सोसल मिडियामा रवि : देवत्वकरणदेखि राक्षसीकरणसम्म ! « Khabarhub

सोसल मिडियामा रवि : देवत्वकरणदेखि राक्षसीकरणसम्म !

दुर्गा प्रसाईं र गोकुल बास्कोटादेखि जेपी गुप्तासम्म के भन्छन् ?



काठमाडौं– टेलिभिजन प्रस्तोताबाट लोकप्रियता कमाएका रवि लामिछानेले पार्टी खोलेको छोटो समयमै संसदमा २० सीटसहित दरिलो रुपमा उपस्थित भए । दुईचोटि गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत भए । पासपोर्ट र नागरिकता प्रकरणमा अदालतले सांसद पद खोसे पनि उनी फेरि उपचुनाव जितेर संसदमा आए । अहिले उनी सहकारी ठगी एवं संगठित अपराधको अभियोगमा पोखरामा प्रहरी हिरासतमा छन् ।

सहकारीको साढे ५ करोड रकम गोर्खा मिडियामार्फत संगठित रुपमा अपचलन गरेको अभियोग रविमाथि छ । रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लगेर गोर्खा मिडियामा लगेको उनीमाथि आरोप छ । तर, सरकारले राजनीतिक प्रतिशोधको साँधेर रविलाई पक्राउ गरेको आरोप रास्वपाले लगाएको छ । सो पार्टी अहिले सडक आन्दोलनमा छ ।

रास्वपा यतिबेला किन सडकमा ओर्लियो ? यसबारे सामाजिक सञ्जालमा विभिन्नखाले प्रतिक्रिया आएका छन् । रविको पक्ष र विपक्ष दुबैतिर लागेर मानिसहरु भर्चुअल भनाभनमा भिडेका छन् । सामाजिक सञ्जालमा खासगरी रास्वपा र एमाले कार्यकर्ताबीच वादविवाद भइरहेको छ ।

कसैले रविलाई देवत्वकरण गरेका छन् त कसैले राक्षसीकरण । केही प्रतिक्रियाहरु चाहिँ बैचारिक एव‌ं सन्तुलितखालका पनि देखिन्छन् । रास्वपामाथि भरोसा गर्नेहरु भनेर चिन्तित देखिएका छन् ।

रविको गिरफ्तारी प्रकरणबारे फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा भेटिएका केही तर्क–वितर्क उनीहरुकै शब्दमा पढौं :

सीता पोखरेल घिमिरे : मलाईचाहिँ अहिलेको यो नीलो क्रान्तिले रास्वपाप्रतिको विश्वास घटेको छ । किनभने, वहाँहरुको माग रविजीलाई न्यायालयबाट निष्पक्ष छानबिन होस् भन्ने माग हुनुपर्ने र अन्य पार्टीका नेताहरुमाथि पनि छानविन होस् र दोषी ठहरिए वहाँहरुलाई पनि रविजीलाई जस्तै छानबिनको दायरामा ल्याइयोस् भन्ने माग हुनुपर्ने जस्तो लाग्छ मलाई ।

अहिले रास्वपाका साथीहरुले देखाउनुभएको चर्तिकला अदालतलाई निष्पक्ष काम गर्न नदिने भिडतन्त्रको दबाबले एक चेतनशील नेपाली, जसले रास्वपाप्रति राम्रो सोच राख्नेलाई पनि रास्वपा ठगहरुकै पार्टी हो कि भनेर सोच्न बाध्य तुल्याएको जस्तो लाग्छ मलाई । यस्तो संकटको घडीमा संयमता हुनुपर्ने तर रास्वपाका अधिकांश सांसद उद्दण्डरुपमा प्रस्तुत हुँदा धेरै नेपालीलाई उदेक लागेको छ ।

डा. तोसिमा कार्की (रास्वपा सांसद)

ए सरकार !!! यो एक–एक आवाज नागरिकको आवाज हो । तिम्रो बालुवाटार, तिम्रो सिंहदरबार, तिम्रो आलिसान महल, तिम्रो घर, तिम्रो ओछ्यान, तिम्रो विलासिताको भोकले आम जनताको पीडालाई गिज्याइरहेको छ !! हजारौं सहकारीपीडितहरू गास, बास, कपास र घरबारविहीन हुनुपरेको अवस्था छ । उपचार गर्ने पैसो छैन । बालबच्चा पढाउने पैसो छैन । गरीखाने ठाउँ छैन । जनता मरिरहेका छन् । तिम्रो लोकतन्त्रमा नागरिकको आवाजले जवाफ पाउँछ कि दमन पाउँछ ? खबरदार सरकार ! लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास नगरियोस् । निर्दोष नफसोस्, दोषी नछुटोस् !!

सहकारी पीडितलाई न्याय दे । ८८ अर्ब फिर्ता गर ! राजनीतिक प्रतिशोध बन्द गर ! विधिको शासन कायम गर, कायम गर कायम गर ! कानुनको शासन कायम गर, कायम गर ! अदालतमाथिको राजनीतिक हस्तक्षेप बन्द गर ! भ्रष्ट सरकार चाहिँदैन, चाहिँदैन चाहिँदैन । कि त न्याय हेरिन्छ, नत्र बालकोट घेरिन्छ ! नीलो क्रान्ति के हो ? शान्तिपूर्ण विद्रोह हो ! नीलो क्रान्ति के हो ? परिवर्तनको आवाज हो ।

गिरिबन्धु कहाँ छ ? ओली बालाई थाहा छ ! ७० करोड कहाँ छ ? बास्कोटा दाइलाई थाहा छ ! यतीको कमिसन कहाँ छ ? ओली बालाई थाहा छ ! जति ठगका मित्र छन्, ओली सरकारभित्र छन् । ओली सरकार कस्तो भो ? पञ्चे शासन जस्तो भो ! सत्य विचार ढल्दैन, तानाशाही चल्दैन ! तानाशाही पाराले, दुःख पाए साराले सरकार तिम्रो पाराले, दुःख पाए साराले । सरकार, दम्भ नदेखाऊ, नेपाली जनता जिउँदै छन् । सरकार, विवेक नगुमाऊ, नेपाली जनता जिउँदै छन् ! सत्ताको दुरुपयोग बन्द गर!

मीनबहादुरको महादान, केपीबालाई जग्गा दान । शरणार्थी काण्ड, छानविन गर ! छानविन गर ! जहाजमा घुस कसले खायो ? देउबा बालाई सोध्नु छ । टेरामक्स काण्ड छानबिन गर ! क्यान्टोनेमेन्ट काण्ड छानबिन गर ! सरकारको चाबी कहाँ छ ?, व्यापारीको हातमा छ ।

डरायो डरायो, दुई तिहाई डरायो । दुई तिहाईको दम्भले, जनता मरे दुःखले ।

केपी ओली के भन्छन् ?, भाटभटेनी जाउ भन्छन् । सहकारीपीडितमाथिको राजनीति बन्द गर ! ‘बन्द गर बन्द गर ।’ सहकारी बचतकर्ताको रकम फिर्ता गर, फिर्ता गर फिर्ता गर !

सरकारले न्यायमाथि गर्‍यो घात, पोखरेली जनताले दिन्छन् साथ । न्याय माग्न कहाँ जाऊ, पोखरेली जनता साथमा आऊ । पोखराले के भन्छ, रविलाई न्याय दे भन्छ । पोखराले के भन्छ, युवा तिमी नडराऊ भन्छ । नेपाली जनता के भन्छ, विधिको शासन ले भन्छ । नेपाली जनता के भन्छ, कानुनको शासन ले भन्छ । निर्दोष नफसोस, दोषी नछुटोस् ।

पोखराले हामी देशलाई माया गर्ने तमाम परिवर्तनकारी युवाहरुको नीलो क्रान्तिलाई अत्याधिक साथ समर्थन गरी आत्मसाथ गर्दै हाम्रो यो महाअभियानमा जोडिनुभएको छ, हामीलाई ढाडस र हौसला दिइरहनुभएको छ । यसरी भ्रष्टाचारविरुद्धको अभियानमा सरिक भई हामीलाई बल थपिदिनुभएकोमा सम्पूर्ण पोखरेली जनताप्रति आभारी छौँ र निरन्तर साथका लागि अपिल पनि गर्न चाहन्छौं । जय देश ।

स्वारी : सहकारी ठगहरु पोखरामा टिक्न सकेनन् । अब काठमाडौंले पनि यिनीहरुलाई सुरुवातमै चिनोस् । धन्यवाद पोखरा ।

दुर्गा प्रसाईं (मेडिकल व्यवसायी) :

समर्थकहरु सडकमा हुनु ठिकै हो । सांसद त जनताको प्रतिनिधि हुनुपर्ने हो, होइन र ? कि पार्टी सभापतीको पिछलग्गु ? पार्टी सभापति संगठित अपराध र सहकारी रकम अपचलन मुद्दामा हिरासतमा हुँदा भएभरका सांसद आन्दोलनमा होमिनु ठीक होला र ? यस्तो त खराब भनिएका पुराना पार्टीमा पनि थिएन । सभापति अदालतको आदेश बमोजिम हिरासतमा, पार्टीको भएभरको शक्ति त्यसैको बिरोधमा सडकमा । के आजको नेपालको समस्या रविजी हिरासतमा रहनु मात्र हो ? अरु सबै जनताका मुद्दा समाधान भैसकेका हुन् र ?

समर्थकहरु सडकमा हुनु ठिकै होला, तर सबै सांसद, पार्टी पदाधिकारी सडकमा लम्पसार त अलि सुहाएन कि ? यसरी त सम्मानित अदालतप्रतिको विश्वास स्वाहा हुने मात्र होइन, सहकारी पीडितले न्याय पाउने भन्ने कुरा पनि आकाशको फल आँखा तरी मर् मात्रै हुन्छ ।

रवि पराजुली : मेरो देशका कयौं युवाहरुलाई राजनीतिक रतन्धो भएको छ, जसलाई डाक्टर रुइतले पनि उपचार गर्न सक्दैनन् । चेतना भया ।

दामोदर ज्ञवाली : रवि लामिछाने को हो ? सहकारी सञ्चालक, सदस्य हो ? होइन । सहकारी बचतकर्ता हो ? होइन । ऋणी हो ? होइन । अनि रवि के हो त ? सहकारी ठग । बुझिन मैले … बुझाइदेउ कसैले ।

माधव ढुंगेल (पत्रकार) : सत्ताच्युत भएको झोंकमा ०६७ वैशाखमा माओवादीले देशभरिका मान्छे ओसारेर सिंहदरबार घेराउ गर्‍यो ६ दिने आमहड्तालसहित । उद्देश्यविनाको आन्दोलन उतारिएको मासले परिणाम दिने कुरै भएन । त्यसपछि माओवादीले ‘सडक आन्दोलन’ भन्नै छोड्यो । अहिले त्यही मार्ग रास्वपाले समातेको छ– बिनाउद्देश्यको आन्दोलन ।

स्वर्णिम वाग्ले (रास्वपा सांसद)

न्यायपालिकाप्रति आशा छ, भरोसाचाहिँ जनताकै हो । आज साँझ कास्की प्रहरीको हिरासतमा रहनुभएका रवि लामिछानेजीसँग भेट्दा उहाँले मलाई यसो भन्नुभयो । उहाँको आँट अदम्य छ । तर, सरकार गलाउने दुस्साहस गर्दैछ । सम्मानित न्यायालयका प्रक्रिया र फैसलाहरुप्रति हाम्रो उच्च सम्मान रहन्छ ।

न्यायालयको गरिमामाथि आँच पुग्ने गरेर बोलेका छैनौं । तर प्रमाण जुटाउने गृह मन्त्रालयको नियत ठीक नदेखिएकाले नै भन्दै आएका छौं– धरपकडको शैली प्रतिशोधपूर्ण छ । न त भाग्ने, न प्रमाण नष्ट गर्ने सम्भावना ।
शुक्रवारदेखि पूरा १२५ घण्टा (६ रात) हिरासतमा राखेर जम्मा पाँच घण्टा पनि वयान लिइएको छैन । ‘मगाइएका कागज आइपुगेन’ भन्दै जबर्जस्ती अनुसन्धान लम्ब्याउने रणनीतिमा सरकार छ । राजनीतिक प्रतिशोध साँधिएको हाम्रो दावी पुष्टि भएको छ ।

टीकाप्रसाद ढकाल  : आन्दोलन सडक प्रदर्शनको असाध्यै साधारण व्याकरण हुन्छ । जोमाथि दबाब बढाउन आन्दोलन गरिएको हो, उसले दबाब महसुस गरिदिएन भने आन्दोलनकारीमाथि नै उल्टो दवाब पर्छ । कुनै बहानामा प्रदर्शन रोकेर घर फर्केको आन्दोलनकारीलाई समाजले नै गम्भीरतापूर्वक लिन छाड्छ ।

जेपी गुप्ता (पूर्वमन्त्री) : रवि ठीक या बेठीक म भन्न सक्दिनँ । तर, अहिले ठगी मुद्दामा थुनिएका बेला उनका समर्थकहरुबाट यो गीत गाउनुले समाजको अधःपतन भैसकेको बुझियो । कहाँ एउटा महान परिवर्तनको उत्प्रेरणाका लागि कोरिएका यी पङ्क्तिहरु, जसले एक समय लासमा पनि चेतनाको स्पन्दन गर्दथ्यो….कहाँ आज पोखराको सडकमा….

गोकुल बास्कोटा (एमाले सांसद) : सत्य हुन् भने पोखरातिरका खबर पनि रमाइलै रहेछन् । थप पाँच-सात  हप्ता पनि यस्तै रह्यो भने पोखराले राम्रै कमाई गर्ने भो । अरु त कानुन जाने । कानुन आकर्षित भएका विषयमा डेमोक्रेसीले दबावपूर्ण एक्सन त गर्न सक्छ तर फैसला गर्न सक्दैन । कन्पारो तताउनु नतताउनु हरेकको आफ्नै मर्जी ।

विश्वदीप : पोखरामा सबै पुगेका छन् । आन्दोलनमा पनि गएका छन् । रास्वपाका नेता तथा नेतृहरु पनि पुगेका छन् । तर, सबैजना आ–आफ्नै डम्फु बजाउँदै छन् । खास आन्दोलन केका लागि भन्ने कुराको बुझाइ सबैको फरक–फरक देखिन्छ त्यसैले यो आन्दोलन नभएर घुमघाम रमाइलो जस्तो देखिन्छ ।

निर्मला ढकाल (समाजशास्त्री) : गुड मर्निङ फ्रम त्यस्तो देश, जहाँ सहकारी ठगीमा परेको व्यक्तिलाई अनुसन्धानको लागि हिरासतमा लिँदा एक बथान भेडाहरुको हुल जम्मा भएर नीलो क्रान्ति गर्छन् ।

एचआर तिमिल्सिना  : पोखरा कारागारमा फसेका राम छुटाउन गएका बानर सेनाहरु यतिबेला राम–सेतु पुल बनाउँदै होलान् है ?

सुमना श्रेष्ठ (रास्वपा सांसद) 

नेपाली जनता – तपाईँहरू यसको साक्षी हुनुहुन्छ, अर्को चुनावमा सम्झनुहोला । देश भर्खरै भएको मानवीय विपत्तिबाट उठ्न खोजिरहेका बेला एमाले र नेपाली कांग्रेसले चलाएको ‘राज्य’ को प्राथमिकता भने प्रतिशोध साँध्ने रहेछ भन्ने प्रष्ट भयो । यही समयमा प्रतिपक्षी दलका प्रभावशाली नेतामाथि राजनैतिक प्रतिशोध किन साधिँदैछ हामी आफैं विचार गरौँ –

१) विपद् बेलाको आफ्नो अकर्मण्यताबाट जनताको ध्यान कसरी अर्को विषयमा लाने ?

२) ललितानिवास जग्गा आफ्नो पार्टी भवनसँग सट्टापट्टा÷ ब्ल्याकमेल गर्ने प्रधानमन्त्रीज्यूको दुस्साहसलाई कसरी बिर्साउने?

३) सहकारीमा फसेको जनताको रकम फिर्ता कसरी गर्ने भनेर सरकारले पटक–पटक आयोग बनायो तर कार्यान्वयन गर्ने आँट गरेन, यो तथ्य जनताबाट कसरी लुकाउने?

अब के हुन्छ त ? अहिले सुनियोजित कार्यक्रमहरूमा भाषण गर्दै साना दलहरूले अस्थिरता ल्याए, दुई दल मात्र हुन पर्छ भनेर वकालत गर्ने लहड चलेको छ । त्यही अनुरुप साना पार्टी फुटाएर आफूमा गाभ्न मिल्ने गरी अध्यादेश ल्याउने प्रयास हुनेछ । अहिलेजस्तै शक्ति दुई दलमा सीमित राखी पालैपालो राज्यको दोहन गरिरहने । अध्यादेशका लागि कुनै ज्योतिषले जुराइदिएका साइत कुरिरहेका होलान् ।

विष्णु रिजाल (एमाले नेता)

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गोरखा मिडिया नेटवर्कका तत्कालीन कर्यकारी निर्देशक रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध नारावाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक छ ।

व्यक्तिगतरुपमा दुई पटक रविजीलाई गृहमन्त्री र उपप्रधानमन्त्री बनाइदिने र संसदीय छानबिन समिति बनाउँदा पनि व्यक्तिको नाम किट्नु पर्दैन भन्ने नेताविरुद्ध व्यक्तिगत तहको गालीगलौजमा उत्रिनु कृतघ्तनाको नमूना हो ।

स्मरणमै होला, रविजीलाई सहकारी ठगीमा कारवाही हुनैपर्छ भनेर संसद् अवरुद्ध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक गृहमन्त्री हुनुहुन्छ । साथै, रविजी गृहमन्त्री हुँदा ‘कैलाश सिरोहियालाई पक्रेर जनकपुर पठाएँ, अब फलानीलाई पक्रेर ट्रकमा हालेर टीकापुर पुर्‍याउँछु’ भन्ने दम्भ सुन्नेहरु पनि होलान् ।

यी सबैका बावजुद अदालतको अनुमति लिएरमात्र अघि बढ्ने प्रहरीको कानुनसम्मत कदम (रविजीका पालामा कैलाश सिरोहियालाई जस्तो पहिले पक्रेर पछि अदालतबाट अनुमति लिएको होइन) सुझबुझपूर्ण र परिपक्व छ । अतः कानुनी प्रतिरक्षाबाहेक रास्वपाका नेता–कार्यकर्ता (विशेषगरी पूर्वकांग्रेसी) हरुले जति व्यक्तिगत गालीगलौज गर्छन्, त्यति गाह्रो मात्रै पर्दै जानेछ ।

किशोर श्रेष्ठ (पत्रकार)

कति हठ गर्नु, कति झूठ बोल्नु र कति कुतर्क गर्नु ! सरकारले प्रतिशोध साँध्यो भनिरहँदा सर्भिस डेलिभरीवाला मन्त्रालय लिन छाडेर झारेझुरे मन्त्रालय रोज्नु ? श्रम मन्त्रालयमा म्यानपावरवालालाई मन्त्री बनाउनु तर बिदेशमा रातदिन रगत, पसिनाको धारा बगाउन विवश नेपाली दाजुभाइ, दिदीबहिनीका हितमा सिन्को नभाँच्नु, जसरी पनि र जसको पनि सरकारमा टिकिरहन बल गर्नु या स्वर्णिम, बिराज, सोविता, तोसिमा, शिशिर, गणेश, हरिहरुको बाटो छेकेर आफ्नैनिम्ति सधैं गृहमन्त्री नै ताकिरहनुको अर्थ के थियो ?

श्याम ज्ञवालीहरुमार्फत प्रहरीमा कसरी उठ्ती पुठ्तीको धन्दा र समानान्तर शासन चलाइयो ? आफू गृहमा रहुन्जेल जीबी राई र निर्मला पन्तबारे कति हावा गफ हाँकिए ? समीक्षा गरियो कहिल्यै ? चुनावी नतिजा नआउन्जेल मेडिसिटीको भेन्टिलेटरमा डेथ डिक्लियर नगरी आफ्नै ड्राइभर शम्भुलाई त्यत्तिका दिन किन सडाइयो ?

विचरा ती शम्भु तामाङ्ग र सहकर्मी शालिकरामको मृत्युुका वास्तविक कहानी चिच्याएकै भरमा छोपेजस्तै सजिलो कर्म हो सहकारीमा वचत गरिएको लाखौं जनताको सुको–सुको सम्पत्ति तानेर ससुरालीसहितका नाममा भटाभट करोडौंका चेक काट्नु ? ग्यालेक्सी फोरके टिभीका सवा सय पत्रकार र कर्मचारीको पेटमा लात मारेर त्यसरी ग्लोबल बैंकबाट ससुरालीका नाममा मनलाग्दी चेक काट्ने पैसा आएको थियोचाहिँ कहाँबाट ?

हामीले बेलैमा बिदेशी ग्रीनकार्ड त्यागेर प्रेस, नागरिकता, अध्यागमन, श्रम, सम्पत्ति करजस्ता ५ वटा कानुन पालना गर्नु भनी प्रेस काउन्सिलबाट सदाशयतासहितको सल्लाह दिँदा भीड बटुलेर ब्यक्तिगतरुपमा हामीमाथि तिम्रा कानुन मान्नुभन्दा बरु रत्नपार्कमा जुत्ता पालिस गरी बस्छु भनी धम्की दिएदेखि नै शुरु भएको हैन यहाँ अब मैले जे गरे पनि हुन्छ भन्ने उन्माद बढ्दै गएको ?

नेपालको कानुन अरुले नै जानुन्,उनैले मानुन्, ममाथि कुनै न्यायाधीशले कुनै दफाले कहिल्यै नहानुन् भनेर सधैं चल्छ ? पत्नी ईशा श्रेष्ठ, अवोध दुई छोरीसहित घरबार बिगारिएका देशी विदेशी अन्य युवती र शालिकरामहरुको आँशुले एकदिन पोल्दैन ?

तिनै जनताले लोकप्रिय मतसहित चुनेका भक्तपुरका माननीय कर्ण ह्येजुलाई तिनै जनता आजित भएर कुन हालतमा पुर्‍याएका थिए, इतिहास अलिकति मनन गरौं न प्रिय साथीहरु !

तपाईंहरुले संसदीय छानविन समिति बन्न नदिन आज सत्तोसराप गरिएका यिनै नेताको आड लिएको हैन ? सत्ता ढाल्ने, गाल्ने फोहोरी खेलमा यति छिट्टै निर्लिप्त हुने म्याण्डेट थियो चितवनका मतदाताको ? यिनै नेताले आफ्ना नेता, कार्यकर्तालाई चिढ्याउँदै पटकपटक तपाईंलाई गृहमन्त्री बनाइदिएको हैन ?

पक्राउ पुर्जी जारी गरेको अदालतले हो, पक्रन अनुमति मागेको त्यही पहिले गृहमन्त्री हुँदा जोगाउने कास्की प्रहरीले हो । अनि किन यी सबै तथ्यको निर्मम हत्या र कथामा किन ट्विस्ट ? सर्वोच्च अदालतबाट सपना र सारङ्गा श्रीमानले नै सहकारी ठगीमा रविमाथि छानबिन गर्न आदेश दिएको बिर्सिसकियो ?

पूर्वडीआइजी छविलाल जोशी सिङ्गै दशैँभर हिरासतमा बसी अनुसन्धानलाई सघाउन तयार हुँदा र महरा, खाँण, टोपबहादुरले जेल बस्न हुँदा ‘मलाई समाते ठीक हुन्न’ भन्दै फेरि भीडको बलमा कानुन तोड्ने धमास किन ? तपाईंले नै भनेको हैन कैलाश सिरोहियालाई अदालतले समातेको, आफूलाई चाहिँ सरकारले प्रतिशोध साँधेको ?

ठाउँअनुसारको यस्तो भाष्य, यस्तो फरक ब्याख्या पच्छ अहिलेको रेकर्डेड जमानामा ? सहकारीको ५ लाख अपचलन गर्नेसम्मलाई जेल, ६३ करोड खेलाँची गर्नेलाई सत्तामा ठेलमठेल त अलि नमिल्ला नि ! टीभीमा अरुले लेखिदिएको स्क्रिप्ट ठूलो स्वरमा भट्याउनु र अरुलाई सराप्दैमा अरुभन्दा फरक देखिनु फरक कुरा हो भनेर कहिले बुझ्ने ‘नो, नट अगेन’ का सूत्रधार मित्रहरुले ?

आवेग र आवेशमा भीडलाई आदेश नदिऊँ, तथ्यबाट सत्य खोजौँ । अनर्गल आरोप प्रत्यारोप गर्नलाई त प्रमाण पनि चाहिएला नि !

पशुपति पाण्डे (रास्वपा समर्थक)

एउटा व्यक्तिमाथि सिङ्गो राज्य लाग्दा चुप रहन सकिएन । चुप बसिँदैन पनि । यो भिडलाई चाहे बेरोजगारी देख्नुस, चाहे अनपढ गँवार देख्नुस, चाहे कमजोर आइक्यू देख्नुस, चाहे भेडा÷भक्त÷झोलेहरुको भिड देख्नुस, चाहे जेसुकै देख्नुस । आइ एम विथ रवि ।

मलाई स्मरण छ, बैकल्पिक राजनीतिका जन्मदाता स्व. उज्ज्वल थापाज्यूलाई पनि सक्काउन कोसिस गरेकै थिए । रवीन्द्र मिश्रलाई चौतर्फी प्रहार गरेकै हुन् । रविलाई सर्वत्र प्रहार राज्य नै लागेर गरिरहेकै छ र भोलि बालेनलाई पनि गर्ने नै छ ।

बालेनको स्वभाव मिडियामा बोल्दै नबोल्ने, खुरुखुरु नबोली नबोली काम गर्ने र प्रत्यक्ष काम देखाउन सक्ने वा तुरुन्तै नतिजा दिन सक्ने ठाउँमा भएकाले, उनले गरेको कामको अत्यन्तै प्रभाव भएकाले त्यो प्रहारले छुन नसक्ने भएर त्यति प्रहार नदेखिएको मात्रै हो, भोलि जुनसुकै बेला सक्काउन सक्छन् ।

त्यसैले हामी देशमा साच्चिँकै परिवर्तन चाहानेहरु एक हुनुको विकल्प छैन । उनीमाथिको प्रहार भोलि हामीले आदर्श मान्ने जुनसुकै नेतामाथि हुने निश्चित छ ।

नोटः– यो पोष्टले तपाईंहरुलाई आघात पुगेको भए माफ गर्नुहोला, यो मेरो स्वतन्त्र बिचार हो, तपाईं सहमत हुनुपर्छ भन्ने पनि छैन र तपाईंकै जस्तो बिचार मेरो हुनैपर्छ भन्ने नसोच्नुहोला । निष्पक्ष भएर हेर्दा तथ्यहरु प्रष्टै छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ६ : ३२ बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी