काठमाडौं– विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु पालिकाभित्रको फोहर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छन् । फोहर फाल्ने ल्याण्डफिल साइटको समस्या प्रायः सबै नगरपालिकाको साझा समस्या हो । तर, दाङ जिल्लास्थित घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको चिन्ता चाहिँ अर्कै छ । आफ्नो पालिकाका फोहर कम भएको भन्दै उनी छिमेकी पालिकासँग फोहर मागिरहेका छन् ।
घोराही उपमहानगरले तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकासँग गल्नेखालको फोहर मागिरहेको चौधरी बताउँछन् ।
आखिर, घोराही उपमहानगरपालिकालाई किन चाहियो फोहर ? यसबारे पछि चर्चा गरौंला, अहिले चाहिँ काठमाडौं आएर रेडियोकर्मी बनिसकेको मान्छे किन र कसरी दाङ फर्कियो भन्ने कथा सुनौं ।
घोराही उपमहानगरपालिका वडा नम्बर–२ मा जन्मिएका ५७ वर्षीय नरुलाल चौधरी दोस्रो कार्यकालका रुपमा घोराही उपमहानगरको मेयरमा आसीन छन् । उनी नेकपा एमालेका नेता हुन् ।
किसान परिवारमा जन्मेका नरुलालसँग शिक्षण पेशामा दुई वर्ष काम गरेको अनुभव छ । काठमाडौं आएर केही समय रेडियो नेपालमा थारु भाषाको समाचार वाचक बनेको चौधरी ०५३ सालपछि रेडियो नेपालबाट राजीनामा दिएर गाउँ फर्किए ।
गाउँमा जनताले राम्रो नेतृत्व नपाएका कारण स्थानीय तहको विकास नभएको भन्दै उनी ‘आफ्नो गाउँ आफैँ बनाउने’ अभियान बोकेर गाउँ फर्किएको बताउँछन् । वर्गीय रुपमा पछि परेका मानिसहरु राजनीतिक–सामाजिक क्षेत्रमा आएर मात्र यो समुदायलाई न्याय हुने ठानेर आफू राजनीतिमा लागेको नरुलालको तर्क छ ।
गाउँ फर्किएपछि नरुलाललाई फेरि शहर पस्न मन लागेन । उनी गाउँमै रमाए । उनी नेपाल कम्युनिष्ट पार्टी एमालेसँग ०४५ सालबाट औपचारिक रूपमा जोडिए । ०४९ सालमै एमालेले स्थानीय तहमा टिकट दिएकामे तर, २५ वर्षभन्दा कम उमेर भएकाले उठ्न नपाएको उनी सुनाउँछन् । ०५४ सालमा भने उनी दाङको रामपुर गाविस अध्यक्षमा निर्वाचित भए ।
नरुलाल एमालेको जिल्ला कमिटी सदस्य र अध्यक्ष हुँदै अहिले पोलिटब्युरो सदस्य छन् । उनी एमालेका दाङ इन्चार्ज समेत हुन् । ०७४ सालमा घोराही उपमहानगरको मेयर बनेका उनी । ०७९ साल माओवादी–कांग्रेस गठबन्धनलाई हराउँदै दोस्रोचोटि मेयर बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ०७४ सालमा घरघरमा ग्यासको पाइप पुर्याउने र स्विच प्याट्ट पार्नासाथ ग्यास बल्ने बताएका थिए । उता, दाङमा एमालेका पोलिटब्यूरो सदस्य नरुलालले ३ सय घरमा फोहरबाट ग्यास बल्ने प्रवन्ध गरेका छन् । तर, उनलाई चिन्ता छ– थप फोहरको ।
मेयर नरुलालले घोराही उपमहानगरपालिकामा कस्तो काम गरिरहेका छन् ? उनको काम गराइबाट आम जनता सन्तुष्ट छन् या छैनन् ? यो विषयमा यथार्थ कुरा बुझ्न उपमहानगरका विपक्षी नेताहरु वा स्थानीय नागरिक समाजलाई सोध्नुपर्ने हुन्छ । तर, नरुलाल घोराही जनता सन्तुष्ट रहेको दाबी गर्छन् । स्थानीय तहले राम्रो काम गर्यो भने जनतामा आशा जगाउन सकिने उनको भनाइ छ । चौधरी भन्छन्,‘हेर्न जानुभए पनि हुन्छ, साँच्चिकै नमुना उपमहानगर भएको छ । हामी सिस्टममा छौँ ।’
एमाले नेता एवं घोराहीका मेयर चौधरी हालै नेकपा एमालेको दुईदिने कार्यशालामा भाग लिन काठमाडौं आएका थिए । यहाँ आएका बेला मेयर चौधरीसँग खबरहबले स्थानीय सरकारको विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ ।
शुरुमा घोराही उपमहानगरपालिकाबारे केही बताइदिनू न । पालिकामा कसरी काम गरिरहनुभएको छ ?
घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले ५ सय २२.२१ वर्ग किलोमिटरमा फैलिएको छ । यो देशभरका ११ वटा उपमहानगरपालिका मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो हो । यहाँ २ लाख ५ सय ३० जनसंख्या बस्छन् । घरधुरी पनि लगभग ५० हजार छन् । त्यसमध्ये ४ हजार ८ सय ११ घरधुरी गरिबीमा छन् । हामीले उहाँहरूलाई गरिबीको परिचयपत्र पनि वितरण गरिसकेका छौँ ।
घोराहीमा जातीय हिसाबले थारु, मगर, ब्राह्मण, क्षेत्री, गुरुङ र अल्पसंख्यक जाति बसोबास गर्नुहुन्छ । उल्लेखनीय बसोबास थारु र ब्राह्मण क्षेत्रीको छ ।
यो उपमहानगरपालिका दाङ जिल्लाको सदरमुकाम पनि भएकाले यहाँ बजार र सहरी क्षेत्र पनि छ । विकास निर्माणको हिसाबले ठूलो एरिया भएका कारण विकट ठाउँहरु पनि छन् । वडा नम्बर १९ पहाडी क्षेत्रमा पर्छ । वडा नम्बर १, २, ३, ५, ११, १२, १३ र १८ मा पनि पहाडको भूगोल पर्छ । त्यहाँ ०७४ साल अगाडिसम्म मान्छेहरू डोकाबाट बिरामी ओसार्ने गर्थे । अस्पतालबाट सुत्केरीलाई घरसम्म ल्याउन समस्या थियो । हामी निर्वाचित भएपछि सबै नागरिकको पहुँच सडक यातायातमा हुनुपर्छ भन्ने हिसाबले ती विकट क्षेत्रमा बाटो पुगेको छ । १२ महिना चल्ने हिसाबले बनाउन बाँकी छ । ट्रयाक खुलिसकेको छ ।
सबै वडा कार्यालयदेखि नगरसम्म पिच जोड्नुपर्छ भन्ने लक्ष लिएका थियौँ । अहिले १९ नम्बर बाहेक १८ वटा पिचले नगरपालिकाको कार्यालयसम्म जोडिसकेको छ । विद्युत् पनि छेउ कुनाबाहेक सबै ठाउँमा पुगेको छ । सञ्चार वडा नम्बर २ को चार्किघात, कोल्टी, ३ को मुसलघाट बाहेक सबैमा सुविधा छ । ती ठाउँमा पनि सञ्चार मन्त्रालय र विभागसँग कुरा राखेर टावर निर्माणको काम भराइरहेको छ ।
हामीले समाज कल्याण गर्छु भन्ने संस्थासँग समन्वय गरेर सडक बालबालिकालाई बस्ने घर बनाइदिएका छौँ । खानेकुराको व्यवस्थापन गरेका छौँ । पहिला–पहिला समस्या थियो । हामीले सबै हिसाबले काम गरिरहेका छौँ । तर अझै पनि सबै कुरा पर्याप्त हुन सकेको छैन । उपमहानगरबासीका न्यूनतम आवश्यकता पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन ।
घोराहीका जनताले स्थानीय सरकारसँग कस्तो अपेक्षा राखेका थिए ? दुई कार्यकाल नेतृत्व सम्हाल्दा तपाईले के–के काम पूरा गर्नुभयो ?
वास्तवमा पहिलो कार्यकालमा हामीहरूलाई नयाँ संरचनामा काम गर्नुपर्ने भएर समस्या भयो । संघीयता लागू भएपछि पहिलोपटकको जनप्रतिनिधिलाई काम गर्न समस्या थियो । नेपालको संविधान ०७२ को अनुसूची ८ मा दिएका एकल २२ वटा अधिकार छन् ती अधिकारमा कानुन आफैँ निर्माण गर्नुपर्ने र कानुन बनाएर काम अगाडि बढाउनुपर्ने समस्या थियो । जनशक्ति पनि पर्याप्त भएन । संघ सरकारले क्षमता अनुसारको कर्मचारी व्यवस्थापन गर्न नसक्दा पनि समस्या भयो ।
हामीसँग सबै वडा कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनतालाई सेवा दिन धौ–धौ हुने अवस्था थियो । यसका बाबजुद पनि सबै वडाको भवन निर्माण गर्यौं । २२ वटै अधिकारका कानुन निर्माण गर्यौं र नागरिकको सेवा प्रवाह गर्नका लागि वडा–वडाबाट राजस्व संकलन गर्नेदेखि लिएर सबै काम वडाबाटै सम्पन्न गर्ने भइसकेपछि नागरिकहरुलाई घर–घरमा सिंहदरबार भनेजसरी सेवा प्रवाहमा कुनै समस्या छैन । जसले गर्दा उपमहानगरमा देखिने गरी काम भएको छ ।
१९ वटै वडामा स्वास्थ्य चौकी सञ्चालन गरेका छौँ । ७७ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमा गएर निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका छौँ । आँखा अपरेसन निःशुल्क गर्ने गरेका छौँ । घोराहीका नागरिकलाई निःशुल्क रगत दिने व्यवस्था पनि हामीले गरेका छौँ । ९३ वटा सामुदायिक विद्यालय ७८ वटा संस्थागत विद्यालय छन् । यी विद्यालयमा विद्यार्थी कम थिए । तर, पछिल्लो समयमा शैक्षिक सुधार गर्नका लागि दरबन्दी मिलान गरेका छौँ । सबैभन्दा पहिला विद्यार्थी अनुसारको टिचर हुनुपर्छ । सोही योग्यता क्षमताको प्रअ हुनुपर्छ भनेर व्यवस्थापन गरेका छौँ । मात्रृभाषामा शिक्षा लागू पनि गरिएको छ ।
घोराहीलाई सफा, सुन्दर र हरियाली सहरका रूपमा विकास गर्ने काम भइरहेको छ । हामीले नगरिकहरुको आर्थिक क्षेत्रको विकासमा विशेष जोड दिएका छौँ । नागरिकहरूलाई आर्थिक क्षेत्रको विकासका लागि उनीहरूलाई वित्तीय साक्षरता पनि चलाइरहेका छौँ । कसरी आम्दानी गर्ने र कसरी खर्च गर्ने भन्ने कुरा हामीले नागरिकहरूलाई सिकाउँदै छौँ ।
वैदेशिक रोजगारीको क्षेत्रमा गएका नागरिकहरूलाई पनि वित्तीय साक्षरताको शिक्षा दिइरहेका छौँ । पैसालाई पुँजीको रूपमा विकास गर्नुपर्छ भनेर क्लास चलाइरहेका छौँ । पहिलो कार्यकालमा गाई व्यवस्थापन पनि गरिएको थियो, त्यसलाई निरन्तरता दिएको छ । यस्तै बालमैत्री नगर पनि बनाइएको छ । हामीले सबैलाई व्यवस्थापन गरेका छौँ ।
यी सबै काम गर्नुभएछ, अहिले घोराहीमा समस्याचाहिँ के छ ?
यातायातका हिसाबले चार लेनको सडकको समस्या थियो, त्यो संघ सरकारले समयमै नबनाउँदा धेरै नागरिकले क्षति भोग्नुपरेको थियो । यसपटक हाम्रा महासचिव शंखर पोखरेलले टेन्डर आह्वान गरेर नेपाल सरकारकै बजेटबाट हुने गरी त्यो ४ लेनको सडक अगाडि बढाउन पहल गर्नुभएको छ । अब यो समस्या समाधान हुन्छ भन्ने छ ।
दोस्रो कुरा, स्थानीय तहमा सबैभन्दा ठूलो समस्या भनेको अब सिचाइँलाई विशेष जोड दिने हो । यसले हाम्रो उपमहानगरमा रोजगारी सिर्जना गर्न सकिन्छ । कृषिको विकासका लागि ४३ वटा कृत्रिम जलाशय बनाएका छौँ, जहाँ अहिले माछा पौडिरहेका छन् । पानीलाई लिफ्ट गर्ने काम भएको छ । तालको वरिपरि खेतीपाती तरकारी खेती लगायतका व्यवसायका खेती सुरु भएको छ । यहाँ बोटिङ गर्ने होटेल सञ्चालन गर्ने काम भएको छ । युवाहरु विदेश जानुभन्दा यतातिर लागेका छन् ।
घोराही उपमहानगरले फोहर व्यवस्थापन राम्रोसँग गरेको छ भन्ने सुनिन्छ, कसरी भइरहेको छ व्यवस्थापन ?
फोहर व्यवस्थापनलाई जोड दिएर गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने प्लान्ट निर्माण गरिएको छ । यसमा तीन पक्षको सम्झौता छ ः घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र ऊर्जा विकास कम्पनी । यी तीनवटाको साझेदारी काम भइरहेको छ । केही घरमा ग्यास पुगेको छ ।
होटलहरुबाट निस्किएको गल्ने फोहर राम्रोसँग आएको भए १५ सय घरधुरीलाई नै ग्यास वितरण गर्ने सक्ने क्षमता र लगानी छ । तर, होटलहरुबाट भनेजस्तो फोहर आएको छैन । अन्य स्थानीय तहबाट समेत फोहर ल्याउने कुरा पनि चलाएको हो तर गल्ने फोहर नै आउँछ किआउँदैन भन्ने हो
तर, समस्या के छ भने गल्ने फोहर पर्याप्त नहुँदा जति ग्यास उत्पादन गर्न सकिने थियो, त्यति ग्यास उत्पादन भएको छैन । तर, फोहर व्यवस्थापन र सरसफाइको क्षेत्रमा ग्यास र मल तयार गरेर बिक्री गर्ने गरी काम भएको छ । फोहर व्यवस्थापन गर्नका लागि धेरै सहज भएको छ ।
तर, होटलहरुबाट निस्किएको गल्ने फोहर राम्रोसँग आएको भए त हामीले १५ सय घरधुरीलाई नै ग्यास वितरण गर्ने सक्ने क्षमता र लगानी छ । तर, होटलहरुबाट भनेजस्तो फोहर आएको छैन । होटलबाट निस्किएको फोहर बगुंरपालनतर्फ गइरहेको छ । बगुंर पालनलाई पनि हामीले प्राथमिकता दिएको हो तर अहिले गल्ने फोहर पर्याप्त नहुँदा लक्ष पूरा हुन सकेको छैन ।
अन्य स्थानीय तहबाट समेत फोहर ल्याउने कुरा पनि चलाएको हो । तर, गल्ने फोहर नै आउँछ–आउँदैन भन्ने हो । मिसिएको फोहरको काम छैन । गल्ने मात्र फोहर आउँछ भने हामी तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकासँग सहकार्य गर्न तयार छौं । तर, गल्ने फोहर हुनुपर्छ, मिसावट हैन ।
अहिले घोराहीमा उत्पादन भएको फोहरले ३ सय घरलाई मात्रै ग्यास पुगेको छ । हामी यसलाई बढाउने अभियानमा लागेका छौँ ।
फोहरबाट ग्यास उत्पादन गर्न कति लगानी गर्नुभएको छ ? कति ग्यास उत्पादन भइरहेको छ ?
अहिले उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने एउटा निश्चित क्षेत्रफल थियो, त्यो हामीले नगरको तर्फबाट गरेका छौँ । पर्खाल निर्माण गर्ने काम थियो, त्यो हामीले गरेका छौँ । निजी कम्पनीले ६० प्रतिशत र वैकल्पिक ऊर्जाले ४० प्रतिशत लगानी गरेको छ । त्यसका आधारमा २०–२२ करोडको लागतमा यो परियोजना निर्माण भएको छ । अहिले सामान्यः यसलाई फोहर जुटाउने कोसिसमा छौँ र फोहरको वर्गीकरण गर्नेमा केन्द्रित गरेका छौँ ।
स्थानीय तहको जनप्रतिनिधिले पार्टीको नेताजस्तो भएर काम गर्यो भनेर कहीँ–कहीँ तीव्र असन्तुष्टि आइरहेको हुन्छ । यहाँको नगरमा त्यो छ कि छैन ?
अहिले घोराहीमा त्यो असन्तुष्टि देखिएको छैन । किन पनि म ठोकुवा गरेर भन्छु भने जनचाहना र भावनाअनुसार स्रोत साधनलाई अत्यधिक उपयोग गरेर उनीहरूको हितमा काम गरिरहेको भएर शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास र आर्थिक विकासको क्षेत्रमा सबै हिसाबले कामलाई अगाडि बढाइरहँदा नागरिकहरू सकरात्मक हुनुहुन्छ ।
किनकि म स्वयम पनि जनतासँग दिनदिनै समस्या बुझ्न कुनै न कुनै रूपमा जोडिइरहेको छु । जनविरोधी गतिविधि गर्ने अवस्था छैन । हामीले नियमित तीन–तीन महिनामा सार्वजनिक सुनुवाइ गर्ने गरेका छौँ । दलहरूप्रति असन्तुष्टि छैन ।
कहीँ कतै मेयर र उपमेयरलाई काम गर्न वडाअध्यक्षहरु नमिलेका कारण पनि समस्या भएको खबर आउँछ, घोराहीमा कस्तो छ ?
हाम्रो मेयर र उपमेयरमा पनि कुनै विवाद छैन । वडा अध्यक्षहरुपनि सहयोगी हुनुहुन्छ । राम्रो कामको लागि सबैले सहयोग गर्नु नै भएको छ । म पनि सही ढंगले चलेको छु । १९ वटा वडामा नेकपा एमालेले १३ वटा वडासहित प्रमुख उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले ५ वटा वडाध्यक्ष जितेको छ । माओवादीले एउटा वडा जितेको छ ।
हामीले समानखालको विकास अगाडि बढाउने कार्यक्रम र नीति ल्याएको भएर कसैमा विवाद हुँदैन । नीतिअनुसार काम हुने भएकाले सबैको एकात्मक भावना छ । यहाँ हेर्न जानुभए पनि हुन्छ साँच्चिकै नमुना उपमहानगर भएको छ । हामी सिस्टममा छौँ । राजनीतिक दलले पनि पूराका–पूरा साथ दिनुभएको छ । हामी जथाभाबी योजना छनोट पनि गदैनौं
स्थानीय सरकारलाई भ्रष्टाचारको आरोप पनि लाग्ने गरेको छ नि ?
हाम्रो उपमहानगरपालिका सुशासनसँग जोडिएको छ । कहीँ कतै भ्रष्टाचार नहोस् भनेर यो कुरामा विशेष हेक्का राखिएको छ । किनकि उपभोक्ताबाट हुने काम कम छ, हामीले खरिद ऐन अनुसार ठेक्का टेन्डर गर्छौं । जहाँसुकैको मान्छे पनि आएर काम गर्न सक्छ । कुनै खरिदमा स्वार्थ राख्नुपर्ने या उपभोक्ता समिति बनाएर बदमासी गर्न पाउने खालका कुराहरु छैनन् ।
हामीले भ्रष्टाचार गर्न नपाइने संयन्त्र निर्माण गरेका छौँ । कुनै ठाउँमा जनता सताउने काम हुँदैन र हुन पनि दिने छैन । तर, स्थानीय तहले भ्रष्टाचार गरेको भए तथ्यसहित बाहिर आउनुपर्छ भनेर म पनि वकालत गरिरहेको हुन्छु । म ठोकुवा गरेर भन्छु– मेरो उपमहानगरपालिकामा १ रुपैयाँको पनि भ्रष्टाचार भएको छैन । साँच्चिकै नमुना उपमहानगर छ । अरूको पनि यस्तै होस ।
म जनतासँग उभिएर शीर ठाडो पारेर हिँड्न सक्छु । म जनताको सेवामै विचार, सिद्धान्त र दर्शनमा छु । म यो कुरा जीवनको महत्वपूर्ण समय पनि मान्छु । म विकास भनेर मान्छेको जीवनमा आउने परिवर्तनलाई मान्छु । जबसम्म मान्छेको जीवनमा आर्थिक अवस्था र शिक्षामा परिवर्तन आउँदैन, त्यो बेलासम्म हामीले विकास भयो भनेर मान्न सकिँदैन ।
हामी अहिले पनि विकासका लागि चाहिने पूर्वाधारको तयारीमै लागिरहेका छौँ । । बाटा घाटा, सिँचाइ, सञ्चार र मानिसहरूको खुसी अनि सन्तुष्टि, यही कुरासँग जोडिएका छौं । यसको मापन गर्ने कुरा जनताको सन्तुष्टिसँग हो । जहाँ जनताको सन्तुष्टि छैन, त्यहाँनेर विकास भएको मानिँदैन ।
जनताको आम्दानीको स्रोत कस्तो छ ? पछाडि परेको समुदाय दलित, जनजाति र भूमिहीनको अवस्था कस्तो छ ? पछि परेका सुकुम्वासी र गरिबहरूको पहुँच माथिसम्म आयो कि आएन ? यिनै कुराहरुले विकासलाई दाँज्ने भएकाले घोराही उपमहानगरलाई सुख, शान्ति र समृद्धिसँग जोडिएको छ । यो अवस्थाको घोराही बनाउने आधार तयार पारेका छौँ । आगामी आउने जनप्रतिनिधिले धेरै तरिकाले कामलाई अगाडि बढाएर जान सक्छन् । हामीले गरेका यी यावत कामलाई निरन्तरता दिइयो भने जनताले दुःख पाउँदैनन् र अब गरिबी निवारण हुन्छ भन्ने कुरामा ढुक्क छौँ । त्यता हाम्रो जोडबल छ ।
स्थानीय सरकारले राम्रोसँग काम गरे साँच्चिकै जनतालाई सुविधा दिन सकिने रहेछ ?
हो, मज्जाले दिन सकिन्छ । जनतालाई पर्ने समस्या भनेको स्थानीय सरकारसँग ठोकिन्छ । जनताले सामूहिक र व्यक्तिगत इच्छा पनि राखेका हुन्छन् । स्वार्थका इच्छा बाहेक सामूहिक आवश्यकतालाई जनप्रतिनिधिले पूरा गरे साँच्चिकै स्थानीय तह विकसित भएर जान्छ । तर, स्वार्थ बाझ्ने व्यक्तिगत इच्छाहरु पूरा गर्नतिर लागियो भने समस्या आउँछ ।
कानुनी बाधा भए फुकाइदिनुपर्छ । सबै कुरा स्थानीय सरकारले मात्र पूरा गर्न नसक्ने भएर तीन तहको सरकारको अभ्यास भएको हो । ठूला आयोजनाहरू संघ सरकारले गर्छ । जस्तो– एक जिल्लाबाट अर्को जिल्ला जोड्ने सडक, ठूला योजनाका खानेपानी, विद्युतका काम, पुलका काम लगायत संघ सरकार र प्रदेश सरकारले मिलेर गर्नुपर्छ । जनतालाई डेलिभरी दिने काम र दिनदिनै हुने समस्याका कामहरू स्थानीय तहले समाधान गर्नुपर्छ । उनीहरूले संघ प्रदेश सरकारलाई चिन्दैनन् ।
त्यसकारण जनताको घर–घरको सरकार स्थानीय सरकार बने जनताका सबै गुनासा र समस्या समाधान गर्न सकिन्छ । मैले त्यो अभ्यास गरेको छु ।
कामको चाप र दबाव स्थानीय सरकारसँग धेरै हुन्छ । तर, आफूलाई असल अभिभावक ठानेर स्थानीय सरकारले काम गर्नुपर्छ । स्थानीय सरकार जनतासँग जोडिने भएकाले कुर्सीमा मात्र बस्ने चाहिँ गर्नुभएन । जनताको वरिपरि रहेर सेवा दिने कुरामा जोड गर्नुपर्छ । स्थानीय सरकारले जनता र जनताले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ । केन्द्र र प्रदेशले पनि स्थानीयसँग समन्वय गरेर काम गर्नुपर्छ ।
प्रतिक्रिया