युवालाई विदेशिन बाध्य बनाएपछि रोएर बस्नुको विकल्प छैन | Khabarhub Khabarhub

युवालाई विदेशिन बाध्य बनाएपछि रोएर बस्नुको विकल्प छैन



पछिल्लो समय बढ्दै गएको निराशाको उत्तर थाहा पाउन हामीले पहिलो कारणका रूपमा समाजको उत्पादन प्रणाली बुझ्नु पर्छ । समाजले के उत्पादन गर्छ, के गर्दैन ? त्यो रोजगारी उपलब्ध छ वा छैन भन्नेमा जोडिन्छ । अवसरहरू के छन्, के छैनन् भन्ने कुरासँग सम्बन्धित रहन्छ । त्यसलाई सरल भाषामा भन्दा नेपाली समाजमा बितेको ३०/४० वर्षदेखि नै रोजगारीका अवसर छैनन् । मानिसहरू जीवन प्रणाली परम्परागत खेतीबाटै चलाइरहेका छन् । तर हामी कोही पनि खेती गर्न रुचाउँदैनौँ ।

जमिनबाट, जंगलबाट, उत्पादन प्रणालीबाट र माटोबाट टाढा हुने प्रवृत्ति हामीमा विकास भएको छ । त्यसको विकल्पमा राज्यले रोजगारी उपलब्ध गराउन सकेको छैन ।

परम्परागत पेशामा हाम्रो रुचि छैन, त्यसबाट टाढा जन हामीलाई मन छ । तर, समाजले, बजारले, उत्पादन प्रणालीले र अर्थतन्त्रले हामीलाई त्यस खालको रोजगारी उपलब्ध गराउन सक्दैन ।

जति युवाहरू रोजगारीको उमेरमा प्रवेश गर्छन्, त्यसको दशांश पनि रोजगारी उपलब्ध छैन । त्यस कारण उनीहरूको सिंगो उत्पादनशील उमेर फजुल व्यतीत भइरहेको छ, धेरै युवा बेरोजगारीबाट ग्रस्त छन् । त्यो भौतिक धरातलीय यथार्थले उनीहरूलाई खास खालको मानसिक अवस्थामा पुर्‍याउँछ । अहिले पनि रोजगारी छैन, भोलि पनि हुने सम्भावना छैन ।

त्यसपछि छोराछोरीको पुस्तामा पनि रोजगारी उपलब्ध हुने सम्भावना छैन । यसले वितृष्णा बढाउँछ, मानिस सुखको खोजीतिर जान्छ । विकल्पमा जाँदा नेपालीहरू कुनै समय गाउँबाट सहर बसाइँ सरे । कुनै समय पहाडबाट मधेस झरे । त्यसले पनि अवसर नदिँदा अहिले भौँतारिएर विदेश हिँडेका छन् । यसैकारण वितृष्णा र निराशा बढिरहेको छ ।

यो सबै एक कोणबाट विश्वव्यापीकरण वा उदारवादको प्रभाव हो । हामीले खेती गरिराख्ने हाम्रो परम्परागत जीवनशैलीलाई विश्वव्यापीकरणले त्यति हस्तक्षेप पनि गर्दैन ।

त्यो हामीले धान्न सक्नुपर्थ्यो । तर विश्वव्यापीकरणले हामीलाई सहरी झिलिमिली, जागिरमुखी र सुखी जिन्दगीतिर तान्यो । हामीले दैनिक भनिरहेको विकसित देशको जीवनशैली कस्तो हुन्छ भन्ने हाम्रै मोबाइलमा ल्याएर देखाइदियो । त्यसले नै विदेशप्रतिको लालसा बढाइदियो । तर, त्यसले खेतीपाती गर्नै हुँदैन भन्ने तहसम्मको हस्तक्षेप त गरेका छैन । हामीले हाम्रो उत्पादनलाई बचाइरहन सकेनौँ ।

परम्परागत रूपमा हाम्रा उत्पादनका केही कुराहरूमा हामीले दक्षता हासिल गरेकै हो नि जस्तो : कि ढाकाका कपडा, खाडीका कपडा, करुवा निर्माण, उखुबाट सख्खर बनाउने कुरामा हामी चर्चित थियौँ । धान–चामल भारतमा निर्यात गर्थ्यौँ ।  आजभन्दा ३० वर्ष ४० वर्षअगाडि मधेसका बजारहरूमा अन्नको भण्डार हुन्थ्यो र त्यहाँ हरेक बुधबार र शनिबार बिक्री हुन्थ्यो ।

सबैबाट विमुख भएर हामी सबै कुरा आयात गर्ने र किन्ने मात्रै भयौँ । यसले बजारमा दिने केही भएन । त्यही कायम रहेको भए समाज उन्नति र प्रगतितिर जान्थ्यो ।  बजारमा पैसा मात्रै दिने, उत्पादन नदिने, सबै बजारमा भर पर्ने भयो । बजार पनि आयातित मात्रै भयो । त्यसले गर्दा सम्भावित बचत पनि बाहिर गयो । आशा पनि बाहिर गयो । कुकरको सिट्ठीबाट बाफ निस्किए जस्तो हाम्रो आशा–भरोसा सम्भावना बजारमार्फत बाहिर गयो ।

यो समाजलाई एक त हामी आफैँले बिगार्‍यौँ । त्यसपछि सरकारले पनि अवसर जुटाइदिनु पर्ने थियो, त्यो भएन । उद्यमी व्यवसायीले यहीँ रोजगारी सिर्जना गराइदिनु पर्ने थियो ।यहाँ पुँजी पनि उत्पादन भइरहेको छ तर त्यो पुँजी यहीँ सञ्चालन र लगानी गर्ने वातावरण सरकारले बनाइदिएको भए राम्रो हुन्थ्यो ।

हामी बाहिरका कोकोकोला र पेप्सी पिउँछौँ,  त्यस खर्च भएजस्तै हाम्रो पैसा बाहिर उडेर गयो । मही–दहीले बजार पाएन भनेर खोलामा फाल्छौँ । हामी कम्प्युटर किन्छौँ, त्यो पैसा बाहिर जान्छ । केएफसी खान्छौँ, त्यो ब्राजिलमा पुग्छ । हाम्रो हरेक घुट्कीमा, चुस्कीमा लवाइ, खवाइमा पैसा बाहिर पठाउने काम मात्रै गरिराखेका छौँ । त्यसको मूल कारण कृषिमा जोडिन्छ । यो सबै गरे पनि कृषिमा उत्पादन गरिरहेको भए राम्रै हुन्थ्यो । यसमा दोष पहिलो आफू, दोस्रो  बजार, व्यवसायी र निजी क्षेत्र तथा अन्तिम दोष सरकारलाई जान्छ ।

युवा पलायन अहिले कहाली लाग्दो छ । यही हिसाबले जाँदा पछाडिको समय झनै कहाली लाग्दो हुन्छ । हामीले धेरै कुरा निर्यात गर्न सक्थ्यौँ, तर केही पनि निर्यात गर्न सकेनौँ, सकेको त्यही युवा श्रम निर्यात हो ।

अहिले त धेरै युवालाई बाहिर पठाउन सक्नु नै मन्त्रीको सफलता भएको छ । अनि उत्पादन गर्न सक्ने आर्थिक रूपमा सक्रिय जनसङ्ख्यालाई बढीभन्दा बढी बाहिर पठाइसकेपछि राई माहिलाले गाउँ छोड्यो रे, भनेर गीत गाउँदै रोएर बस्नुको विकल्प छैन ।

यही मानव स्रोत निर्यात पनि एक ठाउँमा पुगेपछि वा विश्व बजारमा संकट देखिए युवाहरू फर्केर आउँछन् । कोभिड कालमा त्यस्तै भएको थियो । हामीले फेरि अर्को संकट सामना गर्नु पर्छ । त्यसबेला हामीसँग रहने भनेको अलिअलि पर्यटनको सम्भावना र थोरै जलस्रोतको हो । तर ती सम्भावनालाई यति लामो समयसम्म उपयोग गर्न नसकेपछि अब गरिहाल्छौँ भन्ने परिकल्पना पनि हावादारी हो ।

विकासका पूर्वाधार कत्तिको विकास गरिराखेका छौँ भन्ने कुरा गर्दा बर्खा लाग्दै मेलम्ची बन्द भएको देखेकै छौँ । यत्रो वर्षदेखि अर्बौँ लगानीको आयोजना बाढीबाट प्रभावित हुन सक्छ भन्ने कुराको परिकल्पना गरिएन । योजनाकार, इन्जिनियर र विशेषज्ञहरूले त्यसको विश्लेषण गर्न सक्नु भएको रहेनछ । त्यस कारण आश गर्ने ठाउँमा भनेको नेपालको प्राकृतिक श्रोत नै हो ।

त्यही श्रोत पनि सही सदुपयोगका लागि अब नाति पुस्ताले भिजन ल्याएर आउनु प¥यो । हजुरबुबारूले अवसर पाइएन भनेर बस्नुभन्दा भिजन ल्याउन सकिन्थ्यो नि ।

हामी आयौँ भने यसो गर्छ भनेर देशलाई आशा र सम्भावना देखाउने बजेट विनियोजित गर्न उत्प्रेरणा दिनु पर्थ्यो । छोरा–नाति पुस्ता पनि गफै बेचेर खाने त भए नि ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा पुस्ता छ, त्यसको पनि नयाँ सोच अवधारणा पनि छ । तर नेतृत्व भने सत्तामै लिप्त भएर खान पाइन्छ भन्नेमा देखियो । उनीहरूमा म मात्रै विकल्प भन्ने भावना देखियो ।

संघीयताका केही पाटाहरू छन् । एउटा त अवसर र पहुँच हो । त्यो सकेको तहसम्म जनताको घरदैलोमा पुर्‍याउने हो । स्थानीय सरकारका नाममा पालिकाहरूको उपस्थितिले केही हदसम्म पुगेको छ । त्यहाँ धेरै निराश हुनुपर्ने अवस्था छैन । पञ्चायतहरूभन्दा पालिका धेरै बलिया र शक्तिशाली भएर जनताको काम गर्ने भएका छन् । पहुँच रूपान्तरण तल्लो तहको सरकारसम्म भइरहेको छ । त्यो बढाउन त केही आवश्यक छ ।

संघीय र प्रादेशिक सरकारमा समस्या देखिएको छ । स्थानीय तहमा जुन दलको मेयर–उपमेयर र वडा सदस्य आए पनि तत्काल जनतासँग काम गर्नुपर्ने हुनाले उनीहरू बरालिने स्थिति रहँदैन । कसैले भ्रष्टाचार गर्‍यो भने भोलि या पर्सि सबैको माझमा आउँछ । उनीहरूले कान समातेर माफी माग्नुपर्ने स्थिति हुन्छ । संघीय सरकारमा रूपान्तरण आउन नै सकेन ।

संघीय सरकार पहिलेको ढाँचा र शैलीमै चल्न चाहे । आफ्नो अधिकार र स्रोत विनियोजनतिर कुनै सरकारले चासो देखाएनन् । यो तहमा स्रोत र शक्तिको विनियोजन केन्द्रबाट प्रदेशमा र प्रदेशबाट स्थानीय तहमा हुने भन्दा बढी हुँदैन । यो संघीयताले जे दिन्छ भन्ने हामीले राखेका अपेक्षाअनुसार त राम्रो भएको छ, तर जुन तहमा यसले आशा जगाउन सक्थ्यो त्यो अनुसार जगाउन सकेन ।

यसको सीमा भनेको जनताले हरेक दललाई अवसर दिन्छन् । संघीय सरकारमा जाने सबैबाट गफ मात्रै हुन्छ । केही हुँदैन । त्यसैले सरकार ६ महिना पनि टिक्दैन । राजनीतिक अस्थिरताले निराशातिर लगेको छ हामीलाई ।

समाजशास्त्री प्रा.डा.युवराज लुइँटेलले राखेको धारणाको सम्पादित अंश :

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ४० बजे

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर – कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी  

धरान – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको