घटना एक – केही दिन अगाडि गायिका समीक्षा अधिकारीको एक भिडियो भाइरल भयो । जसमा उनी र एक युवक एक अर्कालाई चुम्बन गरिरहेका थिए । सामान्य आँखाले हेर्दा पनि उक्त भिडियोमा दुई जनाको फोटो प्रयोग गरिएको देख्न सकिन्छ । तर प्रविधि वा एआईबाट उक्त भिडियो बनाइएको हो भनेर बुझ्न नसक्नेहरूले गायिकालाई सामाजिक सञ्जालमा गाली गरिरहेका थिए ।
अधिकारीले आफ्नो चरित्र हत्या भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । एआईको दुरुपयोग गरी भिडिओ बनाएर चरित्रहत्या गरिएपछि उनले शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् । २१ हजार फलोअर्स रहेको ‘दिपु कान्छो’ प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको समीक्षाले जनाएकी छन् ।
उजुरी दिएको विवरण सामाजिक सञ्जालमा राख्दै उनले भनेकी छन्– ‘सस्तो लोकप्रियता कमाउने उद्देश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्नु ।’
उजुरीपछि कसुरदारले सामाजिक सञ्जालमार्फत अधिकारीसँग माफी मागेका छन् । उनले एआई भर्खर चलाउन सिक्दै गर्दा उक्त भिडियो रमाइलोको लागि बनाएको अभिव्यक्ति दिएका छन् ।
घटना दुई– सामाजिक सञ्जाल टिकटकमा सबैभन्दा धेरै एआईमार्फत हुने दुरुपयोगको मारमा तनहुँकी अनु परियार परेकी छिन् । फेसबुक रिलमा उनी निकै लोकप्रिय छिन् । उनी गाउँले सामान्य युवती हुन् । नृत्यमा निकै पोख्त छिन् ।
आफ्नो नृत्य प्रस्तुत गरेरै उनी टिकटक र रिलमा निकै रुचाइएकी छन् । नेपाली लोक गीतदेखि चलचित्रका गीत र हिन्दी तथा अंग्रेजी गीतमा पनि उनले टिकटक बनाउने हुँदा उनको नेपाली मात्र नभएर देशविदेशी फ्लोअर छन् ।
तर पछि उनका निकै भद्दा टिकटकहरू आउन थाले । उनका फ्यानहरू भड्किन थाले । केही लाख फ्लोअर भएकै भरमा उनले नेपालीपन बिर्सिएको आरोप लाग्न थाल्यो । गाली र आलोचनाको वर्षा भएपछि अनु सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिन बाध्य भइन् । उनले त्यस्ता भद्दा टिकटक आफूले नबनाएको स्पष्ट पारिन् ।
अनुले भनेकी छन् – ‘छोटा र ग्ल्यामर भिडियो मैले बनाएको होइन । मेरो भिडियोको दुरुपयोग भएको छ । एआईमार्फत मेरो अनुहार अरुको शरीरसँग जोडिएको छ । अनुहार मेरो भए पनि शरीर मेरो होइन । त्यस्ता महँगा लुगाहरू मैले इफोर्ट गर्नै सक्दिनँ ।’ अनुले आफ्नो नाम र अनुहार दुरुपयोग गरी भिडिओ सामग्री बनेको भन्दै यसबाट नझुक्किन आग्रहसमेत गरेकी छन् ।
घटना तीन – बलिउडका रणवीर कपुर र आलिया भट्टको पनि यस्तै अन्तरङ्ग भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरू पति–पत्नी हुन् । उनीहरूका डेढ वर्षकी छोरी पनि छन् । परिवारमा लगभग धेरै सदस्य फिल्म उद्योगमा छन् । फिल्ममै पनि उनीहरूले त्यस्तो सिन गरिरहेका हुन्छन् ।
तर फिल्ममा गर्यो भन्दैमा कसैले उनीहरूको फोटो दुरुपयोग गर्न पाइँदैन । बलिउडलाई संसारकै सबैभन्दा दोस्रो ठूलो उद्योगको रूपमा लिइन्छ । त्यस कारण पनि उनीहरूले यसको बारेमा कुने प्रतिक्रिया दिएका छैनन् । कानुनतः यस्ता क्रियाकलाप वर्जित छन् ।
घटना चार – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निकै चर्चित नेता हुन् । आफ्नै पार्टी भित्र मात्र नभएर अन्य पार्टीका युवाहरुबीच पनि उनी लोकप्रिय छन् । जति चर्चित उति नै आलोचित हुनु पनि स्वाभाविक हो ।
गगनको चर्चित काण्डमध्ये उनलाई कहिले पनि नछोड्ने काण्ड भनेको बाख्रा काण्ड पनि हो । उनले केही समय अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘इट्स माइ सो’ कार्यक्रममा यो कुरालाई स्वीकार गर्दै बाख्रा देख्यो भने पनि आफूमाथि लागेको आरोप याद आउने बताएका थिए ।
आरोप लागे पनि बाख्रा पालनका लागि लिएको अनुदान खाएको कानुनतः भने भेटिँदैन । तर पनि उनले यो आरोपबाट मुक्ति पाएका छैनन् । उनको विरोध गर्नुपर्यो भने बाख्राको टाउको प्रयोग गरिन्छ । एआईमार्फत बाख्राको शरीरमा उनको टाउको जोडेर व्यापक आलोचना गरेको पाइन्छ ।
उनी बोल्न पाउनु पर्छ भन्दै राजतन्त्रको अन्त्यको लागि लडेका व्यक्ति हुन् । र आलोचना गर्न पाउनु पर्छ भन्ने विचारमा अडिग थापाले यस कुरालाई सामान्य रूपमा लिँदै अगाडि बढिरहेका छन् ।
यी केही प्रतिनिधि पात्र हुन् । जो एआई प्रविधिको मारमा परिरहेका छन् । नागरिकका लागि शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, बिजुली तथा सूचना–प्रविधि आधारभूत सेवाको रूपमा स्थापित छ ।
त्यस्तै नेपालको हकमा २०८१ को बजेटमा मुख्य पाँच आधारमा सूचना–प्रविधि क्षेत्र पनि प्राथमिकतामा परेको छ । यसै वर्षलाई प्रस्थान बिन्दु मान्दै बजेटमा सूचना–प्रविधि दशकको घोषणासमेत गरिएको छ । योसँगै सूचना–प्रविधि क्षेत्र आगामी १० वर्षसम्म प्राथमिकतामा पर्नेछ । जसले ३० खर्बको सूचना–प्रविधि सेवा निर्यातसहित १५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
एआई विज्ञान तथा प्रविधि क्षेत्रको सबैभन्दा पछिल्लो आविष्कार हो जसले आजको दुनियाँमा सबैभन्दा धेरै चर्चा पाइरहेको छ । मानवीय जीवनमा आउने कुनै क्रान्तिकारी परिवर्तनको सुरुवाती संकेतको रूपमा यो प्रविधि देखा परेको छ ।
कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोगबाट सांसारिक जीवनचक्रमा देखिँदै गरेका अवसर र चुनौतीका बारेमा विश्वभर चर्चा चलिरहेकै छन् । एसिया, युरोप होस् वा अमेरिकाको प्रविधि उद्योगमा अहिले एआई सबैको चासो, आशा र चिन्ताको विषय बनिरहेको छ ।
एआईमार्फत चरित्र हत्या गरेर कोही उम्किन पाउँदैन : साइबर व्यूरो
साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थी चरित्र हत्या गरेर कोही उम्किन नपाउने बताउँछन् । रिसको झोंकमा, बदलाको भाव र रमाइलो लागि प्रविधिको दुरुपयोग गर्नु दण्डनीय अपराध भएको भन्दै अवस्थी भन्छन्, ‘चरित्र हत्यासम्बन्धी कानुनमा स्पष्ट व्यवस्था गरिएको छ । कुनै पनि माध्यमद्वारा कसैको चरित्र हत्या गरेमा कानुनी कठघरामा उभिनु पर्छ ।’
विशेषगरी सेलिब्रेटी यसको मारमा परेको पनि उनी सुनाउँछन् । एआईमार्फत नेपालमा ठूलै अपराध नभए पनि निकै सतर्कता अपनाउनुपर्ने अवस्थी बताउँछन् । उनी थप्छन्, ‘यसका लागि ब्यूरोको प्रयास भनेको निकै सामान्य हो, यस्ता अपराधबाट जोगिन सरकारले नै संयन्त्र खडा गर्न आवश्यक छ । ’
छिमेकी राष्ट्र भारत र अन्य विकसित देशहरूमा जस्तै ऐन नै बनाउनुपर्छ’ उनले भने । यो व्यक्ति वा सेवाग्राहीको सचेतनाले मात्रै समाधान नहुने भन्दै प्रवक्ताले सम्बन्धित निकायको पनि ध्यानाकर्षण गराएका छन् । साथै, उनले प्रविधि प्रयोगकर्तालाई सञ्चालनसम्बन्धी भएका वा उपलब्ध नियम कानुन राम्रोसँग अध्ययन गर्न सुझाव दिएका छन् ।
आईटीसम्बन्धी कानुनको अभाव: आईटी विज्ञ
आईटीसम्बन्धी कानुन निर्माण हुन नसक्दा मानिसहरूले प्रविधिलाई चुनौतीको रूपमा बुझ्न थालेको आईटी विज्ञ उत्तम कार्कीले बताएका छन् । अबको युग प्रविधि विना कल्पना पनि गर्न सकिँदैन तर यसको सदुपयोग भएन भने यसले अराजकता निम्त्याउने उनको भनाइ छ ।
कार्की थप्छन्, ‘नेपालमा प्रविधि भित्रिन्छ तर त्यसको नियमनको लागि कानुन बन्न कति वर्ष लाग्छ भन्ने ठेगान छैन । कानुनको अभाव छ । कानुन बनाएर नियमन गर्न सकिएन भने यसले विकराल स्थिति सिर्जना गर्छ । मुख्य कुरा नीतिगत कुराहरूमा कमीकमजोरी देखिन्छ । प्रविधिको विकास सँगसँगै चुनौती पनि आउँछ ।’
एआईलाई शिक्षा तथा अनुसन्धान, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा प्रयोग गर्न सकिन्छ । प्रविधिसम्बन्धी सचेतना जगाउने कार्यक्रमहरू बढाउँदै सरकारले दक्ष तथा विज्ञ जनशक्तिलाई खटाउनुपर्ने आवश्यकता उनी देख्छन् ।
के छ कानुनमा ?
नेपालको संविधान २०७२ को मौलिक हकमा नै गोपनीयता सम्बन्धी अधिकारको व्यवस्था गरेको छ । त्यसै गरी वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ को पनि व्यवस्था छ ।
साथै, कानुनमा व्यवस्था भएअनुसार प्रत्येक व्यक्तिलाई निजको चरित्र वैयक्तिक आचरण र व्यवहारको गोपनीयता राख्न पाउने अधिकारको व्यवस्था छ । यदि यस्तो गरेको पाइएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया