राजनीति

सरकारले कामको गति बढाउनुपर्छ, अहिले विकल्पबारे सोच्न सकिँदैन : शेखर कोइराला

By खबरहब

October 24, 2024

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् ।

बिहीबार विराटनगर स्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा. कोइरालाले करिब दुईतिहाइको सरकार भएकाले अन्य काममाभन्दा सहमतिअनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने बताए।

वर्तमान सरकार नेपाली कांग्रेस र एमालेबीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको उनले बताए ।

अब सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उनले उल्लेख गरेका छन् । जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरे पनि पर्याप्त नभएको उनले बताए ।

कोइरालाले न्यायापालिकाको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको बताए ।

उनले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको जिकिर गरे ।

आफूलाई पाटीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको बताउँदै उनले यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने पनि बताए । प्रदेश सरकार विस्तारबारे आफूसँग छलफल नगरिएको उनको गुनासो थियो ।