नेपालले जलवायु परिवर्तनको असर सहनु परिरहेको छ : सभामुख घिमिरे « Khabarhub

नेपालले जलवायु परिवर्तनको असर सहनु परिरहेको छ : सभामुख घिमिरे


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन्।

स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभालाई आज सम्बोधन गर्नुहुँदै उनले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गरे।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर २०२३ को नेपाल भ्रमणका क्रममा नेपालको संसद्बाटै जलवायु परिवर्तनले निम्त्याएका समस्याप्रति निकै जोडका साथ विश्व समुदायको ध्यानाकर्षण गराएप्रति सभामुख घिमिरेले जानकारी गराउनुभएको उनको सचिवालयले जनाएको छ ।

उनले आफ्नो राष्ट्रले गरेका वाचा इमान्दारीका साथ पूरा गर्न सरकारलाई झक्झक्याउनु सबै सांसदहरूको कर्तव्य भएको बताए ।

“नेपाल आफैँमा अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने मुलुक हो तर नेपालले जलवायु परिवर्तनको धेरै ठूलो मार सहन गर्नु परिरहेको छ । नेपालमा रहेका उच्च हिमालहरूको हिउँ पग्लिने क्रम तीव्र हुँदा त्यसमुनिका पर्यावरण चरम जोखिममा परेका छन् । यसले समुद्री सतहको नजिक रहेका खासगरी टापु राष्ट्रहरूलाई पनि जोखिममा पारेको छ । यो गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउनुपर्छ,” उनले भने, “विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकहरूले यसको प्रभाव बढी भोग्ने मुलुकहरूप्रति गरेका प्रतिबद्धताहरू कार्यान्वयन हुनुपर्छ । म यहाँ उपस्थित सबै सांसदलाई हामी सबै राष्ट्रका सांसदहरू निष्ठापूर्वक यो कर्तव्य निर्वाह गरौँ भनी आह्वान गर्दछु ।”

उनले उक्त महासभामार्फत नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको सन्देश दिए ।

“ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणाम हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौँ । असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग छ,” उनले भने, “नेपालको संविधानले नै संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यतामा आधारित अन्तरराष्ट्रिय सम्बन्ध नीति निर्दिष्ट गरेको छ । संविधानले अङ्गीकार गरेको यो नीतिलाई नेपालको सङ्घीय संसद्ले पनि आत्मसात् गरेको छ । समग्रमा हाम्रा संसदीय कूटनीतिका प्रयासहरू सोही नीतिबाटै प्रेरित छन् ।”

सम्बोधनमा क्रममा सभामुख घिमिरेले कूटनीतिक कार्यको पुरातन र परम्परागत अवधारणामा परिवर्तन आइसकेको बताए । उनले यसको दायरा फराकिलो भइसकेको जनाउँदै वैकल्पिक कूटनीतिका औजारमध्ये संसदीय कूटनीति निकै महत्वपूर्ण औजारका रूपमा विकसित भएको बताए।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ९ : ४७ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स