जनयुद्धमा त्याग, वीरता र वलिदानका ठूला ठूला कीर्तिमानहरु कायम गरी शहीदहरुले बलिदानका कोटाहरु चुक्ता गरे । तर, हामी जुन नयाँ जनवाद र वैज्ञानिक समाजवादमा जाने भनिएको थियो, त्यो अभियान पूरा हुन सकेन । बीचमै रोकियो । धोका र धक्का भनेका छौं हामीले ।
नेपालमा संशोधनवाद एकदम बढेर गयो । दक्षिणपन्थी अवसरवाद बढेर गयो । समग्र आन्दोलनलाई हेर्दाखेरि साराका सारा कम्युनिष्टहरु चुनावको उपयोग गर्नेमात्रै होइन, संसदीय व्यवस्थालाई नै आफ्नो आदर्श मानेर जाने काम भयो । त्यसकारणले ठूलो एउटा दुर्भाग्यको घटना घटेको छ ।
संशोधनवाद सिंगो नेपाली कम्युनिष्ट आन्दोलनमा व्याप्त छ । यसका विरुद्ध सशक्त संघर्ष नगरिका हामीले क्रान्तिका निम्ति विचारधारात्मक तयारी गर्न सक्दैनौं । क्रान्ति पनि गर्न सक्दैनौं । प्रतिक्रियावादका विरुद्धमा लड्न त छँदैछ, संशोधनवादका विरुद्ध पनि लड्न जरुरी छ ।
यो लडाइँमा, यो विचारधारात्मक संघर्षमा हामीले समाजवादी यथार्थवादलाई पक्डेर जानुपर्छ । प्रगतिवादलाई पक्डेर जानुपर्छ । यो लडाइँलाई सशक्त रुपमा बढाएर अगाडि लैजानका निम्ति संसदलाई आफ्नो आदर्शका रुपमा स्वीकार गर्ने प्रवृत्तिले कहाँ पुर्याउँछ ? यो गम्भीर प्रश्न छ हामी सबैका लागि ।
सबै सच्चा मार्क्सवादीहरु एक ढिक्का भएर सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनका निम्ति र विचारधारात्मक संघर्षलाई मजबुद बनाउनका निम्ति एकढिक्का भएर जान जरुरी छ ।
जनयुद्धको सौन्दर्यशास्त्र
जुनबेला जनयुद्धको सौन्दर्यशास्त्र भनियो, त्यो बेग्लै सौन्दर्यशास्त्रका रुपमा होइन, मार्क्सवादी सौन्दर्यशास्त्र अन्तरगतको एउटा वर्गसंघर्षको सौन्दर्यशास्त्रका रुपमा हामीले लिएको हो । यो त्याग, वीरता र बलिदानको सौन्दर्यशास्त्र हो ।
साथीको सहादत भएका बेलामा खुशी हुने हो कि दुःखी ? आनन्द र आतंकको सौन्दर्यशास्त्र त्यही हुँदोरहेछ
सौन्दर्यशास्त्रका प्रवर्गहरु हुन्छन् । ती सबै प्रवर्गहरुलाई वर्ग संघर्षले समृद्ध बनाइदियो । सौन्दर्यपरक आलोक पनि छ । त्यसमा वीरता र वलिदानको भावना पनि छ । हामीले त्यो सौन्दर्यशास्त्रलाई आनन्द र आतंकको सौन्दर्यशास्त्र भन्यौं ।
कृष्ण सेन इच्छुकजीले एउटा कविता लेख्नुभएको छ, बन्दी र चन्द्रागिरि । उहाँले जेलमै हुँदाखेरि लेख्नुभएको हो । त्यो कविता ‘कोट’ गरेर ताराकान्त पाण्डेयजीले त्योबेलाको विम्वका रुपमा त्यसलाई उद्धृत पनि गर्नुभएको छ ।
जस्तो– साथीको सहादत भयो । साथीको सहादत भएका बेलामा खुशी हुने हो कि दुःखी ? सुखी हौं भने साथीको सहादत भएको छ, दुःखी हौं भने साथी सहीद भयो । अब दुःख मान्ने कि सुख मान्ने ? आनन्द र आतंकको सौन्दर्यशास्त्र त्यही हुँदोरहेछ । यहाँ आनन्द पनि छ, आतंक पनि छ । यो भावलाई त्यो बेलाको संघर्षमा अभिव्यक्त गर्नका निम्ति जनयुद्धको सौन्दर्यशास्त्र भनियो । यो मार्क्सवादभित्रकै हो, छुट्टै, अर्कै होइन ।
त्यो ऐतिहासिक सन्दर्भमा जनयुद्धको सौन्दर्यशास्त्र भनियो, ठिकै छ । अब फेरि जनयुद्धको सौन्दर्यशास्त्रै भन्नुपर्छ भन्ने कुरा भएन । मार्क्सवादी सौन्दर्यशास्त्र भनेर बुझ्दा भयो ।
पछिल्लो कालमा आउँदाखेरि त प्रचण्डपथ कता हरायो, कता । हामीले हटाएको हैन, उहाँ आफैंले हटाउनुभएको हो
प्रचण्डपथीय सौन्दर्यशास्त्र
जनयुद्धकालमा प्रचण्डपथीय सौन्दर्यशास्त्र भनियो । त्यो बेलामा जोश थियो । नेता चाहिएको थियो । प्रचण्डलाई साँच्चै नेपालको एउटा मार्क्स र लेनिन नै पाइयो भन्ने भइराखेको थियो । त्यै बेलामा ‘प्रचण्डपथ’ पनि बनाइयो । ठीक गरियो कि बेठिक गरियो, त्यसको मूल्यांकन हुँदै जाला, तर बनाइयो । अहिले पछिल्लो कालमा आउँदाखेरि त प्रचण्डपथ कता हरायो, कता हरायो ।
हामीले हटाएको हैन त्यो प्रचण्डपथ, उहाँ आफैंले हटाउनुभएको हो । यो प्रचण्डपथ चाहिएन भनेर हामी कसैले प्रचण्डपथको विरोध गरेका पनि होइनौं । यो चाहिएन भन्नुभयो र आफैं हटाउनुभयो ।
हामीले पनि विचार गरियो, त्यस्तो (प्रचण्डपथ) त भन्न हुँदोरहेनछ । त्यो त कमजोरी गरियो भनेर हामी पनि फेरि विभिन्न धाराहरुमा विभक्त भयौं । कतिले कमजोरी भयो भनेर भनियो, कतिपय साथीहरुले त्यो पनि भन्नुभएको छैन होला ।
एउटा विशिष्ट अवस्थामा त्यागको भावना पनि भयो त्यो रुपमा प्रचण्डपथ भनियो र पछि त्यो उपयुक्त भएन भनियो र त्यसलाई पनि छोडियो । त्यस अर्थमा यो प्रचण्डपथ आयो ।
जबजको सौन्दर्यशास्त्र
नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्न धाराहरु जन्मिँदाखेरि जनताको बहुदलीय जनवाद जन्मियो । एमालेहरुले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नुभयो ।
राजनीतिक विचारधाराको क्षेत्रमा यो पथप्रदर्शक सिद्धान्त पनि हो, यो राजनीतिक कार्यक्रम पनि हो र यो नीति पनि हो भनेर उहाँहरुले डकुमेन्टमा लेख्नुभएको छ । अनि त्यो जनताको बहुदलीय जनवाद (जबज) लाई गोविन्द भट्टजीले हाम्रो साहित्य, चिन्तन इत्यादि पनि जबज हो भन्ने हिसाबले आएको हुनाले जबजको सौन्दर्यशास्त्र भनेर जानुभो ।
यो सौन्दर्यशास्त्रको चर्चा गर्दा आफ्नो विवेचनामा घनश्याम ढकालजीले ‘सौन्दर्यशास्त्रीय संशोधनवाद’ भनेर लेख्नुभएको छ ।
(शनिबार काठमाडौंमा आयोजित घनश्याम ढकालको १२ औं स्मृति दिवसमा माओवादी आन्दोलनका अगुवा एवं प्रचण्डका राजनीतिक गुरुसमेत मानिने मोहन वैद्यले व्यक्त गरेको मन्तव्यमा आधारित)
प्रतिक्रिया