ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए? | Khabarhub Khabarhub

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

प्रचण्ड र ओली दुवैसँग ढुक्क हुने अवस्थामा छैनन् नेपाल



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेपछि पुष्कपमल दाहाल प्रचण्डसँग सहयात्रा थालेका माधवकुमार नेपालले उनै प्रचण्डबाट दुई पटक धोका पाइसके ।

तत्कालीन नेकपा हुँदा भएको दुई लाइन संघर्षका क्रममा ओलीलाई एक्ल्याउन यी दुई नेता एकै ठाउँ उभिएका थिए । तर, एमालेबाट विद्रोह गरेर नयाँ पार्टी खोलेका नेपालले प्रचण्डबाट २०७९ पुस १० र २०८० फागुन २१ गते दुईपटक धोका पाए ।

ओलीविरुद्धको संघर्षमा प्रचण्डलाई दह्रो साथ दिएका नेपाललाई यी दुई धोकाले झस्काएको छ । प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन फेरेर एमालेसँग मिल्दा अध्यक्ष नेपाललाई दुवै पटक सोधेनन् ।

अघिल्लो वर्ष पुस १० मा खुमलटारबाट बालकोट पुगेर ओलीसँग प्रचण्डले गला मिलाउँदा नेपालले चक्मा खाए । भर्खरै बनेको पार्टीले राष्ट्रिय मान्यता नपाएर तनावमा रहेका नेपालका लागि प्रचण्डको पहिलो धोका ठूलो झट्का थियो । तर उनलाई तीन महिनामै राहत मिल्यो । २०७९ फागुनमा कांग्रेससँगको गठबन्धन फर्किएपछि नेपालको तनाव केही कम भयो ।

एमाले र ओलीविरुद्धको संघर्षमा एकै ठाउँ उभिएको कांग्रेसँगको सहयात्रा गत फागुन २१ गते ब्रेक हुँदा पनि प्रचण्डले नेपाललाई अर्को चक्मा दिए ।

फागुन २१ गते एमाले र माओवादीसहित चार दलले ८ बुँदे सहमतिमा हस्ताक्षर गर्दै गर्दा अध्यक्ष नेपाल बिलखबन्दमा थिए । तर, नयाँ सत्ता समीकरण बलियो बनाउन ओली र प्रचण्डलाई बलियो मत जरुरी थियो । फागुन २१ गते चार दलले गरको ८ बुँदे सहमतिमा माधव नेपालको हस्ताक्षर छैन ।

आफूलाई धोका दिएको भन्दै प्रचण्डसँग बिच्किएका नेपाललाई फकाउन तीन वर्षदेखिको तिक्तता बिर्सिएर अध्यक्ष ओली कोटेश्ववर पुगे । महासचिव शंकर पोखरेल उपाध्यक्ष विष्णु पौडेललाई पनि लिएर कोटेश्वर पुगेका ओली र नेपालबीच विगतको समीक्षा गर्दै सहकार्य अघि बढाउने सहमति जुट्यो ।

ओली र प्रचण्डले अघिल्लो दिन बनेको नयाँ समीकरणमा मिसिएर बढ्ने प्रस्तावलाई एक दिन कुराएर जवाफ दिएका नेपालले नयाँ सरकारमा मन्त्री पठाउने निर्णय नै गरे ।

त्यसँगै अध्यक्ष नेपालले ओलीसँगको विगतको तिक्ता र प्रचण्डको धोका दुवैलाई भुलेर कम्युनिस्ट शक्तिबीच एकता हुनुपर्ने अपेक्षासहित नयाँ समीकरणमा मिसिए ।

त्यसपछि फागुन २९ गते एकीकृत समाजवादी अध्यक्ष नेपालसमेतको हस्ताक्षरमा ५ दलले ७ बुँदे संयुक्त वक्तव्य निकाले । अनौठो के थियो भने फागुन २१ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले निकालेको ८ बुँदे वक्तव्यबाट एउटा बुँदा हटाइएको थियो ।

फागुन २१ मा राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने उल्लेख गरिएको थियो । तर फागुन २९ मा ७ बुँदामा झरेको वक्तव्यबाट एमालेको भागमा परेको राष्ट्रिय सभा उपाध्यक्षको प्रसंग गायब गरियो । त्यसको कारण थियो राष्ट्रिय सभाको उपाध्यक्ष पद एकीकृत समाजवादीलाई दिने आश्वासन ।

नेपालको उत्साह

एमाले र ओलीविरुद्ध प्रचण्ड र कांग्रेस सभापति शेरबहादु देउवाको साथ लिएर ३ वर्षसम्म संघर्ष गरेका नेपाल फागुन २९ को उक्त सहमतिपछि एकाएक उत्साहित भए ।

फागुन २२ मा दोस्रो तहका नेतासहित ओलीको कोटेश्वर आगमन र फागुन २९ को ७ बुँदे सहमतिपछि अब एमालेसँग एकता हुने प्रक्रिया नै अघि बढेको निष्कर्ष नेपालले फागुन ३० मा सुनाए ।

८ मार्चको अवसर पारेर फागुन ३० मा समाजवादीको भ्रातृसंगठन अनेमसंघले काठमाडौं क्षेत्र नम्बर २ कै जहरसिंहपौवामा वनभोज कार्यक्रम राखेको थियो ।

उक्त वनभोज कार्यक्रममा अध्यक्ष नेपालले घोषणा गरे, ‘ओलीसँग मेरो धेरै कुरा मिलेको छ, अब पार्टी एकता हुन सक्छ।’

उनले त्यहाँ ओलीसँग ६० प्रतिशतभन्दा धेरै कुरा मिलेको निष्कर्ष नै सुनाउँदा सम्मानित नेता झलनाथ खनालसहित नेता कार्यकर्ताहरू चकित परेका थिए ।

ओलीसँगको शक्ति संघर्षमा सबैभन्दा कडा रुपमा प्रस्तुत हुने नेपालको त्यसदिनको प्रस्तुतिलाई उनकै सचिवालयका सदस्यहरूले अस्वभाविक भनेका छन् ।

फागुन २२ मा भएको कोटेश्वर वार्तापछि ओली र नेपालबीच एक पटक एक्ला एक्लै वार्ता भएको थियो ।

स‌ंसदमा गफिँदै केपी शर्मा ओली र माधव कुमार नेपाल

तर उक्त वार्तामा भएको प्रगतिबारे दुवै पक्षले खुला रुपमा केही टिप्पणी गरेका छैनन् । ‘प्रचण्डसहित कोटेश्वरमा आएयता ओली र नेपालबीच एक पटक वार्ता भएको छ’, नेपालको सचिवालयका एकजना सदस्यले भने, ‘तर, उक्त वार्ता पार्टी एकता नै गर्ने गरी अघि बढेको भन्ने लाग्दैन । जहरसिंहपौवामा अध्यक्ष नेपालले एमालेसँग एकता नै अघि बढेको निष्कर्ष सुनाउँदा त्यहाँ उपस्थित अधिकांशलाई विश्वास लागेको थिएन ।’

अर्कातिर अध्यक्ष नेपाल दुई पटकसम्म भएको संसद् विघटनपछि छिन्नभिन्न बनेको कम्युनिस्ट शक्ति मिल्ने आशमा देखिन्थे । आफ्नो पार्टीले पनि राष्ट्रिय मान्यता नपाएको अवस्थामा दबाब महसुस गरिरहेका उनले फागुन २१ पछि कोर्ष करेक्सन हुने विश्वासका आधारमा नयाँ गठबन्धनमा जोडिएका थिए ।

समाजवादीका एकजना केन्द्रीय सदस्य अशेष घिमिरे विगतमा संसद् विघटन र नेकपा विभाजनबाट उत्पन्न संकट टार्ने गरी कोर्ष करेक्सनको विश्वासमा यो गठबन्धनमा मिसिएको बताउँछन ।

‘विगतमा संसद् विघटन र नेकपा विभाजनबाट उत्पन्न विषम परिस्थितिबाट कोर्ष करेक्सनको थालनी गर्न सकिन्छ भनेर हामी यो गठबन्धनमा आएका हौँ’, उनी भन्छन्, ‘वाम शक्तिहरूको ध्रुवीकरणको पुन: प्रयत्न हुने र हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसो गरेर देशलाई राजनीतिक स्थिरता दिने प्रयत्न गर्नुपर्छ ।’

किन बिच्किए नेपाल ?

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा प्रचण्डको सत्ताको सुरक्षा कवचका रुपमा अध्यक्ष नेपाललाई प्रयोग गरिएको बताउँछन् ।

‘फागुन २१ मा बनेको गठबन्धनलाई हाम्रो १० सिट अतिआवश्यक थियो । प्रचण्डले अध्यक्ष नेपालसँग एक वचन नसोधी कांग्रेससँगको गठबन्धन ब्रेक गर्नुभयो’, उनले भने ‘तर, जब नयाँ गठबन्धनमा हामी मिसियौँ अध्यक्ष नेपाललई विस्तारै पेल्ने काम ओली र प्रचण्डबाट भएको छ ।’

कांग्रेसको गठबन्धन ब्रेक भएपछि एक्लिएका नेपाललाई नयाँ समीकरणमा ल्याउने क्रममा दुई नेताले दिएको आश्वासन पूरा गर्नुको साटो पेल्न थालेको महसुस गरेका छन् ।

‘फागुन २२ मा कोटेश्वरमा भएको वार्तामा दुई नेताले अध्यक्ष नेपाललाई तीनजना मिलेर अघि बढ्ने वचन दिएका थिए । आफूखुसी नयाँ समीकरणको निर्णय गरेपछि सरकारको बहुमत बलियो बनाउन उनीहरू कोटेश्वर पुगेका थिए’, नेपालनिकट एक नेताले भने, ‘कोटेश्वरमा लिखित समझदारी त भएको थिएन। तर प्रचण्ड र केपी ओली मिलेर माधव नेपललाई अहिले फस्ल्याङ फुस्लुङ बनाइरहेका छन् । दुईजना बसेर आफूखुसी अघि बढ्दैछन् ।’

फागुन २९ को ७ बुँदे सहमतिका बेला पनि अध्यक्ष नेपालको नाम पाँचौँ नम्बरमा राखिएको थियो । तर उनले असन्तुष्टि जनाएपछि ओली र प्रचण्डपछि राखेर संयुक्त वक्तव्य आएको थियो ।

‘फागुन २९ को ७ बुँदेमा पनि माधव नेपालको नाम सबैभन्दा पछाडि जबर्जस्ती थपे जस्तो थियो । चौथो सकेर पाँचौँ नम्बरमा राखिएको थियो’, उपमहासचिव खतिवडाले भने, ‘तर विरोध गरेपछि तीन नम्बरमा सारियो ओली र प्रचण्डपछि। त्यतिबेलैदेखि अध्यक्ष नेपाललाई अपमान गर्न खोजियो ।’

फागुन २९ मा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेलाई दिने फागुन २१ को सहमतिलाई हटायो । त्यसबेला ओली र प्रचण्डले उपाध्यक्ष पद समाजवादीलाई दिने आश्वासन दिएको दाबी नेपालले गर्दै आएका छन् । त्यहीअनुसार उपाध्यक्ष पदमा गरिमा शाहलाई अघि सार्नेगरी समाजवादीले पहल थाल्यो । तर चैत २८ गते भएको निर्वाचनमा एमालेले विमला घिमिरेलाई अघि सार्‍यो। त्यही निर्वाचनबाट एमालेविरोधी तीन वर्ष लामो कित्ता छाडेर समाजवादीले घिमिरेलाई मतदान गर्‍यो ।

‘राष्ट्रिय सभा उपाध्यक्ष हामीलाई दिउँला दिउँला जस्तो गरेर दुवै नेताले मिठो बोले’, खतिवडा भन्छन्, ‘तर त्यहाँबाट वाचा पूरा नगरेर अर्को शंका उत्पन्न गराए ।’

ओली र प्रचण्डसँग नेपाल बिच्किनुको अर्को कारण हो सुदूरपश्चिम प्रदेश सरकार । जहाँ नागरिक उन्मुक्ति दुई पक्षमा विभक्त थियो । यस्तोमा ओली र प्रचण्डले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री समाजवादीलाई दिने सहमति गरिसकेका थिए । तर सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पहिले मुख्यमन्त्री दाबी गर्‍यो । एकीकृत समाजवादी र उन्मुक्तिले आलोपालो गर्ने भनिएको उक्त प्रदेशमा सोडारीलाई रोक्न ओलीले चलखेल गरेको गुनासो नेपालले गरेका छन् ।

तत्कालीन नेकपा हुँदा सोडारीलाई ओलीले मन्त्रीबाट बर्खास्त गरेका थिए । सांस्कृतिक विचलनसहितका आरोप लागेपछि बर्खास्त गरिएका सोडारीलाई मुख्यमन्त्रीमा देख्न चाहँदैन थिए ओली । त्यहीकारण उनले समाजवादीमा खेलेर अर्कैलाई मुख्यमन्त्रीमा ल्याउन खोजेको आरोप नेपालले लगाएका छन् ।

सुदूरपश्चिममा दीर्घ सोढारीलाई पनि रोक्न खोजिएको थाहा पाएपछि समाजवादीले त्यहाँ दाबी नै छाड्ने निर्णय गरेको थियो ।

तर ओली र प्रचण्ड मुख्यमन्त्री दिन राजी नभएपछि नेपाल रातारात बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे । देउवालाई भेटेसँगै कांग्रेस र समाजवादीले सुदूरपश्चिममा रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई समर्थनसहित अघि सारे ।

तर, गठबन्धन बनेको केही महिनामै भत्किने खतरा देखेपछि ओली र प्रचण्ड दुवैले सोडारीलाई मुख्यमन्त्री बनाउन तयार भएको खबर नेपाललाई दिए । उक्त खबरलगत्तै नेपालले सुदूरपश्चिम प्रदेशका नेतालाई चौधरीलाई दिएको समर्थन फिर्ता लिन लगाए । त्यो निर्णयपछि सोडारी मुख्यमन्त्री बन्ने बाटो खुल्यो । उनी एमालेसहितको समर्थनमा मुख्यमन्त्री पनि बने । तर अहिलेसम्म एमालेले मन्त्री भने पठाएको छैन ।

अध्यक्ष नेपालले आफूलाई हेपेको महसुस बागमती प्रकरणमा पनि गरेका छन् । बागमतीमा समाजवादी सांसद रमा आले मगरका कारण राजनीति रोचक भयो। मुख्यमन्त्री कट्टेलले विश्वासको मत लिने दिन चैत १९ गते समाजवादी सांसद आलेमगर अन्तिमसम्म बागमती प्रदेशसभामा झुल्किनन् ।

अन्तत: मुख्यमन्त्री कट्टेल उनलाई मन्त्री बनाउन तयार भए । उनी मन्त्री त भइन् तर अझैसम्म विनाविभागीय छिन् । ‘हाम्रो अपमान हुन थालेपछि सांसद आलेमगरलाई रोकेर राखेका थियौँ तर भौतिक योजन मन्त्री बनाउने भनिएपछि विश्वासको मत दिन पठायौँ’, नेपालनिकट एक नेता भन्छन्, ‘मन्त्री बनाइदिए तर अझै मन्त्रालय दिइएको छैन। बागमतीमा जुनसुकै बेला रमाले विद्रोह गर्न सक्ने जोखिम छ ।’

उता लुम्बिनीमा पनि समाजवादीकी एक मात्रै सांसद भगवती घिमिरेलाई मन्त्री बनाउन संघर्ष गर्नुपरेको नेपालले बुझेका छन् । पटक पटक झगडा गरेर मात्रै घिमिरेलाई मन्त्री बनाउन सकिएको अवस्थालाई पनि नेपालले आफूलाई हेपेको रुपमा बुझेको उनीनिकट नेताहरूको तर्क छ ।

उपमहासचिव खतिवडा यो गठबन्धनमा सहभागी हुनु राजनीतिक रुपमा उचित नभएको बताउँछन् । ‘गठबन्धनमा मिसिए पनि हामी सरकारमा जानु हुँदैनथ्यो । सरकारमा गएर गलत भयो’, उनको तर्क छ, ‘सरकारमा गएपछि समस्या सुरु भयो, हामीलाई हेप्न थालियो । सरकारलाई समर्थन गरिसकेकाले अर्को समीकरण तत्कालै बन्न सक्दैन । कांग्रेससँग पनि अर्को समीकरणका लागि संख्या छैन ।’

तर, खतिवडाले यदि माधव नेपाल प्रधानमन्त्री बन्ने अवस्था भएमा समाजवादी अर्को गठबन्धनमा मिसिन सक्ने बताए । ‘गठबन्धन बन्नुअघि कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव ल्याएको थियो’, खतिवडाले भने, ‘तर कांग्रेससँग भरोस गर्न ऊसँग संख्या थिए । जुन अहिले पनि ऊसँग छैन । यदि संख्या पुगेर प्रधानमन्त्री बन्ने अवस्था आए समाजवादी यो गठबन्धनबाट बाहिरिन्छ ।’

त्यहीकारण अझै पनि अध्यक्ष नेपाल केही नेताका विगतका ट्रयाक रेकर्ड हेर्दा विश्वस्त हुने अवस्थामा नरहेको तर्क केन्द्रीय सदस्य घिमिरे गर्छन् ।

 

‘विगतका केही अनुभव र केही राजनीतिक नेतृ्त्वको ट्रायक रेकर्ड हेर्दा नयाँ समीकरण राजनीतिक सत्तासॅंग मात्र जोडिएको चालबाजी पनि हुनसक्छ भन्ने प्रशस्त ठाउँ’, उनले थपे, ‘यसो हो भने यो देशका लागि अस्थिरताको कारण पनि बन्न सक्छ । तसर्थ विश्वाससँगै हामी सचेत भएर अघि बढ्नु जरुरी छ ।’

‌ओली र प्रचण्डको मात्रै आफू भर नपरेको त्यही सन्देश दिन नेपाल चैत १० गते ललितपुरको गोदावरीमा आयोजित नेकपा स्थापना दिवस कार्यक्रममा सहभागी भएनन् । समाजवादीका सम्मानित नेता झलनाथ खनालसमेत उपस्थित कार्यक्रम छल्न महत्वपूर्ण भेटघाट भन्दै धुलिखेलस्थित एक रिसोर्टमा गएर बसिसदिए ।

तर, गोदावरीको कार्यक्रम छलेर धुलिखेल पुगेका उनको त्यहाँ कुनै कार्यक्रम थिएन । उनले त्यसो गरेर आफू ओली र प्रचण्डको पछि लागेर हिँडिरहनु पर्ने पक्षमा नरहेको सन्देश दिन खोजेको उनको सचिवालयका एक सदस्यले बताए ।

च्यासलमा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा नेता नेपालले कसैका धाकधम्की, गालीगलौज सुन्न राजनीतिमा नआएको बताउँदै वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको उल्लेख गरे । उनले गठबन्धन तलमाथि हुनसक्ने आशंका पनि गरे ।

त्यसअघि वैशाख १८ गते रौतहटको गौर नगरपालिका-२ को लालबकैया नदीमा झोलुङ्गे पुल उद्घाटन गर्दै उनले आफूलाई अपमान गरिए उथलपुथल गरिदिने चेतवानी दिए । आफूले पटकपटक राजा महाराजादेखि हस्ती नेताको सामना गरेको बताउँदै आफूलाई कमजोर नसम्झन ओली र प्रचण्डलाई नेता नेपालले चेतावनी दिएका थिए ।

‘उहाँ अहिले ओली र प्रचण्ड दुवैसँग ढुक्कले विश्वस्त हुने अवस्थामा हुनु हुन्न । दुई नेता मात्रै बसेर निर्णय गरिरहे आफूले विद्रोहको चेतावनी वैशाख १० गते च्यासल पुगेरै दिइसक्नु भएको छ’, नेपालनिकट अर्का नेता भन्छन्, ‘गठबन्धनका हरेक निर्णयमा सम्मानजनक उपस्थिति उहाँले खोज्नु भएको हो । ओली र प्रचण्डको मात्रै निर्णय स्वीकार्ने मुडमा उहाँ हुनु हुन्न।’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ०७ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव