झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित « Khabarhub

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

झापा- झापा जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् ।

जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए । उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ ।

यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए । “धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ”, प्रमुख विष्टले भने, “त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन् । दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् ।”

अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् । उनले केराखेती प्रवद्र्धनका लागि ज्ञान केन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् । पालिकामा उहाँले गरेको केराखेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केराखेतीमा लागेका छन् ।

उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग गर्दै आएका छन् । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन् ।

स्थानीय २० जना युवायुवतीलाई रोजगार दिएका बस्नेतले वार्षिक रु एक करोडको केरा बिक्री गर्ने गरेको बताए । उनले धान, मकैलगायत अन्य बालीको तुलनामा केराखेतीबाट बढी लाभ हुने गरेको जानकारी दिए । “यही चालु आर्थिक वर्षभित्रमै केराको थामलाई प्रशोधन गर्ने कारखाना स्थापना गर्न रकम जम्मा गर्दैछु”, उनले भने, “चाँडै स्थापना गर्छु । यसो भयो भने जिल्लामा उत्पादित केरासँगै यसको थामले सबै किसानलाई लाभ दिन्छ ।”

उनले झापा गाउँपालिकाले केराखेतीलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने हो भने यसको प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरे । उनी भर्खर भारतको महाराष्ट्रमा आयोजित १० दिने ‘जैन डिप स्प्रिङ्कल सिँचाइ’ प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।

यसैगरी, श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए । उनले भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : २३ बजे

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’