‘अब निर्वाचन प्रणालीमा संशोधन आवश्यक भइसक्यो’ | Khabarhub Khabarhub

‘अब निर्वाचन प्रणालीमा संशोधन आवश्यक भइसक्यो’

संघीय सरकार अस्थिर हुँदा प्रदेश पनि बदनाम हुन थाले



संघीयता आएपछि मुलुकले छलाङ मार्छ भनिएको थियो । नेताहरूले पनि देशले विकासको फड्को मार्ने बताएका थिए । तर अहिले आएर देशले प्रदेश संरचनाहरू धान्ने नसक्ने अवस्था भएको छ। प्रदेश संरचनालाई केन्द्रले नै धानिदिनुपर्ने बाध्यता भएको छ । केन्द्रको राजनीतिक फेरबदलको असर प्रदेशहरूमा देखिँदा तिनीहरूले बदनामीको टीको मात्र लगाए भन्ने चर्चा चलिरहेको छ । यसै सन्दर्भमा संघीयताविद् डा. चन्द्रकान्त ज्ञवालीसँग कृष्ण तिम्सिनाले गरेको कुराकानी :

संविधान कार्यान्वयनको ८/९ वर्षबीचमा जनतामा जुन खालको भरोसा जाग्नुपर्ने थियो, निराशा मात्रै बढायो भनेर नेताहरु नै भनिरहेका छन्, कारण के होला ?

संघीयता आयो, समावेशिता पनि लागु भयो । संविधान सभाबाट संविधान जारी भएर दुईवटा सिद्धान्तबाट नै संविधान बनाइएको हो । अब संघीयता लागु हुँदा पनि पूर्ण संघीयता हो कि अर्ध संघीयता हो भनेर हेर्दा पूर्ण संघीयता अझै पनि संविधानले परिकल्पना गर्न सकेन ।

जस्तो : कार्यकारीको सन्दर्भमा संघीय सरकार र तल्लो तहका सरकारहरूसँग स्थानीय प्रदेश सरकारहरूको अधिकारको बाँडफाँड भएको देखिन्छ । संसद्मा पनि सबै सभाहरूले कानुन बनाएर अगाडि बढिरहेका छन् । तर न्यायपालिकाको हकमा अझै पनि एकात्मक पद्धतिको नै देखिन्छ ।

संघीय संरचनामा केन्द्रीय आयोगहरू छन्, ती पनि प्रादेशिक स्थानीय तह सम्म पुगेको देखिँदैन । त्यसैले अहिलेको अवस्थामा हाम्रो संघीयता पूर्ण रूपमै संघीयता हो कि भन्दा पनि अर्धसंघीय शासन पद्धतिको जस्तो संविधानले परिकल्पना गर्‍यो । त्यसको कार्यअधिकार, क्षेत्राधिकार हेर्दा त्यस्तो देखियो । संघीयताको मूल्य मान्यता सिद्धान्त जे हुनु पर्थ्यो त्यो देखिएन ।

सरकारका निकायहरू पनि एकात्मक भए र यसले गर्दा सरकारहरूलाई संविधानवादमा हिँडाउने वा सीमित सरकार बनाउने र लगाम लगाउने चाहिँ एकात्मक रही रहे कार्यपालिका र व्यवस्थापिकामा मात्रै संघीयताको केही छनक मात्रै देख्यौँ ।

पहिलो संरचनात्मक सुधार र त्यसको कार्यात्मक, क्षेत्रात्मक र परिमाणात्मकता सुधार गर्न पहिलो संविधान सुधार सुझाव आयोग गठन गरेर त्यसको ठाउँमा संशोधन गरिदियो भने त्यसले पूर्णता पाउँछ होला । अनि बल्ल संघीयता समावेशिताले काम गर्न सक्थ्यो होला । संघीयता समावेशिताले केही नै दिएन निराशा नै मात्रै भयो भन्नु हुँदैन ।

स्थानीय तहको २० वर्ष पछि निर्वाचन हुन गयो । त्यसकारण स्थानीय तहहरू समयमा निर्वाचन नहुँदा स्थानीय तहका बाटोघाटो र बत्ती सबै भताभुङ्ग थिए । खानेपानी केही थिएन । अहिले बाटो बनाएका छन् । ग्राभेल भएकामा पिच हुँदै छन्, बिजुली, पानी सबैका घर घरमा पुगेका छन् । इन्टरनेटका सुविधाहरु पनि प्राय हरेक ठाउँमा पुगेका छन् । यी सबै कुरा संघीयताले आर्थिक रूपमा तल्लो तहको सरकारसँग पुर्‍यायो ।

प्रादेशिक तहमा पनि प्रदेशको संविधानले मात्रै परिकल्पना गरेर त्यसका संरचनाहरू बनाउनु पर्ने कानुनहरू बनाउनु पर्ने १९ वटा अधिकार अनुसारका कानुन ३०/३५ वटा बनाउन पहिलो वर्ष त्यसै गयो । कानुनहरू अझै पनि सम्पूर्ण रूपमा बनिसकेका छैनन् । तर न्यायपालिका एकात्मक रह्यो । न्यायमा पहुँच तल्लो तहसम्म पुगेन । जुम्लामा हालेको एउटा निवेदन सुप्रिम कोट सम्म आउँछ ।

त्यसैले न्यायमा खर्च बढ्यो महँगो भयो भन्ने देखियो । त्यसैले न्याय पालिकाको पनि पुनर्संरचना गर्नु पर्ने देखियो । सरकारका निकायमा र आयोगमा पनि पुनर्संरचना गरेर प्रादेशिक लेबलमा निर्वाचन आयोग, लोकसेवा आयोग आफ्ना सरकारका आफ्नो आयोग बनाउनु पर्ने देखिन्छ ।

अझै पनि उद्योग धन्दाहरू विस्तार हुन सकेनन् । उद्योगहरू खुलेर विश्वविद्यालयको सुधार विकास गर्न सकियो भने रोजगारीको विकास हुँदै जान्छ र युवा पलायन रोकिन्छ ।

यो ८/९ वर्षको बीचमा संविधान कार्यान्वयनका लागि राजनीतिक पार्टीहरू इमानदार भए कि, संविधान माथि भद्दा मजाक गर्न राजनीतिक पार्टीहरू लागे ?

राजनीतिक पार्टीहरूमा अझै पनि राजनीतिक संस्कार र प्रणाली बस्न सकेको छैन । संघीय संसद्को निर्वाचन भइसकेपछि संसद्मा सांसदले शपथ लिएर संसदीय दलको नेता चुनेर जो बहुमतमा आएको दल छ, त्यसले सरकार बनाउने राष्ट्रपतिले नियुक्त गर्ने भन्ने व्यवस्था थियो ।

सुरुको दिनदेखि नै राजनीतिक संस्कार किन बसेन भने संसद्‍मा नगई, शपथ नलिई राष्ट्रपतिकहाँ सरकार बनाउन दौडेर गइयो । जहाँ प्रतिनिधि सभाको १६५ को निर्वाचन भइसकेपछि प्रतिनिधि सभा पूरा हुन ११० को निर्वाचन हुनु पर्थ्यो । राष्ट्रिय सभा निर्वाचन हुनु पर्थ्यो ।

प्रदेश र स्थानीय तहको निर्वाचन भएपछि प्रतिनिधि सभा निर्वाचन पुरा हुन्थ्यो । तर ११० को निर्वाचन नगरी १६५ को निर्वाचन गरेर संसद्को अधिवेशन नगरी मेरो पार्टीमा १६५ मा बहुमत आयो भनेर सरकार बनाउन गएको अवस्था थियो । त्यसलाई हामी जस्ता मान्छेले यो हुँदैन भनेर खबरदारी गरियो र बल्ल संसद्मा गएर २ महिना सम्म सरकार लड्कियो । बनेन र ११० को निर्वाचन भयो । र ७४ संसिरमा भएको निर्वाचनले फागुन २१ गते सरकार बन्यो । तर त्यो हुँदै जाँदा संसद् विघटन भयो । कुनै दलीय स्वार्थमा वा दलहरूका प्रतिद्वन्द्वी आधारमा संसद् पनि विघटन हुन पुग्यो ।

राजनीतिक दलहरू केन्द्रीय सङ्घीय सरकारमा पुगेका हुन्छन् उसले रुलिङ पार्टी हुनेबित्तिकै प्रदेश तहमा र स्थानीय तहमा उसले संघीय सरकार बन्दा प्रदेश सरकारलाई पनि असर गर्ने भयो । प्रदेशको छुट्टै निर्वाचन नभएको र एकैचोटी निर्वाचन भएको कारणले प्रदेशमा विकृति विसङ्गति देखियो वा संविधान उलङ्घन गरियो भन्नुभन्दा पनि दलहरूले संघीय सरकारमा आफ्नो पार्टी कुन कुन छ, त्यही बमोजिमको प्रदेश तहमा पनि सरकार बनाउन चाहे । त्यो चाहँदा एउटा राजनीतिक संस्कार बसेन र प्रादेशिक सरकारहरू स्वतन्त्र छन् । आफ्नो सरकार आफै बनाउँछन् । हामीले हस्तक्षेप गर्नु हुँदैन भन्ने नै भएन ।

जस्तो : कोसीमा पटक पटक धारा १६८ को १ देखि ५ सम्म सरकार परिवर्तनको परिवर्तन भइरहेको छ । संविधानको परिकल्पना अनुसार त त्यो छैन । अरु प्रदेशमा पनि त्यही हालत छ । यसको कारण भनेको संघीय सरकारमा रुलिङ पार्टी जुन छ । उनैको हस्तक्षेप बारम्बार भइरह्यो । यही हस्तक्षेपको कारणले नै प्रदेशहरू अस्थिर भएर त्यहाँको संसद्ले सरकार पटक पटक जन्माइरह्यो । र, केन्द्रमा पनि अहिलेसम्म दुई वर्ष भएको छैन, तीन पटक विश्वासको मत लिइरहनु परेको छ। एक दललाई विश्वास गर्ने परि पार्टी पनि भएन र हरेक पार्टीसँग जोडिएर विश्वासको मत लिइरहने चलन बढेको छ ।

यो संस्कारबाट स्थिर बलियो सरकार बनाउन तिर भन्दा पनि पाँच वर्षमा एउटै प्रधानमन्त्री बनाउने भन्दा पनि ५ देखि ६ जना प्रधानमन्त्री जन्माउने मात्रै भयो । मुख्यमन्त्री जन्माउने नेता नै नेता मात्रै जन्माउने राजनीतिक संस्कार बस्यो, यसले संविधान कानुनहरूको सिद्धान्तमा हिँडेन । यसलाई वास्तवमा कानुन बनाएर संविधानको अक्षरश पालना गराउने तिर अहिल्यै लाग्नु पर्छ ।

जनताले महसुस गरेको पनि यही हो, त्यसैले जनताले परिवर्तन स्थायित्व र परिवर्तनका लागि, सुशासनका लागि भनेर पटक पटक लडेका हुन् । नागरिकमा निराशा आउनु त स्वाभाविक नै हो नि ?

राजनीतिक दल र सरकारको स्थिरता वा संविधानवादमा हिँडेको भए यो सबै हुने थिएन । जस्तो : संविधान नबन्दा राजनीतिले संविधानवादलाई डोर्‍याउने हो । वा संविधान बमोजिम हिँडाउन राजनीतिले नै गाइड गर्थ्यो, आज संविधान बनिसकेपछि त संविधानवाद्‍ले राजनीतिलाई डोर्‍याउनु पर्थ्यो तर त्यो भएन । त्यस कारण राजनीतिक संस्कार बस्न सकेन । जहाँ प्रदेशहरू पनि संघीय सरकारले जे भन्छ त्यही गर्ने भए ।

अलिकति आफ्नो दल पार्टी र निहित स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि जब सम्म लाग्दैनन् राजनीति अस्थिरता नै हुन्छ । संविधानको कारणले राजनीतिक अस्थिरता बनेको होइन । राजनीतिक दलहरूको हिजोको एकात्मक शासन पद्धतिमा हिँडेको एउटा केन्द्रीकृत मानसिकता भएको र शक्ति बाँडफाँट भएर तल्लो तहसम्मका सरकारहरू एक अर्कामा स्वतन्त्र छन् । र, अब उनीहरूले एक अर्काको काममा हस्तक्षेप हुनु हुँदैन । अन्तरसम्बन्धित हुनु पर्छ भन्ने जबसम्म यो संघीयतामा जिम्मेवारी जाग्दैन जवाफदेहिता आउँदैन तबसम्म संघीयताको राम्रो पक्ष लिन सकिँदैन ।

एउटा निर्वाचनले सबै दिन्छ भन्ने पनि होइन, अर्को निर्वाचनमा जाँदा अर्को नयाँ पुस्ता आउँछ । पुरानो पुस्ताको राजनीतिक संस्कार सिक्दा सिक्दै त्यसलाई बढी आफू अनुकूल प्रयोग गरेकोले यो सबै भएको हो । नयाँ पुस्ता आउँदा संविधान कानुनमा टेकिएर गइएला त्यसैले अहिले नै आत्तिनु पर्ने अवस्था भने छैन ।

अहिलेको राजनीतिक मैदानमा/विम्वमा नयाँ वा अपेक्षा गरिएको पुस्ता कस्तो जन्मिएको छ र ?

निर्वाचनको बेला जनता अलिक सचेत भएर कत्तिको परिपक्व प्रतिनिधि छ कत्तिको सक्षम पारदर्शी छ भनेर हेरेर पठाउने दल र कार्यकर्ताको लहरमा लागेर कहिल्यै लाग्नु हुँदैन । साँच्चै चिनेर जनताले ल्याएर भने राम्रो नै हुन्छ । ठूला दलले राम्रो काम गरेनन् भने नयाँ नयाँ पुस्ता आउँछन् र नयाँमा नयाँ कुरा पनि आउँछन् ।

नेताहरू पहिले नै जन्मिएका हुन्छन् । काम गर्दै जाँदा राम्रो हुँदै जाने अनुभव पनि लिने हो । आजको अवस्था हेरेर भोलि राष्ट्रको लागि सक्षम राम्रो नेता आउँछन् । ठूलै दल पनि अब लामो समय जाँदैनन् । उनीहरूकै कारण जनतामा निराशा छाएको छ, त्यसमा जसले जनतालाई हेर्छन् ती अगाडी आउँछन् र केही नगर्ने पछि पर्दै जान्छन् ।

यो निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तन नगर्दासम्म यस्तै हो हुने अब यो फेर्नु पर्‍यो भन्ने बहस पनि सुरु गरे राजनीतिक पार्टीले । समस्या निर्वाचन प्रणालीमा हो ?

पहिलो निर्वाचन प्रणालीभित्रै समावेशिता खोज्नु पर्छ भनेर निर्वाचन आयोगले एउटा अध्ययन पनि गराएको थियो । सुरुमा २०१२ मा पनि एउटा विज्ञ समूहमा म पनि थिएँ र ५ जनाको समूहले संसारका २२ वटा निर्वाचन प्रणाली बुझाएको थियौँ र त्यो निर्वाचन प्रणालीका आधारमा उसले संविधान सभामा सबै स्थानीय तहदेखिका संघीय सरकारसम्म निर्वाचन प्रणाली प्रस्तुत गरेको थियो । त्यो अनुसारको हामीले जे चाहेको थियौँ, त्यो अनुसारको त संविधानसभाबाट संविधान बनाउँदा जारी भएन त्यस कारण मिश्रित निर्वाचन प्रणालीतर्फ गयौँ ।

निर्वाचन प्रणालीमा समावेशिताको आधारमा मात्रै समानुपातिक प्रतिनिधित्व भन्दा पनि पहिलो उम्मेदवारी दिने निर्वाचन प्रणालीमा नै समावेशिताको निर्वाचन क्षेत्र गर्ने गरी संविधान संशोधन गर्नु उचित देखिन्छ । यही निर्वाचन प्रणाली भयो भने प्रदेश र संघमा जहिले पनि संयुक्त सरकार, संयुक्त सरकार बन्न सरकार गठन विघटन र सांसद खरिद बिक्री भइरहन्छ । त्यसैले निर्वाचन प्रणालीमा संशोधन गर्नु उचित आवश्यक देखिन्छ ।

त्यसलाई पनि उच्चस्तरीय आयोग गठन गरेर संविधान संशोधन गरिनु जरुरी छ । यदि संविधान संशोधन गरिएन भने यही समय परिस्थितिअनुसार अस्थिर भइरहे, सरकार र संसद्हरू नटिके समस्या हुन् छ । त्यसैले सरकारले यसलाई अर्को पटकसम्म कम्तीमा पनि निर्वाचन प्रणालीलाई गहन अध्ययन गरेर जानुपर्छ।

जस्तो : हामीले २२ वटा निर्वाचन प्रणाली आयोगमा बुझाएका थियौँ । अब अविलम्ब तीन निर्वाचन प्रणालीको गहन अध्ययन गरेर कुन उपयुक्त हुन्छ त्यतातिर लागौँ । मत पनि खेर नजाने सबैको प्रतिनिधित्व हुने र जनताको भरोसायोग्य नेता पठाउने निर्वाचन गरिनु जरुरी छ । त्यसो गर्न सरकारको पहलमा उच्चस्तरीय आयोग गठन गरेर निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ५ : ५७ बजे

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा– दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि–२०

म्याग्दीका छ वडामा स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध, स्थानीय मारमा

दमौली– बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण