गौशाला २६ ले भनिन्- त्रासरहित र शान्तिपूर्ण जीवन जिउन चाहन्छु | Khabarhub Khabarhub

गौशाला २६ ले भनिन्- त्रासरहित र शान्तिपूर्ण जीवन जिउन चाहन्छु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले आफू शान्तिपूर्ण र त्रासरहित जीवन जिउन पाउने पक्षमा रहेको बताएकी छन् ।

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने जनाउँदै यस्तो बताएकी हुन् ।

गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ दिने गरी गरेको फैसालविरुद्ध सर्वोच्च नजाने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा शुक्रबार निवेदन दिएकी हुन् ।

उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता एवम् प्रवक्ता धर्मअवतार कोइरालाले निवेदन आएको बताएका छन् ।

गौशाला २६ ले सन्दीपविरुद्धको मुद्दाका कारण अनेक तनाव भोग्नु्परेको बताएकी छन् । ‘यस मुद्दा दर्ता भए लगत्तैदेखि मेरो मानसिक एवम् सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीको भ्रमपूर्ण खबर र म माथि दबाब फैलाउँदै आएका थिए’, उनले निवेदनमा भनेकी छन् ।

उनले आफ्नो सामाजिक जीवनमा परेको असरको फाइदा अरुले उठाएको बताएकी छन् । ‘मेरो मानसिक एवम् सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीको भ्रमपूर्ण खबर र म माथि दबाब फैलाउँदै आएका थिए’, उनले भनेकी छन् ।

यस्तो छ निवेदनको ब्यहोरा

उपर्युक्त सम्बन्धमा नेपाल सरकार वादी रही क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको फैसलालाई बदर गर्दै प्रतिवादी सन्दीप लामिछानेलाई सफाई दिइएको आधारसहितको फैसलाको पूर्णपाठ म उक्त घटनाका पीडित गौशाला २६ ले पढी पाएँ। यस मुद्दा दर्ता भए लगत्तैदेखि मेरो मानसिक एवम् सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीको भ्रमपूर्ण खबर र म माथि दबाब फैलाउँदै आएका थिए । लामो समयदेखि उक्त घटनाको काराण म त्रासपूर्ण जीवन बाँच्दै आएको छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ । सम्माननीय अदालतले आफ्नो फैसलामा लिएका आधारलाई सम्मान गर्दै आफ्नो त्रासरहित एमव् शान्तिपूर्ण जीवन जिउनु मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अघि नबढाउनु हुन निवेदन गर्दछु ।

के थियो उच्चको फैसला ? 

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठमा सन्दीपविरुद्धका अभियोगका आधार र प्रमाण नपुगेको उल्लेख थियो ।

उच्च अदालत पाटनले सन्दीपविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको थियो । गत ४ साउनमा सार्वजनिक पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ।

‘आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौं इन होटलका सेक्युरिटी गार्ड राजन राणाले गरेको वकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरुबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन आएन’, उच्च अदालतले भनेको छ ।

फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ। त्यस्तै, उमेर पुगेका व्यक्तिबीच जबर्जस्ती करणीको १ नं. विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासले ठहर गरेको छ ।

‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन’, अगाडि भनिएको छ ।

प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि पीडित वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख छ। अदालतले मिसिल संलग्न सिसिटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौं होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्‍याउँदाका अवस्थासम्मका घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर अदालतले गरेको छ ।

‘प्रतिवादीलाई पीडित बालक ठहर गरी जबर्जस्ती करणी गरेको ठहर्‍याइ काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन’, फैसलामा भनिएको छ ।

पीडित आफैँले प्रतिवादीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएको, प्रतिवादीलाई ‘स्न्याप च्याट’ मार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गई दुई महिनापछि फर्केर आएर भेट्नेभन्दा पीडितले मलाई सहयोग गर्नुपर्‍यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले लामिछानेमाथि जबर्जस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा अदातलले ब्याख्या गरेको छ ।

लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित चढेको, नगरकोट जाँदा पीडितले प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाऊँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बेला खुल्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी (सन्दीप) ले ‘बुक’ गराएको तथ्य पुष्टि नभएको जस्ता आधारमा अदालतले सन्दीपलाई सफाइ दिएको  हो ।

उच्च अदालतले फैसलामा जिल्ला अदालत काठमाडौंको आदेश अनुसार राखेको २० लाख रुपैयाँ धरौटी पनि सन्दीपलाई फिर्ता दिन भनेको छ । यस फैसलामा चित्त नबुझे सर्वोच्च जान पीडित पक्ष र सरकारलाई उच्च अदालतले फैसलामा भनेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको थियो । गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा सन्दीपले उठाएको ठहर पनि जिल्लाले गरेको थियो ।

उक्त फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका थिए। गौशाला २६ ले बलात्कारको अभियोगमा सन्दीपविरुद्ध २०७९ भदौ २१ गते उजुरी दिएकी थिइन् । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ७ : ३० बजे

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना