देश/प्रदेश

भारतको तीन करोड सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पस भवन उद्घाटन

By खबरहब

October 25, 2024

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोडभन्दा बढी लागतमा सम्पन्न परियोजनाको बिहीबार भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त उद्घाटन गरे ।

भारत सरकारको अनुदान सहयोग आँबुखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, तनहुँमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ ।

आँबुखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो ।

क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) र ब्याचलर अफ एजुकेशन (बीएड) विषय अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ३०० विद्यार्थी अध्ययनरत छन् जसमध्ये ९० प्रतिशत छात्रा छन् ।

भारतीय दूतावासले भवन निर्माणबाट आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुने विश्वास जनाएको छ।