महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास « Khabarhub

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको छ । १२औँ महाधिवेशन नजिकिँदै गर्दा नेविसंघमा समानान्तर अभ्यास भइरहेको छ।

मातृ पार्टीको निर्देशनअनुसार अध्यक्ष दुजाङ शेर्पा १२ औँ महाधिवेशनको तयारीमा जुटिरहँदा कांग्रेसको ‘नर्सरी’ भनिने नेविसंघमा ‘भाँडभैलो’ मच्चिएको हो ।

गत असार १९ गते सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी चैत मसान्तभित्र अनिवार्य महाधिवेशन सम्पन्न गर्ने कार्यादेश नेविसंघलाई दिएको थियो ।

कांग्रेसले नेविसंघको १२औँ महाधिवेशनका लागि समन्वय र सहयोग गर्न सह–महामन्त्री किशोर राठौरको संयोजकत्वमा ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ बनाएको छ । उक्त समितिमा केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र राजीव ढुङ्गाना सदस्य छन् ।

‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’सँगको समन्वयमा नेविसंघ अध्यक्ष शेर्पाले विधान संशोधन एवम् परिमार्जन समिति पनि बनाइसकेका छन् । तोकिएको समयमै महाधिवेशन गर्ने भन्दै उनले नेविसंघका केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्य (एनपी) को संयोजकत्वमा ३ सदस्यीय विधान संशोधन एवम् परिमार्जन समिति बनाएका हुन् ।

समिति सदस्यमा विवेक लिम्बू, राजेशकुमार श्रेष्ठ, सुनिल शाही र मञ्जु विश्वकर्मा छन् । विधान समिति गठन भएपछि नेविसंघ नेता–कार्यकर्ताले लामो समयदेखि हुन नसकेको महाधिवेशन समयमै सम्पन्न हुने आशा गरेका थिए ।

तर, पछिल्लो समय संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालानिकट विद्यार्थीहरूले नेविसंघमा समानान्तर गतिविधि बढाएका छन् ।

अध्यक्ष शेर्पाले महाधिवेशनका लागि ‘राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन अभियान’का लागि केन्द्रीय प्रतिनिधि चयन गरेसँगै इतर समूहका नेताहरू समानान्तर गतिविधिमा लागेका हुन् ।

अध्यक्ष शेर्पाले पुस ७ गते अभियानका लागि देशभरका विभिन्न ११८ क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएपछि इतर समूहको नेतृत्व गरिरहेकी केन्द्रीय सदस्य प्रेमिका रानामगरले पनि केन्द्रीय प्रतिनिधि खटाएर समानान्तर गतिविधि थालेकी हुन् ।

उनले पुस ७ गते नै अध्यक्ष शेर्पालाई चुनौती दिँदै नेविसंघको १२ औँ महाधिवेशनका लागि विभिन्न २२ क्याम्पस र ७७ जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएकी छन् ।

अध्यक्ष शेर्पाले संगठनमा एकलौटी गर्न खोजेपछि आफूहरूले समानान्तर रुपमा प्रतिनिधि खटाएको प्रतिक्रिया केन्द्रीय सदस्य रानामगरले दिइन् ।

‘हामीले प्यारालाल (समानान्तर) गतिविधि गरिरहेका छौँ । अध्यक्षले एकलौटी संगठन चलाउनु खोज्नुभयो । केन्द्रीय कमिटीमा निर्णय नै नगराई प्रतिनिधिहरू चयन गर्नुभयो,’ रानामगरले खबरहबसँग भनिन्, ‘केन्द्रीय कमिटीका निर्णयहरू उहाँले कार्यान्वयन नै गर्नुभएन । जुन हामीलाई मान्य भएन । यो अन्यायविरुद्धको लडाइँ हो ।’

इतर समूहमै रहेका केन्द्रीय सदस्य विनोदकुमार शाहीले नेविसंघको इतिहासकै अभ्यासमा नआएको गतिविधि नेतृत्वबाट भएपछि आफूहरू समानान्तर ढंगले अघि बढेको बताए ।

‘केन्द्रीय अधिवेशन गर्न पो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि पठाउनु पर्ने हो नि । त्यो छाडेर सदस्यता वितरणका लागि भनेर एकपक्षीय ढंगबाट केन्द्रीय प्रतिनिधि खटाइयो,’ शाहीले खबरहबसँग भने, ‘यस्तो अभ्यास नेविसंघमा अहिलेसम्म थिएन । यसकारण समानान्तर समितिको कुरा अघि बढायौँ ।’

इतर समूहले महाधिवेशनका लागि विभिन्न क्याम्पस र ७७ वटै जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाइसकेको केन्द्रीय सदस्य शाहीले बताए । उनले सदस्यता वितरण गर्ने जिल्ला अध्यक्ष र क्याम्पस इकाई अध्यक्षको अधिकार हनन् गर्न नपाइने पनि जिकिर गरे ।

‘सदस्यता वितरण गर्ने काम त जिल्ला अध्यक्ष र क्याम्पस इकाई अध्यक्षको हो । उनीहरूको अधिकार मिच्न पाइन्छ ?,’ प्रश्न गर्दै भने, ‘हामीले जिल्ला अध्यक्षहरूसँग समन्वय गरेर सदस्यता वितरण र त्यहीअनुसार अधिवेशनमा जाने निर्णय गरेका छौँ ।’

कांग्रेस सभापति देउवाले ०७८ चैत ९ मा शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका थिए । ०७८ फागुन ३ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार अध्यक्षमा मनोनीत हुँदा शेर्पालाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने कार्यादेश दिइएको थियो ।

त्यसको १६ महिनापछि ०८० साउन २३ मा सभापति देउवाले नेविसंघमा ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनले ०८० चैत ३ मा फेरि ४१ जना केन्द्रीय सदस्य थप गर्दै नेविसंघको केन्द्रीय कार्यासमिति ७५२ सदस्यीय बनाएका थिए ।

नेविसंघको विधानमा १ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । तर, केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि सभापति देउवाले विधानविपरीत नेविसंघको जम्बो तदर्थ समिति बनाएका छन् ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने कार्यादेशसहित गठित नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद पार्टीले पटक–पटक थप्दै आएको छ ।

यसो भन्छिन् प्रतिमा गौतम

निर्देशन समितिले दुईवटा मिटिङ बसेर केही कुराहरू निर्णय गरेको हो । यो सदस्यता अभियान देशभर चलाउने उद्देश्यले प्रतिनिधि खटाइएको हो । प्रतिनिधिहरूले अरु कुराभन्दा पनि मुख्य रुपमा सबै जिल्लामा गएर सदस्यता वितरणलाई प्रभावकारी बनाउने हो ।

लामो समयदेखि नेविसंघको अधिवेशन नभएको हुँदा तलदेखि नै ‘फङ्सनलाइज’ नभएको कारण सदस्यता वितरणबाट सुरु गर्ने भनेर निर्देशन समितिले अध्यक्ष लगायत सबै केन्द्रीय सदस्यलाई निर्देशन दिएको हो । त्यो सिलसिलामा केन्द्रीय प्रतिनिधिहरू पठाइएको हो । प्रतिनिधि पठाउँदा सबै पक्षलाई मिलाउने ढंगबाट पठाइएको छ ।

केही साथीहरूको सुरुदेखिको केही ‘रिजर्भेसन’ भएकाले छुट्टै प्रतिनिधिहरू पठाएको भन्ने कुरा आएको छ । उहाँहरूसँग पनि हामीले समन्वय गरेका थियौँ । तर, मिडिया र सामाजिक सञ्जालमा जे कुराहरू आएका छन्, यो लामो समयदेखि अभिवेशन नभएका कारणले केही कुरा अध्यक्षसँगको असन्तुष्टिका कारणले भएको हो ।

यसलाई हामीले व्यवस्थापन गर्ने कुरा भइरहेको छ । यो सबै कुरो मिलाएर हामी अधिवेशन उन्मुख हुन्छौँ । साथीहरूका केही कुरा छन् भने पनि हामीले हामीसक्षम आएर कुरा राख्नुस्, हामी सबैलाई मिलाएर अगाडि बढाउँछौँ भनिसकेका छौँ ।

अहिले हाम्रो निर्देशक समितिको सभापति (किशोरसिंह राठौर) विदेश हुनुहुन्छ । र, पनि विद्यार्थी विभागको प्रमुख राजीवजी (राजीव ढुंगाना) र मैले साथीहरूलाई अनुरोध गरेका छौँ, के हो, कसो हो ? यो छिटो समस्या समाधान गर्नुपर्छ । हामी सबै एक ठाउँमा बसेर अधिवेशनउन्मुख गरौँ भनेर साथीहरूलाई भनेका छौँ । केही कुरा ‘पोजेटिभ’ (सकारात्मक) छन् ।

संस्थापन पक्षले खटाएका प्रतिनिधिहरू

शेखर पक्षले खटाएका प्रतिनिधिहरू

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्