परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता  

By खबरहब

September 25, 2024

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेकी छिन् ।

यसैक्रममा उनले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिन् । 

उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गरेको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको मित्रता, पारम्पारिक सम्मान र समझदारीमा आधारित सम्बन्धका साथ अघि बढेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको बताइन् । भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको जनाइएको छ ।

त्यसैगरी उनीहरुबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

भेटका क्रममा पछिल्लो समय ईपीएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि मन्त्री राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री राणा र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालो

यस्तै, मन्त्री राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छिन् । भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो ।