खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु « Khabarhub

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न एक सय १० वटा स्थानमा भएको आगलागीको घटनामा रु पाँच करोड बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्लामा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सामुदायिक वनमा लागेको डढेलोबाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

स्थानीय मैनाचौर सामुदायिक वन नजिकैको खेतमा झिक्रा तथा पत्कर डढाउन लगाएको आगो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । विभिन्न समयमा भएका अन्य पाँचजना घाइतेको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् ।

आगलागीबाट एक सय ७५ वटा चौपाया र एक सय ९५ पक्षी जलेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले राससलाई जानकारी दिए।

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा बुधबारमात्रै बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा १३ वटा घर जलेर नष्ट भएको छ । विभिन्न चारवटा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ, एउटा बाख्राखोर र एउटा भान्छाघर जलेर खरानी भएको हो ।

बराहपोखरीका आगलागी पीडितको उद्धार, व्यवस्थापन तथा राहत उपलब्ध गराउने काम भइरहेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन् । वडाध्यक्ष कार्कीका अनुसार दिउँसोको समयमा भएको आगलागीबाट मानवीय क्षति नभएको तथा क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

यस्तै बुधबार नै दिउँसो स्थानीय ठूलोवन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको तल्लोखोक्सेलीका भूपराज आलेमगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको छ । इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोली आगो नियन्त्रण गरेर फर्किएपछि पुनः हावाहुरीले उडाएको आगोले बस्नेतको घर जलेको वडाध्यक्ष किशोर बस्नेतले बताए।

दश स्थानीय तह रहेको जिल्लामा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा डढेलो लगाउँदा आगलागीका घटना हुने गरेको समाचार स्रोतको दाबी छ । हिउँदमा बोटबिरुवाबाट झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि डढाउन स्थानीय बासिन्दा आफैँले सामुदायिक वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ ।

सामुदायिक वन तथा आसपासका निजी जङ्गलमा लगाइने आगो नजिकै रहेको गाउँमा पस्दा ठूलोमात्रामा जनधनको क्षति हुनुका साथै अरबौँको वनस्पति जलेर नष्ट हुने गरेको छ । सामुदायिक वनमा आगजनी गर्ने व्यक्तिलाई सम्बन्धित निकायले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।

सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा रु २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ । सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याउनु कानुनविपरीत हुने तथा वन क्षेत्रमा आगजनी गर्दा दीर्घकालीन असर पुग्ने चेतनाको अभावमा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा आगजनी गर्ने गरेका हुन् ।

जिल्लामा आगलागीबाट हुने क्षति तथा बच्ने उपायका बारेमा सचेतनामूलक कार्यक्रम गरिए पनि जनस्तरमा नपुग्दा समस्या भएको जानकारले बताउने गरेका छन् । आगलागीका घटना नियन्त्रण गर्न वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति तथा प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्षमात्रै तीन दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।

 जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलोले पशुपक्षी, काठ काट्न योग्य रुख तथा जडीबुटीजन्य वनस्पति जलेर नष्ट हुँदा अरबौँको क्षति भइसकेको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिए।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ३ : ४१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई