नागढुंगा-मुग्लिन सडक विस्तार : सम्झौताअवधि सकिँदा आधा पनि काम भएन | Khabarhub Khabarhub

नागढुंगा-मुग्लिन सडक विस्तार : सम्झौताअवधि सकिँदा आधा पनि काम भएन

दुई वर्षमा बल्ल १७ प्रतिशत काम, जग्गा विवाद र पोलले अझै सकस



काठमाडौं – नागढुंगा-मुग्लिन सडक विस्तारमा ढिलाई हुँदा सर्वसाधारण्को यात्रा सकसपूर्ण बन्दै गएको छ। गत असोज १० गतेदेखि तीन दिन परेको वर्षाका कारण नागढुंगा-मुग्लिन सडकखण्ड अवरुद्ध बन्न पुग्यो।

उक्त सडकखण्डको धादिङतर्फ नागढुंगा सुरुङनजिकैको झ्याप्लेखोलामा आएको पहिरोले सडक मात्रै अवरुद्ध गरेन, तीनवटा बस पुदा ३५ यात्रुले ज्यानसमेत गुमाए।

एकातिर बर्खाका कारण अवरुद्ध सडक विस्तारको काम पनि चलिरहँदा अस्तव्यस्त बनेको छ। जसले उक्त सडकमार्गको यात्रा थप सकसपूर्ण बन्दै गएको छ।

संघीय राजधानी काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने महत्त्वपूर्ण नाका हो, नागढुंगा-मुग्लिन सडक आयोजना। अहिले विस्तार अघि बढेकाले सडकमा खाल्डाखुल्डी र हिलोका कारण यातायात सञ्चालनमा समस्या हुने गरेको यातायात व्यवसायीको गुनासो छ।

उक्त सडकखण्ड विस्तारमा ढिलाइले त्यस सडकमार्ग हुँदै दैनिक यात्रा गर्ने लाखौं सर्वसाधारणले दुःख पाइरहेका छन्। दशैँका बेला त पोखरादेखि काठमाडौंसम्म बसमार्फत यात्रा गर्न १५/१६ घण्टा लागेको यात्रुहरुको गुनासो थियो।

विश्व बैंकको ऋण सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले विस्तार गरिरहेको छ। तीनवटा खण्डमा वर्गीकरण गरी ठेक्का लगाइएको उक्त सडकको लम्बाई ९२ किलोमिटर छ।

छुट्टाछुट्टै तीनवटा प्याकेजमा सडकखण्ड विस्तार अघि बढेको सडक विभागले जनाएको छ। तर, उक्त सडक आयोजनाको विस्तारमा ढिलाइ हुँदै गएको छ।

तीनवटै प्याकेजको सडक विस्तारमा ढिलाइ भइरहेको छ। आयोजनाका अनुसार, पहिलो खण्ड नागढुंगादेखि नौबिसेखण्डको १२ किलोमिटर सडक विस्तार सुरु भएको साढे २ वर्ष पुग्यो तर, हालसम्म काम सकिएको छैन।

कुल १२ किलोमिटरको पहिलो खण्ड (नागढुंगा-नौबिसे) विस्तार अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। पहिलो खण्डमध्ये हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाको पूर्वीखण्डका आयोजना प्रमुख केशवप्रसाद ओझाले खबरहबलाइ जानकारी दिए।

उक्त खण्डको सडक विस्तार दुई वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तर, सम्झौता अवधिभित्र सडक विस्तार पूरा हुन नसकेपछि ६ महिना म्याद थप गरिएको छ। गत असार मसान्तमा सम्झौता अवधि सकिएपछि ६ महिना म्याद थप गरियो। थपिएको समय माघ मसान्तमा सकिँदैछ।

थपेको म्यादमा पनि उक्त सडकखण्डको विस्तार सम्पन्न हुने सम्भावना भने देखिँदैन। त्यसखण्डमा अहिलेसम्म कालोपत्रे सुरु नै हुन सकेको छैन। कतिपय ठाउँमा सडक चक्ल्याउने, कर्ल्भट हाल्नेलगायत काम बाँकी रहेकाले थपिएको समयभित्र पूरा नहुने सम्भावना उत्तिकै छ। कूल एक अर्ब ३१ करोडको उक्त सडकखण्डको ठेक्का जीएनसु-सगुन जेभीले लिएको छ।

यता, दोस्रो खण्डअन्तर्गत (नौबिसे-मलेखु) खण्डको सडक विस्तार पनि सन्तोषजनक छैन। उक्तखण्डको सडक विस्तार आगामी २०८२ असारसम्म सक्नुपर्छ। कूल ४३ किलोमिटर लम्बाईको उक्त सडकखण्ड साढे २ वर्षअघि निर्माण सुरु भएको थियो।

कूल ५ अर्ब ५१ करोडको ठेक्कामा शर्मा लामा जेआईसीजी जेभीले उक्त सडकखण्डको विस्तारको काम अघि बढाएको छ। तर, ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण साढे दुई वर्षमा २४ प्रतिशत मात्रै भौतिक प्रगति छ। आगामी असारसम्म म्याद थप गरेर विस्तार अघि बढे पनि उक्त अवधिभित्र काम पूरा हुन मुस्किल छ।

आयोजना प्रमुख ओझाका अनुसार, नौबिसे-मलेखु खण्डमा सुरुमा जग्गा विवाद र बिजुलीका पोल हटाउनेलगायत नै ६ महिना लाग्यो। त्यसपछि सवारी व्यवस्थापन गर्दै सडक विस्तार गर्नुपर्ने चुनौती रहेको ओझा बताउँछन्।

त्यस्तैगरी, तेस्रोखण्डअन्तर्गत मलेखुदेखि मुग्लिनसम्म सडक विस्तार अझै निराशाजनक छ। तीन वर्षको ठेक्का सम्झौता रहेको उक्त सडकखण्डको विस्तार सुरु भएको डेढ वर्ष पुग्यो। तर यो अवधिमा आयोजनाको समग्र भौतिक प्रगति १७ प्रतिशत मात्रै छ।

ठेक्का व्यवस्थापनमा ढिलाइ, सर्भे डिजाइनमा परिवर्तन, पूर्वतयारीलगायत कारणले पनि सडक विस्तारमा ढिलाइ भएको नागढुंगा-मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका आयोजना प्रमुख केदारप्रसाद नेपालले बताए।

‘हालसम्म १७ प्रतिशत भौतिक प्रगति छ,’ उनले भने, ‘ठेक्का व्यवस्थापनमा ढिलाइलगायतले बढी समय लाग्दा अपेक्षित लक्ष्य पूरा हुन सकेन।’

उनका अनुसार, डेढ वर्षमा सडक विस्तार ३२ प्रतिशत पूरा गर्ने लक्ष्य थियो। तर, लक्ष्य पूरा हुन नसकेको नेपाल बताउँछन्।

अझै पनि कतिपय ठाउँमा जग्गाको मुआव्जा र बिजुलीको पोल हटाउने काम बाँकी नै रहेको उनी बताउँछन्। ‘मुआब्जा विवाद लगायतले पनि ढिलाइ भइरहेको छ,’ उनले भने, ‘बजेट अभाव छैन, मूल्यांकन र सम्पूर्ण प्रक्रिया पूरा गरेर मुआब्जा निर्धारण गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको छ।’

३९ किलोमिटर लामो पश्चिमखण्ड सडक विस्तारका लागि चार अर्ब ४० करोडको ठेक्का लगाइसकिएको छ। आगामी डेढ वर्षभित्र पनि उक्त सडकखण्ड विस्तार सम्पन्न हुन चुनौती रहेको नेपाल स्वीकार्छन्।

हालको ६र७ मिटर चौडाइ रहेको उक्त सडकलाई कम्तीमा ११ मिटरमा विस्तार गरिने सडक विभागले जनाएको छ। नागढुंगादेखि मुग्लिनसम्मको सडकलाई कम्तीमा पनि न्यूनतम ९ मिटर चौडा बनाइनेछ। सडक विस्तारपछि उक्त खण्डमा पश्चिम नेपाललगायतका विभिन्न सहरबाट संघीय राजधानी भित्रिँदा जाम नहुने अपेक्षा लिइएको छ। तीनवटै खण्डमा गरेर कूल २६ वटा नयाँ पुल निर्माण हुँदैछन्। कतिपय चालू अवस्थाका पुलमासमेत नयाँ निर्माण गरेर सडक विस्तार गरिँदैछ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : १५ बजे

सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र

सय दिनमा पनि सार्वजनिक भएन ओली क्याबिनेटका सदस्यको सम्पत्ति

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि

नयाँ इजरायली निकासी आदेशपछि लेबनानमा भागाभाग

एजेन्सी – इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको

कुमारी बैंकले ल्यायो तिहार र छठमा क्यासब्याक अफर 

काठमाडौं– कुमारी बैंकले आउँदै गरेको तिहार, किजा पूजा तथा छठ

पाक्न लागेको धान असिनापानीले सखाप

गलेश्वर – आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न