झापा– सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।
मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६० बिगाहा जमिन पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालासँग आज भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।
विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीहरूलाई निर्धक्क काम गर्न आग्रह गर्दै राजनीतिक दलबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।
पालिकाका प्रमुख गोपाल बुढाथोकीले नगर क्षेत्रमा रहेको आवास कम्पनी मातहतको जग्गासम्बन्धी तथ्यांक सहितको फायल मन्त्री गुरुङलाई हस्तान्तरण गरे। उनले चाँडोभन्दा चाँडो जग्गाको समस्या समाधानका निम्ति आग्रह पनि गरे ।
प्रतिक्रिया