मधेसमा सिके राउतलाई पछ्याउँदै प्रभु शाह  | Khabarhub Khabarhub

मधेसमा सिके राउतलाई पछ्याउँदै प्रभु शाह 



काठमाडौं– जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको तराई मधेसमा राजनीतिको नयाँ ध्रुवीकरण देखा पर्न थालेको छ । पहाडमा कांग्रेस एमाले र माओवादीको विकल्पका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई स्थापित गर्ने प्रयास गरिरहेका बेला गत चुनावमा मधेसबाट सिके राउतको नेतृत्वमा जनमत पार्टी उदय भयो । 

यससँगै अहिले मधेसमा माओवादी र एमालेको नाडी छामिसकेका सांसद प्रभु साहले नयाँ पार्टीको बिऊ रोपिरहेका छन् ।  

 पूर्वमाओवादी नेता एवं नेकपा एमालेबाट विद्रोह गरेर आम जनता पार्टी गठन गरेका प्रभु शाह यतिखेर मधेसमा शक्ति आर्जनको प्रयासमा छन् । आइटी आर्मीसमेत बनाएर भ्रष्टाचारविरोधी अभियान थालेका साहले आफ्नो उपस्थिति देखाउन विहीबार मधेस बन्दको समेत घोषणा गरेका थिए । 

को हुन् प्रभु साह ?

जनयुद्धकालदेखि नै नेकपा माओवादीमा आवद्ध रहेका प्रभु साह २०६४ को पहिलो संविधानसभामा रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । माओवादीबाट ११ हजार मत ल्याएर जित्दा उनको क्षेत्रमा मधेसी जनअधिकार फोरमले १० हजार, कांग्रेसले ४ हजार र एमालेले ३ हजार मत पाएका थिए । 

दोस्रो संविधानसभाको चुनाव २०७० मा माओवादी पार्टी देशैभरिबाट खस्किएका बेला प्रभु साहले झनै लोकप्रिय मत लाएर रौतहट ३ बाट जिते । त्यसबेला उनले १३ हजार मत पाएका थिए भने कांग्रेस र एमाले क्रमशः ४ हजार र तीन हजार मतमै खुम्चिएका थिए ।

तत्कालीन माओवादी नेता प्रभु साह ०७४ सालको चुनावमा झनै लोकप्रिय देखिए । सो चुनावमा उनले माओवादीका तर्फबाट २७ हजार मत ल्याए भने कांग्रेसले १८ हजार र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १४ हजार मत पाए । यो चुनावमा माओवादी र एमालेबीच तालमेल भएकाले पनि साहको मत पहिलेभन्दा दोब्बर आएको हो ।

तर, साह एमालेबाट नउठेर स्वतन्त्ररूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन रौतहट ३ बाट उठे । शाहको योगदान र  प्रभाव राम्रो भएकाले उनले ३२ हजार ४३ सय ७५ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भए । 

प्रभु साह आफ्नो निर्वाचन क्षेत्रमा कति लोकप्रिय छन् भन्ने तथ्य ०७९ को चुनावले पनि स्पष्ट पार्छ ।

बालकोटमा केपी शर्मा ओलीलाई भेटेर नेकपा एमालेको टिकट लिएर जिल्लातिर लागेका साहले एमालेलाई ‘धोका’ दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गरे । सो क्षेत्रमा एमाले उम्मेदवारविहीन बन्यो । कांग्रेसले माओवादी केन्द्रका रवीन्द्र पटेललाई सघायो ।

देशैभरि स्वतन्त्रको लहर चलेका बेला  अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश पनि प्रभु साहविरुद्ध खडा भए । नागरिक उन्मुक्ति र जनमत पार्टीले पनि रौतहट ३ मा आ–आफ्नै उम्मेदवार उठाएका थिए । तर, यति हुँदा पनि चापाकल चुनाव चिन्ह लिएर उठेका प्रभु साह गठबन्धनलाई हराउँदै विजयी बने । अहिले उनी प्रतिनिधिसभा सदस्य छन् ।

०६४ देखि लगातार रुपमा प्रत्यक्ष चुनाव जित्दै आएका साह तीनपटक माओवादीबाट र एकपटक स्वतन्त्रबाट विजयी बनेका हुन् । माओवादीमा हुँदा उनले शहरी विकास लगायतका मन्त्रालयको पनि जिम्मेवारी सम्हालिसकेका छन् । 

नेकपा फुटेपछि एमालेतिर

मधेसमा माओवादीका लोकप्रिय नेता मानिने प्रभु साह नेकपा फुटेपछि प्रचण्डतिर नगई नेकपा एमालेतिर लागे । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, ज्वालाकुमारी साह, गौरीशंकर चौधरी, लगायतको टोलीसँगै प्रभु साह पनि एमालेमै रहे ।

यसबीचमा माओवादी पार्टीले प्रभु साहसहित आफ्ना ४ सांसदलाई कारवाही गर्‍यो । साहलाई मात्र होइन, रौतहटको मौलापुर नगरपालिका प्रमुख रहेकी उनकी पत्नीलाई समेत माओवादीले कारवाही गर्‍यो

तर, ०७९ मा श्रीमान प्रतिनिधिसभामा निर्वाचित भइछाडे भने श्रीमती रिनाकुमारी साहले पनि एमालेमा रहेका बेला मौलापुर नगरपालिकाको मेयर पदमा जितिन् । रिना अहिले पनि स्थानीय जनप्रतिनिधि छन् । एमालेले उनलाई हटाए पनि अदालतले पुनर्स्थापित गरिदिएको छ ।

स्वतन्त्र सांसद प्रभु साहले भने ०७९ को चुनावपछि ‘आम जनता पार्टी’ गठन गरेका छन् । अहिले सो पार्टीले आन्दोलनको बलमा मधेसमा आफूलाई स्थापित गर्ने रणनीति लिएको देखिन्छ ।

प्रभु साहलाई नजिकबाट चिन्ने एमाले सचिवालयका एक नेताले खबरहबसँग भने, ‘प्रभुजी राजनीतिका चतुर खेलाडी हुन् । उनी उपेन्द्र यादव र महन्त ठाकुर विरुद्ध आफूलाई उभ्याउने दाउमा छन् ।’

उपेन्द्र यादवसँग टकराव

मधेसी दल खोलेर निरन्तर १५ वर्षदेखि मधेसको राजनीतिमा छाइरहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रभु साहको टकराब पर्दै आएको छ । यसको खास कारण गौर हत्याकाण्डलाई लिने गरिन्छ । 

माओवादी भर्खरै शान्ति प्रक्रियामा आएका बेला ०६३ चैत ७ गते रौतहटको गौर बजारमा माओवादीको सभामाथि सांघातिक आक्रमण भएको थियो । उक्त घटनामा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । यो घटनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र रामकुमार शर्मासहित १३० जनामाथि कारबाहीको माग गर्दै प्रभु शाहले नै प्रशासनमा जाहेरी दिएका थिए । रामकुमार शर्मा पछि माओवादीमै लागे ।

स्थानीय राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै स्थानमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो । त्यहीँदेखि उपेन्द्र यादवविरुद्ध प्रभु साहको खनिने गरेका हुन् । यो हत्याकाण्डमा उपेन्द्रको हात रहेको प्रभु साहको आरोप छ । तर, उपेन्द्रले भने त्यसलाई दोहोरो झडप बताउँदै आएका छन् ।

त्यसो त सिके राउत र उपेन्द्र यादवको पनि सम्बन्ध राम्रो छैन । यसैक्रममा प्रमुख साहले सिके राउतको भने कमै आलोचना गर्ने गरेको देखिन्छ । राउतले पनि साहको खासै विरोध गरेको सुनिँदैन ।

मधेसमा जनमत पार्टी खोलेर शक्ति आर्जन गरेका सिके राउतको पदचाप पछ्याउँदै प्रभुले पनि शक्ति आर्जनको प्रयास थालेका छन् ।
राउतबारे साह भन्छन्, ‘युवाले अब लोकतन्त्रको पक्षमा आवाज उठाउनुपर्ने छ । नयाँ पुस्ताले यसको नेतृत्व गर्नुपर्छ ।’ 

प्रभु साह आफूलाई वामपन्थी बताउँछन् । मधेसमा कम्युनिस्ट शक्ति बढाउने उनको रणनीति छ । तथापि, एमाले र माओवादी दुबै दलले विद्रोही नेता प्रभु साहको शक्ति विस्तार योजनालाई रुचाएको देखिँदैन ।   

अहिले मधेसमा जसपाको नेतृत्वमा सरकार चलिरहेको छ । सिके राउत भर्खरै सरकारबाट बाहिरिएका छन् । प्रभु साह पनि मधेस सरकारको खिलाफमा छन् ।

मधेस प्रदेश सरकार कहिले ओलीको आशीर्वादले त कहिले शेरबहादुर देउवाको आर्शीवादले चलेको बताउँदै साह भन्छन्, ‘ओली र देउवाको आशीर्वादले मधेसको भलाइ गर्दैन?’ 

कति सहज छ प्रभुलाई शक्ति आर्जन ? 

माओवादी र एमालेमा रहँदा प्रभु साहसँगै काम गरेका तर अहिले एमालेमा निष्क्रिय रहेका वामनेता मणि थापाका अनुसार प्रभु शाहलाई मधेसमा शक्ति आर्जन गर्न सहज छ । उनले पटक–पटक मधेसका लागि सङ्घर्ष गरिरहेकाले उनको प्रभाव पनि मधेसमा राम्रै रहेको थापा बताउँछन् । 

थापाले खबरहबसँग भने, ‘मधेसमा उहाँ लोकप्रिय नै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र र मधेस प्रदेशमा सकारात्मक काम गर्नुभएको छ । ०८४ को निर्वाचनमा उहाँको पार्टीको उचाइ केही हदसम्म माथि आउने देखिन्छ ।’ 

साहले मधेसमा युवा दस्ता ‘आइटी आर्मी’ समेत खडा गरेका छन् । युवा एवं माओवादी जनयुद्धबाट उदाएको नेता भएकाले प्रभुलाई मधेसमा शक्ति आर्जनका लागि समस्या नभएको थापाको बुझाइ छ ।

भ्रष्टाचारविरोधी नारा
साहले भ्रष्टाचार विरोधी अभियानलाई आफ्नो तत्कालीन नारा बनाएका छन् । उनी आफूले राजनीतिक जीवनमा मधेस र मधेसी जनताको पक्षमा काम  गरेकाले अब नयाँ सोच र भिजनका न साथ अगाडि बढ्ने बताउँछन् । 

उनी मधेसका पुराना नेताहरूले मधेसी दलका नाममा पहाडीको विरोध गरेजस्तो गरेर देशलाई बन्धक बनाएको बताउँछन् । शाह अहिले मधेसलाई मात्र नभएर देशलाई नै राजनीतिक सेन्टर बनाएर अघि बढ्ने सोचाइमा रहेको बताउँछन् । जनतालाई केन्द्र मानेर हिँडेको उनको दाबी छ । 

साहले विभिन्न अभियान चलाएर जनतालाई आफ्नो पक्षमा  परिचालन गरिरहेको बताए । उनले भने, ‘मधेस अन्य प्रदेशको तुलनामा धेरै पीडामा भएको प्रदेश हो । अहिले देशलाई पनि संकटबाट बचाउनुपर्ने दायित्व छ  । मधेसमा भ्रष्टाचार व्याप्त छ ।’

साह भन्छन्, ‘हाम्रो पार्टी ०८४ को निर्वाचनमा छुट्टै पोजिसनमा हुन्छ । यो आम जनताको पार्टी हो ।’

याे पनि-

रिना साह प्रकरण : पतिले एमाले छाड्दा पत्नीलाई कारबाही ?

मधेसमा किन परिरहन्छ उपेन्द्र र सिकेबीच झगडा ?

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ४० बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार