सरकारी औषधि कम्पनीका महाप्रबन्धकको दु:खेसो– ‘आफैँले उत्पादन गरेको औषधि सरकारले किन्दैन’ | Khabarhub Khabarhub

स्वास्थ्य

सरकारी औषधि कम्पनीका महाप्रबन्धकको दु:खेसो– ‘आफैँले उत्पादन गरेको औषधि सरकारले किन्दैन’

सरकारी कोटामै पर्दैन सिटामोल


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

नेपाल औषधि लिमिटेड औषधि उत्पादनका लागि सरकारले सञ्चालन गरेको संस्थान हो । गुणस्तरीय औषधि उत्पादन गरी देशभर सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले वि.सं. २०२९ मा शाही औषधि लिमिटेडको नाममा सरकारी औषधी कम्पनी स्थापना गरिएको थियो । गणतन्त्र आएसँगै यसको नाम परिवर्तन गरेर नेपाल औषधि लिमिटेड बनाइएको हो । २०५८ सालसम्म सरकारी स्वामित्वमा रहेको यो उद्योग नाफामा सञ्चालन गरिएको थियो । त्यस समय १०० बढी प्रकारका औषधि उत्पादन गरेर चर्चा कमाएको नेपाल औषधि लिमिटेडले अहिले जम्मा १० प्रकारका औषधि उत्पादन गर्दै आइरहेको छ । संस्थानको अहिलेको अवस्था कस्तो छ ? कस्ता कस्ता औषधि अहिले उत्पादन भइरहेका छन् ? यिनै विषयमा नेपाल औषधी लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुसँग गरिएको कुराकानी:

औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको आफ्नै स्वास्थ्य कस्तो छ ?

औषधि उत्पादनको सङ्ख्या थोरै बढाएर जिटुजीमा अहिले धेरै फोकस गरिरहेका छौं । केन्द्र, प्रदेश तथा स्थानीय सरकारका खरिद निकायहरू अस्पताल, स्वास्थ्यचौकी लगायतका ठाउँबाट माग भएअनुसार औषधिहरू पठाइरहेका छौं ।

पहिलेको तुलनामा ९० प्रतिशत औषधि जिटुजीमा गएको छ । बाँकी १० प्रतिशत केही निजीतिर पनि गइरहेको छ । जिटुजीमा गर्दाखेरि हामीलाई पनि फाइदा भइरहेको छ भने औषधी पनि पब्लिकसँग सीधै दुर्गम क्षेत्रमा जाने भएकाले यसतर्फ फोकस गरिएको छ । ७ वटा औषधि पहिले नै थियो । ३ वटा थप भएर अहिले १० वटा उत्पादन गर्ने गरिएको छ ।

७ वटै प्रदेशबाट औषधिको माग अनुसार औषधी पुर्‍याउने व्यवस्था रहेको छ । उपत्यका बाहिर धरान, चितवन, पोखरा लगायतका ठाउँबाट माग हुने गरेको छ भने अहिले डेङगु संक्रमणको प्रकोपपछि संस्थानबाटै बिहान ८ देखि बेलुकी ८ बजेसम्म औषधि बेच्ने गरिएको छ ।

औषधि उत्पादनका कठिनाइहरू के-के हुन् ?

यो संस्थान हो । यहाँका कर्मचारीहरू सबै पुराना छन् । नयाँ कर्मचारीहरू लामो समयदेखि भर्ना गरेका छैनौं । केही प्राविधिक कर्मचारीहरू करारमा राखेर सञ्चालन गरिरहेका छौं । बाँकी पुरानै कर्मचारी छन् । उनीहरूको उमेर ४५–५० भइसकेको छ । सरकारी कर्मचारीहरूलाई त्यत्तिकै पठाउन पनि मिल्दैन । ३०–३५ वर्ष उमेरको जस्तो उनीहरूले काम पनि गर्न सक्दैनन् ।

झण्डै ४०–५० जना कर्मचारी स्थायी छन् । उनीहरूलाई एकमुष्ट बिदाई गर्दा धेरै ठूलो रकम चाहिन्छ । त्यो दिनसक्ने अवस्था अहिले संस्थानको छैन । हामीसँग पैसाको एकदमै अभाव छ । यसअघिको सरकार नेतृत्व गर्नु हुने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखेपछि मुख्यसचिवको नेतृत्वमा एउटा कमिटी बनेको थियो । जसमा उद्योग, अर्थ, स्वास्थ्य मन्त्रालयका सचिवहरू सदस्य हुनुहुन्थ्यो । त्यो समितिले नेपाल औषधि लिमिटेडलाई नयाँ संरचनामा लैजाने करोड रुपैयाँ दिने निर्णय गरेको थियो ।

त्यो पैसा आइदिएको भए दीर्घरोगीहरू जस्तै दम, क्यान्सर लगायतका ४–५ वटा दीर्घ रोगीहरूले दैनिक खाइरहने औषधीहरू उत्पादन गर्ने गरी प्लान बनाएका थियौं । त्यो पैसा नआउँदा उत्पादनमा कठिनाइ भइरहेको छ । त्यस्तै औषधि व्यवस्था विभागले एउटा उत्पादनको लाइसेन्स दिन ३–४ महिना लगाउँछ ।

अघिल्लो आर्थिक वर्ष सकिनै लाग्दा हामीले माग गरेका थियौं, अहिले भर्खरै लाइसेन्स आयो । अब केही नयाँ औषधिहरू जस्तै जुकाको औषधि, फोलिक एसिडहरू उत्पादन गर्ने तयारी छ । यस्तै यस्तै कतै प्राविधिक, कतै प्रशासनिक त कतै आर्थिक अभावले उत्पादनमा कठिनाई भइरहेको छ ।

यहाँबाट के कस्ता रोगमा प्रयोग हुने औषधि उत्पादन हुन्छ ?

मुख्य त हाम्रो पहिलेदेखि राम्रो चलिरहेको औषधि सिटामोल र जीवनजल नै हो । कोभिड, डेङ्गी लगायतका बिरामीहरूका लागि एकदमै प्रभावकारी भएको भन्दै माग पनि बढेको थियो । अहिले पनि त्यो कायमै छ । त्यो बाहेक हेमोडाइलासिस, फोलिक एसिड, सेनिटाइजर, डिस्टिल वाटर, ग्लिसरिन, एमजिट, एमडिजिएफ, सेफ्टिजेन गरी १० प्रकारका औषधि उत्पादन भइरहेको छ ।

हेमोडाइलासिस जुन किड्नीका बिरामीहरूका लागि फ्रुड हो । यो औषधी बीर अस्पताल, अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, बिपी धरान र केही निजी अस्पतालहरूमा पनि गइरहेको छ । यस्तै केही महत्वपूर्ण औषधिहरू ४, ५ वटा छ । तिनैको उत्पादन बढाएर बजारमा दिइरहेका छौं ।

बजेटको अभाव छ भन्नुभयो, सरकारले वार्षिक बजेटमा औषधि उत्पादनका लागि त पर्याप्त बजेट दिन्छ होला नि ?

सरकारबाट हामीलाई बजेट आउँदैन । हामीले माग्दाखेरी पनि बेवास्ता नै गरेको जस्तो देखिन्छ । औषधि बेचेर त्यसैबाट तलब खाने हो । केही सरकारी कार्यालयहरू हाम्रो भवनमा बसिरहेका छन् । त्यहाँबाट पनि केही रकम आउँछ । यसैगरी चलिरहेको छ ।

हामीले पटक पटक सरकारसँग अनुरोध गरेका छौं । म नियमित सिंहदरवार धाइरहेको छु । पछिल्लो समय स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमै पनि ४,५ पटक नै गइसकेको छु । योजना आयोगमा पनि बसेका छौं ।

तर सरकारले सुन्दैन । सरकारको एक मात्रै एलोपेथिक औषधि उत्पादन गर्ने कम्पनी यस्तो अवस्थामा छ । बाहिरबाट सधैं ठूलो मात्रामा औषधि आइरहेको छ । जस्तै प्रत्येक अस्पतालमा डाक्टरले हामीले उत्पादन गर्ने सिटामोल लेख्ने गर्दछन् । सिटामोल नामको हाम्रो औषधि मात्रै हो । तर सिटामोलका नाममा विभिन्न प्रकारका औषधिहरू भारतबाट आइरहेका छन् । सरकारले किन यस्तो बेवास्ता गरेको हो, हामीले बुझ्न सकेका छैनौं ।

त्यसमा पनि हामीले मूल्य राखेका छौं । १ रुपैयाँ सिटामोलमा १० रुपैयाँ जीवनजलमा मूल्य निर्धारण सरकारले गर्छ । कहिलेकाहीँ कच्चा पदार्थहरू महंगो हुन्छ । त्यसै पनि भारतबाट कच्चा पदार्थहरू ल्याएर यहाँ औषधि उत्पादन गर्नुपर्ने हुन्छ । यस्तो दुःख गरेर औषधि उत्पादन गरिन्छ । तर हाम्रो औषधिको सट्टा बजारमा भारतको औषधि बिक्री भइरहेको हुन्छ ।

केही सरकारी अस्पताल बाहेक कुनै पनि निजी अस्पतालमा सिटामोल माग्दा हाम्रो सिटामोल पाउँदैन । हाम्रो औषधि नकिनेर बाहिरको औषधि किन्दा उनीहरूलाई के फाइदा हुन्छ ? त्यो म जान्दिन । तर एउटा नीतिगत रूपमा कि त हाम्रो औषधि गुणस्तरको छैन भनिदिनुपर्‍यो । पब्लिकले हाम्रो औषधिको माग गर्छन । हामीले कहिलेकाहीँ रिसर्च गर्ने गर्छौं पब्लिकले यो औषधी कहाँ पाइन्छ ? किन हाम्रोमा आउँदैन ? भन्ने गुनासो आइरहन्छ ।

अस्ति भर्खरै डेङ्गीको प्रकोपका बेला समाचार नै आयो– नेपाल औषधीको सिटामोल छैन भनेर । हामीले नियमित उत्पादन गरिरहेका छौं । हामीसँग ठूलो मात्रामा औषधि स्टक छ । डेङ्गीको प्रकोपपछि झन कर्मचारीहरू दुई सिफ्टमा काममा लगाएर औषधि उत्पादन तथा प्याकिङ गराइरहेका छौं ।

बजेट हामीसँग एकदमै सीमित मात्रामा छ । त्यसै किसिमले उत्पादन बढाउने हो । तर सरकारले अलिकति मात्रै हेरिदिने हो भने हामीले नेपालमै उत्पादन गर्ने औषधि बाहिरबाट ल्याउनुपर्ने अवस्था हुने थिएन । तर खरिद गर्ने निकायहरू सरकारी निकायहरूले नै हामीलाई बेवास्ता गरेको देखिन्छ ।

वार्षिक कति मूल्य बराबरको औषधि बिक्री हुन्छ ?

गत आर्थिक वर्षमा हामीले ५ करोड मूल्य बराबरको औषधि बिक्री गरेका थियौं । यसपाली केही औषधी थप भएकोले त्यो भन्दा बढी हुन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अहिले चलिरहेको छ । निजी स्वास्थ्य संस्थारुसँग हाम्रो सरोकार भएन । उनीहरूले आफ्नो तरिकाले औषधि खरिद गर्छन । त्यसैले हाम्रो फोकस भनेको सरकारी निकायहरू नै हो । दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले त कम्तिमा राम्रो गुणस्तरको औषधि खान पाउनुपर्‍यो ।

हामी पनि त सरकारी हो । व्यापार त छँदैछ । यो पनि एक किसिमको व्यापार नै हो । तर सरकारको व्यापार भनेको त सेवामुखी हुनुपर्‍यो नि ! त्यसकारण सरकारलाई बेच्दा हामीलाई पनि फाइदा हुन्छ । नागरिकले पनि गुणस्तरकोे औषधि खान पाउने भए ।

त्यो किसिमले हामीले जिटुजी भनेको हो । यस चालु आर्थिक वर्षको त्रैमासिकमा २ करोड रुपैयाँ जतिको व्यापार भएको छ ।

सरकारले निःशुल्क दिने औषधिहरूहरू गुणस्तरहीन छन् भन्ने गुनासो धेरै आउने गरेको छ । तपाईंहरूको हकमा यो गुनासो कतिको जायज हो ?

सरकारले ९८ प्रकारका औषधिहरू निशुल्क दिने गरेको छ । हामी त सरकारी कम्पनी हो । हाम्रो आफ्नै ल्याब छ । औषधि व्यवस्था विभाग छ । यी सबैबाट हामीले प्रक्रिया पुर्याएरै उत्पादन गरेका हुन्छौं । र हामी सरकारी तवरबाट भएको हुनाले पारदर्शिता, जवाफदेहिता सबै कुराहरूलाई ध्यान दिएर गरेका हुन्छौं । त्यसकारण हाम्रो औषधिमा क्वालिटी छ कि छैन भनेर पब्लिकलाई पनि थाहा छ ।

अरू कम्पनीको सिटामोल र नेपाल औषधिको सिटामोल नागरिकलाई सँगै दिने हो भने पक्कै पनि हाम्रै सिटामोल खोज्छ । डेङगु, कोभिड जस्ता महामारीका समयमा यसैले ज्वरो नियन्त्रण गरेको प्रमाण छन् । यही औषधि खान डाक्टरहरूले सुझाव दिएको मैले देखेको छु । तर त्यो निशुल्क दिने औषधिमा पनि हाम्रो औषधि समावेश गरेको खासै पाइँदैन ।

सिटामोलको यत्रो सरकारी कम्पनी हुँदाहुँदै पनि निजी कम्पनीको सिटामोल किन बजारमा ल्याएको हो ?

सरकारले नै यसको नियन्त्रण गर्नुपर्छ । गत वर्ष मात्रै हामीले ३ करोड ट्याब्लेट बढी उत्पादन गरेका छौं । त्यो जान त बजारमै गयो । तर पनि हाम्रो भनाई के हो भने ३ करोडको सट्टा ६ करोड जति पनि सिटामोलको व्यापार हामीले दिन सक्छौं ।

अहिले त हामीले जति माग हुन्छ, त्यो अनुसारको मात्रै उत्पादन गरिराखेका छौं । तर प्रत्येक ठाउँमा प्रत्येक नागरिकले खाने सिटामोल त नेपाल औषधिले नै आपूर्ति गर्न सक्छ । किन बाहिरबाट ल्याएको ? यो कुरा सरकारले नियन्त्रण गरिदिनुपर्छ ।

कोभिडको बेला कच्चा पदार्थहरू एकदमै महँगो थियो। सरकारले औषधि बनाउनुस्‌, त्यसको पैसा हामी दिन्छौं भनेको पैसा अहिलेसम्म दिएको छैन अर्थ मन्त्रालयले। यस्तो अवस्थामा कसरी देशको प्रगति हुन्छ ?

औषधि उत्पादनका लागि कच्चा पदार्थ कहाँबाट आउँछ ?

कच्चा पदार्थहरू सबै भारतबाट आउने हो । तर अहिले भारत र चीनलाई फोकस गर्ने गरी सम्झौता भएको छ । किनकी एक ठाउँबाट भएन भने अर्को ठाउँबाट र जहाँ सस्तो छ, त्यहाँबाट ल्याउन पाइने भएकाले चिनियाँहरूसँग पनि कुरा भएको छ ।

अहिले कम्पनीको अवस्था कस्तो छ ?

सिटामोलको हामीले धेरै ठाउँमा पूर्ति गर्न सक्थ्यौं । पुराना मेसिन उपकरण सबै बिग्रिसकेका थिए । त्यसलाई सरकारले एकपटक मात्रै सहयोग गरिदिएको भए रिफममा आउँथ्यो होला ।

पटकपटक हामीले एकचिज बनाउनलाई दिने अर्को चिज त्यसै रहन्छ । तर अहिले बिस्तारै माथि उठ्दैछ । हामी घाटामा छैनौं । उत्पादन नाफामै छौं । यसमा थोरै सरकारले हेर्ने हो भने अझ राम्रो गर्न सकिन्थ्यो ।

अहिले सिटामोल निजी कम्पनीहरू कसैले बनाउँदैनन, हामीले मात्रै हो । बजारमा जति पनि सिटामोलहरू छन, त्यो सबै बाहिरबाट आउने हो । त्यसमा उनीहरूले कति नाफा खान्छन् ? त्यसको क्वालिटी कस्तो छ ? त्यो कसले हेरेको छ ? हाम्रो यहाँको उत्पादन त सरकारकै अगाडि भइरहेको छ ।

यसमा प्रयोग हुने कच्चा पदार्थ तथा केमिकलहरू कति मात्रामा कसरी राख्नुपर्ने हो सबै मिलाएर तयार पारिएको हुन्छ । त्यसैले हाम्रो औषधि किन्नुपर्‍यो भन्ने हाम्रो भनाई हो । यो एउटा सरकारी संस्था भएको नाताले सरकारले नै यसलाई प्रमोसन गरिदिनुपर्‍यो ।

सरकारी निकायहरूमा आफ्नै उत्पादनहरू खरिदमा जोड दिनुपर्‍यो । यति भयो भने मात्रै यो कम्पनी उँभो लाग्छ र देशभरिको माग अनुसारको औषधी उत्पादन गर्न सक्छ ।

नेपाल औषधि कम्पनीको सिटामोल स्वास्थ्य संस्थाहरूले खरिद नगर्नुको कारण के पाउनुभएको छ ?

म विभिन्न मेडिकलहरूमा आफैँ गएर बुझ्दा धेरै मेडिकलहरूले यसमा नाफा नै छैन भने । प्राइवेट संस्था त नाफामुखी हुने नै भए । सरकारी स्वास्थ्य संस्थाहरूमा मात्रै पनि हामीले औषधि बेच्न पाउने हो भने त्यसको राम्रो प्रभाव हुने थियो ।

हाम्रो बिक्री गर्ने संयन्त्र भनेको स्टकिस नै हो । तर धेरै ठाउँबाट औषधि नपाएको गुनासो आएपछि मैले भ्यान प्रोग्राम पनि गरें । सामान बोकेर आफैँ हिँडे । त्यहि पनि किन्न मानेनन ।

यसको मतलब उनीहरूलाई अन्य सिटामोलमा बढी फाइदा हुन्छ होला । त्यसको गुणस्तर के छ ? कहाँबाट आउँछ ? त्यो कुरा व्यापारीलाई मतलब भएन । व्यापारीलाई त नाफासँग सरोकार रहन्छ ।

तर, सरकारले आयातमा नै प्रतिबन्ध लगाउनु पर्छ । सरकार आफैँले औषधि उत्पादन गरिरहेको छ भने बाहिरबाट किन आउन दिने ? त्यस्ता कुराहरूमा सरकारलाई हामीले पटक पटक अनुरोध गरिरहेका छौं । तर सुनुवाइ भएको छैन ।

त्यसैले सरकाले यस विषयमा नीति नै बनाउनु पर्छ जस्तो लाग्छ मलाई । हाम्रो सिटामोल पनि बजारमा गइरहेको छ । तर पब्लिकले नपाएको गुनासो गर्छन् । गत वर्ष मात्रै हामीले ३ करोड ट्याब्लेट बजारमा पठाएका छौं । त्यो औषधि कहाँ गयो भन्ने बुझ्न सकिएको छैन । अहिले पनि हामीले टेण्डर खोलिसकेका छौं ।

जहाँबाट कमिसन आयो, त्यहीँबाट औषधी खरिद गर्छन्‌ होला । नभए सरकारले सरकारी निकायलाई नै किन विश्वास गर्दैन त ? केही न केही छ होला । सरकारको यस्तै व्यवहारले सरकारी कम्पनीहरू डुबिरहेका छन् ।

कर्मचारीको तलबमा कति खर्च हुन्छ ?

कर्मचारी लगायत हाम्रो सवै प्रशाानिक खर्च मासिक ४० देखि ५० लाख छ । आम्दानी पनि सरदर त्यही अवस्थामा छ । उत्पादन थोरै भएको हुनाले यसलाई एकमुष्ट २०– २५ प्रकारका औषधि बनाइदिने र सरकारले किनिदिने हो भने हामी एकैचोटी नाफामा पुग्थ्यौं । तर समस्या त्यहि हो रकमकै अभावले गर्दा औषधिहरू बढाउन पाएका छैनौं ।

सरकारले केही केही औषधिहरू गुणस्तरहीन भएको भन्दै केही उद्योगहरू बन्द पनि गरायो । हाम्रो औषधि राम्रो छ पनि भनिराखेको छ तर किन्दैन ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  २ : ३३ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते 

टक्सार – जिल्लाको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक

एमाले ‘बामाले’मा परिणत भइसक्यो : भीम रावल (अन्तर्वार्ता)

चार दशकभन्दा लामो योगदान दिएका पूर्वउपाध्यक्ष डा. भीम रावल बुधबारदेखि

गैँडाको खागसहित एक जना पक्राउ

मनहरी – चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित

४१ देशका लागि संसदीय मैत्री समूह गठन

काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ