रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति  | Khabarhub Khabarhub

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति 

मल्ल होटलमा घोचपेच, खुमलटारमा चोचोमोचो !


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको स्पष्ट पारेका छन् । 

प्रचण्डसँगको भेटपछि मिश्रले फेसबुकमार्फत प्रचण्डसँग मनका कुरा भन्दै सात बुँदा उल्लेख गरेका थिए । जसमा प्रचण्डले ‘म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसक्यो।’ भनेको भनेर उल्लेख गरिएको छ ।

‘हिजो बिहानको  खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’, मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्, ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

यस्तो थियो मिश्रको स्टाटस–

प्रचण्डसँग मनका कुरा!

हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।

“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।” लामो व्याख्या सहित सारमा मैले यही भनेँ।

त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:

१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।

२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्।

३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।

६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ/वित्नेछ भन्नेमा संभवत: उनीहरू अनभिज्ञ थिए।

म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।

मिश्रको अर्को टिप्पणी

प्रचण्डको सचिवालको खण्डन आइसकेपछि राप्रपा नेता मिश्रले बुधबार सामाजिक सञ्जालमा अर्कव् प्रतिक्रिया दिएका छन्–

हिजो प्रचण्डजी र म बीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ।

त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।

मेरो थप सानो मात्र टिप्पणी छ:

ठूला नेताहरूसँग भेट्दा “यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्” भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।

त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।

मल्ल होटलमा घोचपेच, खुमलटारमा चोचोमोचो !

त्यसो त सोमबार एक सार्वजनिक कार्यक्रममा पनि प्रचण्ड र मिश्रवीच घोचपेच भएको थियो ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च ९आईएसएसआर०को संयुक्त आयोजनामा मल्ल होटलमा आयोजना गरिएको कार्यक्रममा मिश्रले अहिलेको संविधानलाई ‘प्रचण्ड संविधान’ भनेपछि प्रचण्डले मिश्रको आलोचना गरेका थिए ।

मिश्रले भनेका थिए, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत् गरिएको छ । अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

मल्ल होटलमा घोचपेच भएको भोलिपल्टै माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्रवीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो ।

दुई दलका शीर्षनेताहरुको भेटवार्ताको उद्देश्यबारे भने दुबै दलले स्पष्ट पारेका छैनन् । तर, भेटमा भएका कुराकानीको विषयवस्तुलाई लिएर  दुबै पक्षबाट विवाद छताछुल्ल पारिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : १७ बजे

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका

अग्नि सापकोटाविरुद्ध मुद्दाको फैसला सुनाउने तयारी

काठमाडौं– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च

लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने 

काठमाडौं– सुपरमादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य नाफाबाट

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २