रविबारे कांग्रेस पनि कठोर : आन्दोलनबाट न्यायिक प्रक्रिया प्रभावित गर्न खोजेको आरोप « Khabarhub

रविबारे कांग्रेस पनि कठोर : आन्दोलनबाट न्यायिक प्रक्रिया प्रभावित गर्न खोजेको आरोप


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्ता साझेदार नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पोखरामा भइरहेको आन्दोलनप्रति आपत्ति जनाएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गरेर पोखरामा जारी रास्वपाको आन्दोलनप्रति आपत्ति जनाएका हुन् ।  

‘राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई बाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने गतिविधिप्रति कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ,’  विश्वकर्माले भनेका छन् । 

कानुन सबैका लागि समान हुने र हुनु पर्ने भन्दै कांग्रेसले विधिको शासनमा कानुनका दृष्टिमा सबै नागरिक बराबरी हुने रास्वपालाई स्मरण गराएको छ । संसदीय छानबिन समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएका कारण मन्त्रिपरिषद्ले निर्णय गरेर प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगेको कांग्रेसले जनाएको छ । 

‘रवि लामिछानेका समर्थकले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गर्ने गतिविधि भइरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसले भनेको छ, ‘राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्‍याउने गतिविधिप्रति कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ ।’

प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरु माथि समान ढंगले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनु पर्ने मान्यताप्रति कांग्रेस प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । 

‘विधिको शासन कायम गर्न, न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पुर्‍याउन सबै राजनीतिक दल, नागरिक समाज र आमनागरिकमा हार्दिक अपिल गर्दछौँ,’ कांग्रेसले वक्तव्यमार्फत भनेको छ ।

कांग्रेसको विज्ञप्ति :

सहकारी ठगी प्रकरणमा केही दिनअघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भैरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्‍याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ ।

कानुन सबैका लागि समान हुन्छ, हुनु पर्छ । विधिको शासन भनेको कानुनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो । मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरू कानून विपरीत सहकारी संचालकहरूले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका संचालकहरू— जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानविन प्रकृया अगाडि नबढेको हुँदा प्रतिनिधि सभाका सांसदहरूले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानविन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानविनका लागि सहकारी छानविन संसदीय विशेष समिति गठन भयो । उक्त समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरी उक्त प्रतिवेदन कार्यान्वयनको प्रकृयामा रहेको व्यहोरा सबैमा अवगत नै छ ।

प्रतिवेदनले कारबाहीका लागि सिफारिश गरेका संलग्न विभिन्न आरोपित व्यक्तिहरूलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा नै रहेका छन् । कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानविन र न्यायिक प्रकृयालाई सहयोग पुर्‍याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्दछ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ ।

प्रचलित कानुन बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरूमाथि समान ढंगले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिवद्ध छ । विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पुर्‍याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौँ ।

जय नेपाल !
मीन विश्वकर्मा
प्रमुख

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २१ बजे

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ– सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न