अर्थसंक्षेप : सहकारी पीडितको आन्दोलनदेखि टिप्ताला नाका खुल्लासम्म  | Khabarhub Khabarhub

अर्थसंक्षेप : सहकारी पीडितको आन्दोलनदेखि टिप्ताला नाका खुल्लासम्म 


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज सुनको मूल्यमा १८ सयले गिरावट भयो । आज सहकारीमा बचतकर्ताहरू आफ्नो बचत फिर्ताको लागि दबाब दिन काठमाडौं माइतीघरमा केन्द्रीकृत भएर प्रदर्शन गरे । मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा तीन सय ७४ वटा साना उद्योग बन्द भएका छन् । ताप्लेजुङको टिप्ताला नाका शुक्रबारदेखि खुला गरिएको छ । टेस्लाका मालिक एलोन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् ।

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरु :

१८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५०  रुपैयाँ थियो ।

सहकारीपीडित आजदेखि फेरि आन्दोलनमा

सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

आफूहरूको बचतको फिर्ताको लागि दबाब दिनको लागि उनीहरूको यो अर्को चरणको आन्दोलन गरेका हुन् । काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा पनि आन्दोलन गर्ने आन्दोलनकारीहरूले बताएका छन् ।

आर्थिक मन्दीको प्रभाव : मकवानपुरमा मात्रै ३ सय ७४ उद्योग बन्द

आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा तीन सय ७४ वटा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ एक सय ६७ र वाणिज्यतर्फका दुई सय सात उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा उद्योगतर्फ तीन सय २३ र वाणिज्यतर्फ दुई सय ९१ गरी छ सय १४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९/८० मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए ।

चालु आवमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

सहकारी बचत तथा कर्जा सुरक्षण कोष बनाइँदै, सरकारको ६० र सहकारीको ४०५ लगानी हुने

सरकारले सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा नै निश्चित रकम तथा कार्यक्रम व्यवस्था गरी सरकारले उक्त कोष स्थापना गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा ‘सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधीकरणमार्फत् सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिनेछ’ उल्लेख गरिसकेको छ ।

सोही कार्यक्रम कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमै ५ अर्ब रुपैयाँ विनियोजन गर्ने तयारी भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । सरकारको तर्फबाट ६० प्रतिशत र सहकारीहरूको तर्फबाट ४० प्रतिशत लगानी प्रस्तावसहित आवश्यक मोडिलाटी तयार गरी कोष स्थापना गर्नेबारे छलफल भएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।

सहकारी ऐन, २०७४ को दफा १०१ मा नै सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने सम्बन्धी व्यवस्था गरिएको छ । सो ऐनमा ‘नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहले सहकारी संस्थाहरूको सहभागितामा संस्थाहरूले परिचालन गर्ने बचत र प्रदान गर्ने कर्जाको सुरक्षण व्यवस्थाको लागि एक सहकारी बचत तथा कर्जा सुरक्षण कोष खडा गर्न सक्नेछ’ लेखिएको छ ।

बबई सिँचाइको मुआब्जा बाँड्ने तयारी

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ । आवश्यक जग्गा अधिग्रहणका लागि गत वर्ष सूचना जारी गरेको आयोजनाले मुआब्जा वितरणका लागि किसानका आवेदन संकलन गर्दै छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ ९२० बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए ।

‘मुआब्जाका लागि जग्गाधनी प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद लिई जग्गाधनी स्वयं वा अदालतबाट प्रमाणित अधिकृत वारेशनामा पत्रसहित आउनुपर्छ, हामीले सूचना जारी गरिसकेका छौँ,’ उनले भने, ‘जग्गाधनी वा वारेश लिएको व्यक्ति उपस्थित भई आयोजनाका नाममा जग्गा दाखिला गरेपछि मुआब्जा रकम उपलब्ध हुन्छ, जग्गामा भएका बोटबिरुवा तथा घरगोठ टहरालगायतका संरचनाको क्षतिपूर्ति नहर निर्माणको काम हुँदाका बखत तत्काल नापजाँच एवं सर्जमिन मुचुल्का गराइ यकीन भएपछि मात्र उपलब्ध गराउँछौं ।’

गुलरिया नगरपालिका–१, २ र ३ को लागि वडा नं १ को वडा कार्यालयमा आयोजनाका कर्मचारीबाट सहायता कक्ष राखी सेवा सञ्चालन गरिएको छ । मुआब्जाका लागि सडकसँग जोडिएको र खेतीयोग्य जमिन वर्गीकरण गरी रकम मूल्याङ्कन गरिएको उनको भनाइ छ ।

मुआब्जाका लागि आवश्यक कुल २८ करोडमध्ये यस वर्ष तीन करोड वितरण गर्ने र अपुग रकम अर्को वर्ष भुक्तानी गर्ने आयोजनाको तयारी छ । अघिल्लो वर्ष निर्णय भएकाले यस वर्ष भुक्तानी पाउनेछन् । आवेदन दिइ मुआब्जा लिन निर्देशक देवकोटाको आग्रह छ ।

टिप्ताला नाका आजबाट खुल्ला 

ताप्लेजुङको टिप्ताला नाका शुक्रबारदेखि खुला गरिएको छ । नेपाल–चीनको सिमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो । लामो प्रयासपछि शुक्रबारदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए ।

लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरूले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरू करिब १० दिनसम्म तिब्बतमा रहनेछन् ।

गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो ।

चीनतर्फबाट तयारी पूरा गरेर शुक्रबारदेखि नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन् ।

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन् । टिप्ताला नाका कोरोना महामारीयता बन्द थियो ।

आचार्यले टिप्ताला नेपाल–तिब्बतको महत्वको व्यावसायिक नाकासमेत भएकाले द्विदेशीय व्यापार प्रवर्द्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताए । ‘व्यावसायिक हिसाबले यो नाका महत्वको छ, यसलाई उपयोग गर्ने गरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ,’ उनले भने ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको प्रमुख पुर्खौली पेसा पशुपालनमा९याक० निर्भर हुँदै आएको छ । चीनका बजारमा चौँरी याकहरुको माग राम्रो छ । यहाँका चौँरी याक चीन निर्यात गर्नका लागि चौँरी याक गोठलाई मुख्य पेसाको लिएका छन् । चौँरी याक निर्यात हुन नसक्दा किसानलाई आर्थिकरुपमा समेत संकट बेहोर्नुपरेको मिक्वाखोला गाउँपालिका–५ का चौँरी याक पालक मिलन दोर्जेको भनाइ छ ।

पाँच हजार दुई सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा दुई साता अगाडि मात्र पहिलो पटक नेपाली गाडी (ट्र्याटर) पुर्‍याइएको थियो । सडक निर्माण कम्पनीका ठेकेदार पेम्बा ठिले शेर्पा छ वर्षदेखिको मेहनत सफल भएको बताए । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भञ्ज्याङको दूरी ८५ किलोमिटर छ । आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ ।

अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कको विरोध

टेस्लाका मालिक एलोन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निकासी हुने विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेका थिए ।

पेरिसमा भएको एक सम्मेलनको क्रममा कार निर्माता टेस्लाका मालिक एलोन मस्कले भने, ‘न टेस्ला न मलाई ट्यारिफ वृद्धिको माग गरिएको थियो ।’ यद्यपि, जनवरीमा, मस्कले व्यापारमा कुनै प्रतिबन्ध नहुँदा चिनियाँ कार निर्माताहरूले आफ्ना प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्ने बताएका थिए । गत हप्ता, जो बाइडेनले अमेरिकामा जागिरहरू जोगाउन केही कदमहरू घोषणा गरे । यी चरणहरूमा चिनियाँ विद्युतीय सवारी साधनको शुल्कमा शतप्रतिशत वृद्धि पनि समावेश छ ।

मस्कले अमेरिकाको यो कदमबाट आफू चकित भएको बताएका छन् । मस्कले भने, ‘टेस्लाले धेरै राम्रो गरिरहेको छ किनभने चीनमा कुनै शुल्कहरू छैनन् ।’ अमेरिकाले कर वृद्धि गर्ने निर्णयको चीनले विरोध गरेको छ । अमेरिकाको यो निर्णयको जवाफमा चीनले पनि कदम चाल्ने बताएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : १० बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को