सबैले बोले, आफूलाई जोगाउँदै जीबी राईलाई पोले | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरण

सबैले बोले, आफूलाई जोगाउँदै जीबी राईलाई पोले

नेपाल ल्याउनुपर्ने सरकारलाई चुनौती



काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आरोपीहरूसँगको बयान सकेको छ । समितिको शुक्रबार बसेको ४५ औँ बैठकसँगै फरारबाहेक सबै आरोपीहरूसँगको बयान सकेको हो ।

अब समितिलाई फरारहरूको बयान लिनुपर्ने चुनौती छ । सहकारीको सबैभन्दा धेरै रकम अपचलन गरेर भागेका भनिएका गितेन्द्रबाबु राई (जीबी) देशभित्रै छैनन् ।

उनलाई पक्राउ नगरेसम्म सहकारीको मूल समस्या समाधान गर्न चुनौती देखिएको समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताएका छन् ।

‘बयान लगभग सकिएको छ, अब केही साथीहरू तानिए भने जोडिँदै जानेछन् । फरार अभियुक्तलाई पनि खोज्न सरकारसँग भनिसकेका छौँ’, उनले भने, ‘तर समितिले गर्नुपर्ने काम अझै धेरै छन् । ती गर्दै जानेछौँ। कस्तो प्रतिवेदन बन्छ अन्तिमसम्म हेर्नुपर्छ ।’

समितिमा रविको बयान-पाँच लाख तलब खाएँ, जीबीले पैसा कहाँबाट ल्याए थाहा भएन

जीबी फरार भएका कारण समितिले चाहेजस्तो नतिजामुखी प्रतिवेदन बनाउन भने मुस्किल परेको छ । नेपाल सरकारले चाहेमा मलेसियन सरकारलाई अनुरोध गरेर ल्याउन सकिने भने सम्भावना छ । यदि जीबीलाई ल्याउन सके डुबेका सहकारीको ८० प्रतिशत समस्या समाधान हुने समितिका एक सदस्य बताउँछन् ।

जीबी मलेसियामा बस्दै आएको प्रमाण समितिले फेला पारेको जनाएको छ । समितिले जीबीको लोकेशन नेपाल प्रहरी र मलेसिया प्रहरी मिलेर पत्ता लगाउने गरी सरकारलाई दबाब दिइरहेको छ । तर हालसम्म उनी प्रहरीको पहुँचमा छैनन् । उनीबारे नेपाल प्रहरीको नेतृत्वले पनि भरपर्दो सूचना सरकारलाई दिइसकेको छैन ।

जीबीलाई नेपाल सरकारले चाहेमा झिकाउन सक्ने बयान समितिमा स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कुमार रम्तेलले दिएका थिए। उनले जीबी झिकाएर तत्काल कारबाही गर्न पनि समितिसँग आग्रह गरे ।

उनलाई झिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उच्च सरकारी तहमा पहल गरिरहेको बताइएको छ । तर, सर्वसाधारणले ठूलो पैसा हिनामिनामा संलग्न उनलाई सरकारी संयन्त्रबाटै संरक्षण मिलिरहेको आशंका गरेका छन् ।

शुक्रबार बयान दिन समितिमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा जीबीलाई पक्रिन पहल गरेको जिकिर गरे । तर तत्कालीन सरकारकै केही मान्छेहरूले उनलाई लुकाएको दाबी रविको थियो । जीबी गोर्खा मिडिया नेट्वर्कमा अध्यक्ष थिए भने रवि प्रबन्ध निर्देशक ।

गोरखा मिडिया नेट्वर्कले चलाएको ग्यालेक्सी टेलिभिजनका लागि लगानी ल्याउने नाममा जीबी र रवि दुवैले सहकारीको बचत हिनामिना गरेको छ । तर रविले आफूलाई उक्त प्रकरणमा जोगाउने प्रयास गर्दै जीबीले फसाएको जिकिर गरेका थिए । शुक्रबार १२ घण्टाभन्दा लामो बयानका क्रममा रविले तलब र १५ प्रतिशत सेयर मात्रै लिएको जिकिर गरे । उनले जीबी पक्रेर ल्याउन वर्तनमान सरकारलाई ठाडो चुनौतीसमेत दिए ।

सहकारीको रकम अपचलनमा रवि पनि संलग्न रहेको तथ्य समितिले फेला पारेको जनाएको छ । तर रविले भने शुक्रबार ५१ वटा प्रश्नको जवाफ दिने क्रममा सबै दोष जीबीमा थोपरिदिए ।

सहकारी ठगी : १० जनालाई जेलबाट झिकाएर सिंहदरबारमा बयान

यस प्रकरणमा गृहमन्त्री रमेश लेखकले जीबीलाई पक्रन सरकारले आफ्नो ढङ्गबाट काम गरिरहेको बताएका छन् । ‘मान्छे पक्रिने विषयमा हल्ला गर्नु उचित होइन’, उनले भने, ‘सरकारले जीबीलाई नेपाल झिकाउने कोसिस जारी राखेको छ, चुपचाप बसेको छैन ।’

देशभर जीबीको सहकारी नेटवर्क

समितिमा हाजिर भएका ५० जना बयानकर्तामध्ये आधाभन्दा बढीले जीबी संलग्न सहकारीकै लहरोमा आफूहरू तानिएको बताएका थिए । समितिले पनि जीबीले चलाएका ठूला सहकारी डुब्न थालेपछि त्यसकै लहरोमा अरु पनि फस्न पुगेको निष्कर्ष निकालेको छ।

समितिका एक सदस्यले खबरहबसँग भने, ‘५० जनाको बयान सकिएको छ । अधिकांशले जीबीलाई नै दोष देखाउनु भएको छ । त्यसले पनि जीबीलाई पक्रनै पर्ने अवस्था छ । प्रधानमन्त्रीसहित गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफलपछि यसलाई निष्कर्षमा लैजाने कोसिसमा छौँ ।’

बयानमा हाजिर धेरैजसोले जीबीलाई दोष थोपरेर उम्किन खोजेका थिए । त्यसो गर्नेमा रविदेखि गोर्खा मिडियाकै तत्कालीन साझेदार पूर्वडीआईजी छविलाल जोशीसमेत छन् ।

जीबीले देशभर सहकारीको नेटवर्क खडा गरेर १७ देखि २० अर्बसम्मको बचत अपचलन गरेको निष्कर्ष संसदीय समितिको छ ।

‘यति नै रकम भन्ने एकीन हुन सकेको छैन । त्यस्तो विवरण कसैले दिन पनि सक्दैनन्’, समितिका अर्का सदस्यले भने, ‘जीबीको नाम लिएर सबैले उन्मुक्ति खोजेकाले उनलाई पक्रनुपर्ने अवस्था छ । १७ देखि २० अर्बसम्मको हिसाब उनको नाममा देखिन्छ । सबैले उनलाई नै दोष लगाएका छन् । अब उनी पक्राउ परेर बयान लिएपछि मात्रै अरु कुरा थाहा हुन्छ । अरूको कुरा सुन्यौँ, अब जीबीको कुरा सुन्न सके थप प्रमाण र तथ्यनजिक पुग्थ्यौँ ।’

जीबी जोडिएका ६ सहकारी :

जीबीसँग देशभर सहकारीको ठूलो नेट्वर्क नै छ । उनले सहकारी व्यवसायमार्फत देशभर नेटवर्क बनाएर बचत हिनामिना गरेको प्रमाण संसदीय समितिसम्म आइपुगेको छ ।

१ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं
२ सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखरा
३ सुप्रिम बचत तथा ऋण सहकारी संस्था, बुटवल
४ समता बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्ज
५ सारा चितवन बचत तथा ऋण सहकारी संस्था, चितवन
६ सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगञ्ज

सहकारीमा गगन–रवि वाकयुद्ध : ४ नम्बर बुँदाले गर्‍यो संकटमोचन

यीबाहेकबाट पनि जीबीले आफ्ना मान्छे लगाएर रकम अपचलन गरेको हुनसक्ने समितिको निष्कर्ष छ।

सबैले जीबीलाई पोले

बयान दिन आएका पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा गोरखा मिडिया नेट्वर्कका सञ्चालक कुमार रम्तेलले जीबीलाई ल्याएर आफूलाई कलङ्कको दोष मेट्उने मौका दिन आग्रह गरे ।

जीबी आए उनको सम्पत्तिबाट सहकारी ठगीको रकम फिर्ता गर्न सक्ने प्रमाण पनि उनले दिएका थिए । ती प्रमाणबारे यसअघि नै खबरहबले लेखेको छ । रम्तेलले आफूलाई जेलबाट निकालिदिए । यो समस्या समाधानमा विशेष पहल गर्ने बताएका छन् । राईको समूहका अन्य ९ जनाबारे पनि उनले केही बोलेका थिए ।

सहकारीको बचतबाट जीबी राईले भैंसेपाटीमा किनेका थिए ५५ करोडको जग्गा!

यस्तै, गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीले पनि आफूलाई सहकारीबारे थाहा नभएको बयान दिएका छन् । जीबीले नै सबै कारोबार गर्दै आएको बयान उनले दिएका छन् ।

यस प्रकरणमा सबै दोष जीबीलाई लगाएका उनले नेपालमा ल्याउन उनीसँग जोडिएका सम्पूर्ण सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सक्ने वातावरण मिल्ने बताए ।

जोशीले पनि आफन्तहरूको नाममा जीबीले जग्गा जोडेको दाबी गरे । जीबीको नाममा पनि प्रशस्त जग्गा भएकाले सरकारीकरणको प्रक्रियाबाट बचत फिर्ता गरिनुपर्ने जोशीले बताए । उनले आफू कुनै हिसाबले सहकारीमा नजोडिएको बताउँदै गोर्खा मिडियामा हुँदा पनि यसबारे थाहा नभएको बयान दिए । जीबीले नक्कली खाता खडा गरेर आफूहरूलाई फसाएको बयान उनले दिए ।

यस्तै रास्वपा सभापति लामिछानेले पनि आफूलाई जीबीले कहाँबाट पैसा ल्याएर दिए भन्ने जानकारी नभएको बताए । रविले ग्यालेक्सी टीभीमा हुँदा आफूले मासिक पाँच लाख तलब बुझेको बयान दिए । त्यसपछि उनले आफ्नो नाममा भएको कारोबार पनि कीर्ते गरेर जीबीले नै गरेको दाबी गरे । त्यसका लागि विभिन्न कार्यक्रमहरू गरेको प्रमाण रहेको दाबी रविले गरे ।

गोरखा मिडिया नेट्वर्कका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सनका सञ्चालक विपिनकुमार अचार्यले पनि जीबीलाई नै दोष थोपरे । हाल रास्वपा सह–महामन्त्री रहेका आचार्यले पनि जीबीले आफ्ना नाममा नक्कली विवरण र हस्ताक्षर राखेर कारोबार गरेको बताए । विपिनले पनि सबै दोष जीबीलाई नै लगाएर उम्किने कोसिस गरे ।

आफ्नो व्यक्तिगत खातामा आएको पैसासमेत आफूले कारोबार नगरेको जिकिर उनको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव दीपेशकुमार पुनले पनि सबै दोष जीबीलाई लगाए । आफू सहकारीमा हुँदा कुनै समस्या नभएको बताएका अउनले जीबीका कारण कुरो बिग्रेको जिकिर गरे । दीपेश पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

यस्तै सुप्रिम सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ गुरुङले पनि सबै दोष राईलाई लगाए । उनी अहिले भैरहवा कारागारमा छन् । कारागारबाट सिंहदरबार ल्याएर बयानमा गराइएका उनले जीबीलाई नेपाल झिकाउन सके आफहरूलाई उन्मुक्तिको बाटो मिल्ने तर्क गरे ।

‘हाम्रो दोष भए हामी कारबाही भोग्न तयार छौँ । तर जीबीलाई नेपाल ल्याएर कारबाही गर्नुपर्‍यो । उनले गर्दा हाम्रो भविष्य बर्बाद भयो’, गुरुङले समितिमा बयान दिँदै भनेका थिए, ‘उनको त समूह नै रहेछ, यसमा ठूला मान्छे पनि छन् जस्तो छ । ती ठूला मान्छे पनि पक्रनु पर्छ ।’

यी हुन् संसदीय समितिको छानबिनमा तानिने सहकारीहरू

यस्तै, सुप्रिम सहकारीमा क्यासियर रहेकी रोशनी गुरुङले पनि रुँदै जीबी र रविका कारण आफ्नो जिन्दगी बर्बाद भएको बताइन् । उनले भने यस प्रकरणमा जीबी र रवि दुवैलाई दोष देखाइन्।

छानबिन समितिले यो विषय सल्टाएदेखि राहत मिल्ने अपेक्षामा उनी छन् । उनले त्यसो भएमा समाजमा सम्मानपूर्वक बाँच्ने अधिकार मिल्ने बताइन्। बयानमा उनले रुँदै आफू कुनै हालतमा दोषी नभएको बताइन् । आफूलाई फसाइएको दाबी गरेकी गुरुङ धरौटीमा रिहा भएकी थिइन् ।

स्वर्णलक्ष्मीकी पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठले बयानका क्रममा जीबीको समूहले आफूले गरेको राम्रो काममा आँखा लगाएको बताइन् । आफूलाई सहकारीबाट गलहत्याएर निकालेपछि जीबीको समूह प्रवेश गरेको उनले सुनाइन् । त्यसपछि सहकारीको बदनाम भएको तर्क उनको थियो । सहकारीको सम्पूर्ण हिनामिनामा जीबीको समूहले गरेको उनले बताइन् ।

जीबीलाई पनि पोलेनन् विपिनले, अब छवि र रविलाई बयानमा तान्दै संसदीय समिति

यता सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भगीश्वर अर्यालले पनि किर्ते गरेर जीबीको समले आफूलाई फसाएको बयान दिए । उनले सबै दोष जीबीलाई लगाए ।

सूर्यदर्शनका पूर्वसञ्चालक शिवकुमार गुरुङ महेन्द्र भोटेले पनि एक्कासि सहकारी डुबेपछि मात्रै आफूलाई थाहा भएको बताए । उनले सम्पूर्ण कारोबार जीबीले नै गर्ने गरेको बयान दिए । युवा संघका नेतासमेत रहेका उनी हाल कास्की कारागारमा छन् । उनले कारागारमा थुनेर मात्रै सहकारीको समस्या समाधान नहुने भन्दै मुख्य योजनाकार पक्राउ गर्नुपर्नेमा जोड दिए । यदि जीबीलाई नसमाते यो समस्या हल नहुने उनको जिकिर थियो ।

सुमेरु बचत तथा ऋण सहकारी संस्था पुलचोकका सेयर सदस्य राजबहादुर सिंहले सम्पूर्ण रकम तिर्ने बताए । उनी पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँसमेत हुन् । आफूले सञ्चालन गरिरहेको व्यवसायबाटै सहकारीको ऋण तिर्ने बताए । सबै बचतकर्ताको रकम फिर्ता गरेर नयाँ ढंगले सहकारी अगाडि लानेसमेत समितिलाई उनले बयान दिए । उनले पनि जीबीलाई सरकारले पक्रनैपर्ने बताए ।

यससँगै बयानमा तानिएका अन्यले पनि जीबीलाई ल्याएर, उनको जग्गा बेचेर या सरकारले सकारेर बचत फिर्ता गर्नुपर्ने बताएका थिए ।

समितिका एक सदस्यका अनुसार राईको सम्पूर्ण सम्पत्ति रोक्का गरेर सरकारले सहकारी पीडितहरूको रकम फिर्ता गर्नुपर्ने जिकिर अन्यले गरेका छन् ।

ती सदस्यले खबरहबसँग भने, ‘मुख्य मुख्य काम बाँकी नै छ । जीबीलाई ल्याउन सके समितिको प्रतिवेदन बलियो हुन्छ । समितिको काम पनि देखिन्छ, मुख्य कुरा नगरी बनाइने प्रतिवेदनको खासै महत्व नहोला । मुख्य व्यक्ति जीबीलाई ठानिएकाले दोषी र निर्दोष छुटाउन पनि मुस्किल भएको छ ।’

समिति सभापति थापाका अनुसार अब समितिको ४६औँ बैठक मंगलबार बस्ने छ । त्यसपछि प्रतिवेदन लेखन अघि बढाउने समितिको तयारी छ । तर गृहमन्त्री लेखकले भने जस्तो जीबी पक्राउ परिजाने कुनै बलियो आधार सकारले अहिलेसम्म दिन सकेको छैन ।

सहकारी छानबिन समितिले आरोपितहरूको बयान लिन थाल्ने

समस्याग्रस्त सहकारीको छानबिन सुरु, के गर्लान् गृहमन्त्री लामिछाने र ?

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ५८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन