भारतीय ठेकेदारको लापर्बाही : तार भूमिगत गर्ने ठेक्का ओगटेर काम अलपत्र ! | Khabarhub Khabarhub

भारतीय ठेकेदारको लापर्बाही : तार भूमिगत गर्ने ठेक्का ओगटेर काम अलपत्र !

काठमाडौंमा तीव्र, भक्तपुर र ललितपुरमा अलपत्र



काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा भूमिगत तार व्यवस्थापनको काम सुरु गरेको करिब आधा दशक बित्यो । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत कार्य वि.सं. २०७६ फागुनदेखि सुरु गरेको थियो ।

ठेक्का लागेको साढे दुई वर्षभित्र उपत्यकामा तार भूमिगत व्यवस्थापन गरिसक्ने सम्झौता भएकोमा हालसम्म तार बिच्छ्याउने काम सकिएको छैन । कोरोना महामारी लगायतका विभिन्न बहाना बनाएर भारतीय ठेकेदार कम्पनीले काम अलपत्र पारेको हो ।

वि.सं. २०७६ फागुनदेखि उपयत्यकाका तीन जिल्लामा भूमिगत तार व्यवस्थापनको कार्य अघि बढेको थियो । जसअनुसार, २०७९ साउनसम्म उपत्यकाभित्रको भूमिगत तार बिच्छ्याउने काम सम्पन्न गर्नुपर्ने सम्झौतामा ठेक्का अघि बढाइएको थियो ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण भूमिगत तार व्यवस्थापनको काम अलपत्र जस्तै छ ।

ललितपुर र भक्तपुरमा सुस्त

काठमाडौं क्षेत्रमा भूमिगत तार बिच्छ्याउने कामले केही गति लिए पनि ललितपुर र भक्तपुर क्षेत्रमा भूमिगत तार व्यवस्थापनको काम सुस्त छ । ललितपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत तार व्यवस्थापनको काम अलपत्र जस्तै छ, भौतिक प्रगति नगन्य छ ।

त्यस्तै, भक्तपुर क्षेत्रमा पनि भूमिगत तार व्यवस्थापनको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । घोषका अनुसार, ललितपुर र भक्तपुरमा २०० किलोमिटरमा भूमिगत तार व्यवस्थापन गर्नुपर्नेमा हालसम्म निर्माण अघि बढ्न सकेको छैन ।

ललितपुर विरतण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत तार व्यवस्थापनका काम १० प्रतिशत सम्पन्न भए पनि भक्तपुर क्षेत्रमा भने पाँच प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको प्राधिकरणले जनाएको छ ।

काठमाडौंमा सन्तोषजनक

प्राधिकरणका अनुसार रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा मात्रै भूमिगत तार बिच्छ्याउने काम आशलाग्दो देखिन्छ ।

रत्नपार्क वितरण केन्द्र भूमिगत तार व्यवस्थापनको काम ९० प्रतिशत सकिएको छ । महाराजगञ्‍ज वितरण केन्द्र आसपासका क्षेत्रमा ७५ प्रतिशत काम सकिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रवक्ता घोषका अनुसार काठमाडौंको कीर्तिपुर क्षेत्रमा पनि भूमिगत तार बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने ६३० किलोमिटरमध्ये हालसम्म ५०० किलोमिटर भूमिगत तार व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।

न्यूरोड र असनलगायत क्षेत्रमा भूमिगत तार व्यवस्थापनका काम सम्पन्न भइ बजारक्षेत्र सुन्दर देखिएको छ । त्यस्तै, काठमाडौंका कोर एरिया मानिएका बानेश्वर, बालाजु, पुतलीसडक, न्यूरोड, लैनचौर, माइतीघर, थापाथली, तीनकुने, एयरपोर्ट आसपासका क्षेत्रमा पनि भूमिगत तार बिछ्याउने काम अन्तिम चरणमा पुगिसकेको छ ।

म्याद थपेको थप्यै

काठमाडौंभित्र महाराजगञ्‍ज र रत्नपार्क वितरण केन्द्र मातहत विद्युतीय तार भूमिगत गर्ने जिम्मा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडले पाएको छ ।

बानेश्वर, बालाजु, कुलेश्वर, कलंकी, कीर्तिपुर, जोरपाटी, साँखु, पेप्सीकोला लगायत स्थानमा तार बिछ्याउने ठेक्का भारतकै लार्सेन एन्ड टर्बो लिमिटेड (एलएनटी ग्रुप) कम्पनीले पाएको छ ।

गएको २०७६ फागुनदेखि काम थालेको उक्त कम्पनीले २०७९ साउनसम्म कबोलअनुसार काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

तर, तार व्यवस्थापनका नाममा साढे दुई वर्ष समय लिइसकेको उक्त ठेकेदार कम्पनीले तारन्तार थप म्याद लिने गरेको छ । म्याद थप गर्न ठेकेदार कम्पनीले कोरोना महामारीलगायतको बहाना बनाएको थियो ।

कोरोना महामारीको बहाना बनाएर ठेकेदार कम्पनीले पहिलोपटक १५ महिना थप म्याद पाएको थियो । थपिएको उक्त अवधिभित्र अर्थात् २०८० कात्तिकभित्र काम सम्पन्न गर्नुपर्ने थियो ।

थपिएको समयभित्र पनि निर्माण कम्पनीले भूमिगत तार बिच्छ्याउने काम सम्पन्न गर्न सकेन । त्यसयता पनि सरकारले उक्त निर्माण कम्पनीलाई पटक-पटक म्याद थपिदिने गरेको छ । सम्झौता शर्तबमोजिम आयोजना साढे दुई वर्ष पर धकेलिइसकेको छ ।

किन भइरहेको छ ढिलाइ ?

काठमाडौं उपत्यकाभित्र भूमिगत तार व्यवस्थापनमा ढिलाइ हुनुमा अन्तरसरकारी समन्वय अभाव मुख्य समस्या बनेको छ । भूमिगत विद्युतीय तार बिच्छ्याउन सडककै प्रयोग गर्नुपर्ने हुन्छ ।

तर, सडकका विभागबाट सडक खन्ने अनुमति आउन ढिलाइ हुनु, अन्य निकायसँग समन्वय नहुनु, कोरोना तथा काबु बाहिरको परिस्थितिलगायत विविध कारणले निर्माणमा ढिलाइ भएको प्राधिकरणका प्रवक्ता घोषले बताए ।

‘पहिलो त सडक विभागबाट सडक खन्ने अनुमति पाउनै मुस्किल छ । ढल, खानेपानी, दुरसञ्चारका निकायसँग पनि त्यति समन्वय नहुनु, नक्सा नपाइनु र उचित समन्वय समेत नहुँदा भूमिगत तार व्यवस्थापनमा केही ढिलाइ भएको देखिन्छ,’ उनले भने, ‘काठमाडौंका हकमा भौतिक प्रगति राम्रो नै छ ।’

काठमाडौं क्षेत्रमा तीनवटा छुट्टाछुट्टै ठेक्कामा भूमिगत तार व्यवस्थापनको काम भइरहेको छ । कुल सात अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माणको ढिलाइले लागत बढ्ने देखिएको छ ।

एसियाली विकाश बैंकको १५० मिलियन अमेरिकी डलर ऋणअन्तर्गत उक्त आयोजना कार्यान्वयनमा छ । सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने अवधि गुजारिसक्दा समेत आयोजना पूरा हुन सकेको छैन ।

भरतपुर र पोखरामा अन्तिम चरणमा

काठमाडौं उपत्यकाबाहिर पनि सरकारले भूमिगत तार व्यवस्थापनको काम अघि बढाएको थियो । जसमध्ये चितवनको भरतपुर र कास्कीको पोखरा शहरमा पनि भूमिगत विद्युतीय तार व्यवस्थापनको काम विगत दुई वर्षदेखि हुँदै आएको छ ।

प्राधिकरणका अनुसार, भरतपुर र पोखरामा भूमिगत तार बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । दुबै शहरमा गरी ४०० किलोमिटर तार भूमिगत गर्ने काम सकिएको हो ।

भरतपुर क्षेत्रमा भूमिगत तार व्यवस्थापनको काम ९० प्रतिशत र पोखरामा ८५ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यी दुई शहरमा तार भूमिगत गर्ने ठेक्का भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : ३५ बजे

पोखराबाट ८२ तोला अवैध सुनसहित दुई जना पक्राउ

पोखरा- पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई

रास्वपाको अवरोधबीच संसद् सञ्चालन गरिएकोप्रति माओवादीको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा