अमेरिकी राजदूतलाई हप्काउँदै किसुनजीले भने-‘सानो देश भनेर हामीलाई हेप्ने ?’ | Khabarhub Khabarhub

अमेरिकी राजदूतलाई हप्काउँदै किसुनजीले भने-‘सानो देश भनेर हामीलाई हेप्ने ?’

नेपालले फेरेको त्यो प्रोटोकल



राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आइजनहावरको निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए। राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो- ‘राजालाई स्वागत गर्न अमेरिकी राष्ट्रपति आइजनहावर विमानस्थल नजाने।’ त्यसबेला बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए।

‘जाँड खाने बाहुन’को बद्नामीले चुनाव हारेका कृष्णप्रसाद भट्टराई पहिलो संसदको सभामुख थिए। बीपीको अनुमतिमा सभामुख भट्टराईले अमेरिकी दूतावासका कार्यवाहक राजदूत फिक्सलाई बोलाएर हप्काउँदै भने- ‘हाम्रो राजालाई स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ? यदि त्यस्तो हो भने हामी राजाको भ्रमण रद्द गर्छौं।’

राजदूतले स्पष्टीकरण दिँदै भनेका थिए- ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ। कूटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले लगाइदिएको उपचारजन्य सामग्रीसहित त्यहाँ जान मिलेन। त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ। फेरि उमेरका दृष्टिले पनि उहाँ वृद्ध हुनुहुन्छ। डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन्। त्यसैले नजाने भनेको हो।’

अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कूटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर बिरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए। घट्नाको यही संवेदनशीलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाइट हाउस ल्याएर ‘गार्ड अफ अनर’ दिने प्रचलन सुरु ग-यो। नेपाली पाहुनाका कारण साढे छ दशकअघि फेरिएको त्यो चलन जो बाइडेनको पालासम्म आइपुग्दा पनि कायमै छ।

अपठित जंगबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई, पिपलसमेत लिएर बेलायत गए। रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सुसूचित गर्न गिद्दे प्रेस मात्र ल्याएनन, त्यहाँका सैनिकको मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनामा व्यापक सुधार गरे।

मातृकाप्रसाद कोइराला १४ भाषाका ज्ञाता थिए। भारतीय राष्ट्रपति डा. राजेन्द्रप्रसादको निजी सहायक भएर काम गरेका मातृकाले बोलेका हरेक शब्द विश्वको कूटनीतिक क्षेत्रका लागि जिज्ञासाको विषय बन्थ्यो। पूर्वाग्रही चश्माको कारण उनको त्यो विराट व्यक्तित्वको उल्लेख इतिहासमा कतै पाइँदैन। टंकप्रसाद आचार्यले विशेष दूत भएर चीन र जापानको सम्बन्ध सुधार्ने ऐतिहासिक काम गरे। त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनीय सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले विमानस्थलमै अनअराइभल भिषा उपलब्ध गराउँथे।

राजा महेन्द्रलाई विमानस्थलमा स्वागत गर्न पुगेका अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आइजनहावर । तस्बिरः एपी

राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कूटनीतिक मर्यादा रसातलमा पुगेको छ। दल र नेताको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन। भारतमा ‘नरेन्द्र मोदी’ नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेको बिगबिगी बढ्छ। अरु देशका भीआईपीसँगको भेट पारिवारिक लेनदेनको एजेण्डामा खुम्चिन्छ।

चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनियाँ भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाँले उत्तर दिए- ‘चोमोलोङमा।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको स्वामित्व नेपालको हुनुपर्ने दलील पेश गरे।

चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनियाँ भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाँले उत्तर दिए- ‘चोमोलोङमा।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको स्वामित्व नेपालको हुनुपर्ने दलील पेश गरे। एसियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता हिच्किचाइरहँदा तिनै बीपीले हरियो बत्ती बालेर निर्णय क्षमताको परिचय दिए।

बीपीको निर्णयबाट तर्सिएका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु यही कारण रुष्ट बने। सन् १९५० को सन्धिलाई नेहरु विश्वविद्यालयका प्रोफेसर मुचुकन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए। मोहनशम्शेर जननिर्वाचित प्रधानमन्त्री थिएनन्। तर उनैले सन्धिमा सही धस्काएका थिए। सबैलाई थाहा भएकै सत्य हो– संसदले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ। अहिले यही सन्धि दलहरुका लागि दृष्टिविहीनले छामेको हात्तीजस्तो बनेको छ। पश्चिमा राष्ट्रहरुले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन्।

सुरु सुरुमा अमेरिकाले तेस्रो विश्वलाई आफ्नो प्रभावमा पार्न आर्थिक रणनीतिको हतियार उपयोग गरेको थियो। अमेरिकी सरकारको चार सूत्रीय कार्यक्रम अनुसार अल्पविकसित देशलाई प्रविधि सहायता दिइन्थ्यो। साम्यवादको चपेटाबाट सिर्जित गरिबी, भोकमरी, निराशा र अव्यवस्थाबाट बचाउन भन्दै उसले मार्सल योजना अन्तर्गत युरोपमा उल्लेखनीय धनराशी खर्च ग-यो। अहिले त्यो रणानीति रुसमा केन्द्रित छ।

यी सबै घटनाक्रमको निष्कर्ष हो- आत्मकेन्द्रित राजनीतिले मुलुक भड्खालोमा जाकिन्छ। जब नेता राजनेता बन्ने अवसर छोडेर एजेन्टमा रमाउँछ, त्यो बेला राम राम त भनिएला तर काँध हाल्ने र छाँद हाल्ने मरिगए भेटिदैन। राजनीतिमा विश्वास भएन भने त्यसले आत्मघातको रुप धारण गर्छ।

असल लोकतन्त्र भनेको राज्य प्रणालीका पाटपुर्जालाई शरीरभित्रका अंगजस्तै स्वचालित रहन दिनु हो। राज्यका सबै तहको मूल जिम्मेवारी भनेको ती अंग स्वस्थ राख्न स्वयंसेवी भूमिका निर्वाह गर्नुमा रहन्छ। यसो भएमा शासन प्रणालीमा जनताको गुनासो कम हुन्छ। जहाँ गुनासो कम हुन्छ, जनता शक्तिशाली हुन्छन्। हामीले जसलाई लोकतन्त्र भन्यौं, त्यो त ट्रायल पास नगरी ल्याएको लाइसेन्सजस्तै बन्यो। चुनावलाई लोकतन्त्रको पहिलो सर्त बनाउँदा देशमा आर्थिक असन्तुलन मात्र आएको छैन, सामाजिक अपराध वृद्धि भएका छन्। सयौं संख्याका गैरराजनीतिक संघसंस्थामा चुनावका नाममा हुने खेलमेलले संगठित अपराधलाई मलजल गरेको छ। अरु त अरु जनतालाई भरोसा दिलाउने न्यायाधीशदेखि सीडीओसम्मका बटुके संघसंस्था छन् ।

महाभारतमा त्यसै भनिएको होइन- ‘सय कुवाभन्दा एउटा तलाउ असल, सय तलाउभन्दा एउटा यज्ञ असल, सय यज्ञभन्दा एउटा पुत्र असल र सय पुत्रभन्दा एउटा सत्य असल हुन्छ।’

महाभारतमा त्यसै भनिएको होइन- ‘सय कुवाभन्दा एउटा तलाउ असल, सय तलाउभन्दा एउटा यज्ञ असल, सय यज्ञभन्दा एउटा पुत्र असल र सय पुत्रभन्दा एउटा सत्य असल हुन्छ।’ नेपालको राजनीतिमा धेरै खहरे खोलाहरु बगे। गाउँको वडा सदस्यमा समेत नालायक ठानिएका पात्रहरु सिंहदरबारको चुलो चौकोमा पुगे। मन्त्रीको गाडी र सडक बनाउने डम्फर भिन्नता नरहेको दृश्य पनि देखिए। तर सिंहदरबार बनाउने एकलव्य अभियानमा लाग्दा काठमाडौं उपत्यका क्षेत्रबाट सुत्केरीको समेत भाग खोसेर कालो दाल सिंहदरबार ल्याउन उर्दी गर्ने चन्द्रशम्शेरको इतिहास कहिल्यै मेटिएन। सुत्केरीलाई कालो दाल छोडेको भए सिंहदरबार बन्दैनथ्यो।

चन्द्रशम्शेरलाई घाँटीघाँटीसम्म थाहा थियो- ‘अम्लेट खानेले अण्डाको माया गर्नु हुन्न।’ सिंहदरबार नबनेको भए सम्भवतः अहिलेका शासकहरुले भुटानी शरणार्थीहरुको जस्तो क्याम्प बनाएर शासन चलाउँथे होला। चन्द्रशम्शेरले जतिसुकै मेहनत गरेर सिंहदरबार बनाए पनि त्यसप्रति न्याय गर्ने क्षमता कमैमा देखियो। सिंहदरबारलाई न नेताले चिने, न नेतालाई सिंहदरवारले चिन्यो। बीपीलाई राजनीतिक गुरु मान्ने उनकै भाइ गिरिजाप्रसाद र शेरबहादुर देउवा पाँच पाँच पटक प्रधानमन्त्री भए तर मन्त्रिपरिषद्को पहिलो बैठकमा आफ्नो पारिश्रमिक एक हजार घटाउने बीपीको त्यो निर्णयको पदचाप पछ्याउने साहस गरेनन।

कतिसम्म भने दुई देशबीचको तरुल भनिएको नेपाली भूगोललाई उनले सामान्य नागरिकले बुझिने भाषामा ‘नेपाल दुईवटा विशाल हात्तीबीच सुतेको मान्छे हो।’ ठूला देश भारत र चीनले चेपिनु परेको नेपाली मनोविज्ञानप्रति उनको यो मौलिक विश्लेषण थियो। बीपीले मानिस ब्रेडले हैन, ब्रेनले बाँच्छ भन्ने शाश्वत सत्य मात्र सिकाएनन्, राष्ट्रियता भूगोल नभएर जनताको मन हो भनेर नेपाली समाजलाई विश्वास दिलाए। राणाको चाकरीभित्रबाट जन्मिएको सरकारी सेवामा थुप्रै आए, गए। तर न्यायक्षेत्रको प्रतिष्ठा जोगाउन नेतालाई जेल हाल्ने साहस गर्ने प्रधानन्यायाधीश हरिप्रसाद प्रधान, राजा महेन्द्रका ससुरा हरिशम्शेर राणालाई मुद्दा हराउने सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर विष्ट इतिहासमा सधैं अमर छन्।

राणाको चाकरीभित्रबाट जन्मिएको सरकारी सेवामा थुप्रै आए, गए। तर न्यायक्षेत्रको प्रतिष्ठा जोगाउन नेतालाई जेल हाल्ने साहस गर्ने प्रधानन्यायाधीश हरिप्रसाद प्रधान, राजा महेन्द्रका ससुरा हरिशम्शेर राणालाई मुद्दा हराउने सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर विष्ट इतिहासमा सधैं अमर छन्।

‘चन्द्रघण्टी’ बजाएर सिंहदरबारका कर्मचारी तह लगाउने मुख्यसचिव चन्द्रबहादुर थापादेखि कुलशेखर शर्मा, कृष्णबहादुर मानन्धरसम्म यति निष्ठावान थिए कि जसको इमानका अगाडि अरु पात्र पुड्का देखिए। पुलिसमा धेरै आईजीपी जन्मिए। तर खड्गजीत बरालजस्तो भातको सिता र पुलिस कार्यालयको भित्ताले चिनेको व्यक्तित्व दोहोरिएन्। पछिल्लो समय सिंहदरबार भिजनभन्दा सिजनको अखडा बन्यो। भीडका नाइकेहरु धमाधम नेता भए।
नाइकेका हुक्के, ढोके, चम्चे, नन्दी, भृंगीको सत्तामा दाउ लाग्यो। गाउँ र जनताको नाममा रत्यौली मच्चाउने कामले तीब्रता पायो। व्यापारमा घाटाको खाडल बढे पनि राजनीतिक व्यापार शतप्रतिशत फस्टाएपछि नेताहरु तैं चुप मै चुप भएका छन्।

जनताले सुलभ उपचार नपाएर के भो ? नेतालाई एयर एम्बुलेन्स आएकै छ। कछाड लाउनेको छोरो डाक्टर बनाउने लोकतन्त्र आएकै होइन, नेताका छोराछोरीले छात्रवृत्ति पाएकै छन्। आफ्नो जन्म कहिले हो भन्ने भेउ नपाएका मान्यवर अहिले जन्म दिनमा आइफोन उपहार पाउने भएका छन्। पात बजाएर घरजम जोडिएकाहरु एनिभर्सरीका पात्रमा अनुवाद भएका छन्। राष्ट्रियता परिवारवादमा सीमित भएको छ। हुनपनि त हो, रामायण पढेका हामीले राम र लक्ष्मणको भातृप्रेमलाई सधैं शिरमा राख्यौं। तर विज्ञापनको बशिभूत भएर अर्का पन्छी दाजुभाइ जटायु र सम्पातिको निस्वार्थ अगाध प्रेम र इमान्दारीको कदर गर्न सकेनौं। नल र निलले गंगानदीमा ढुंगाको पुल बनाएर रामलाई विजयी बनाए। दुर्भाग्य यी आध्यात्मिक इन्जिनियरलाई कसैले सम्झिएन्।

पत्याउनुहुन्छ ? निक्कै विलासी भनिएको देश बेलायतका विद्यार्थी सानो भन्दा सानो विषयमा पनि बेखबर ठहरिए। भर्खरै गरिएको एक अनुसन्धान अनुसार बेलायतका १० जनामा एकजनालाई गोलभेंडा बोटमा फल्छ भन्ने पत्तै छैन। उनीहरुको बुझाइमा यो माटोमुनि फल्छ। एक तिहाई प्राथमिक विद्यालयका विद्यार्थी भन्छन्- चीज रुखमा फल्छ। १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिंगर कुखुराको मासुबाट बनेको ठान्छन्। के यसो भन्दैमा बेलायतको लोकतन्त्र कमजोर भएको हो त ? हैन नि। मानिसभित्र कमजोरी हुन्छ नै। तर नसुधार्नु चाहिँ गलत हो। भनिन्छ- ‘उपयोग विनाको धन काम छैन। नम्रता विनाको विद्या काम छैन। सहयोग विनाको हात काम छैन। स्वार्थले भरिएको प्रेम काम छैन। होस विनाको जोस काम छैन। पापसँगैको धर्म काम छैन। परोपकारविनाको जीवन काम छैन। योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन।’

‘उपयोग विनाको धन काम छैन। नम्रता विनाको विद्या काम छैन। सहयोग विनाको हात काम छैन। स्वार्थले भरिएको प्रेम काम छैन। होस विनाको जोस काम छैन। पापसँगैको धर्म काम छैन। परोपकारविनाको जीवन काम छैन। योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन।’

राष्ट्रियता भनेको के हो ? जुन प्रकरणले एकमुष्ट उत्तर दिन्छ। वेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे। त्यहाँ उनको भव्य स्वागत सत्कार भयो। स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो। स्वामीले त्यही विद्यालयमा पढिहेको एक शिशुलाई बोलाएर सोधे- ‘तिमी कुन धर्म मान्छौ ?’ ‘बौद्ध धर्म मान्छु।’ शिशुले सहज शैलीमा उत्तर दियो। स्वामी फेरि प्रश्न थपे, ‘बुद्धका बारेमा तिमीलाई के थाहा छ?’ बुद्ध भनेका महान भगवान हुन्। यति भन्दै त्यो सानो बालकले चुपचाप ध्यान गरी बुद्धप्रति नतमस्तक हुँदै अभिवादन ग-यो। ‘मानिलेउ जापानलाई जित्ने उद्देश्यले कुनै तेस्रो देशबाट सैनिकको एक डफ्फा यहाँ आयो। र, त्यो डफ्फाको नेतृत्व बुद्ध र कन्फ्यूसियसले गरेका रहेछन् भने त्यतिबेला तिमी के गर्छौ?’ स्वामीले प्रश्न सक्दानसक्दै बालकले जोशपूर्ण उत्तर दियो- ‘त्यतिबेला म तरबारले बुद्धको टाउको काटिदिन्छु र उक्त काटिएको टाउको कन्फ्युसियसको खुट्टामा राखिदिन्छु।’ बालकको यस्तो जवाफ सुनेर रामतीर्थ खुसीले गद्गद् भए। विद्याथीलाई अँगालो मारे। उनको मुखबाट निस्कियो- ‘जुन देशका विद्यार्थीमा यसप्रकारको देशभक्ति हुन्छ, त्यो देश कुनै देशको गुलाम हुँदैन। त्यो देशको उन्नतिलाई कसैले रोक्न सक्दैन।’ बुद्धको जन्मस्थलका नागरिकले यही अवस्था झेल्नुप-यो भने के होला ?

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : १५ बजे

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

काठमाडौं– मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ ।

कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर

धरान– केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो ।

मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले

आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

ताप्लेजुङ– आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार

बीपी राजमार्ग दशैंअघि नखुल्ने, चौकीडाँडा-कालढुंगा खण्ड तत्काल बनाउन मुस्किल

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि