जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित) | Khabarhub Khabarhub

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

भूमाफियाको टाउको दुखाउने दफा १२ मै छेडछाड



काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गर्‍यो ।

लगानी सम्मेलनकै छेकोमा ऐनहरू संशोधन गर्दैगर्दा यो कदमलाई विदेशी लगानीकर्ता भित्र्याउने प्रयासका रूपमा सरकारी अधिकारी र सत्तारुढ नेताहरूले अर्थ्याउन खोजिरहेका छन् ।

तर, भूमिसम्बन्धी ऐन, २०२१ मा गरिएको संशोधनले विदेशी लगानीकर्ता आकर्षित गर्ने होइन, उद्योग र परियोजनाका नाममा बढी जग्गा ओगटेकाहरूको निहीत स्वार्थ पूरा गर्ने जोखिम बढेको स्वयम् सरकारी अधिकारीहरू र सरोकारवाला बताउँछन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१’ जारी गर्दै गर्दा हदबन्दी छुट लिएका कम्पनीले हदभित्रको जग्गा बेच्न सक्ने प्रावधान ल्याउनुको नियतबारे संशय उब्जाएको हो ।

दफा १२ मा फेरि छेडछाड

सरकारले ९ वटा ऐन संशोधन गर्दा पहिलो नम्बरमा भूमिसम्बन्धी ऐन, २०२१ लाई नै चलाएको छ । त्यो ऐनका दफा १२ भूमाफिया र स्वार्थसमूहको विशेष चासो र टाउको दुखाइ हो । झापा बिर्तामोडस्थित गिरिबन्धु टी स्टेटको करिब २८० रोपनी महँगो जग्गा सट्टाभर्नाका नाममा बेच्ने उद्धेश्य पूरा गर्न पनि यही दफा चलाइएको थियो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ मा भूमिसम्बन्धी ऐन, २०२१ मा आठौँ संशोधन गर्दा उद्योगहरूको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा बिक्री, सट्टापट्टा र स्थानान्तरण गर्ने व्यवस्था गरेको थियो ।

त्यसलाई मूर्तरूप दिन २०७८ वैशाख १३ गते मन्त्रिपरिषद् बैठकमार्फत गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा वा स्थानान्तरणको लागि स्वीकृति दिएको थियो ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (२) र भूमिसम्बन्धी नियमहरू २०२१ को नियम १६ ‘क’ को उपनियम (६) अनुसार स्तरहरू तोकी सट्टापट्टा गर्न दिने गरी ओली नेतृत्वको क्याबिनेटले ऐन चलाएको थियो ।

ऐन संशोधन गरी उद्योगहरूको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा बिक्री, सट्टापट्टा र स्थानान्तरण गर्ने व्यवस्था गरिएको थियो । साथै मूल ऐनको दफा १२ पछि ‘ग’ को उपदफा (१) मा जग्गा बिक्री तथा उपदफा (२) मा सट्टापट्टा गर्न पाउने व्यवस्था गरेको थियो ।

यो पटक पनि दफा १२ का उपदफाहरूलाई अध्यादेशमार्फत सरकारले पाँच ठाउँमा चलाएको छ । उपदफा (१), (२) र (३) मा संशोधन र थपथाप गरी हदबन्दीभन्दा बढी जग्गा राख्न खाजेका कम्पनीलाई त्यस्तो जग्गा लिन र कम्पनीको नाममा किनेको जग्गा ऋण तिर्ने-दायित्व भुक्तानी गर्न भन्दै बेच्ने बाटो सरकारले ल्याएको विधेयकले खोलेको हो ।

नेपालमा जग्गा हदबन्दीको पछिल्लो इतिहास वि.सं. २०२१ सालमा भूमिसुधार लागू भएयता शुरू भएको हो । व्यक्तिसँग रहेको हदबन्दीभन्दा बढीको जमिन सरकारीकरण हुने भएपछि जमिनदारहरूले उद्योगधन्दा सञ्चालन गर्न भन्दै हदबन्दी छुट लिएका थिए ।

पछिल्ला दशकमा पनि उद्योगधन्दा र पूर्वाधार परियोजना निर्माण गर्न हदबन्दीभन्दा बढीको जमिन राख्ने, भाउ महँगिएपछि बेच्ने प्रयास हुँदै आएको थियो । यस्तो प्रयासलाई मूर्तरूप दिन मुख्यतः भूमिसम्बन्धी ऐनको दफा १२ नै चलाउने प्रयास भइरहेको थियो ।

जग्गा सट्टाभर्ना र कम्पनी स्थानान्तरणको अध्यायबाट जमिन बेच्न नसक्ने भएपछि सरकारले ऐनको दफा १२ (ग) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (२) पछि खण्ड (३) पनि थपेको हो ।

उक्त खण्डमा लेखिएको छ :

‘अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्ने सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै संस्थाको रोजगारी तथा उत्पादन नघट्ने र निरन्तर सञ्चालन हुन सक्ने भएमा बैङ्क तथा वित्तीय संस्थाको ऋण फरफारक र दायित्व भुक्तानीका लागि दफा ७ बमोजिमको हदभित्रको जग्गा मन्त्रालयले तोकेको शर्तको अधीनमा रही मन्त्रालयको स्वीकृतिमा एक पटकको लागि बिक्री वितरण गर्न बाधा पर्ने छैन । तर, त्यसरी हदभित्रको जग्गा विक्री वितरण गरिएको कारणले जग्गा बिक्री गर्नुभन्दा अघि हदबन्दीभन्दा बढी रहेको जग्गा दफा ७ बमोजिमको हदभित्र कायम भएको मानिने छैन ।’

यो पनि-
लगानी सम्मेलनको बहानामा गिरीबन्धुलाई मालामाल

२०० बढी कम्पनीलाई जग्गा बेच्ने बाटो खुला

ऐन संशोधनसँगै हदबन्दीभन्दा बढी जमिन राखेका २०० भन्दा बढी कम्पनीलाई ऋण तिर्ने र दायित्व भुक्तानी गर्ने बहानामा जग्गा बेच्ने बाटो खुल्नेछ ।

नेपालमा यतिखेर जलविद्युत, चिया बगान, कृषि फर्म, मेडिकल कलेज, जडिबुटी उत्पादन कम्पनी, फाउन्डेशन, मिल, सिमेन्ट उद्योग, रिसोर्ट, आवास विकासकर्ता, ट्रष्टका नाममा सञ्चालित विद्यालय लगायतले हदबन्दी छुटको जग्गा राखेका छन् ।

त्यस्ता कम्पनीका सञ्चालकहरूले हदभित्र रहेको भनिएको जग्गा ऋण र दायित्व देखाएर बेच्ने र बाँकी जग्गामा हद कायम गरेर पुनः बेचबिखन गर्ने बाटो खोल्नेगरी ऐन संशोधन गरिएको जानकारहरू बताउँछन् ।

छिद्र टाल्नुपर्छ : प्रवक्ता भट्ट

अध्यादेशमार्फत ल्याइएको यस्तो प्रावधान लगानी सहजीकरणका नाममा कार्यान्वयनमा लैजाँदा भूमि व्यवस्थापनमा कस्तो अराजकता निम्तिन्छ भन्नेमा स्वयम् मन्त्रालय अनभिज्ञ देखिन्छ ।

खबरहबले जिज्ञासा राख्दा विभागीय मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले त्यसैतर्फ संकेत गरे । तर लगानी सम्मेलनअघि अवरोधक भनिएका ऐनका व्यवस्था संशोधन गरिएको पनि उनले धारणा राखे ।

‘ऐन संशोधनको आशय त लगानी आकर्षित गर्ने नै हो, बदमासी गर्ने छिद्र (लुपहोल) कसरी टाल्ने भन्ने जोखिम चाहिँ छ’, भट्टले भने, ‘कुनै उद्योग-व्यवसाय खोल्दा धेरै लगानी जग्गामा जाने भयो, पछि सञ्चालन गर्दा समस्या आइहाले त्यसलाई समाधान गर्न जग्गा बेच्ने विकल्प पनि छ है भनी लगानीकर्तालाई निश्चिन्त पार्न खोजिएको हो ।’

खबरहबलाई प्राप्त विवरणमा १९७ कम्पनीले जग्गा हदबन्दी छुट पाएका छन् । तर यो अद्यावधिक तथ्याङ्क भने होइन । भूमि व्यवस्थापन तथा अभिलेख विभाग स्रोतका अनुसार कम्तिमा २१० भन्दा बढी कम्पनीले हदबन्दीभन्दा बढी जमिन राख्ने छुट पाएका छन् ।

मन्त्रालयका प्रवक्ता भट्टले पनि कतिले हदभन्दा बढी जमिन लिएका छन् भन्ने एकीन रेकर्ड नभएको स्वीकारे । साथै हदबन्दी छुट दिइएको जग्गा नियमन पनि राम्ररी गर्न नसकिएको उनको भनाइ छ ।

पूर्वसचिव गोपीनाथ मैनाली हदबन्दी छुट जग्गा तोकिएकोबाहेक अन्य प्रयोजनमा लगाउनु नै गलत भएको बताउँछन्

‘यस्तो संशोधनले लगानी होइन, भू–दोहन निम्त्याउँछ’ : मैनाली

राष्ट्रिय योजना आयोगको पूर्वाधार विकास महाशाखामा लामो समय काम गरेका तथा भूमि व्यवस्था मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनाली हदबन्दी छुट जग्गा तोकिएकोबाहेक अन्य प्रयोजनमा लगाउनु नै गलत भएको बताउँछन् । सरकारले गरेको ऐन संशोधनको आशय नै खराब र भू–दोहन निम्त्याउने खालको भएको उनको भनाइ छ ।

‘लगानी सम्मेलनको केही दिनअघि ९ वटा ऐन, त्यो पनि अध्यादेशबाट संशोधन गर्दैमा लगानी आउने होइन,’ खबरहबसँग कुरा गर्दै मैनालीले भने, ‘विदेशी कम्पनीले हदबन्दीभन्दा बढीको जमिन खोजेकै छैनन् । यथार्थभन्दा गर्भित उद्धेश्यले हदबन्दी छुटको जग्गा लिएकाबाट पोसिन यस्तो संशोधन भएको भन्न सकिन्छ ।’

विदेशी लगानीकर्ताले सुशासन, व्यवहारगत समस्या समाधान, लगानी सुरक्षा, सहजता, बिना अवरोध मुनाफा लैजाने वातावरण र राम्ररी लगानी फिर्ता लैजाने अवस्था चाहेको मैनाली बताउँछन् ।

हदबन्दीभन्दा बढी जमिन राखेका कम्पनीको सूची

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : ०१ बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।