आर्थिक

अर्थसंक्षेप : कर्नरिङको दलदलमा फस्यो शेयर बजार, भैँसी बेचेर च्याऊ खेती

By खबरहब

August 23, 2024

काठमाडौं- नेपालको शेयर बजार कर्नरिङको दलदलमा फसेको छ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शेयर बजारमा प्रवेश गर्न वा संगठित संस्थाको शेयर खरिद बिक्रीमा सहभागी हुन अभौतिकीकरण अर्थात् डि–म्याट खाता अनिवार्य छ ।

त्यस्तै, प्रहरीले ठूलो परिमाणमा धरानबाट गाँजा बरामद गरेको छ । धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो । यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रील तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरेकी छन् । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु :

कर्नरिङको दलदलमा फस्यो नेपालको शेयर बजार !

२०८१ साउन २१ गते सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चार वटा कम्पनीको नाम लिँदै प्रतिशेयर नेटवर्थ कम भएको, तर शेयर मूल्य अस्वाभाविक तरिकाले बढाइएको भन्दै सभामुख र सरकारको ध्यानाकर्षण गराए ।

त्यसरी अस्वाभाविक शेयर मूल्य बढ्नुको कारण देखाउँदै सिंहले भने– ‘अनलाइन क्लब हाउसबाट जनतालाई गुहराहमा पारिन्छ, सोसल मिडियाबाट प्रोपोगान्डा र कर्नरिङ (बजार घटाउन वा बढाउन मिलेमतोमा शेयर खरिद–बिक्री गर्ने काम) गर्छ ।’  सामाजिक सञ्जाल फेसबुकमा शेयरबजार केन्द्रित नाम राखेर खोलिएका ग्रुपहरू हेर्दा सिंहले भनेका कुरा सत्य सावित हुन्छ । सांसद सिंहले भनेजस्तै शेयरको मूल्य बढाउन सामाजिक सञ्चालमा कानूनलाई चुनौती दिँदै दिनहुँ प्रोपोगाण्डा हुने गरेको छ ।

‘कुनै स्टकमा झट्का लगाएर सर्किट लगाउनुपर्‍यो भने हामीलाई सम्पर्क गर्नुहोला ।’ यो पोस्ट साउन २५ गते शुक्रबार शेयर मार्केट (शेयर बजारमा चासो राख्नेहरूको समूह) नामक फेसबुक ग्रुपमा ‘बुल हिटर’ नामक फेसबुक आइडीबाट भएको पोष्ट हो ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

डि–म्याट खाता भनेको के हो ?

शेयर बजारमा प्रवेश गर्न वा संगठित संस्थाको शेयर खरिद बिक्रीमा सहभागी हुन अभौतिकीकरण अर्थात् डि–म्याट खाता अनिवार्य छ । कुनै संगठित संस्थाको शेयर खरिद गरेर त्यसलाई विद्युतीय रूपमा सुरक्षित गर्न यस्तो खाताको आवश्यकता पर्छ ।

डि–म्याट खाता त्यस्तो खाता हो जसमा लगानीकर्ताहरूले आफ्नो शेयरलाई अभौतिक रूपमा राख्न सक्छन् । परिभाषाको हिसाबले हेर्दा विभिन्न संगठित संस्था अथवा कम्पनीले आफ्ना शेयरधनीहरूले धारण गरेको शेयरलाई विद्युतीय रूपमा भण्डार गर्न तयार गरिएको खातालाई डि–म्याट खाता भनिन्छ । डिम्याट गर्नु भनेको भौतिक वा कागजी शेयरलाई विद्युतीय रूपमा राख्ने प्रक्रिया अथवा शेयरलाई अभौतिकीकरण रूपमा भण्डारण गर्नु हो ।

अहिले सामान्यतया सबै सरकारी तथा गैरसरकारी क्षेत्रका तथ्यांकहरू डिजिटल रूपमा राख्ने र त्यसको स्वचालित प्रणालीबाट अद्यावधिक गर्ने अभ्यास हुँदै गएको छ । साथै, विश्वभरी नै कागजविहीन शेयर कारोबारको विकास भइरहेको देख्न सकिन्छ ।

धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले ठूलो परिमाणमा धरानबाट गाँजा बरामद गरेको छ । धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो । बिहीबार धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको बेला गाँजा बरामद गरेको हो । तयारी अवस्थाका गाँजा सहित प्रहरीले मोरङको सुन्दर हरैँचा–७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ बस्ने ४१ वर्षीय भूपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

धरान र धनकुटाको सीमानामा पर्ने भेडेटार चेक पोस्ट समेत पार गरेर धरान तिर ठूलो परिमाणमा गाँजा ल्याइरहेको सूचना थाहा पाएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोलीले सारंगा मोडमा को १ ख ४७३३ नम्बरको ट्रक रोकेका थिए । रोकिएको ट्रकमा खानतलासी गर्दा सागसब्जी फलफूल तरकारी तथा मुलाका केही बोराले छोपिएको अवस्थामा ४४ सेता बोरामा गाँजा बरामद गरिएको थियो ।  बरामद गाँजा हालसम्मको ठुलो परिमाण भएको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा सबैभन्दा बढी गाँजा खेती धनकुटाको शहीदभूमि गाउँपालिकामा हुने गरेको छ । त्यहाँ तयार पारिएको गाँजा नेपालमा खपत नभई भारतीय बजारमा तस्करी हुने गरेको छ ।

पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो

यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरू चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिए । असार साउनमा आएको बाढीले केराबारीमा पानी जमेका कारण केराको बोट सुक्न थालेको किसानको भनाइ छ ।

एक बिघा क्षेत्रफलमा केराखेती गर्न एक पटकमा दुई लाखभन्दा बढी खर्च हुन्छ । तर बाढीले पाँच सय बिघा क्षेत्रफलको केरा मासिने गरी करोडौँको क्षति पु¥याएको उनीहरू बताउँछन् । केराखेती गरिएको ठाउँमा पसेको पानी निकासी हुने ठाउँ नभएकाले केराको बोट पानीले गलेर नष्ट भइरहेको हनुमान नगरकङ्कालिनी नगरपालिका–१ भारदहका किसान बच्चालाल मण्डलले बताए ।

भैँसी बेचेर च्याउ खेती, मासिक एक लाख आम्दानी

यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उनले चार वटा प्लास्टिक टनेल लगाएकी छन् । दुई वटा भैँसी पाल्दै आएकी क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरिन् ।  उनी अहिले तरकारी खेतीबाट आत्मनिर्भर बनेकी छन् । उनका तीन टनेलमा घिरौँला, लौका, टमाटर, धनियाँ र तिते करेला छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जीविका चलाएर केही रकम बचत गर्दै आएका छन्  । उनले च्याउ खेती पनि गरेकी छन्  । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गरेकी छन् । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाउँछिन्  । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएकी क्षत्रीले च्याउ खेतीमा जोड दिएकी हुन्  ।

उनले च्याउ खेती थप विस्तार गर्ने योजनामा रहेको बताइन् । ‘परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ’, क्षत्रीले भनिन्, ‘छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउ खेती तालिमले मलाई बल्ल राहत दियो ।’

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ललितपुर गोदावरी नगरपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३७ बर्षीय राज कुमार तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बाट पक्राउ गरेको हो । तिमल्सिना प्रहरी वृत्त जगाती भक्तपुरमा बैंकिङ कुर मुद्दामा समेत फरार रहेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ ।