जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की « Khabarhub

अन्तर्वार्ता

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की



काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी गरेको छ । उता पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने असोज १५ गतेबाट वडा अधिवेशन गर्ने तयारी गरिरहेको छ । कांग्रेसमा अहिले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला तटस्थ रहेका छन् । उनीहरू दुवै महाधिवेशनमा सहभागी नहुने संकेत दिइरहेका छन् ।

कोइरालाले त दुवै महाधिवेशनमा सहभागी नहुने जानकारी आफूनिकट नेतालाई दिएको केदार कार्की बताउँछन् । खड्का निकट नेताका अनुसार पनि उनी यो महाधिवेशनमा दुवै पक्षमा नलाग्ने देखिन्छ । कोइरालाले पार्टी एक बनाउनकै लागि आफूले पहल गरिराखेकाले कता लाग्ने भन्ने विषय नै महत्वपूर्ण नभएको बताउँछन् ।

विगतमा डा. कोइरालाको पक्षमा रहेर लामो समय साथ दिएका केदार कार्की भने देउवा पक्षको महाधिवेशनमा सहभागी हुने तयारीमा रहेको जानकारी दिन्छन् । उनी गगन थापाले पार्टी एकता गर्ने पक्ष नलिएको र एकलौटी पार्टी बनाउने दिशामा रहेको बताउँछन् । विचार नीति र सिद्धान्तमा अडिक नभएकै कारण गगन थापा अपरिपक्क भएको विश्लेषण सुनाउँछन् ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा अहिलेका नेपाली कांग्रेस सांसद केदार कार्कीसँग पार्टीका पछिल्लो परिस्थिति विषयमा गरिएको कुराकानीको सम्पादित अंश-

डा. शेखर कोइराला र तपाईँ कांग्रेसको कुन महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ ?

डा. शेखरले कुनै पनि महाधिवेशनमा सहभागी हुन्न भन्नुभएको छ । उहाँ अहिले पनि एकताको महाधिवेशन बनाउँ भन्ने पक्षमा लागिरहेको देखेको छु । म चाहिँ सभापति शेरबहादुर देउवाले गरेको महाधिवेशनमा सहभागी हुन्छु । अघिल्लो महाधिवेशनको कुनै औचित्य छैन । अहिले कांग्रेस केटाकेटी पारामा हिँडिरहेको छ पार्टी जुनसुकै बेला पनि एक हुन्छ ।

परिपक्व व्यक्तिको हातमा नेतृत्व गएन भने निर्णय बदलिरहन्छ भन्दै आएको थिएँ, अहिले त्यस्तै भएको छ। अपरिपक्व व्यक्तिको हातमा नेतृत्व पुगेकाले पार्टी एक हुन नसकेको कालान्तरमा पार्टी एक भएर जान्छ । म नेपाली कांग्रेसको मान्छे हो । डा. गगन थापा शेखर कोइराला शेरबहादुर देउवा भन्ने पक्षमा छैन ।

चारतारे झण्डा र चुनाव चिन्ह कसैलाई लैजा भनेको पनि छैन र खोसेको पनि छैन । कांग्रेस कसैको दाइजो होइन । कसैको पेवा होइन । हुन त अहिले कतिपय मन्त्री र सांसद भइसकेका व्यक्तिले पनि कांग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्ह जता छ उतै ओर्जिनल कांग्रेस हो भन्नुभएको छ । हामी चाहिँ के हो ? हामी चारतारे र रुख जहाँ छ त्यही हो । चारतारे रुख दाबा गरेको हो । शेरबहादुर देउवाले म नै कांग्रेसको सभापति हो र चारतारे झण्डा र चुनाव चिन्ह मेरो हो भनेर दावा गर्नुभएको छ । त्यस कारण यताउता भन्ने नै छैन ।

कसरी मिल्छ त १५औं महाधिवेशनमा दुवैले आ-आफ्नो अडान राखेको देखिन्छ ! निर्वाचन आयोगले गगन थापा सभापति रहेको कांग्रेसलाई मान्यता दिएको छ ?

मेरो कुरा के हो भन्दा- म पूर्व सभापति शेरबहादुर देउवा पक्षले गरेको महाधिवेशनमा सहभागी हुन्छु । त्यो नै आधिकारिक कांग्रेसको महाधिवेशन हो । डाक्टर शेखर चाहिँ बीचमा बस्छु र पार्टी मिलाउन भूमिका खेल्छु भन्नुहुँदैछ ।

तपाईँ पनि पार्टी विभाजनको पक्षमा हुनुहुँदो रहेछ हैन ?

पार्टी विभाजनको पक्षमा चाहिँ गगन थापा हुनुहुन्छ । उहाँले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याइ महाधिवेशनतर्फ लाग्नुभएको छ । त्यहीँ महेन्द्र यादव केन्द्रीय सहमहामन्त्री हुँदा उहाँको संयोजकत्वमा क्रियाशील सदस्य छानबिन समिति गठन भयो । उहाँले त्यसबेला क्रियाशील सदस्य छानबिन गर्न तीन महिना लाग्छ भन्नुभएको थियो । त्यो तपाईंहरुकै पत्रपत्रिकाले पनि लेखेको थियो । उहाँहरुले नै नियमित अधिवेशन रोकेर तीन महिना सदस्यता छानबिन गर्न लाग्छ भन्नुभएको होइन ? अहिले फेरि सदस्यता विवादै नटुंग्याई कसरी महाधिवेशन हुन लाग्यो ?

अहिले न क्रियाशील छानबिन छ, वडा सभापतिलाई पनि क्रियाशील कति जना हो थाहा छैन, ३ गतेको अधिवेशन भनेको के हो त्यो थाहा छैन । ३ गतेदेखि वडा अधिवेशन सुरु हुँदैछ । त्यो अदालतले अर्कोतिर फैसला गर्छ र हामीलाई केही पनि हुँदैन भनेर आत्तिएको हो । अब तपाईँ आफै विचार गर्नुहोस् । पार्टी एक हुनबाट को टाढा हुँदैछ । कसले पार्टी विभाजन गर्दैछ ?

गगन थापा पक्षले गरेको अधिवेशन चाहिँ पार्टी विभाजनको अधिवेशन हो । अहिलेको विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्यको वडामा १६०० सदस्य भएछन् । उहाँ मेरो वडामा कसरी १६०० सक्रिय सदस्य भए भनेर मिटिङमै ढल्नुभयो । यो फेरि रियल कुरा हो । उहाँहरू आफैँ क्रियाशील सदस्यताको विषयमा लफडामा हुनुहुन्छ । उहाँहरू डरत्रासले रेडिमेड अधिवेशन गर्दै हुनुहुन्छ।

निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि उहाँहरूलाई आधिकारिक मान्यता दिएको छ भने उहाँहरु महाधिवेशन गर्न आत्तिएको हो भनेर त कसरी पुष्टि गर्ने ?

यसरी पुष्टि नै पुष्टि छ नि ! क्रियाशील छानबिन भएको छ ? क्रियाशील को हो थाहा छ ? वडामा जिल्लामा क्रियाशीलताको विषय कहाँ छ ? ३ गतेदेखि उहाँले वडा अधिवेशन गर्दै हुनुहुन्छ, त्यो कसरी सम्भव छ ? क्रियाशील छानबिन गर्न तीन महिना लाग्छ भन्ने महेन्द्र यादव कता हुनुहुन्छ ? क्रियाशीलको छानबिन गर्न सकिँदैन, विशेष महाधिवेशन गरौं अनि अगाडि बढाउँला भन्ने पार्टीको सभापति अहिले कहाँ हुनुहुन्छ ? कति छानबिन भयो ? हामी त भन्छौं उहाँहरु आतिएको तर्सिएको हो, पार्टी फुटाउन खोजेको हो ।

तर उहाँहरुले त विशेष महाधिवेशन गरेको छ महिनाभित्रमै पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई ध्यान दिँदै महाधिवेशनको गतिविधि अगाडि बढाएको भनेर स्पष्ट बोल्नुभएको छ नि ?

यी सबै कुराहरू झुट हुन् । हिजो एउटा कुरा गर्ने आज एउटा कुरा गर्ने वचनको पक्का नभएको व्यक्ति गगन थापा हो ।

तपाईँहरू जतिको युवाले पनि किन गगन थापालाई साथ नदिएको भन्नेहरू पनि रहेछन् नि ?

अब कोही कसको दास छन् कोही कसको दास छन् । म चाहिँ गगन थापाको दास हुन सकिनँ । र अरु साथीहरु पनि भविष्यमा गगन थापाको दास हुन सक्दैनन् । त्यसकारण शेरबहादुर देउवा दाइकै नेतृत्वमा रहेको कांग्रेसलाई साथ दिन्छन् । कोही श्रीकृष्ण मान्छन् कोही राधाकृष्ण मान्छन् कोही निमार्गी मान्छन् र आ-आफ्नो धर्मको वकालत गर्छन् । नयाँ जोगी भयो भने त्यसले बढी खरानी धस्छ । राजनीतिमा एज र स्किनले काम गर्दैन । विचारले काम गर्छ ।

अहिले पनि अमेरिकामा ट्रम्प राष्ट्रपति हुनुहुन्छ । उहाँ निदाउनुहुन्छ कि भनेर छेउमा उठाउनलाई महिला राखिएको छ । राजनीतिमा विचार र अडान हुनुपर्छ । मेरो कुरा के हो भने नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने हो तर युवाले पाउनुपर्छ र यही व्यक्तिले पाउनुपर्छ भन्ने होइन । ऊ विचारमा नयाँ र समन्वयकारी र क्रियाशील नेतृत्व हुनुपर्‍यो ।

वैधानिक र अधिवेशनबाटै नेतृत्व आउनुपर्छ भन्ने कुरामा म पहिले क्लियर थिएँ । डाक्टर शेखरले ८२ मङ्सिरमा अधिवेशन हुनुपर्छ भन्दा गगनहरुले नै हो ८३ मङ्सिरमा हुनुपर्छ भन्ने । त्यसबेला पूर्वसभापति देउवा चाहिँ विधान अनुसारै महाधिवेशन हुनुपर्छ भन्ने कुरामा क्लियर हुनुहुन्थ्यो । अहिले जोड्दै जाँदा ८३ मङ्सिर पनि पुगेको छैन नियमित महाधिवेशन गर्ने । राजनीतिक अडान हुन सकेन भने बतासे भइन्छ । गगन थापा बतासे बच्चाजस्तै हुनुभयो । बतासे बच्चाले निर्णय दिन सक्दैन । गगन थापाले धेरै खरानी धस्नुभयो । हेर्दै जानुहोस् उहाँको काम हुँदैन ।

अर्को कुरा चाहिँ के छ भने डा शेखरले आफू पक्षका केही नेताहरूलाई देउबासँग लाग्न दिएको अनि आफू चाहिँ तटस्थ बस्न खोजेको भन्ने पनि रहेछ नि ?

म केदार कार्कीलाई शेखर कोइरालाले जाओ शेरबहादुर देउवाले आओ गगन थापाले मसँग बस भन्नै पर्दैन । मैले आफैँ स्वेच्छाले लिएको अडान हो । म सभापति शेरबहादुर देउवाले गरेको महाधिवेशनमा सहभागी हुन्छु । त्यो नै वैधानिक महाधिवेशन हो । म ५१ साल पछाडि नेताहरूको पछि कुदेर पद पाइन्छ भनेर राजनीति गरेको होइन । म ०४६ साल अगाडिबाट नै राजनीतिमा जोडिएको हो । प्रजातन्त्रका लागि मर्छु भनेर लागेको पाउँछु भनेर होइन। यो यता जाँदा यता जान्छु यता जाँदा यता जान्छु भन्ने कुरा मेरोमा लागू हुँदैन ।

अब कांग्रेस एक हुने सम्भावना छैन ?

कांग्रेस गगन थापाकै नेतृत्वमा चाहिँ एक हुँदैन । ३ गतेदेखि वडा महाधिवेशन गरेर १६ गतेबाट नियमित महाधिवेशन गर्न सम्भव छैन। गगन थापाले कांग्रेसको कम्पनी किनेको हो र ? जानकी मन्दिरको प्राङ्गणबाट क्रियाशील सदस्य खारेज भयो भन्दिनु भयो । त्यसको एक सातापछि वडा सभापतिकोमा गएर नमस्कार गरेर क्रियाशील लिन पाइन्छ भनिदिनुभयो । रातको १२ बजेसम्ममा अध्यावधिक गरेन भने खारेज हुन्छ भनेर लेख्नुभयो । कति जना त आफैँ सभापतिले वडा सभापति हटाउनुभयो ।

जिल्ला सभापतिले हटाएको भए ठिकै हुन्थ्यो । आफू नै लागेर वडा सभापति हटाउन लाग्नुभयो । बिर्तामोड आउनुभयो ज-जसले अध्यावधि गरेको छ, अध्यावधि गर्नेको पानी चल्छ नत्र छुवाछुत लागो भन्नुभयो । छुवाछुत प्रथाको विषयमा अहिले बोल्न पाइन्छ । छुवाछुत प्रथा हटेको कहिलेबाट हो ? कांग्रेसकै सभापतिले बिर्तामोडबाट छुवाछुत प्रथा सुरु गरिदिनुभयो ।

राति १२ बजेसम्म भनिएको थियो फेरि महामन्त्रीले सदस्यता अध्यावधि गर्ने थपियो भनेर भोलिपल्ट बिहान लेख्नुभयो । अहिलेसम्म उहाँहरुले थपेको थपै हुनुहुन्छ बन्द भएको छैन । त्यो पार्टी सदस्यता खुलेको छ कि गङ्गाको पानी बगे जत्तिकै बगेको बगै छ । रोकिने ठाउँ छैन । अनि प्रष्ट यता भ्रष्ट उता छन् भन्नुभयो । फेरि भ्रष्ट उतै तानेर लानुभयो । अहिले उहाँकोमा गङ्गामा बगेका सबै फोहरी चिजहरू पनि पुगेका छन् ।

यो नेपाली कांग्रेस बनेको पनि संवाद सहमति र सहकार्यबाट हो । अब पनि कांग्रेसले संवाद सहमति र सहकार्यको बाटो पक्रिन्छ । आदेशमा नेपाली का ङ्ग्रेस पहिला पनि चलेन अब पनि चल्दैन । आदेशमा नेपाली कांग्रेस चल्दा धेरै दुर्घटनाहरू भएका छन् । त्यो दुर्घटनाहरू रोक्नका लागि संवाद र सहमति दुईटा कुरा आवश्यक छ। गगनसँग नविचार नहडा न सिद्धान्त न सहकार्य छ । सत्ता प्राप्ति गर्नका लागि तिघ्रामा तेल लगाएर प्रधानमन्त्री हुन्छु भन्न पाइँदैन ।

अब एउटै कांग्रेसको दुई वटा सभापति हुने हो ?

त्यो हुनसक्छ । कस्तो हुन्छ, अहिले म त्यो रातो हुन्छ कि पहेँलो हुन्छ भन्न त क्दिन । तर कांग्रेस एकै हुन्छ, केही समयका लागि दुईटा जस्तो देखिएको मात्रै हो ।

कसरी सम्भव छ त एक हुनका लागि ?

अब केही समयपछि अदालतले १४औं महाधिवेशनको सभापतिलाई मान्यता दिन्छ । त्यसपछि गगनजीहरु पनि यतै आउनुहुन्छ ।

तर तपाईँहरूले त पार्टी विभाजनका लागि तयारी गर्दै हुनुहुन्छ रे ?

हामीले पार्टी विभाजनका लागि चुनाव चिन्ह नाम छनौट लगायत केही पनि काम गरेको छैन । गगनजीका अराजक तत्वहरूले शङ्ख चुनाव चिन्ह राख्दैछन् भनेर अफवाह फैलाउनुभएको हो । पछि कांग्रेस शेरबहादुर देउवा दाइको पक्षमा आएपछि उहाँहरु शङ्ख चुनाव चिन्ह लिएर पार्टी दर्ता गर्दै हुनुहुन्छ रे । अगर पार्टी सभापति शेरबहादुरले महाधिवेशन गराउन पाउने अधिकार आयो भने हामी शङ्ख राख्छौं भनेर उहाँले प्रचार गर्नुभएको हो ।

शङ्खको प्रचार गर्नेको नाम लिस्ट हेर्नुभयो भने सबै गगनजीका मान्छेहरुले गरेका छन् । नेपालको संविधान र नेपालको कानुनले नदिएको कुराबारे अहिले म बोल्दिन । बच्चा जन्मिनुअघि पेटमा छोरा छ कि छोरी छ भनेर भन्न नमिले जस्तै अहिले पार्टी विभाजन भएर यो चुनाव चिन्छ चुन्न हुन्छ यो नै नाम हुन्छ भन्ने अवस्था छैन । हामी त अहिले पनि कांग्रेसलाई शेरबहादुर देउवा नेतृत्वकै रुपमा अधिवेशनको मान्यता दिने किसिमको तयारीमा छौं ।

तपाईँहरुले गगन थापालाई चाहिँ सभापति किन नस्वीकारेको ?

उहाँले चाहिँ किन पार्टीलाई फुटाउन लाग्नुभएको हो ? उहाँलाई पार्टी सभापति बन्नकै लागि पार्टी विभाजन गर्ने झोंक चलेपछि हामीले उहाँलाई किन साथ दिने ? नेतृत्वमा पुगेपछि कसैलाई नगन्ने प्रवृत्ति हुन्छ र ? उहाँले गोल्डेन होइन डाइमण्ड चान्स गुमाउनुभयो । केही समय त उहाँको हाईहाई होला तर कालान्तरमा उहाँ फस्दै हुनुहुन्छ ।

गगनजीले सबलाई हेपेर त्यो भ्रष्ट हो, यो यस्तो हो यो उस्तो हो भनेर दुई तीन महिना समेत नपर्खी एकलौटी रुपमा विशेष महाधिवेशन गर्नुभयो । कोइरालाको घिउ छोपेको टालो मात्रै सुँग्दा हुन्छ भनेर सुजाता दिदीलाई लानुभयो । दिदीलाई त सबैभन्दा बढी गाली गर्नुहुन्थ्यो नि उहाँहरुले । राष्ट्रिय स्वतन्त्र पार्टीको वासिङ मेसिन र गगनजीहरूको वासिङ मेसिन खतरा छ । त्यहाँ चोब्नेबित्तिकै शुद्ध भइहाल्छ । उहाँले कांग्रेस आफ्नो कब्जामा लिएपछि शुद्ध कांग्रेस भइहाल्यो देउबा दाइको साथमा हुन्जेलसम्म कांग्रेस अशुद्ध थियो ।

उसो भए अब कांग्रेस मिल्ने सम्भावना सकियो होइन ?

मिल्न पनि सक्छ । तर कांग्रेसको मूल नेतृत्व गगन थापा झुकेर शेरबहादुर देउवा र शीर्ष नेताहरूसँग संवादमा आउन जरुरी छ । उहाँले सबै गल्ती स्वीकार्दै अगाडि बढ्नुपर्छ । गगनजीले झुकेर सर्तहरू पालना गर्नुभयो भने पार्टी मिल्छ । तर उहाँले पूर्वसभापति सहित शीर्ष नेताहरूसँग शिर झुकाउँदै माफी माग्नुपर्छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ७ : १६ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ