शे–फोक्सुन्डो निकुञ्जमा दुर्लभ जंगली याक | Khabarhub Khabarhub

शे–फोक्सुन्डो निकुञ्जमा दुर्लभ जंगली याक


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जंगली याक भेटिएको हालै खुलासा गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जंगली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिएको जंगली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो ।

चार हजार ६२३ मिटरदेखि चार हजार ९३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्यांक छ ।

यो अध्ययन स्थानीय समुदायको पूर्वजानकारीपछि निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।

विगतमा तथ्यांक अभाव तथा स्थानीय समुदायका अनुसार जंगली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जंगली याक प्रायः समुद्री सतहबाट चार हजार ८२५ मिटरको उचाइमा पाइन्छ ।

यस अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लूडब्लूएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो जंगली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्को जंगली याक देखिएको स्थानीयले जानकारी दिएका छन् । उनले भने, ‘तर यही हो वा अर्को जंगली याक हो विस्तृत अध्ययन विना भन्न सकिने अवस्था छैन । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जंगली याकको नेपालमा खासै तथ्यांक छैन ।’

नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जंगली याक देखेका र पहिलो आधिकारिक तस्बिर पनि सोही समयमा सार्वजनिक गरिएको थियो । नेपालमा वन चौँरी पनि भनेर चिनिने जंगली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो । जंगली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रहरूमा पाइन्छ ।

जाडोमा तल्लो उपत्यकाहरूमा झर्दै, मौसमी रूपमा सर्ने गर्छ । यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन । जंगली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान छ ।

नेपालमा यस प्रजातिको संख्याको आकारका बारेमा कुनै जानकारी उपलब्ध छैन । हुम्ला जिल्लाको लिमी उपत्यकामा सन् २०१४ मा पुनः पत्ता नलागेसम्म जंगली याक लोप भइसकेको मानिन्थ्यो ।

विश्वव्यापी रूपमा जंगली याकलाई आईयूसीएनले ‘रेड लिस्ट’ले जोखिममा राखेको छ । नेपालमा राष्ट्रिय रूपमा यसलाई तथ्यांक अभावका रूपमा वर्गीकृत गरिएको छ । नेपालमा यस प्रजातिको कानुनी स्थिति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित (परिशिष्ट १) छ ।

साइटिसले परिशिष्ट १ प्रजातिमा जंगली याकलाई सूचीकृत गरेको निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए । उनका अनुसार जंगली याक गाई प्रजातिको जन्तु हो । तराई क्षेत्रमा गौरी गाई पाइएजस्तै उपल्लो हिमाली क्षेत्रमा चौँरी र जंगली याक पाइन्छ ।

‘जंगली याक दुर्लभ छ । कठिन भौगोलिक क्षेत्र र हिमाली क्षेत्रमा पाइने भएकाले यसको अध्ययन र अनुसन्धान पर्याप्त हुन सकेको छैन,’ वरिष्ठ इकोलोजिष्ट आचार्यले भने, ‘अहिले बिस्तारै हवाई यातायात, सडकको पँहुच, प्रविधिको विकासले गर्दा हिमाली वन्यजन्तुसँगै जंगली याकको पनि अध्ययन सुरु हुन थालेको छ ।’

हिउँ चितुवाको र यसको बासस्थान प्रायः एकै क्षेत्रमा हुन्छ । जंगली याकको बासस्थान र चरन क्षेत्र हिउँचितुवाको तुलनामा भने सीमित हुन्छ । घरपालुवा चौँरीभन्दा यो शारीरिक बनावटले फरक हुन्छ ।

‘घरपालुवा चौँरीको तुलनामा यसको आकार ठूलो हुन्छ, सिङ र रौँ फरक हुन्छ । विभागले सार्वजनिक गरेको उक्त तस्बिरसँगै जंगली याकको अध्ययन गर्न अनुसन्धानकर्ताको चासो बढ्छ । त्यसमा हामी प्रोत्साहन गर्छौं’, उनले भने ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ४५ बजे

ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान