काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् ! | Khabarhub Khabarhub

दशैंमा सार्वजनिक यातायात

काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् !

‘टिकट नकाटी गाडीमा नचढ्नोस्, दशैंमा बढी भाडा लाग्दैन’ : सरोज सिटौला


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 10 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

नेपाली नागरिकहरूलाई दशैं माहौले छोप्न थालिसकेको छ । दशैंका बेला काठमाडौंबाट मात्रै १७/१८ लाख मानिसहरू बाहिरी जिल्लामा जान्छन् । अन्य शहरबाट पहाडतिर उक्लने यात्रुहरूको भिडभाड पनि खपिनसक्नु हुन्छ । यसअर्थमा दशैंको मुख्य समस्या नै सार्वजनिक यातायातको हुने गरेको छ ।

दशैंका बेला काठमाडौंबाट बाहिरिने मानिसहरूका लागि सार्वजनिक यात्रायातको प्रबन्ध निकै नै चुनौतीपूर्ण बन्ने गरेको छ । यसै सन्दर्भमा हामीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सरोज सिटौलासँग सोधेका छौं– काठमाडौंबाट बाहिरिने यात्रुहरूका लागि यसपालि यातायातको प्रबन्ध कसरी गरिरहनु भएको छ ?

महासचिव सिटौला यसबीचमा यातायात मन्त्रालय र विभागहरूमा हुने छलफलमा पनि सहभागी हुँदै आएका छन् । हामीले सिटौलासँग दशैंको सार्वजनिक यातायात व्यवस्थापनबारे सरकार निजी क्षेत्रले के कस्तो तयारी गरिरहेका छन् भन्ने जिज्ञासा पनि राख्यौं । साथै दशैंका बेला यात्रुहरू, यातायात व्यवसायी, सरकार र स्थानीय होटलवालाहरूले ध्यान दिनुपर्ने कुराहरू के–के हुन् भने केही टिप्स पनि सोधेका छौं ।

काठमाडौंबाट फूलपातीपछि गाउँ फर्कनेहरूको भीड लाग्ने गरेको भन्दै सिटौलाले सकेसम्म फूलपाती र घटस्थापना अघि नै गाउँ फर्कन यात्रुहरूलाई सुझावसमेत दिए ।

संघीय राजधानी काठमाडौं र शहरी क्षेत्रबाट लाखौं नागरिक दशैँ मान्न घर जाने तयारीमा छन्, तर चाडबाडका बेला टिकट नपाउने हैरानी हटेको छैन । योपालि यातायात व्यवसायीले काठमाडौंबाट बाहिर जाने मानिसहरूका लागि सवारीसाधनको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

दशैँमा टिकट र सहज यातायात सुविधा अहिलेको समसामयिक विषय हो । हामी प्रत्येक वर्ष चाडपर्व मनाउँछौँ । यातायात व्यवसायमा प्रवेश गरेयता मैले नै ३६ वटा चाडपर्व मनाइसकेँ । म वि.सं. २०४५ सालदेखि यातायात व्यवसायको क्षेत्रमा छु । २० वटा दशैँमा त म आफैँ अग्रपङ्क्तिमा रहेर सार्वजनिक यातायात व्यवस्थापनमा काम गरेको छु ।

यो वर्ष पनि चाडपर्व आएको छ, तर अवस्था विगतभन्दा फरक छ । मनसुनी वर्षा जारी छ । मौसमविदहरूले असोजको १५ सम्म झरी पर्ने पूर्वानुमान गरिसकेका थिए । अहिले मौसममा बदली निम्तिएका कारण असोज १५ गतेपछि पनि पानी पर्ने भनिएको छ । दशैँ हिलाम्मे हुने भन्ने कुरा आइरहेको छ । यस्तो नहोस् भनी हामी कामना गरिरहेका छौंँ । तर, यो प्रकृतिको कुरा हो । मौसमको यस्तो अवस्था रहँँदा हामीले अब सडकतिर हेर्नुपर्छ ।

सडकको स्थितिचाहिँ कस्तो छ ?

सडकको हालत हेर्न टाढा जानैपर्दैन । काठमाडौंको थानकोटभन्दा तल नागढुङ्गा, मुग्लिङ–नारायणगढ, बैरेनी–गल्छीको सडक हेरे पुग्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँका बेला यात्रु चढेको सवारीसाधन खाल्डाखुल्डीमा उफ्रन नदिने र त्यसका लागि काम ‘गर्छाैं’ भनेको छ । तर, ‘गर्छौं’ ले यो देशमा केही भएको छैन । कार्यान्वयनमा देखिनुपर्छ ।

त्यसैले उहाँहरूसँग हामीले लिखितमा सातबूँदे सहमति गरेका छौँ । ‘बाटोका कारणले समयमा सवारीसाधन नआइपुगे त्यसको जिम्मेवारी हामी लिँदैनौँ, सरकारले लिनुपर्छ’ भनेका छौँ ।

अग्रिम टिकट बुकिङदेखि लिएर सहज यात्राका लागि के-कस्ता प्रबन्धहरू गर्दै हुनुहुन्छ ?

अग्रिम टिकटको सवालमा मङ्गलबार यातायात व्यवस्था विभागसँग बैठक बस्यौं । तर, टिकट खुल्ने मिति तोकेर, टिकट दिएरमात्र भएन, सुरक्षित र दुर्घटनारहित यात्रा गराउँदै गन्तव्यमा पुर्‍याउनुपर्छ ।

दशैँमा घर जान टिकट लिएका यात्रुले कहीँ पहिरो गयो या अवरोध भएर गाडी आइपुगेन भने सम्झौता गर्न सक्दैनन् । ‘गाडी नआउने भए किन पहिले टिकट बेचेको ?’ भन्छन् । यस्तोबेला अराजकताले समस्या झनै बढाउँछ । कसैले कसैलाई सुन्नेवाला छैन । सडकमा सवारी साधन चलाउने व्यक्तिलाई गाह्रो छ ।

त्यसैले हामीले के भनेका छौं भने दशैँका बेला कालो नम्बरप्लेटका यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई घटस्थापनादेखि नवमीको दिनसम्म सडकमा पहिलो प्राथमिकता दिनुपर्छ ।

मुख्य राजमार्गदेखि विभिन्न सहायक र शाखा–उपशाखा सडकसम्म यस्ता सवारीसाधनलाई निर्वाध ओहोर–दोहोर गराउन विशेष ढङ्गले सहजीकरण गर्नुपर्छ । किनकी ती गाडीमा सर्वसाधारण जनता सवार हुन्छन् । यात्रुलाई सदरमुकाम पुर्‍याएरमात्र हुँदैन, ग्रामीण क्षेत्र र गाउँगाउँसम्म सुरक्षितसाथ ओहरदोहर गराउनुपर्ने हुन्छ । यी सबै क्षेत्रका बाटोको अवस्था र सवारी वातावरण सुधार गर्नुपर्छ ।

अर्को – दुर्घटनाको सवाल आउँछ । दुर्घटना नगराउन राज्यले सबैभन्दा पहिले सुरक्षित सडक दिनुपर्छ । सडक राम्रो बनाउनुपर्‍यो, खाल्डाखुल्डी पुर्नुपर्‍यो । सरकारले बर्खायाममा खर्बौं रुपैयाँ सक्ने नीति ल्याउने गरेको छ । त्यत्रो खर्च गरेर बनाइएको सडक संरचना पानीले बगाएर लैजान्छ । अब त्यो नीति परिमार्जन गर्नुपर्छ । सडक सुधारको काम कमसेकम मंसिर–पुसमै गर्नुपर्छ ।

गत शनिबार मन्त्रालयमा बसेको बैठकमा तपाईंहरूले देशको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग लगायत सडकका अवस्थाबारे कुरा गरेको बुझियो, ठेकेदारले काममा ढिलाइ गरेको सडक दशैँसम्म बन्छ त ?

विस्तार कार्य भइरहेका देशभरका सडकमा सवारी आवागमनमा भइरहेको समस्याबारे हामीले कुरा उठायौँ । अहिले नै अरू त केही बन्दैन, तत्कालका लागि खाल्डाखुल्डी पर्ने हो । सरकारी अधिकारीहरूले अरू काम दशैँपछि गर्ने भनेका छन् । तर, अर्को दशैँमा पनि हामीलाई ती सडकको अवस्थाले अहिलेकै झैँ अत्याउनेछ ।

दशैँका बेला मिडियादेखि नागरिकसम्मले सडकको अवस्थाबारे सवाल उठाउँछन् । हामी यातायात व्यवसायीलाई पनि यसबारे अन्तर्वार्ता दिन भ्याइनभ्याइ हुन्छ । पानी पिउन पनि भ्याउँदैनौँ । सडक सुधार निम्ति दबाब दिन हामी निरन्तर लागिरहेका हुन्छौँ, किनकी हाम्रो व्यवसाय नै सडकमै चल्ने हो । तर, सरकारले सडक व्यवस्थापनमा निरन्तर बेवास्ता गरिरहेको छ । नागरिक, सञ्चारकर्मी र हामी सबै सचेत हुनुपर्छ ।

तत्काललाई खाल्डाखुल्डी पुरिदिनुपर्ने तपाईंहरूको माग हो ?

यही नै हो । घटस्थापनासम्म राज्यले देशभरका सडकको खाल्डाखुल्डी पुरिदिए त्यो नै सबैभन्दा ठूलो काम हुनेछ । खाल्डामात्रै पुरिदिने हो भने गाडी जसरी पनि गन्तव्यसम्म पुर्‍याउन सकिन्छ ।

देशभर कति ठाउँमा सडक खराब अवस्थामा छन् ? तपाईंले रिपोर्ट पाउनुभएको होला नि ! नौबिसेबाट अघि बढ्दा नै सडकको अवस्था थाहा हुन्छ । गल्छी–बैरेनी, मुग्लिङ–पोखरा, मुग्लिङ–नारायणगढ, नारायणगढ–बुटवल…हाम्रा सडकहरू जताततै जोखिमपूर्ण अवस्थामा छाडिएका छन् ।

पूर्वतिर वीपी राजमार्ग, अरनिको राजमार्ग, उत्तरतिर टोखा–छहरे हुँदै नुवाकोट निस्कने सडकका ठाउँठाउँमा समस्या छन् । ती ठाउँका सडकको अवस्था सुधार्न हामीले सरकारसँग आग्रह गरिरहेका छौँ । स्टाफहरूलाई देशभरका जहाँजहाँ ठाउँमा बाटोको अवस्था खराब छ, रिपोर्ट गर्न भनेका छौँ । यातायात व्यवसायीले रेकर्ड लिँदै पठाउने र सडक विभाग अलर्टमा बसेर मर्मत गर्ने भनिएको छ ।

तपाईंहरूको अनुमानमा यो दशैँमा काठमाडौंबाट कति मानिस बाहिरिन्छन् ?

अनुमानित १७/१८ लाख मानिस बाहिरिन्छन् । थानकोट नाका, बल्खु नाका, वीपी राजमार्ग, अरनिको राजमार्ग, पासाङल्हामु र टोखा छहरे लगायत नाकाबाट असोज १० देखि नवमीको दिनसम्म मानिसहरू बाहिरिन्छन् ।

चापका हिसाबले हामीले दशैँमा बाहिरिने यात्रुलाई तीन क्याटागोरीमा राखेर हेर्छौं । पहिलो चरणमा अहिले नै केही मानिसहरू बाहिरिन थालेका छन् । बाहिरिनेको संख्या घटस्थापनादेखि झनै बढ्छ । फूलपातीदेखि ४–५ दिन त अनियन्त्रित नै हुन्छ ।

दशैँको १०–१२ दिन सार्वजनिक यातायातमा निकै असहज अवस्था निम्तिन्छ । यति छोटो अवधिमा १७/१८ लाख मानिसलाई ओहरदोहर गराउनु सामान्य काम होइन । भएभरका सवारीसाधन मर्मतसम्भार गरेर सडकमा ल्याउनुपर्ने हुन्छ ।

सवारीसाधनको पर्याप्तता चाहिँ कति छ ?

हामीले यातायात व्यवसायीलाई अलर्ट गराइसकेका छौँ । नेपालभर यतिखेर झण्डै ४०० नयाँ गाडी बन्दैछन् । पछिल्लो समय थपिँदै गरेका गाडी निकै सुविधासम्पन्न छन् । तर सडकको अवस्था राम्रो छैन । सार्वजनिक यातायातमा सरकारको नीति नै ठीक छैन ।

यस्तो प्रतिकूलताको बीचमा पनि दशैँ मनाउन देश–विदेशदेखि गाउँघर फर्कने नागरिकलाई सुरक्षितसाथ गन्तव्यमा पुर्‍याउन यातायात व्यवसायीहरूले अहोरात्र काम गरिरहेका छौँ । सरोकारवाला सबै निकायसँग समन्वय गरिरहेका छौँ ।

दशैंका बेला ट्राफिक प्रहरी र सुरक्षाकर्मीसँग यातायात व्यवसायीका अपेक्षा के–के हुन् ?

हामी यात्रुलाई सुरक्षितसाथ गन्तव्यमा पुर्‍याउन जिम्मेवारपूर्ण ढङ्गले लाग्छौँ । तर, यस निम्ति सबै निकायले सहजीकरण गरिदिनुपर्छ ।

बाटोमा गाडी सहज ढङ्गले गुड्न दिन ट्राफिक प्रहरीले अवैज्ञानिक चेकिङ राखिदिनुभएन । प्रहरीले पनि ठाउँ–ठाउँमा चेक गरेर डिस्टर्ब गर्नु भएन । जहाँ तोकिएको हो – त्यहीँमात्रै चेक गर्नुपर्‍यो ।

सरकारले बाटो मर्मत गरिदिनुपर्‍यो, खाल्डाखुल्डी पुरिदिनुपर्‍यो, ग्रामीण क्षेत्रका सबैतिरका सडकलाई कम्तिमा सुरक्षित ढङ्गले सवारीसाधन गुडाउन मिल्ने बनाइदिनुपर्‍यो । प्रहरीले सुरक्षा चेकजाँच गर्दा वैज्ञानिक ढङ्गबाट फास्टट्रयाक विधि अपनाउनुपर्‍यो । यात्रुवाहक सवारीसाधनलाई बाटोमा अनावश्यक चेकजाँच गरेर हैरानी दिनुभएन ।

गन्तव्यमा पुग्नासाथ सो गाडी फर्कनुपर्ने हुन्छ । समयमा नपुगे गाडी फर्कन पाउँदैन । ‘रेस्क्यू’ गरेर भए पनि यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई गन्तव्यसम्म पठाउने व्यवस्था हुनुपर्छ । दुर्घटना जोखिमयुक्त क्षेत्रमा सडक मर्मत र उद्दार उपकरण परिचालन गरेर तत्काल रेस्क्यू गर्ने वातावरण सरकारले बनाउनुपर्छ । ट्राफिक जाम भएर समयमा गाडी आइपुगेन भने गन्तव्यमा जान खोजिरहेका यात्रुहरूमा कोलाहल मच्चिन्छ ।

बाटोमा यात्रुहरूले खानाखाने होटलहरू अव्यस्थित हुने, महंगो शुल्क लिने र बासी खाना खुवाइने गरेका गुनासाहरू पनि सुनिन्छन् नि ?

खाजा र खाना खुवाउने ठाउँमा पनि होटल व्यवसायीहरूले सभ्यता देखाउनुपर्छ । ठाउँ सफा भएन, खाना राम्रो भएन, बासी खाना खुवायो भन्ने टिकाटिप्पणी आउने गर्छ ।

होटल व्यवसायी साथीहरूलाई म अनुरोध गर्न चाहन्छु – हाम्रा यात्रुहरू तपाईंका पनि अन्नदाता हुन् । उचित मूल्यमा सफा र राम्रो खाना खुवाउनुस् । बस्ने ठाउँदेखि शौचालयसम्म सफा अवस्थामा राख्नुस् । विकलाङ्ग, बालबालिकादेखि जेष्ठ नागरिकहरूले यात्रा गरिरहनुभएको हुन्छ । उहाँहरूलाई सहज यात्रामा सहयोग गर्नु होटल व्यवसायीहरूको पनि परम कर्तव्य हो ।

राज्यले स्थानीय निकाय र प्रशासनलाई सार्वजनिक यातायात व्यवस्थापनमा खटाउनुपर्छ । अन्तरनिकाय समन्वय र प्रभावकारी अनुगमन बढाउनुपर्छ ।

टिकट बुकिङका क्रममा निम्तिने समस्यालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

अनलाइनमा टिकट नकाट्नुभएका यात्रुहरूले लाइनमा बसेर टिकट काट्नुपर्ने हुन्छ । टिकट काट्दा गल्ती हुनसक्छ । मानवीय त्रुटिका कारण सिट तलमाथि हुनसक्छ । त्यसैले टिकट काटेपछि त्यहाँ लेखिएको विवरण पुनः हेर्नुहोला ।

आफू प्रस्थान गर्ने मिति, गन्तव्य, गाडी नम्बर र छुट्ने समय ठीक छ/छैन, आफूले मागेको सिट नम्बर हालेको छ/छैन हेर्नुपर्छ । सबै विवरण ठीक भएमात्र टिकट गोजीमा हालेर जानुहोला ।

यात्रुहरूले अनिवार्य टिकट काटेरमात्र यात्रा गर्नुहोला । यात्रुहरूले टिकट काट्दा तोकिएको काउन्टर, परिचयपत्र भिरेका र ड्रेस लगाएका कर्मचारीसँग मात्रै टिकट लिनुहोला । बाटोमा जथाभावी टिकट काट्दा तपाईंहरू बिचौलियाको फन्दामा पर्नुहुनेछ । त्यसको जवाफदेही यातायात व्यवसायी हुने छैनन् ।

टिकट नकाटी यात्रा गर्दा अनेक भवितव्य ब्यहोर्नुपर्ने हुन्छ । अस्ति सिमलतालमा दुर्घटना भएको बसमा टिकट नकाटी चढेका यात्रुहरूबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।

त्यसैले टिकट काट्दा आफ्नो परिचयपत्र, नाम, ठेगाना लगायत पूर्ण विवरण उपलब्ध गराइदिनुहोला । त्यो तपाईंहरूकै सुरक्षाका लागि हो । टिकट नकाटी यात्रा गर्दा कथम्कदाचित दुर्घटना भैहाले तपाईंहरूले बीमाबापत रकम दाबी गर्न पनि पाउनुहुन्न ।

टिकट काटिसकेपछि पनि यात्रुहरूले केही काम गर्नुपर्ने हुन्छ । विभिन्न स्थानमा नागरिक सहायता कक्षहरू हुन्छन् । काठमाडौं उपत्यकामा मात्रै १७/१८ स्थानमा यस्ता कक्ष स्थापना गरिँदैछ । त्यो सहायता कक्ष सबैलाई सहजीकरण गर्न खोलिने हो । यात्रु, व्यवसायी, मजदूर, उपभोक्ता सबैलाई सहजीकरण गर्न राखिएको हुन्छ ।

तपाईंले यसो भनिरहँदा सवारीचालक र स्टाफहरूले ध्यान दिनुपर्ने कुुरा के–के हुन् ?

म प्रष्ट बुझिनेगरी सबै यात्रु महानुभाव, यातायात व्यवसायी साथीहरू र सवारीचालकहरूमा आग्रह गर्न चाहन्छु – जे चलेको छ, त्यो भन्दा अर्को भाडा लिन पाइँदैन । सामान्य अवस्थामा जे चलेको छ, सरकारले जुन भाडा तोकेको छ – त्यही रकम लिएर यात्रुलाई आवतजावत गराउनुपर्छ । तोकेको भन्दा बढी भाडा कसैले नलिनुहोला । बढी भाडा नदिनू–नलिनू ।

हामीले अर्को पक्ष के बुझ्नुपर्छ भने गाडीका विभिन्न क्याटागोरी छन् । अहिले हामीसँग नर्मल, डिलक्स, सुपरडिलक्स, भीआइपी लगायत गाडी छ । गाडीको स्तरअनुसारको भाडा तिर्नुपर्छ । त्यसमा विवाद गर्नुभएन । एउटा गन्तव्यमा पनि फरक–फरक सुविधाका गाडीमा फरक–फरक भाडादर हुन्छ । तोकिएको भाडादर नागरिक सहायता कक्षमा राखिएको हुन्छ । सवारीसाधनमा पनि राखिएको हुन्छ ।

चाडबाडका बेला एकतर्फी यात्रु हुन्छन् । खाली गाडी कुदाउनुपर्छ । यातायात व्यवसायीले पैसा कमाउन यात्रु ठगे भन्ने गुनासो आउँछ । तर, हामीले यस्तो बेलामा पैसा कमाउन सकेका हुँदैनौँ । असहज परिस्थितिमा यात्रु रेस्क्यू गरेजस्तै हो । राज्यले कुनै व्यवस्था गरेको छैन ।

सडकका खाल्डाखुल्डी पुरिदिएर सार्वजनिक सवारीसाधनलाई निर्वाध आवतजावतको प्रबन्ध गरिदिए त्यो नै राज्यको ठूलो योगदान मान्नुपर्ने अवस्था छ ।

यात्रुको अर्को गुनासो चाहिँ चाडबाडका बेला काठमाडौं उपत्यका वरपरका जिल्लाहरूमा जाने छोटो दूरीका सवारीसाधन नै पाइँदैन भन्ने छ नि ? किन यस्तो हुन्छ ?

अहिले ती जिल्लामा दैनिक गाडी गुडिरहेका छन् । सार्वजनिक सवारीसाधनको कुनै समस्या हुँदैन । तर, यात्रुले एउटा कुरामा चाहिँ ध्यान दिनुपर्छ । सबैलाई फूलपाती या अष्टमीकै दिन जानुपर्ने हुन्छ । त्यो प्रवृत्तिले समस्या निम्तिने गरेको हो । म यो पनि अनुरोध गर्न चाहन्छु कि इमर्जेन्सी (आकस्मिक) काम छैन भने बेलैमा घर जानुस् ।

सञ्चारकर्मी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अत्यावश्यकीय सेवाकर्मीहरू फूलपाती या अष्टमीकै दिनसम्म काठमाडौंमा बस्नुपर्ने होला । तर, जरुरी काम नभएका र बेलैमा जान मिल्ने लाखौं मानिस पनि फूलपातीकै दिनसम्म काठमाडौंमा बस्ने गर्नुहुन्छ । अहिले गाडी खालीखाली गएका छन् । बेलैमा गाउँ गएर घुमघाम र दशैँको पूर्वतयारी गरे भैहाल्छ नि !

यात्रुको चाप व्यवस्थापन गर्न सरकारले पनि जिम्मेवारीपन देखाउनुपर्छ । चाडबाडको मुखमा काठमाडौंमा अनेक गोष्ठी र सेमिनार आयोजना गरी बाहिरका मानिसलाई थुपार्नु भएन । दशैँको भीडभाडामा ती यात्रुहरूलाई लैजान अप्ठेरो पर्छ । यस अघिका वर्षमा कहिले कोरियाको भाषा परीक्षा त कहिले त्रिभुवन विश्वविद्यालयले परीक्षा लिने काम गर्थ्यो ।

चाडबाडकै मुखमा यस्ता कार्यक्रम र तालिका कार्यान्वयन गर्नुभएन । उसै त नियमित यात्रुलाई आवतजावत गराउन गाह्रो हुन्छ, त्यसमाथि राज्यले नै थप चाप पार्नेगरी यस्ता काम गर्दा समस्या झनै बढ्छ । सरकारी अधिकारीहरूले यसतर्फ बुद्धि लगाउनुपर्छ ।

यात्रुलाई यातायात कर्मचारीले र कर्मचारीलाई यात्रुले राम्रो व्यवहार गर्नुहोला । मादक पदार्थ या लागूपदार्थ सेवन गरी काउन्टरमा टिकट काट्न या यात्रा गर्न नआउनुहोला । स्टाफले यात्रुलाई या यात्रुले स्टाफलाई हप्कीदप्की गर्ने, नराम्रो व्यवहार देखाउने गर्दै नगर्नुस् ।

यात्रु र कर्मचारी दुबैको अधिकार र सम्मानको ख्याल गर्नुपर्छ । लागु या मादक पदार्थ सेवन गरी यात्रामा अवरोध गर्नेहरूलाई सम्बन्धित स्टाफहरूले सुरक्षाकर्मीकहाँ बुझाइदिनुहोला । एकजना यात्रुका कारण गाडीभर होहल्ला हुनसक्छ । त्यसैले कम्तिमा यात्रा गर्दा मादक या लागुपदार्थ सेवन नगरिदिनुहोला ।

दशैंमा दुर्घटना अलि बढी हुने गरेको हो ?

यसपटक दशैँका बेला दुर्घटना शून्यमा झार्नुपर्छ । पूर्ण सुरक्षित यात्रा गर्नुपर्छ । कुनै दुर्घटना नभइकन सवारीसाधन मेची–महाकाली पुगेर आउन् ।

सरकारले सबै खालका सवारी दुर्घटनालाई एउटै क्याटागोरीमा राख्नुभएन । मोटरसाइकल, रातो नम्बरप्लेटका कार या सरकारी गाडी दुर्घटना हुँदा पनि एकमुष्ठ सवारी दुर्घटना भनिरहेको हुन्छ । यसो भनिदिँदा सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुपर्ने यात्रुहरू आतङ्कित भइरहेको अवस्था छ । जुन सवारीसाधन दुर्घटना भएको हो – त्यही क्याटागोरी खुलाएर भन्नुपर्‍यो ।

गत वर्षको दशैँमा सार्वजनिक यातायात दुर्घटना नै भएन भन्दा पनि हुन्छ । जम्मा एउटा गाडी दुर्घटना भएको हो । अधिकांश दुर्घटनामा निजी सवारीसाधन परेका हुन् । त्यसैले सवारी दुर्घटनालाई एउटै बास्केटमा राख्नुभएन ।

हामीले गत शनिबार यातायात र गृहमन्त्रीलाई भेटेर राज्यसंयन्त्रबाट ट्राफिक चेकिङमा सरलता र दुर्घटनाबारे स्पष्ट जानकारी प्रवाह गरिदिन आग्रह गरेका छौँ । मिडियाले पनि जुन प्रकृतिको सवारीसाधन दुर्घटनामा परेको हो – समाचार लेख्दा सोही सवारीसाधनबारे स्पष्ट रूपमा लेखिदिनुपर्‍यो । यस्ता कुरा थाहा पाउन पनि मैले शुरूमा भनेको प्रविधिमैत्री यातायात सेवा आवश्यक छ ।

दशैँमा सार्वजनिक यातायात व्यवस्थापनबारे ट्राफिक प्रहरीदेखि सरकारी नियामक निकायबीच भइरहेका नीतिग छलफलहरूमा तपाई संलग्न हुँदै आइरहनुभएको छ । नीतिगत अवस्था केलाउँदा हाम्रो सार्वजनिक यातायातको अवस्था के छ ?

नेपालको सार्वजनिक यातायात सुधारका लागि सरकारले नीति बनाउनेदेखि धेरै काम गर्न बाँकी छ । अहिलेसम्म केही पनि गरेको छैन । अहिलेसम्म के गरेको छ त भन्दा कम्पनीहरूले गाडी भित्र्याउँछन्, सरकारले इजाजत दिन्छ र कर लिन्छ, सकियो । सरकारले त्यस बाहेक केही गरेकै छैन ।

सार्वजनिक यातायात क्षेत्रमा सरकारको शून्य लगानी छ । केही गाडी गुडाइरहेको साझा यातायात पनि अर्धसरकारी हो । राज्यले जबसम्म पहिलो प्राथमिकतामा राख्दैन, तबसम्म सार्वजनिक यातायात क्षेत्रमा सुधार हुँदैन ।

यदी यो क्षेत्रमा आमूल परिवर्तन ल्याउने हो भने मुलुकमा जसरी राजनीतिक पार्टी र सरकारले आर्थिक समृद्धि भनिरहेका छन्, त्यो समृद्धिको सम्वाहक सार्वजनिक यातायात हो भन्ने बुझ्नुपर्छ । ठ्याक्क विमानस्थलमा आउँदा सरर सार्वजनिक यातायातको सुविधा पाउनुपर्छ । त्यसो हुँदा विदेशी पर्यटकमा नेपालको छवि नै फरक पर्छ ।

हामीले यो विषय बुझाउन खोज्यौँ, तर सरकारले बुझ्न चाहेन । जबसम्म भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एउटा जम्बो मन्त्रालयका रूपमा रहिरहन्छ – तबसम्म सार्वजनिक यातायातमा सुधार हुँदैन । अधिकारसम्म यातायात प्राधिकरण आजको आवश्यकता हो ।

हामीले कारणसहित प्राधिकरणको आवश्यकता औंल्याएका हौँ । जस्तो कि – नेपाल विद्युत प्राधिकरणमा एउटा कार्यकारी निर्देशक आएपछि उसले पाँच वर्ष काम गर्न पाउँछ । तर, यातायात व्यवस्था विभागमा तीन/चार महिनामै महानिर्देशक परिवर्तन गर्ने गरिएको छ । एक त मन्त्रालयले प्राथमिकतामै राखेको छैन । विभागको अधिकार संघ, प्रदेश र स्थानीय सरकारमा बाँड्दा किचलो भएको छ । पैसा लिने ठाउँमा सबै अघि सर्ने, काम गर्ने बेला अर्कोलाई देखाउने भइरहेको छ ।

एउटा नागरिकले लाइसेन्स लिन आजका दिनमा भोगिरहेको सास्तीले नै यातायात व्यवस्था विभागको हालत के छ भन्ने देखाउँछ । ट्रायल, लिखित, मौखिक सबै पास गरेको नागरिकलाई एउटा लाइसेन्स दिन सक्दैन भने यातायात क्षेत्र सुधारमा कसरी ठूलो अपेक्षा गर्ने ? निजी क्षेत्रले सार्वजनिक यातायातमा निकै धेरै र सुविधासम्पन्न साधन भित्र्याएको छ ।

त्यसैले अधिकारसम्पन्न यातायात प्राधिकरण आवश्यकता हो । त्यस्तो निकायमा सरोकारवाला सबैको प्रतिनिधित्व हुन्छ । कुन सडकमा कस्तो गाडी गुडाउने, कति गाडी आयात गर्ने, कुन रुटमा कति गाडी चलाउने, हिमाल/पहाड/तराईमा कस्तो गाडी चलाउने, शहरमा कस्ता सवारीसाधन सञ्चालन गर्न दिने, पर्यटन क्षेत्रमा कस्ता गाडी चलाउनेजस्ता समग्र मानक अधिकारसम्पन्न प्राधिकरणले नै निर्धारण र कार्यान्वयन गर्न सक्छ ।

अहिले काठमाडौं उपत्यका थोत्रा गाडीको डम्पिङ साइट भएको छ, सार्वजनिक यातायात अस्तव्यस्त छ । अहिले त मोटरसाइकलको शहर भइसक्यो । पठाओ र टूटलको नाममा लाखौं मोटरसाइकल थुप्रिएको छ ।

यदि सार्वजनिक सवारीसाधन व्यवस्थित हुन्थ्यो भने, सय/डेढसय यात्रु एउटै बसमा गुड्ने व्यवस्था हुन्थ्यो भने आम नागरिकले मोटरसाइकल या निजी गाडी चढ्दै पर्दैनथ्यो । राज्यले त्यस्तो व्यवस्था गर्न चाहेको र सकेको छैन । त्यसैले अहिले हाम्रो प्रमुख माग अधिकारसम्पन्न यातायात प्राधिकरण नै हो ।

२१औं शताब्दीमा प्रविधिमैत्री यातायात हुनुपर्छ । तर हाम्रो विडम्बना : दशैँमा घर जान खोजेका नागरिकहरू टिकटका लागि अहिले पनि लाइन बस्नुपर्ने अवस्था छ । त्यसको कार्यविधि र नीति सरकारले बनाइदिनुपर्ने हो । ‘जाऊ’ भनेर मात्रै भएन नि ! प्रविधिमा जाऊ त भनेको छ, तर आवश्यक नीति/विधि बनाइदिएको छैन ।

असारको चितवनको सिमलतालमा गेग्रानसहितको बाढीले दुईवटा बस त्रिशुली नदीमा खस्यो । अहिलेसम्म यात्रुको नाम र ठेगानासम्म एकीन हुन सकेको छैन । नदीमा खसेका दुईवटा बस अझैसम्म भेटिएको छैन । यदि ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) थियो भने त्यो गाडी भेटिन्थ्यो, कहाँ पहिरो जान लागेको छ, कहाँ सडक खराब छ, कहाँ घुम्ती र मोड छन् भन्ने थाहा हुन्छ । सवारीधनीले आफ्नो सवारीसाधन कसरी चलिरहेको छ भनी हेर्न सक्छ । दुर्घटना नै न्यूनीकरण हुन्थ्यो । जनकपुर पठाएको गाडी स्टाफले भैरहवा पुर्‍याएको भन्ने सुनिन्छ । यात्रुले सामान हरायो, चोरी भयो भनिरहेका हुन्छन् ।

त्यसैले अब जीपीएस प्रविधि, क्यासलेस र अनलाइन टिकेटिङको प्रबन्ध मिलाउनैपर्छ । काठमाडौं उपत्यका र शहरी क्षेत्रमा क्यासलेस सिस्टम तथा लामो र मध्यम दूरीमा अनलाइन टिकेटिङ गर्नैपर्छ । तर, त्यसो नगरेर यहाँ कुर्सीको तानातान मात्र हुने गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १ : ०६ बजे

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना

सिरहा– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सन् २०२४ मा

एमाले सचिवालय बैठक बुधबारका लागि आह्वान

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

सिक्लेसको मौलिकता संरक्षणमा पर्यटन व्यवसायीले जोड

गण्डकी– कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले

बागमती प्रदेशमा धान उत्पादन घट्यो

बागमती– बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ