाँ फेदाङमा र सेवासावा नियुक्त गरिने छ र जस्तोसुकै संघर्ष लड्न तयार छौं । तर, केवलकार बन्न दिइने छैन।

प्रेम येक्तेन, निरन्ती तुम्बापो, पदम अधिकारी, डा. महेन्द्र लावतीलगायत वक्ताहरुद्वारा उक्त घोषणा कार्यान्वयनमा प्रतिवद्वताsf दृढ मन्तव्यहरु भए।

त्यसपछि मुकुम्लुङ थानको सय मिटर तल झरेर चिया-नास्ता गरियो, जुन संघर्ष समितिका युवा साथीहरुले उकालोमा बोकेर त्यहाँ पुर्याएका थिए। त्यसपछि बिरुवा रोपण कार्य आन्दोलनका रुपमा चल्यो। असार १५ गतेसम्म चल्ने बिरुवा रोपणको उदघाटन गरेर हामी ओरालो झर्यौं।

झर्दै गर्दा चुम्लुङ अध्यक्ष प्रेम येक्तेनले देखाएको च्याब्रुङ पार्कमा गएर तस्वीर अंकित गरायौं। विदेशमा रहेका याक्थुङ्हरुको आर्थिक सहयोगमा बनेको मुकुम्लुङस्थित यमानको च्याब्रुङ सम्भवत: पृथ्वीकै ठूलो च्याब्रुङ होला।

३२ गतेको कार्यक्रम

मुकुम्लुङ पुगेको खुशियालीमा करिब दुई दर्जन साथीभाइलाई फोन गरिएको थियो। त्यसमध्ये चन्द्र खाकीले “दाइले लेख नपठाएको धेरै भयो, सकेसम्म छिट्टै एउटा लेख पाउँ” भनेर आग्रह गरे। ३२ गते विहान कृष्ण चोङ्बाङ र महेन्द्र लावतीसँग समय मागेर आफू लेख्नतिर लागियो। अरु साथीहरु सबै बिरुवा रोपणमा फेरि उकालो चढे। हामीले मोटामोटीको लेख तयार गर्यौं र पठायौं। लगत्तै “मुकुम्लुङ: नव-उदार पुँजीवादी अतिक्रमण नरोके हिंसा भड्किन्छ” शीर्षक लेख दायित्वबोध डटकममा प्रकाशित भयो। सम्पादक चन्द्र खाकी स्वत: धन्यवादको हकदार बने।

दिउँसोतिर समुन्द्र सतहबाट ३,२०० मिटर उच्चाइमा, फेदी बजारमा दोस्रो सभा सुरु गरियो। यहाँ वक्ताहरु धेरैजना थियौं। बोल्ने क्रममा चुम्लुङ अध्यक्ष श्री प्रेम येक्तेनको आपत्ति थियो- फेदाङमाद्वारा हिजो स्थापित मुकुम्लुङको प्रतिमा-शिला र फाल्गुनन्दको शालिक हटाउने जुन धम्की लेखेका छौ, कथित विकास समितिका पदाधिकारीहरु, होसियार !

सार्वजानिक जानकारी भयो, पाथीभारा विकास समिति नामको गिरोहमा भर्ति भएका लम्पटहरुले सामाजिक सञ्जालमा त्यस्तो लेखेछन ! परन्तु, जागेको आदिवासी जनतासँग तिनले त्यसरी पौंठेजोरी खेल्न खोज्नु वस्तुत: पहरामा कुइँना ठोकाउनु मात्र हुनेछ।

प्रकृति, संस्कृति र इतिहास विरोधीहरुप्रति भारी आक्रोश पोख्दै हामी फुङ्लिङ बजारतर्फ झर्यौं।

प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको ताप्लेजुङ बैठक

असार १ र २ गते श्री खगेन्द्र फेम्बूको भव्यतम् होटल स्नो लियोपार्डमा बैठक बसियो। ०७९ फागुन १७ गते राति एमालेको प्रस्ताव तथा कांगेस-माओवादी केन्द्रको समर्थनमा डकैती शैलीमा प्रदेश नाम कोशी रातारात थोपरेपछि नै प्रतिरोध आन्दोलन निमित्त संयुक्त संघर्ष समिति खडा गरियो। ०७९ फागुन २७ गते इटहरीको भेलामा गठित संघर्ष समितिको ताप्लेजुङ बैठक नै आजसम्मको सर्वोच्च स्थानको बैठक हो। जसको अध्यक्षता श्री प्रेम येक्तेनले गरेका थिए।

जारी पहिचान र अधिकारको आन्दोलनलाई समानान्तर सत्ता अभ्यास आन्दोलनमा विकास गर्नेबारे अध्ययन तयारी जस्ता निर्णयहरु गर्दै सम्पन्न बैठकका निर्णयहरु प्रेस विज्ञप्ति मार्फत सार्वजानिक भइसकेकै छन्। हाम्रो अनुभूतिमा ताप्लेजुङ बैठकले निकै वस्तुपरक एवं सानदार हैसियत ग्रहण गरेको छ।

क्रान्तिकारी त्यही हो, जो इमानदार र वैज्ञानिक बन्न सक्दछ। संघर्ष समितिका जिम्मेवारहरु इमानदार र वैज्ञानिक बन्न सक्दा ताप्लेजुङ बैठकले इतिहासको कर्बट बदल्नेतर्फ दिशाबोध गरेको देखिन्छ।

अन्त्यमा,

मुकुम्लुङमा उच्च घनत्वको स्कुलिङ चलिरहेको छ। समकालीन नेपाली समाजमा यो नै पहिचान आन्दोलनको सर्वोत्तम स्कुलिङ हुनु पर्दछ।

मुकुम्लुङ्बाट खुवालुङ हुँदै ढोरपाटनका जुझारु स्कुलिङहरुको जिम्मेवार प्रवर्द्वनबाट नै राज्यविहीन आदिवासी तथा प्रगतिशीलजनले पहिचान र अधिकार हासिल गर्न सक्दछन्। र, यो पनि प्रष्ट देखिएको छ कि आदिवासी लिम्बूहरुको माग मुद्दा सम्बोधन गर्नुको सट्टा माफिया शासकहरु बलमिच्याइँ गर्दछन् भने सामरिक प्रतिरोध निश्चित छ। त्यसले कसलाई कहाँ पुर्याउने हो, भन्न सकिन्न। यही सन्देशद्वारा सिघ्रातिसिघ्र शान्तिपूर्ण समाधान यस आलेखको नेक अपेक्षा हो।

(गोपाल किराती पूर्वमन्त्री हुन्)

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : १८ बजे

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम

टोकियो – जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक

बंगलादेशमा हिंसा भड्किएपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौं । बङ्गलादेशमा विकसित पछिल्लो तनावपछि करिब ८०० जना नेपाली

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’

काठमाडौं – परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

तुलसीपुर – दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १०

खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको