शंकर पोखरेलको जिकिर : प्रचण्ड नेतृत्वको सरकारका कारण देश आर्थिक संकटमा पर्‍यो | Khabarhub Khabarhub

शंकर पोखरेलको जिकिर : प्रचण्ड नेतृत्वको सरकारका कारण देश आर्थिक संकटमा पर्‍यो


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताएका छन् ।

सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

परिषद्का अध्यक्ष बलिभद्र रानाको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरेलले त्यसको उदाहरण अहिले केपी ओली माथिको प्रहार भएको स्पष्ट पारे ।

‘जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यस माथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कस्तो प्रहार हुन्छ भन्ने भन्ने कुरा अहिले केपी ओलीलाई भएकोले बुझ्न सकिन्छ,’ पोखरेलले भने ।

सर्वोच्च अदालतको फैसलाले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरू भएको पोखरेलले बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको उनले बताए ।

‘जसले गल्ती गर्‍यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन त्यो आलोचनाको निशानामा छ’, उनले भने ।

यसअघिको सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन् भुक्तानी गर्नुपर्ने छ भनेर दायित्वमा पनि नराखेको पोखरेलले बताए ।

त्यसको आलोचना गर्नुभन्दा अहिलेको सरकारले त्यो गल्तीलाई सुधार गर्ने र भुक्तानी काग गरिरहेको अहिलेको सरकारको आलोचना हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

कतिपय निर्माण व्यवसायीहरूले काम गर्नको लागि लिएको मोभिलाइजेशन फण्ड नाफा कमाउन जग्गामा लगानी गरेको जग्गाको कारोबार संकटमा पर्दा निर्माण व्यवसायी पनि संकटमा परेको पोखरेलले बताए ।

यसले गर्दा निर्माणकार्य नै रोकिएको उनको भनाइ छ । नेपालका निर्माण व्यवसायीले काम गर्न भन्दा पनि ठेक्का पार्न बिलोमा टेण्डर हाल्ने गरेको उनले बताए ।

यसले गर्दा गुणस्तरीय काम पनि नहुने र निर्माण व्यवसायी पनि डुब्ने गरेका पोखरेलले बताए । त्यसैले निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्न उनले सुझाव दिए ।

अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्ण युग बनाउन सक्ने युग भएको पोखरेलले बताए । नेपालमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको पोखरेललेको भनाइ छ । नेपाली गरिब होइन नेपाल राज्य गरिब भएको उनले बताए ।

नेपालमा जति बाह्य पर्यटक आएर खर्च गर्छन्, त्यो भन्दा बढी नेपालबाट विदेश गएर गर्नेहरूको खर्च भएको उनले बताए ।

त्यसैले नेपाली गरिब नभएका उनको धारणा छ । नेपालमा निर्माण क्षेत्र लगायत विभिन्न क्षेत्रमा दक्ष कामदारको अभाव रहेको बताउँदै उनले दक्ष जनशक्ति निर्माणमा जोड दिनुपर्ने बताए ।

नेपालसँग पर्याप्त सामर्थ्य भए पनि त्यो सामर्थ्यको प्रयोग गर्ने राज्यलाई कमजोर बनाइएको पोखरेलको भनाइ छ । देश बनाउन नेता मात्र होइन जनता पनि लाग्नु पर्नेमा उनले जोड दिए ।

‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नु पर्‍यो, पार्टीलाई गाली गरे मात्रै देश बन्दैन, नेतालाई गाली गरेर मात्रै देश बन्दैन,’ उनले भने ।

कार्यक्रममा बोल्दै पोखरेलले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको बताए । त्यसलाई सुधार्न दुई ठूला दल सरकारमा गएको उनको तर्क छ । त्यसका लागि सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनले स्पष्ट पारे ।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नु पर्नेमा उनले जोड दिए । जुन ट्रयाकबाट देश चलेको छ, त्यसबाट अघि बढ्न सक्ने स्थिति नभएको पोखरेलले स्पष्ट पारे । तर कर्मचारीतन्त्र ट्र्याक बदलेर हिँड्न अझै तयार नभएको उनले धारणा राखे ।

एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसंगठनमा परेको समस्या समाधानमा एमाले लाग्ने बताए । लामो समयपछि बलियो सरकार बनेको र यो सरकारको बदनाम गराउन केही तत्त्व लागेकाले यसमा सचेत हुनु पर्नेमा उनले जोड दिए ।

राज्यको तर्फबाट भएका कमीकमजोरी भएमा हटाउने र निर्णय व्यवसायीहरूले पनि कमजोरी हटाउनु पर्ने उनले बताए । केही निर्माण व्यवसायीका कारण नेपालको निर्माण क्षेत्र बदनाम भएकोतर्फ सचेत हुन उनले आग्रह गरे ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : ५५ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत