प्राडा संगीता भण्डारीले च्यातिन् कागज ! | Khabarhub Khabarhub

प्राडा संगीता भण्डारीले च्यातिन् कागज !

बीपीको कास बैठक अधुरै, उपकुलपतिलाई २२ घण्टादेखि पर्खेको पर्ख्यै



सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षक, कर्मचारीको पदोन्नति प्रक्रियाको हलो अड्किनुमा कायम मुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीको मात्र नभएर श्रीमती प्रा.डा संगीता भण्डारीको पनि भूमिका रहेको भन्दै आन्दोलनले अर्को मोड लिएको छ ।

आन्दोलनरत शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाजमा आवद्ध चिकित्सक शिक्षक र कर्मचारीहरूले बुधबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म प्रा.डा भण्डारीको कार्यकक्ष घेराउ गर्दै ‘जिन्दाबाद र मुर्दावाद’ को नारा लगाएका थिए ।

बीपी प्रतिष्ठानमा जारी आन्दोलनमा सहभागी भएको भन्दै एक नर्सिङ स्टाफलाई ‘तिमीलाई कारवाही किन नगर्ने?’ भनेर स्पष्टीकरण सोधेपछि आन्दोलनरत पक्षले उनको कार्यकक्ष घेराउ गर्दै चर्को नारा लगाएका थिए ।

आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर उनले नर्सिङ स्टाफलाई थर्काउँदै कारवाही गर्ने तयारी गरेको भन्दै आन्दोलनरत पक्षले भण्डारीलाई कि प्रतिष्ठान छाड्नुपर्ने कि कारवाहीको पत्र च्यातेर सार्वजनिक माफी माग्न दबाब दिएका थिए । उनको कार्यकक्ष तोडफोड नहोस् भनेर प्रहरीले सुरक्षा दिएको थियो ।

कार्यकक्ष बाहिर लगातार चर्को नाराबाजी भएपछि प्रा.डा भण्डारीले अस्पताल निर्देशक डा जगतनारायण प्रसादलाई बीपी प्रतिष्ठानको ‘कर्मचारी नियमावली’ लिएर तुरुन्त आउन फोनमार्फत आदेश दिएकी थिइन् ।

डा. प्रसाद पनि असहज परिस्थितिलाई समाधान गर्न नियमावलीको फाइल बोकेर प्रवेश गरेपछि शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खान, कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकाल, मेट्रोन हरिमाया राई, सहायक अस्पताल निर्देशक डा. इन्द्र लिम्बूसँग वार्ता भएको थियो ।

नियमावलीमा स्टाफ नर्सलाई मेट्रोन वा अस्पताल प्रशासनमार्फत मात्रै स्पष्टीकरण सोध्न पाउने नियम रहेको आन्दोलनकारीले सम्झाएका थिए ।

तत्कालका लागि उनले आफ्नो अधिकार क्षेत्र बाहिर गएर कारवाहीको पत्र काट्नु गलत भए पनि सार्वजनिक माफी भने नमाग्ने भन्दै नर्सिङ स्टाफलाई लेखेको पत्र सबैका सामुन्ने च्यातेपछि आन्दोलनकारीहरु उनको कार्यकक्ष छाडेर फर्किएका थिए ।

नाताले कामु उपकुलपति कार्कीकी पत्नीसमेत रहेकी प्रा.डा भण्डारी लामो समयदेखि बीपी प्रतिष्ठानको नाक कान घाँटी विभागमा कार्यरत छिन् । उनका श्रीमान प्रा.डा प्रल्हाद कार्की कामु उपकुलपति भए पनि चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नति प्रक्रिया अवरुद्ध हुनुमा भण्डारीको मुख्य भूमिका रहेको आरोप लाग्दै आएको छ ।

कसैलाई नछाड्ने र तत्काल प्रतिक्रिया दिइहाल्ने खरो स्वभावकी प्रा.डा भण्डारी यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति हुँदा विवादको घेराबाट बाहिर निस्कन सकिनन् । फर्केर आएपछि उनले बीपी प्रतिष्ठानमा आफ्ना श्रीमान कामु उपकुलपति भएको अवसर पारेर पुरै संस्थालाई धराशायी बनाउन खोजेको आरोप आन्दोलनकारीहरूले लगाएका छन् ।

बैठक कक्षमा कामु उपकुलपतिलाई पर्खेको पर्खेकै

यसैबीच बीपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा सञ्जीव शर्मा, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद र रजिष्ट्रार प्रा.डा सूर्य सङ्ग्रौलाले मंगलबार बेलुकादेखि भीभीआइपी कक्षमा कामु उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई पर्खेर बसेका छन् ।

सोमबार बैठक बसे पनि विना निष्कर्ष बैठक टुंगिएपछि मंगलबार चार बजे बैठक बसेको थियो । बैठकले माघ २९ गते सञ्चालक परिषदको बैठक बोलाउने निर्णय  गर्‍यो।

दोश्रो बुँदामा आन्दोलनरत पक्षका बारेमा भने कामु उपकुलपति र नयाँ नियुक्त गरिएका कास सदस्य स्वास्थ्य मन्त्रालयका उपसचिव राजेश पन्थी एकातिर भए भने तीन पदाधिकारी (शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रारको मत अर्कोतिर भयो ।

कामु उपकुलपति कार्कीलाई करिव २२ घण्टादेखि पर्खेर बसेका रजिष्ट्रार प्रा.डा सङ्ग्रौलाले भने, ‘अनिर्णयको बन्दी बनेको बीपी प्रतिष्ठानमा उपचार सेवा, पठनपाठन र परीक्षा सबै ठप्प छ ।’

उनले थपे, ‘आन्दोलनकारीहरु झन उग्र भइरहेकाले तत्काल समस्या समाधान गरेर निकास दिन माघ २१ गतेदेखि रोकिएको पदोन्नतिको बाँकी अन्तर्वार्ता सुरु गर्ने भनेर माइन्युटमा लेखेपछि कामु उपकुलपति ज्यू जुरुक्क उठेर बैठक छाडेर बाहिरिनु भयो । त्यसपछि फर्केर आउनु भएको छैन । म उहाँलाई पर्खेर बसेको छु । अन्य पदाधिकारी पनि सँगै छौं ।’

अन्तर्वार्ताको मितिमा सहमति जुट्न नसक्दा कासको बैठक यता न उताको भएको उनले बताए । नयाँ नियुक्त भएका उपसचिव राजेश पन्थी ‘नयाँ नियमावलीलाई सिनेटको बैठकबाट प्रमाणिकरण गरेपछि यथाशक्य चाडो अन्तर्वार्ताको  प्रक्रिया अगाडि बढाउन’ भनेर लेख्दै मंगलबार नै काठमाण्डौ फर्किसकेको रजिष्ट्रार प्रा.डा सङ्ग्रौलाले बताए ।

पन्थीले भनेकै कुरामा कामु उपकुलपतिले पनि सहमति जनाउन पुग्दा बहुमतमा रहेको तीन पदाधिकारीको मतलाई नमान्दा हलो अड्किएर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाइएको प्रा.डा सङ्ग्रौलाले बताए । उनले खबरहबसँग भने, ‘अस्तव्यस्त भएको बीपी प्रतिष्ठानमा देखिएको समस्याको समाधान गरेर निकास दिन बैठकमा आउनूस् भनेर कामु उपकुपतिलाई पत्रै लेखेर बोलाएँ पनि नआउनु भएपछि यथार्थ कुरो लेखेर मैले सहकुलपति स्वास्थ्य मन्त्रीलाई पनि पत्र पठाएको छु ।’

उनी अगाडि भन्छन्, ‘तर कामु उपकुलपति क्वार्टरमा बसेर माइन्युट मागिरहनुभएको छ । उहाँ अफिस पनि आउनु भएको छैन । बैठक समापन पनि भएको छैन । मैले कसरी र के भनेर माइन्युट उहाँलाई दिनु ?’

बीपी प्रतिष्ठानमा १७८ जना शिक्षक, चिकित्सक र १८ सय बढी कर्मचारीले आन्दोलन गर्दा समस्याको समाधान गरी निकास दिन भनेर यसअघि नै प्रधानमन्त्री र मुख्य सचिवलेसमेत धरानमा गएर तत्काल कासको बैठक राखी अन्तर्वार्ताको मिति तोक्न र सिनेट बैठक बोलाउने मिति तोक्न निर्देशन दिए पनि कासकै सदस्यबीच सहमति हुन नसकेको सङ्ग्रौलाले बताए ।

उनले भने, ‘अब झन संकट गहिरिँदै गएको छ । निकास दिने कामु उपकुलपतिले हो, हाम्रो हातमा छैन । उहाँकै भनाइलाई मान्ने हो भने समस्याको गाँठो फुक्दैन । चिकित्सक, शिक्षक कर्मचारीमा हामीप्रति विश्वास पनि घट्दो छ ।’

बीपी प्रतिष्ठानलाई धराशायी हुनबाट बचाउन कामु उपकुलपतिले आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजसँग वार्ता गर्न पनि नमानेको र कासका सदस्य पदाधिकारीले भनेको पनि नमानेपछि समस्याको जिलीगाँठी फुकाउन नसकिएको प्रा.डा संग्रौला बताउँछन् ।
उनले माथिल्लो तहबाटै समस्याको गाँठो फुकाउनु पर्ने अवस्था आएको उल्लेख गर्दै भने, ‘नत्र यो बीपी प्रतिष्ठानको अस्तित्वमै संकट आउँछ । त्यसको जिम्मा कसले लिने ?’

बैठक स्थलमा जान नचाहेका कामु उपकुलपति प्रा.डा कार्की भने यतिबेला आफ्नो पुरानै अडानलाई कायम राख्दै विभिन्न शक्ति केन्द्र, मेडिकल उपकरणका व्यापारी, ठेकेदारहरुलाई सहयोगको याचना गरिरहेको समाजले आरोप लगाएको छ । उनले पछिल्लो समयमा वीपी प्रतिष्ठानका

पूर्वउपकुपति समेत रहेका कांग्रेसका नेता डा. शेखर कोइरालालाई हारगुहार गरिरहेको बताइन्छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : १७ बजे

अर्थसंक्षेप : ४९ अंकले बढ्यो नेप्से, प्रहरीले उठायो २ अर्ब बढी राजस्व

काठमाडौं- आज नेप्से ४९ अंकले बढेको छ । नेपाल प्रहरीले

प्रचण्डलाई सुदनको सुझाव- दस्तावेजमा योगा राख्ने भए मुन्दुमको बिजुवा पनि अटाऔँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले अध्यक्ष पुष्पकमल

श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं– श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम

पाकिस्तानको खैबर पख्तुनख्वामा स्वास्थ्य बजेट २ खर्ब ३२ अर्ब

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत १० वर्षदेखि पूर्वप्रधानमन्त्री इमरान

किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान

झापा- घरमा सहयोगी राखिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा