प्रकृतिले उघार्‍यो घुम्टो : घुम्ने होइन त दोलखा ? | Khabarhub Khabarhub

प्रकृतिले उघार्‍यो घुम्टो : घुम्ने होइन त दोलखा ?



काठमाडौं – हिउँदका पारिला घाम लाग्न सुरु भएको छ । विद्यालय दशैँ तिहार बन्द छन् । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई पर्यटन काज उपलब्ध गराउने गरेको  छ ।

घुम्न त घुम्ने तर कहाँ ? काठमाडौंबाट नजिकै पर्यटन पूर्वाधार रहेको दोलखाका पर्यटकीय गन्तव्यका विषयमा जानकारी गराउँदैछौँ ।

खरिढुंगा

काठमाडौंबाट जाँदा जाँदै मुडे कटेपछि खरिढुंगा पुगिन्छ । यो पनि पर्यटकको आकर्षणको केन्द्र बनेको ठाउँ हो । जहाँ अधिकांश नेपाली फिल्महरू पनि सुटिङ भएका छन् । हिउँ पर्ने सिजनमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ भने विभिन्न रंगका गुराँस फुलेर मनमोहक बन्छ । यहाँबाट उत्पादित खरीका खल लोहोरो सिलौटो तथा रोटी पकाउने सामग्री साथै विभिन्न भगवानका प्रतिमाहरू पनि पर्यटकहरू किनमेल गर्छन् ।

चरिकोट बजार 

दोलखाको सदरमुकाम चरिकोट काठमाडौंबासीका लागि अर्को गन्तव्य हो । दोलखा सदरमुकाम चरिकोटमा घुम्नको लागि कोटिहोम मन्दिर, सिमपानी पोखरीको अवलोकन डुंगामार्फत गर्न सकिन्छ । त्यसमाथि रहेको भ्युटावरबाट दोलखाका अधिकांश क्षेत्रहरू देख्न सकिन्छ ।

दोलखा भीमसेन

सदरमुकाम चरिकोटबाट ४ किलोमिटर उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो।

यहाँ जान तपाईँले चरिकोटबाट अटो अथवा बोलेरोमा ५० रुपैयाँ प्रतिव्यक्ति भाडामा पुग्न सक्नु हुन्छ । सिंगटीतर्फ जाने बसमा जाँदा २० देखि ३० रुपैयाँ भाडा तिरेर सहजै पुग्न सकिन्छ । अझ हिँड्न जाँगर लगाउनेका लागि एक डेढ घण्टामा मन्दिर आउजाउ गर्न सकिन्छ ।

यो मन्दिरमा मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचर्तुदशी, चैतेदशैं, बडादशैँ मेला लाग्ने गर्दछ । यस मन्दिरमा पसिना आएमा अनिष्ट हुने मान्यता रहेको छ ।

भीमसेन वीर, साहसी, बलवान अन्याय अत्याचारको विरुद्ध लड्ने योद्धा भएको हुनाले भीमसेनलाई पसिना आएको हुन स्थानीयहरू बताउँछन्।

भोर्ले झरना

भोर्ले झरना जिल्लाको  सिंगटी तर्फ अवस्थित छ । सिंगटीबाट यो झरना चार किलामिटर नजिकै रहेको छ । यस झरनाबाट पानी १०० मिटरभन्दा बढी उचाइबाट सडकमा पर्छ । यो आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको झरना हो ।

नेपालको स्वीजरल्याण्ड (जिरी) 
नेपालको स्वीजरल्याण्ड भनेर पहिचान बनाएको दोलखाको जिरी पुग्न चरिकोटबाट दुई घण्टा जति यात्रा गर्नुपर्छ । काठमाडौंबाट एक सय ८४ किलोमिटरका यात्रा पछि पुगिने जिरी सीमान्तकृत जिरेलहरूको बसोबास रहेको छ । यस ठाउँको नाम पनि जिरेल समुदायको बसोबास स्थान भनेर जिरी भनिएको स्थानीयहरू बताउँछन् ।

यो सगरमाथा हिमालको प्रवेश द्वार पनि हो । चरिकोटबाट ५६ किलोमिटर पूर्वमा जिरी बजार पर्छ । जिरीको प्रमुख आकर्षणको रूपमा यहाँका चिया बगान, झरना, गुफा, पोखरी, खोलानाला, कोणधारी हरिया वनजंगल साथै अग्ला डाँडाकाँडा देखि सुन्दर उपत्यका, आदिवासी जिरेल, शेर्पा, तामाङ, सुनुवारहरूको पृथक कला, संस्कृति, भेषभुषा र स्थानीय खाद्य परिकारहरू रहेका छन् ।

हनुमन्ते डाँडा


लखा सदरमुकाम चरिकोटदेखि करिब २५ किलोमिटर नजिक रहेको पौराणिक धार्मिक मान्यता बोकेको बैतेश्वर र जिरी नगरपालिकाको सिमानामा अवस्थित हनुमन्ते डाँडामा पनि घुम्न जान सकिन्छ ।

यो भगवान् रामका भक्त हनुमानको नामबाट प्रसिद्ध हनुमन्तेडाँडा दोलखाको एक रमणीय पर्यटकीय गन्तव्य हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित हनुमन्ते डाँडा समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्दछ ।

वैतेश्वर र जिरी नगरपालिका पर्ने खावा हुँदै हनुमन्तेको वेसक्याम्प पुग्न करिब ४५ मिनेट लाग्छ भने यहाँबाट करिब ७ सय मिटर सिँढी पैदल हिँडेपछि हनुमानको मूर्ति रहेको भिरको टाकुरामा पुग्न सकिन्छ ।  टाकुराभन्दा केही माथि सिङ्गो दोलखालाई अवलोकन गर्न सकिने डाँडा रहेको छ ।

शैलुङ्गेश्वर महादेव

माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई’

श्रवण मुकारुङको शब्द, शिलाबहादुर मोक्तानको संगीत र कुन्ती मोक्तानको स्वर रहेको यो गीत त धेरैले गुनगुनाउने गर्नु हुन्छ । शैलुङका सयौँ थुम्का धेरैलाई थाहा होला ।

दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीय स्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ दक्षिण, पश्चिममा पर्छ ।

शैलुङ डाँडामा एक सय वटा मनमोहक थुम्का छन् । तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको हो ।

गाईखुरा महादेव

दोलखाको मेलुङ गाँउपालिकामा रहेको गाईखुरा महादेव मन्दिर धार्मिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । यो मन्दिरको सिलामा दर्शन गर्दा चिताएको पुरा हुने जनविश्वास रहेको छ ।

टसी गुम्बा
नेपालमा धार्मिक सांस्कृतिक विविधता भएको देश भएका कारण यहाँ धेरै धार्मिक तथा सांस्कृतिक सम्पदाहरू छन् । मन्दिर जस्तै गुम्बा आन्तरिक तथा बाह्य पर्यटनका आकर्षक रमणीय स्थान हुन् ।

दोलखामा रहेको टसी गुम्बा सदरमुकामबाट १३ कोष उत्तर पट्टि विगुमा अवस्थित  छ । यसलाई विगु गुम्बा पनि भन्ने गरिन्छ । गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रूपमा बल्दछ । उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ ।

हिन्दू धर्मावलम्बीहरूले दशैँ काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ ।

देउलाङ्गेश्वर महादेव

ओराङ र लामाबगरको सीमानामा रहेको देउलाङ्गेश्वर महादेवको मन्दिर उत्तरी क्षेत्रको प्रसिद्ध तीर्थ स्थल हो। स्वस्थानी पूर्णिमाको दिन ठूलो मेला लाग्ने यस मन्दिरमा सत्य युगमा महादेवले सत्यदेवीलाई जोगीको भेषमा विवाह गरी ल्याउँदा यही मन्दिरसँगै रहेको कुटीमा राखेको उक्ति छ । त्यसपछि सत्यदेवीले बिलौना गर्दा खरले छापेको सो कुटीको भित्तो च्याती हिमालय पर्वतको दर्शन गराएको किम्बदन्ती छ ।

महाङकाल भगवती

महाङ्काल भगवती यस्तो मन्दिर हो, जहाँ महिलाले दर्शन गर्न हुँदैन । दर्शन गर्न नभए पनि यस मन्दिरमा घुम्न आउने पर्यटकको संख्या धेरै छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको महाङकाल भगवती मन्दिर धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । यो भगवतीलाई कालिञ्चोक भगवतीको कान्छी बैनी समेत भनिन्छ ।

कालिन्चोक भगवती

कालिन्चोक भगवती मन्दिर नसुनेको मान्छे खासै छैनन् होला । कालिन्चोक मन्दिरमा विशेष गरी यो मौसममा बिरामी र बालबच्चालाई जान सजिलो हुने गर्छ किनकि चिसो मौसममा यहाँ अत्यधिक मात्रामा हिमपात हुन्छ ।  कालिन्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।

यहाँ जाँदा कतिपय तीर्थयात्रीलाई लेक लाग्ने सम्भावना रहन्छ । अहिले त कुरीबाट कालिन्चोक भगवतीको मन्दिरसम्म पुग्न केबलकारको समेत व्यवस्था गरिएको छ । यसले कालिन्चोककको धार्मिक यात्रालाई थप सहज बनाएको छ ।  चरिकोट सदरमुकामबाट करिब १५ कि.मी. उत्तरमा रहेको यो स्थान ३८४२ मिटरको उचाइमा छ ।

जटापोखरी


यो पोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट १६ कोष उत्तरपूर्वमा पर्दछ । उक्त पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ । यो पोखरी करिब ४५०० मिटरको उचाइमा रहेको छ।

च्छो रोल्पा हिमताल

नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा हिमताल दोलखाको  गौरीशंकर गाउँपालिकास्थित  रोलवालिङ्ग उपत्यकामा अवस्थित छ ।

समुद्र सतहबाट ४५८० मिटरको उचाइमा रहेको यस तालको उत्पत्ति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग कि.मी. क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ।

१३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । यहाँ गएर छुट्टीको मजा लिन सकिन्छ । हिउँदमा खोलानाला, झरना, ताल सबैमा हिउँ जमेको हुन्छ । हिउँमा फोटो, भिडियो र टिकटक बनाउन यो ठाउँले पर्यटकलाई तान्ने गर्छ ।

च्छो रोल्पा हिमताल सदरमुकाम चरिकोटबाट तीन दिनमै सहज तरिकाले पुग्न सकिन्छ । अहिले स्वीस सरकारले छ्योतछ्योतदेखि च्छो रोल्पा हिमतालसम्मै सहज पदमार्ग  बनाइदिएको छ ।

गौरीशंकर हिमाल

दोलखाको हिमाल भन्नेबित्तिकै गौरीशंकरकै दृश्य दिमागमा आउँछ । ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । यदि रोमाञ्चकारी पदयात्रामा तपाईंको सोख छ भने गौरीशंकर हिमाल त्यो तिर्खा मेटाउन सहायक हुने निश्चित छ ।

बहुला पोखरी

आलम्पुमा रहेको आमा बाभारे पर्वतको मुन्तिर कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाई ३०० मिटर र चौडाई २०० मिटरको छ ।

यसको गहिराइ यकिन हुन सकेको छैन । नेपालको सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले पनि यो पोखरी चिनिन थालेको छ ।  यस पोखरीमा आएर गरिने पूजाअर्चनाले मनोकांक्षा पूरा हुने विश्वास लिइन्छ । (विभिन्न सञ्चारमाध्यम र वेबसाइटको सहयोगमा)

दोलखाका थप तस्बिर : 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : २२ बजे

सुनको मूल्यमा लगातार नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाउने क्रम आज

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३९

सरकारको सय दिन भ्रष्टाचारी बचाउनमै केन्द्रित : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय

नागढुंगा-मुग्लिन सडक विस्तार : सम्झौताअवधि सकिँदा आधा पनि काम भएन

काठमाडौं – नागढुंगा-मुग्लिन सडक विस्तारमा ढिलाई हुँदा सर्वसाधारण्को यात्रा सकसपूर्ण

आज हिउँ चितुवा संरक्षण दिवस, जलवायु परिवर्तनले बासस्थानमा चुनौती

काठमाडौं– हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज