‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा « Khabarhub

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

पोखरा- उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन्। लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा छन् । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गरे ।

लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरुले पुर्ख्यौली गाउँमा गरेका हुन् । छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुर्ख्यौली परम्परा र संस्कृति रहेको छ ।

यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुर्ख्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुर्ख्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उनका ठूलोबुबा कृष्ण छन्त्यालले बताए ।

“हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियौँ, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ”, उनले भने । पुर्पुरोका अवसरमा पुर्ख्यौली समूहले नाचगान गर्ने र स्थानीय आमासमूह र युवाक्लबले स्वागत र सम्मान गर्ने चलन रहेको छ ।

पुर्पुरोका समयमा पुर्ख्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्नेगरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरु गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको गरेको छन्त्याल परिवारको भनाइ छ । लिएनको पुर्पुरोमा घरपरिवारबाट र अन्य आफन्तबाट रु दुई लाख चार हजार पाँच सय सहयोग जुटेको धवलागिरि गाउँपालिका–५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिए ।

उहाँले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिए । विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुर्ख्यौली थलोमै फर्कने परम्परा बनेको छ ।

मलम्पारका अधिकांश घरबाट वैदेशिक रोजगारमा गएका छन् भने धेरैले गाउँदेखि सहरतर्फ बसाइँ सार्न थालेका छन् । दुर्गम गाउँका रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेका आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाहलगायत संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताए ।

यस गाउँबाट बेनी, पोखरा, काठमाडौँ, बुटवललगायतका सहरी क्षेत्रमा बसाइँसराइ गरेका संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यमा राहत हुने गरेको छ । यहाँका हरेक व्यक्तिले आफ्नो मनोकाङ्क्षाका लागि मालिकालगायत शक्तिपिठको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेका पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय विष्णुमाया घरब्जा बताउँछन्  ।

पुर्पुरोको दिनमा पुर्ख्यौली समूहले गीत र नाचबाटै आशिष दिने भएकाले यस दिन देखाउने पुर्ख्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलनसमेत रहेको छ । दिनभर सारेठी भाकामा नाच देखाउने पुर्ख्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन दिने गरिन्छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ५५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार