अन्तर्राष्ट्रिय

भारत दक्षिणपूर्वी एशियाली मुलुकसँग सहकार्य बढाउँदै

By खबरहब

September 23, 2024

काठमाडौं – केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुर र ब्रुनाइको भ्रमण गरे । उनको यो भ्रमणबाट दक्षिणपूर्वी एशियाली मुलुक र भारतबीच रणनीतिक साझेदारी र द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मोदीको भ्रमणलाई धेरैले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियान र भारतबीच बढ्दो साझेदारीका रुपमा व्याख्या गरेका छन् । मोदीले आफ्नो भ्रमणका क्रममा सिंगापुर र भारतबीचको सम्बन्धलाई वृहद रणनीतिक साझेदारीका रुपमा विस्तार गरिएको छ ।

सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका अधिकारीहरुसँग आर्टिफिसियल इन्टिलिजेन्स, वित्तीय प्रविधि, विज्ञान तथा प्रविधि, शिक्षा र समुद्री सहकार्यबारे छलफल गरेका थिए । सो भ्रमणका अवसरमा भारत र सिंगापुरबीच ५ विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मोदीको ब्रुनाइ भ्रमण पनि उत्तिकै महत्वपूर्ण रह्यो । मोदीअघि ऐतिहासिक भ्रमणअघि कुनै पनि भारतीय प्रधानमन्त्री ब्रुनाइ पुगेका थिएनन् । पछिल्लो समय भारत र ब्रुनाइबीच द्विपक्षीय व्यापार पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष सन् २०२३–२४ मा दुई मुलुकबीच २८ करोड ६० लाख अमेरिकी डलरभन्दा धेरैको व्यापार भएको थियो । ब्रुनाइमा रहँदा प्रधानमन्त्री मोदीले त्यहाँका नेताहरुसँग पर्यटन, ऊर्जा, रक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका थिए ।

सिंगापुर र ब्रुनाइसहित पछिल्लो केही समययता आशियानमा आबद्ध मलेशिया र भियतनामजस्ता मुलुकले पनि भारतसँग सहकार्य बढाएका छन् । हालैमात्र भियतनामका प्रधानमन्त्री फा मिन्ह चिन्ह र मलेशियाका प्रधानमन्त्री दातो सेरी अनवर इब्राहिमले भारतको भ्रमण गर्दै बहुपक्षीय सहकार्यका एजेण्डाबारे छलफल गरेका थिए ।

भारत र आशियानका मुलुकहरुबीच बढ्दो आर्थिक तथा रणनीतिक साझेदारीबाट दुबै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।