अर्थसंक्षेप : नयाँ टेलिकम कम्पनी खोल्ने तयारीमा प्राधिकरण, मुस्ताङबाट ९२ करोडको स्याउ निर्यात | Khabarhub Khabarhub

अर्थसंक्षेप : नयाँ टेलिकम कम्पनी खोल्ने तयारीमा प्राधिकरण, मुस्ताङबाट ९२ करोडको स्याउ निर्यात


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरण तेस्रो टेलिकम कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन निम्ति जुटेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ ।

हेर्नुहोस् आजका आर्थीक समाचार : 

दूरसञ्चार प्राधिकरण नयाँ टेलिकम कम्पनी खोल्ने तयारीमा

नेपाल दूरसञ्चार प्राधिकरण तेस्रो टेलिकम कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन निम्ति जुटेको छ । विभिन्न स्तरका मोबाइल सेवा सञ्चालनको लागि अनुमतिपत्र लिएका विभिन्न चारवटा कम्पनीहरू बन्द भएपछि प्राधिकरण फेरि तेस्रो टेलिकम स्थापनाका लागि सम्भाव्यताको अध्ययनमा जुटेको हो ।

नेपाल स्याटेलाइट कम्पनी, युनाइटेड टेलिकम, स्मार्ट टेलिकम र सिजी टेलिकमले विभिन्न स्तरका मोबाइल सेवा सञ्चालनको लागि अनुमति लिएकोमा कानूनअनुसार अनुमतिपत्र नवीकरण नगराएपछि गत आर्थिक वर्षको मङ्सिरसम्म आइपुग्दा सबै चारवटै कम्पनीका अनुमतिपत्र रद्द भएका थिए ।

जसकारण अहिले नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल टेलिकम र विदेशी लगानी तथा स्वदेशी निजी क्षेत्रको संयुक्त लगानी भनिएको एनसेलले मात्रै नेपालको टेलिकम्युनिकेसन क्षेत्रमा एकछत्र व्यवसाय गर्दै आएका छन् ।

वायरलेस इन्टरनेट क्षेत्रमा विश्व सिक्सजी (छैठौं पुस्ता)मा प्रवेश गरिसकेको अवस्थामा नेपालमा भने अहिलेसम्म फोरजीसमेत पूर्ण विस्तार भइसकेको छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म जम्मा ७२ प्रतिशत जनतामा मात्रै फोरजी सेवा विस्तार भएको छ । फोरजी विस्तार भएको क्षेत्रमा पनि सेवाको गुणस्तरीयतामा समस्या कायमै रहेको देखिन्छ ।

दुईवटा मात्रै कम्पनीको उपस्थितिले नेपालको टेलिकम क्षेत्रमा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण हुन नसकेको साथै सेवा विस्तार र गुणस्तरमा पनि तुलनात्मक उपलब्धि नभएको स्वभाविक रूपमा देखिन्छ । जसले गर्दा प्राधिकरण तेस्रो टेलिकम स्थापनाको लागि जुटेको देखिन्छ ।

नेपालमा लगानी बढाउन विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।

बुधबार विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पारे । अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उनले बुधबार गरेको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

सो भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए।

आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

घुमघामका लागि अनुकुल शरदयाममा दशैँ, तिहार, छठ लगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, युवा क्लबको टोली बनाएर ढोरपाटन घुम्न आएका हुन् ।

चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए। साउनमा पाँच सय १८, भदौमा तीन हजार ३२ र असोजमा नौ जना विदेशी सहित एक हजार छ सय ५४ जना पर्यटक आएका उनले बताए।

आर्थिक वर्ष २०८०–८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार सात सय राजस्व संकलन भएको थियो । २०७९–८० मा सात हजार छ सय ४५ जना पर्यटक आएका थिए ।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

दशैँ बिदाको अवसर पारेर फराकिलो फाट, बुकी, गाईभैंसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पंक्षी, वनजंगलको दृष्य अवलोकन गर्न साथीहरुसँगै ढोरपाटन घुमेर आएको बेनी नगरपालिका–१० पात्लेखेतको दीपक माविका प्रधानाध्यपक विष्णुप्रसाद ढुंगानाले बताए ।

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षले पुर्वी रुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ ।

मुक्तिनाथमा पुग्दै दैनिक चार हजार पर्यटक

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।

मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटकहरू उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताए। उनका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।

दसैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ । मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटल सञ्चालनमा रहेका बताउँदै व्यवस्थापक सुवेदीले अहिले सबै होटल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने उल्लेख गरे।

१८ अंकले घट्यो नेप्से, कारोबार कति ?

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६२७.१४ विन्दुमा पुगेको छ । आज ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ ।

दिनभरमा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनीको शेयर ६१ हजार ७८५ वटा किनबेच भएको छ ।

हाइड्रोपावर समूहमध्ये सबै समूह राताम्य भएको छ । हाइड्रो पावर समूह ०.३६ प्रतिशतले बढेर ३ हजार २१२.९२ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९३ प्रतिशतले घटेर ३ हजार ५४५.६५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले घटेर २१.१२ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बेंक १.०२ प्रतिशतले, विकास बैंक ०.७९ प्रतिशतले, होटल एण्ड टुरिजम ०.९७ प्रतिशत, लगानी ०.९२ प्रतिशतले, जीवन बीमा ०.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.२६ प्रतिशतले, लघुवित्त ०.८१ प्रतिशतले, निर्जीवन बीमा ०.६० प्रतिशतले र अन्य समूह ०.६५ प्रतिशतले घटेको छ ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विश्व बैंकले नेपाललाई रोजगारी सिर्जनामा सघाउने

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा अमेरिकामा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकका (दक्षिण एसिया मामिला हेर्ने) उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् ।

नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा वार्ता केन्द्रित भएको नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सिर्जना गर्ने बारेमा छलफल भएको थियो ।

यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताका लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्षबीच भेटवार्ता

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा अमेरिकामा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।

भेटका अवसरमा उनीहरुबीच एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री पौडेलले नेपालको विकास निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकोमा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिभएको राजदूतावासले जनाएको छ ।

यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन् । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिए ।

मुस्ताङबाट ९२ करोड रुपैयाँको स्याउ निर्यात

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी रुपैयाँ जिल्लामा भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भएको बताए ।

विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गत वर्ष मुस्ताङमा ६ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टन बढी उत्पादन भएको छ । गत वर्ष ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।

यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ ६ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ ।

स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य ६६ करोड ८६ लाख ७२ हजार चार सय रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ६ : ४९ बजे

भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण

दमौली – नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३

बेलबारी गोल्डकपः झापा ११ फाइनलमा

मोरङ – बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा

‘फेस अफ क्लासिक डाइमन्ड’द्वारा पाँचौँ सिजन घोषणा

काठमाडौं – नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट

अध्यक्ष लिङ्देनसहित राप्रपाको टोली कर्णाली यात्रामा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु