ब्रेकिङ स्टोरी

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ को अवस्था गम्भीर, पाँच जनालाई सडकमा निकालियो

By खबरहब

August 23, 2024

काठमाडौं– तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये पाँच जनालाई सडकमा निकालिएकाे छ ।

बेनीटार प्रहरी चेकपोष्टबाट दुर्घटनास्थलमा उद्धारमा खटिएका प्रहरी हवलदार ईश्वर थापाका अनुसार तीनजना महिला र दुई पुरुषलाई अचेत अवस्थामा डोरीको सहायताले सडकमा ल्याइएको हाे ।

सडकबाट करिब १५० मिटर तल बस खसेकाले यात्रुको उद्धारमा कठिनाइ भएको उनले बनाए । उनका अनुसार १४ जना यात्रुको अवस्था गम्भीर छ ।

बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । बस रहेको स्थानबाट सडकसम्म उक्लन निकै कठिन रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले एक पटकमा एक यात्रुलाई बोकेर ल्याइरहेका छन्‌ ।

घटनास्थलमा ट्राभल एजेन्सीका प्रतिनिधि आइपुगेका छन् । उनले बसमा ३९ जना यात्रु रहेका बताएका छन्‌ । हराएका यात्रु खोजी गर्न गोताखोर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।