अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंकको वृद्धि, सुनको मूल्य एकैदिन १६ हजारले घट्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंकको वृद्धि, सुनको मूल्य एकैदिन १६ हजारले घट्यो


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य झन्डै १६ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.८३ अंकले बढेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभीरमा यस वर्ष पनि भीर मौरीको मह काढ्ने (हनी हन्टिङ) लाई महोत्सवका रूपमा गरिने भएको छ ।

त्यस्तैगरी, कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङ्गसँगको समन्वयमा बेलबारीका उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । र, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

आजका प्रमुख आर्थिक समाचारहरुः

१५ अंकले बढ्यो नेप्से, कारोबार कति ?

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.८३ अंकले बढेको छ । आज नेप्से ०.५९ प्रतिशतले बढेर २६८३.२४ विन्दुमा पुगेको हो । ६ अर्ब ३४ करोड ५८ प लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।

१६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । २ वटा समूह घटेको छ भने बाँकि ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशतले घटेर ६ हजार ७७१.३४ विन्दुमा पुगेको छ भने म्युचुअल फण्ड ०.३२ प्रतिशतले घटेर २१.८१ विन्दुमा पुगेको छ ।

यस्तै सबैभन्दा बढी फाइनान्स समूह २.२७ प्रतिशतले बढेर ३ हजार ६३६.९१ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक १.२१ प्रतिशतले, होटल तथा पर्यटन १.२१ प्रतिशतले, हाइड्रोपावर ०.४४ प्रतिशतले, लगानी १.०५ प्रतिशतले, जीवन बीमा ०.२३ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले, निर्जीवन बीमा १.२७ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह ०.०९ प्रतिशतले बढेको छ ।

सुनको मूल्यमा गिरावट, तोलामा करिब १६ हजार घट्यो

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १५ हजार नौ सय रुपैयाँले घटेर १ लाख ५१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा ११५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो । सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएकोमा १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।

कास्कीको अन्नपूर्णमा ‘हनी हन्टिङ’ महोत्सव

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभीरमा यस वर्ष पनि भीर मौरीको मह काढ्ने (हनी हन्टिङ) लाई महोत्सवका रूपमा गरिने भएको छ ।

अन्नपूर्ण गाउँपालिका प्रवर्द्धक रहेको हनी हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको लान्द्रुकको महभीरमा एक सय वर्षअघिदेखि परम्परागत रूपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।

लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भीरमा मौरीका घार रहेका छन् । भीरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यवर्द्धक समेत मानिन्छ । कोटेसाङ भीरमा ६० मौरी घार छन् । भिर मौरीको मह प्रतिलिटर तीन हजारमा बिक्री हुने गरेकाले स्थानीयको आम्दानी पनि राम्रो हुने अध्यक्ष गुरुङले बताए । मह काढेको अवलोकनका लागि आएका विदेशी पर्यटक भीर मह काढेको देखेर खुसी हुने र पर्यटकको बसाइँसमेत लम्बिएको स्थानीको भनाइ छ ।

लान्द्रुक मर्दी हिमाल आधार शिविर र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार हो । यहाँबाट पुन हिलसमेत जान सकिन्छ । पर्यटकीय स्थलमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा मद्दत पुग्ने विश्वास गरिएको सोही वडाका वडाध्यक्ष भरतमान गुरुङले बताए ।

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङ्गसँगको समन्वयमा बेलबारीका उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पु¥याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

पाँचखालमा ‘सेज’ निर्माण सुस्त

पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको छ ।

सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा प्राप्त गरी निर्माणको काम थालिएको थियो ।

निर्यातजन्य उद्योगको स्थापना गरी व्यापार घाटा कम गर्ने र औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले सेज निर्माण गर्ने निर्णय भएको थियो तर सेजको नाममा जग्गा प्राप्ति भएको छ वर्ष बितिसक्दा पनि हालसम्म निर्माण गर्नुपर्ने पूर्वाधारलगायत काम भएका छैनन् ।

उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

‘नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालि’ सिनामङ्गल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित उखुखेती प्रवर्द्धनका लागि किसानको सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उखु उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिनाभित्र कृषक, उखु मिल र सरकारबीच त्रिपक्षीय छलफलसहित निष्कर्ष निकाली सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादनमा वृद्धिका लागि कृषकले सिँचाइमा प्रयोग गर्ने विद्युत् र मलखादमा आवश्यक अनुदान दिने जानकारी दिए। उनले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चापदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने उल्लेख गरे।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : ०२ बजे

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण

खानामा कपाल भेटिए के गर्ने ?

काठमाडौं– खानामा कपाल पर्नु, झर्नु वा भेटिनु साधारण कुरा हो

मासु खानेको स्वार्थ र बलिप्रथा

बलिको अर्थ आफैंभित्र रहेको पशु जस्तो स्वभावलाई मार्ने हो, निर्दोष

प्रविधिको प्रयोगले सुन्तला ग्रेडिङमा सहज

स्याङ्जा– सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ ।

एनपीएल : आज कर्णाली र काठमाडौं, विराटनगर र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई खेल