शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ? | Khabarhub Khabarhub

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको अन्तरदिवसीय (इन्ट्रा डे) कारोबारको चर्चा चुलिएको छ । ‘इन्ट्रा डे’ बजारमा लगानीकर्ताहरूको कारोबार एक दिनमा सीमित हुने खालको बजार लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषय हो ।

शेयर बजारको राम्रोसँग विकास भएको अमेरिका, भारत, ताइवान र सिंगापुर जस्ता मुलुकहरूमा सफल मानिएको ‘इन्ट्रा डे’ कारोबार नेपालमा पनि लागु गराएर शेयर बजारको विकास गर्नुपर्ने माग उठ्दै आएको छ ।

बोर्डको अध्यक्षको रूपमा श्रेष्ठ आएसँगै अब इन्ट्रा डे कारोबार पनि सुरु हुने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।

नेपालको शेयर बजारमा कारोबारका हिसावले ३० अर्ब रुपैयाँ भन्दा बढीसम्म पुगेको कारोबार पछिल्लो समय आएर ४–५ अर्बमा खुम्चिएको छ । ‘इन्ट्रा डे’ सुरु भएमा कारोबार रकमा पनि वृद्धि हुने र त्यसको फाइदा शेयर बजारलाई पुग्ने लगानीकर्ताले अनुमान गरेका छन् ।

जब ‘इन्ट्रा डे’ कारोबारको कुरा चल्छ तब नेपालका लगानीकर्ताहरू उत्साहित हुने गर्छन् । सोबोनको अध्यक्षमा श्रेष्ठ आएसँगै अहिले लगानीकर्ताहरू पुनः एक पटक ‘इन्ट्रा डे’ सुरु हुने भयो भनेर उत्साहित भएका छन् ।

अहिले धितोपत्र बोर्डका अध्यक्ष पनि ‘इन्ट्रा डे’ कारोबारको छलफलमा रहेको बोर्डका एक उच्च कर्मचारी बताउँछन् । अध्यक्ष श्रेष्ठले पनि यो विषयलाई चासोका साथमा हेरेको र छलफलको चरणमा रहेको ती कर्मचारी बताउँछन् ।

‘उहाँ (अध्यक्ष श्रेष्ठ) आएको केही समयपछि नै ‘इन्ट्रा डे’को विषयमा कुराकानी भइरहेको छ’, उच्च तहका कर्मचारीले खबरहबसँग भने, ‘ठ्याक्कै त्यसैका लागि बैठक नै बसेर निर्णय भएको त छैन जस्तो लाग्छ, तर, उहाँले हामीसँग छलफल गर्नु भएको छ ।’

शेयर बजारको विकासका लागि ‘इन्ट्रा डे’, सट सेलिङ, अक्सन मार्केट जस्ता विषय अगाडि बढाउँदै लैजाने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् । ‘पुँजी बजारलाई राम्रो हुने कुराहरू बोर्डले बिस्तारै लागु गर्दै जान्छ’, घिमिरेले भने, ‘इन्ट्रा डे पनि बिस्तारै आउँछ ।’

नेपालमा इन्ट्रा डे आएमा शेयर बजारको लागि राम्रो हुने शेयर बजारका जानकार छोटेलाल रौनियार बताउँछन् । ‘इन्ट्रा डे आउँदा मुख्यतया यो उतारचढाव रोकिन्थ्यो भन्ने हो’, रौनियारले भने, ‘अहिले कारोबार पनि कम देखिन थालेको छ त्यो पनि बढ्ने थियो ।’

‘इन्ट्रा डे’ कारोबारलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएको र बोर्डले यसलाई चाँडो अगाडि बढाउनु पर्ने रौनियार बताउँछन् । ‘अहिलेको प्रविधिले इन्ट्रा डेलाई धान्दैन’, रौनियारले भने, ‘प्रविधिलाई पनि त्यो खालको रूपमा विकास गर्नुपर्छ ।’

‘इन्ट्रा डे’ कारोबार भनेको के हो ?
सामान्य अर्थमा भन्दा ‘इन्ट्रा डे’ कारोबार भनेको अन्तरदिवसीय कारोबार हो । जुन एक दिनमा नै शेयर किनेर एकै दिनमा बेच्न मिल्छ । विकसित मुलुकहरूमा लगानीकर्तालाई नयाँ अवसर दिन र शेयर बजारको तीव्र उतारचढावलाई सन्तुलनमा राख्न इट्रा डे कारोबार हुने गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७’ मा भनेको छ ।

‘इन्ट्रा डे किसिमको बजारमा लगानीकर्ताहरूको कारोबार एक दिनमा सीमित हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘उनीहरू एक दिनभित्रै सस्तो मूल्यमा धितोपत्र किन्ने र महँगोमा विक्री गर्ने अथवा महँगोमा विक्री गरे पश्चात् सस्तोमा खरिद गरेर आफ्नो दायित्व पूरा गर्ने उद्देश्य लिएर प्रवेश गर्ने गर्छन् ।

इन्ट्रा डे कारोबार गर्दा जुन दिन किनेको शेयर हो त्यो त्यही दिन बेचिसक्नु पर्ने नेप्सेका कम्पनी सचिव तथा प्रवक्ता मुरहरी पराजुली बताउँछन् । ‘हाम्रोमा अहिले आज किनेको शेयर तीनदिन पछि मात्र खातामा आउँछ’, पराजुलीले भने, ‘तर, इन्ट्रा डे कारोबारमा भने आज किनेको शेयर आजै खातामा आउँछ, आज बेचेको आजै आउँछ ।’

केही मिनेटको फरकमै शेयरको किनबेच गर्न सकिने खालको कारोबारलाई इन्ट्रा डे कारोबार भनिएको पराजुली बताउँछन् । नेपालको लागी यो नयाँ भए पनि केही देशमा भने कारोबार भइरहेको पराजुली बताउँछन् ।

इन्ट्रा डेमा कसरी हुन्छ कारोबार ?
इन्ट्रा डे कारोबारमा एउटै व्यक्तिले त्यही र उही कम्पनीको शेयर पटक–पटक किनबेच गर्न पाउने व्यवस्था हुन्छ । नेप्सेका प्रवक्ता पराजुलीका अनुसार बिहान किनेको शेयर बेलुका सबै बेचिसक्नु पर्नेछ ।

‘यदि तपाईँले कुनै कम्पनीको शेयर १००० कित्ता किन्नु भयो भने त्यो शेयर बजार बन्द हुँदासम्म सबै बेचिसक्नु पर्छ’, पराजुलीले भने, ‘त्यो बीचमा तपाईँले शेयर बढेको बेला बेच्ने र घटेको बेला किन्ने गर्नुपर्छ, तर अन्तिममा भने शून्य कित्ता शेयर हुनुपर्छ ।’

पराजुलीका अनुसार इन्ट्रा डे कारोबारमा सबै कम्पनी कारोबार गर्न योग्य नहुने पनि हुन्छन् । इन्ट्रा डे कारोबार गर्दा बढी शेयर कित्ता भएका कम्पनीहरू प्रायः हुने गरेको पराजुली बताउँछन् । इन्ट्रा डे कारोबार गर्नेका लागि टिएमएसमा छुटै प्रावधान रहेको हुन्छ । जसमा इन्ट्रा डेमा कारोबार गर्न मिल्छ ।

‘उदाहरणको रूपमा ‘ए’ नामक कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँमा किनियो । त्यसको मूल्य प्रतिकित्ता केही मिनेट वा केही घण्टामा बढेर ११० रुपैयाँ पुग्यो’, पराजुलीले भने, ‘हो अब इन्ट्रा डे कारोबार गर्नेले त्यो १० रुपैयाँ मार्जिन राखेर बेच्छ, अब फेरी त्यही ‘ए’ नामको कम्पनीको मूल्य घटेर ९० रुपैयाँमा आयो भने फेरी त्यो शेयर इन्ट्रा डे कारोबार गर्नेले किन्छ । यो प्रक्रिया केही मिनेटमा पनि दोहोरिन सक्छ वा केही घण्टाको फरकमा पनि हुन सक्छ ।’

पराजुलीले त्यही केही समयको ग्यापमा भएको मूल्य वृद्धिमा नाफा लिने उद्देश्य इन्ट्रा डे कारोबार गर्नेको रहने बताए । उनले भने, ‘उनीहरूले सस्तोमा किन्ने महँगोमा बेच्ने भन्ने उद्देश्य हुन्छ, त्यसरी किनबेच गर्ने प्रक्रिया सय, दुई सय, तीन सय पटक वा जति पटक पनि हुन सक्छ ।’

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ४० बजे

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

चितवन – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा