काठमाडौं- केही समययता आशिका तामाङ सामाजिक सञ्जालमा निकै हेरिएकी पात्र हुन् । कारण हो –विभिन्न सार्वजनिक निकाय, पार्क, मन्दिर, होटललगायतका क्षेत्रमा भइरहेका बेथितिविरुद्ध आगो ओकल्नू ।
समाजमा देखिएको बेथितिको विरोधमा युट्युबरहरुको प्रस्तुती निकै नै आक्रामक हुने गर्दछ । उनीहरु आम जनताको भाषामा कडारुपमा प्रश्नहरु गर्छन् र आक्रोशित मुद्रामा प्रस्तुत हुन्छन् र आफ्नो च्यानलमा प्रशस्त ‘भ्युज’ कमाउँछन् । साथमा उनीहरु आफूलाई भव्य समाजसेवी वा समाज सुधारकका रुपमा प्रस्तुत गर्न खोज्छन् ।
आशिका तामाङलाई चर्चामा ल्याउने उनका केही ‘युट्युब’ स्टोरीहरू हेरौं–
त्रिभुवन विमानस्थलमा हुने पार्किङ शुल्कको आशिकाले विरोध गरेकी छन् । त्यहाँ न्यूनतम पार्किङ शुल्क एक घण्टाको ४० रुपैयाँ रहेको छ । घण्टाको हिसाबले शुल्क उठाएकोप्रति उनले खेद प्रकट गरेकी छन् ।
जनताको करबाट निर्माण भएको एअरपोर्टमा पार्किङ शुल्क लिन नहुने उनको धारणा छ । त्यसमाथि घण्टाको हिसाबले शुल्क उठाएर गरिब जनताको पसिनामा नेता– कार्यकर्ताले रजाइँ गरेको आशिकाको टिप्पणी छ । उनी आफ्नो रिपोर्टमा भन्छिन्, ‘जनताको करले बनाएको पार्किङमा फेरि शुल्क कसरी लिन्छ ? काम गरेर खाऊ, लुटेर नखाऊ ।’
विमानस्थलबाट पार्किङ शुल्क उठाउने निर्णय ०७८ मा नेपाल सरकारको मन्त्रिपरिषदले गरेको थियो । सोहीअनुरुप नेपाल नागरिक उड्डयन प्राधिकरणले ठेक्का आवाह्वान गर्यो र त्यहाँ ठेक्का पाएको दीपक मल्होत्राको कम्पनीले पार्किङ शुल्क उठाउँदै आएको छ ।
त्यस्तै आशिकाले एअरपोर्टभित्र एक लिटर भन्दा कम पानीलाई सय रुपैयाँमा बिक्री गरेको प्रति पनि विरोध जनाइन् । ४५० एमएल पानीको मूल्य ३५ रुपैयाँ एमआरपी लेखिएको छ । तर, व्यापारीले निर्धक्क सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।
सूर्यविनायक नगरपालिकास्थित सागाँमा बढेमानको शिवको मूर्ति छ । उक्त मूर्तिमा जाने झोलुङ्गे पुलमा लिइने शुल्कको आशिकाले विरोध गरिन् । स्थानीयलाई निःशुल्क हुने तर बाहिरी जिल्लाबाट आउनेलाई झोलुङगे पुल तरेको २० रुपैयाँ शुल्क उठाइनु लुट भएको उनको धारणा छ ।
उक्त ठाउँमा शुल्क लिइने टिकटमा आशिकाले आगोसमेत लगाएकी छिन् । उनले भनेकी छन्, ‘गणतन्त्रमा लुटतन्त्र मच्चाउने अधिकार कसैलाई छैन । जनआन्दोलन हुदाँ १६ वर्षकी थिएँ । बेथिति विरुद्ध बोल्दा त्यतिबेला पुलिसको लाठी खाएकी हुँ । १५ वर्ष जर्मनी बसेर आउँदा पनि देशमा बेथिति जस्ताको त्यस्तै छ ।’
‘पुल तरेको शुल्क तिर्नुपर्ने नियम कहीँ छैन । निशुल्क गर्ने हो भने पर्यटक झनै बढ्छन्, उनले भनेकी छन्, ‘म भष्ट्राचारी होइन, राष्ट्रप्रेमी हुँ ।’
त्यसो त टिकट जलाएपछि आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत जगाती भक्तपुरमा उजुरीसमेत हालेको छ ।
त्यसैगरी, दक्षिणकाली मन्दिरमा भक्तजनहरुसँग लिइएको शुल्कको पनि आशिकाले विरोध गरेकी छन् । उनका अनुसार मन्दिरजस्तो पवित्रस्थलमा ठगी हुनु दुर्भाग्य हो । भक्तजनले गाडी पार्किङ गरेको २५ देखि १२५ सम्म शुल्क उठाइएको छ । मन्दिरमा पाँच र दश रुपैयाँ भन्दा बढी उठाउनु भनेको भगवानको नाममा लुट्नु हो । मन्दिरमा समेत इमान्दारिता छैन ।
मन्दिरको व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकाबाट कुनै आर्थिक सहयोग नभएकाले शुल्क लिइएको मन्दिर क्षेत्र विकास समितिको तर्क छ ।
आशिकाले होटलहरुले लिने मूल्यमाथि प्रश्न उठाइन् । नक्सालस्थित जिम्बु थकाली रेष्टुरेन्टमा ‘एमआरपी ३५ रुपैयाँ’ लेखिएको एक बोतल पानीको मूल्य एक सय रुपैयाँ लिइएपछि आशिकाले विरोध गरिन् । फलस्वरुप काठमाडौं महानगरले उक्त रेष्टुरेन्टलाई तीन लाख लाखको जरिवाना तिराएको छ ।
जिम्बु कारवाहीमा परेपछि धेरै रेष्टुरेन्टले एमआरपी भन्दा बढी शुल्क नलिने प्रतिवद्धता जनाएको सामाजिक सञ्जालमा भेटिएका छन् ।
त्यस्तै, तरकारी बजारमा पार्किङ शुल्क २५ देखि १०० सय रुपैयाँ लिइएको र उभिएर तरकारी किन्ने मानिसले समेत पाँच रुपैयाँ शुल्क तिर्नु परेकोमा आशिकाले आपत्ति जनाइन् । कालीमाटी तरकारी व्यवस्थापन समितिले शुल्क उठाएर खाएको उनको आरोप छ ।
शौचालयमा पानी, हार्पिक, फिनेल छैन, कसरी व्यवस्थापन भयो? आशिका व्यवस्थापकसँग प्रश्न गर्छिन् । उनले विरोध गरेपछि हाल त्यहाँ शौचालय सरसफाइ भएको छ ।
को हुन् आशिका ?
आशिकाको जन्म धादिङको मलेखुमा भएको हो । सामान्य परिवारमा जन्मिएकी उनले दुई वर्षको उमेरदेखि नै आमाको ममता गुमाउनुपर्यो । गाउँलेका अनुसार बुवाले आमालाई रक्सी धेरै खाएर कुट्ने गर्थे । बुवाको यातना सहन नसकेर आमा घर छोडेर हिँडिन् ।
सानोमा आशिकालाई सबैले ‘काली’ भनेर बोलाउँथे । पढाइमा उनी अब्बल थिइन् । आर्थिकरुपले कमजोर भए पनि जसरी पनि पढ्नैपर्छ भन्ने मनोबल उच्च थियो । त्यसैले उनले चितवनमा एक घरमा काम गर्दै पढिन् । ८ वर्षको उमेरदेखि अर्काको घरमा काम गरिन् ।
धेरै दुःख गर्न परे पनि पढ्न पाएकोप्रति आशिकालाई सन्तोष थियो । उनलाई पढेर नर्स बन्नु थियो ।
भनिन्छ नि, सपना देख्नेको पूरा हुन्छ । त्यसैले उनले एउटा संस्थाबाट छात्रवृत्ति पाइन् र नर्सिङ पढिन् ।
नर्स बनेपछि उनी जर्मनी गइन् । त्यहाँ उनले जर्मन नागरिकसँग बिहे गरिन् । हाल उनका दुई सन्तान छन् । जर्मन नागरिकसँग विवाह गरे पनि उनी नेपाली नागरिकता नत्यागेको बताउँछिन् ।
सबै सपना पूरा हुँदै गएका थिए । तर, बुवालाई सुखले राख्ने उनको सपना पूरा हुन पाएन । जर्मनी जानुअघि नै मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु भयो ।
करिब सात वर्षअगाडि नै आशिकाको एउटा भिडियो भाइरल भएको थियो । त्यसमा उनले भनेकी थिइन्, ‘दशैंमा खसीको मासु खानुस् । तर, जहान परिवार भएका खसी खसिनीको अकालमा हत्या नगर्नुस् ।’
यसो भनिरहँदा उनका आँखाबाट बलिन्द्रधारा आँसु झरेका थिए । उक्त भिडियोपछि उनको उपनाम ‘खसिनी दिदी’ रहन गयो । तिनै ‘खसिनी दिदी’ अहिले ‘आशिका तामाङ’ को नामले सामाजिक सञ्जालमा एकाएक लोकप्रिय बन्न पुगेकी छिन् ।
‘खसिनी दिदी’ लाई त्यसबेला धेरैले हाँसी मजाकको पात्र बनाए । तर, सामाजिक सञ्जालमा उनका फलोअर्स बढे । सामाजिक सञ्जालमा सक्रिय उनी समसामयिक विषयवस्तु र बेथितिमाथि प्रहार गर्ने हिम्मतिली बनेर उदाएकी छिन् । उनी कहिले ताली पाउँछिन् त कहिले गाली । तर, उनको अभियानले समाजमा केही न केही सुधार ल्याउन सक्ने संकेत देखिन थालेको छ, जुन सकारात्मक पक्ष हो ।
फेसबुकमा आशिकाका १२ लाख फलोअर्स छन् । परोपकारका लागि उनले आफ्नै नाममा फाउन्डेसन स्थापना गरेर नेपालमा सरसफाइलगायत विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् । जर्मनीमा स्थायी बसोबास गरिरहेकी उनी नेपाल आउँदा धेरैजसो सडकमा भेटिन्छिन् । काठमाडौंका विभिन्न स्थानमा पुगेर सरसफाइमा जुट्नु उनको दिनचर्या बन्छ ।
आशिका कसैसँग सहयोग उठाएर समाजसेवी नबनेको र आफ्नै कमाइले समाजसेवा गर्दै आएको बताउँछिन्।
यसवीचमा आशिकाले ‘सुश्री’ नामक फिल्मसमेत बनाइन् । चल्तीका हिरो आर्यन सिग्देललाई लिएर निर्माण गरेको उनको फिल्मले बक्स अफिसमा पानीसम्म भन्न पाएन । आर्यनसँगको उनको जोडीलाई दर्शकले रुचाएनन् ।
विभिन्न अन्तवार्तामा उनले उक्त फिल्ममा एक करोड डुबेको बताउँदै आएकी छन् । कलाकार बनेर नाम र दाम कमाउने सपना पूरा भएन । तर, अहिले उनी एकाएक सामाजिक अभियन्ताका रुपमा चर्चामा आएकी छिन् ।
समर्थन र विरोध दुवै
आशिकाको अभियानलाई लिएर सामाजिक सञ्जालमा समर्थक र आलोचक दुवैथरि देखा परेका छन् ।
धरानका मेयर हर्क साम्पाङ लेख्छन्, ‘पुरै नेपाल हल्लाउन सक्ने एक मात्र सहासी बहादुरी आशिका तामाङ । ’
चर्चित गीतकार राजेन्द्र थापा भन्छन्, ‘बल्ल एक चेली जागेको छ, साथमा हजार नउठेसम्म यो डकैती रोकिन्न । प्रधानमन्त्री सदनमा बोल्छन्– पार्किङको पैसा उठाइनुपर्छ । फ्री गर्न पाइन्न ।’
उता रञ्जित तामाङ आशिकाको अभियानको विपक्षमा लेख्छन्, ‘भाइरलबहादुर र भाइरलमायाहरूको कुरा सुनेर फोकटमा भावुक नबनौँ । साँगाको झोलुङ्गे पुल अत्यावश्यक आवत–जावतका लागि होइन, मनोरञ्जनात्मक प्रयोजनका लागि बनाइएको हो । मनोरञ्जन कर कसले उठाउँछ भनेर त पढ्नु नि यार । अरू त अरू, ‘मै हुँ’ भन्ने मिडियाहरू पनि उत्तानो परेको देख्दा चकित छु ।’
‘भाइरल’को जमाना
पछिल्लो समय ‘भाइरल’ वा लोकप्रिय हुने रहरमा सामाजिक सञ्जालमा विभिन्नखाले कस्मेटिक समाजसेवीहरु देखा पर्ने गरेका छन् । तुरुन्तै चर्चा पाउने काममा ती मानिसहरु लालायित देखिन्छन् ।
समाजको बेथिति हटाउँछु भनेर धेरै समाजसेवीहरु लागे तर त्यसलाई निरन्तरता दिन नसकेर आलोचनाको शिकारसमेत हुने गरेका छन् । समाजसेवामार्फत छोटो समयमा चर्चा पाउनेहरु पलायन भएका उदाहरण पनि प्रशस्त छन् ।
नेपाली समाज बेलाबखत भगवानको खोजी गरिरहन्छ । सामाजिक सञ्जालले कोही न कोही व्यक्तिलाई ‘भगवान’ बनाउँछ । सामाजिक कार्यमा जुटेकालाई तुरन्त प्रधानमन्त्री बनाइहाल्नुपर्छ भन्ने गरिएको सुनिन्छ । र, क्षणभरमै मानिसलाई राक्षसीकरण गर्नमा पनि समाज पछि पर्दैन ।
देशमा यत्रतत्र रहेका बेथितिविरुद्ध आशिकाले जुन आवाज उठाइरहेकी छन्, यो सकारात्मक छ । झट्ट हेर्दा उनले कानूनी संयन्त्रभन्दा बाहिरबाट हस्तक्षेप गरेको जस्तो देखिन्छ । तर, उनले उठाएका विषयहरु जायज छन् । सम्बन्धित निकायमा बोल्नुपर्ने कुरा आशिकाले सडकमा बोलेकी छन् ।
आखिर, सस्तो चर्चाले आशिकालाई डुबाउने पो हो कि ? उनी आफ्नो अभियानमा कति टिक्न सक्लिन् ? यो भने भविष्यले नै बताउला । अहिले, शंकाको सुविधासहित आशिकाको अभियानलाई सकारात्मक रुपमा हेर्नु उचित होला ।
युट्युब र अनलाइन टीभीमार्फतमा समाजका बेथितिविरुद्ध आगो ओकल्ने अभियानको सुरुआत टेलिभिजनकर्मी रवि लामिछानेले थालेका हुन् भन्दा फरक नपर्ला । यही आधारमा लोकप्रिय बनेका रवि अहिले राजनीतिमा छन् ।
त्यस्तै उग्र सामाजिक अभियानबाट चिर्चित बनेर राजनीतिमा लागेका सांसद ज्ञानेन्द्र शाही राप्रपाको नेता छन् ।
अभियानमा लागेर लोकप्रिय बन्नेहरुको पछिल्लो सूचीमा देखा परेकी आशिकाको भावी गन्तव्य के होला ? यो उनकै भूमिकामा भर पर्नेछ ।
मिडियाको धर्म
जहाँसम्म समाजको बेथितिविरुद्ध अनलाइनमार्फत् अभियान चलाउने विषय छ, यो एक प्रकारले भन्ने हो मिडियाकर्म पनि हो । कतिपयलाई लाग्न सक्छ, आशिकाले मिडियाकर्म नै गरिरहेकी छिन् ।
मिडियाको धर्मअनुसार काम गर्ने हो भने एकपक्षीय नभएर सन्तुलनलाई ख्याल गर्नुपर्ने हुन्छ । कसैको विरोध गर्दा उसको भनाइलाई पनि स्थान दिनुपर्ने हुन्छ र अपमानित भाषाशैलीको प्रयोग मिडियाको धर्मभित्र पर्दैन । मिडियाकर्मीले ध्यान दिनैपर्ने विषय हो– पत्रकार आचारसंहिता ।
पत्रकार आचारसंहितालाई ख्याल नगरी कसैले मिडियाकर्म गरिरहेको हुन्छ भने त्यसले ‘सामाजिक जवाफदेहिता’ को धर्म निर्वाह गरेको मान्न सकिँदैन । बेतिथिविरुद्ध पत्रकारिता गर्छु भन्ने युट्युबरहरुले यी विषयमा गम्भीर ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।
अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी भन्छन्, ‘आशिकाको नियत ठीकै होला तर शैली मिलेन । राम्रो काम गलत तरिकाले नगरौं ।’
समाजमा बेतिथिविरुद्ध आवाज उठाउनका लागि नागरिक समाजको भूमिका आवश्यक भएता पनि त्यस्तो अभियान भद्रतापूर्वक गरिनुपर्ने भण्डारी बताउँछन् ।
पत्रकार भण्डारी भन्छन्, ‘कतिपय ठाउँमा कानून हातमा लिने, कागजपत्र च्यातचुत पार्ने, जलाउने र कुटपिट गर्ने जस्ता अभद्र व्यवहार हुने गरेको छ । त्यस्तो गलत तरिकालाई प्रतोत्साहित गर्नु हुँदैन । नियत र काम राम्रै भए पनि प्रक्रिया गलत अपनाउनुहुँदैन ।’
प्रेस काउन्सिल नेपालका बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल युट्युबरहरुका यस्ता व्यक्तिगत अभियानलाई राज्यको काम गराइबाट उत्पन्न असन्तुष्टिको परिणाम मान्दछन् । यसमा व्यक्तिको रातारात लोकप्रिय बन्ने चाहनाले पनि काम गरेको हुन सक्ने उनको विश्लेषण छ ।
‘यो असन्तुष्टिको एउटा रुप हो, तर, यस्ता कुरामा व्यक्तिगत एवं अराजकरुपमा भन्दा पनि प्रक्रियागत रुपमा समाधान खोज्नु उपयुक्त हुन्छ’, ‘खनालको सुझाव छ, ‘सूचनाको हक माग गरेर जाने लगायतका प्रक्रिया अपनाउन सकिन्छ, अन्यथा अराजकता भयो भन्ने प्रश्न उठ्न सक्छ ।’
प्रतिक्रिया