काठमाडौं – सायद कमै फिल्मकर्मी भेटिएलान्, जो विपिन कार्कीलाई ‘भर्सटायल’ अर्थात् बहुप्रतिभाशाली नायक’ मान्न तयार छैनन् ।
विपिनले ‘भर्सटायल’को फुर्को त्यसै पाएका होइनन् । चलचित्रहरूमा ‘बिन्दु’, ‘भष्मे डन’, ‘फणिन्द्र’ र ‘पित्तले डन’ जस्ता भूमिका निर्वाह गरी दर्शकको कलाचेत पर्गेल्न सकेपछि उनले यो टाइटल पाएका हुन् ।
विपिन पात्र निर्माणमा दख्खल राख्ने नायक हुन् । उनले फरक फिल्ममा आफूलाई फरक लुक्समा प्रस्तुत गर्छन् । यो नै विपिनको खुबी हो ।
विपिन भन्छन्, ‘फिल्ममा म विपिन देखिनु भएन । एक फिल्ममा निर्वाह गरेको पात्र अर्को फिल्ममा मिल्नु हुँदैन । दर्शकले मेरो फिल्म हेर्नुको कारण पनि यही हो जस्तो लाग्छ ।’
यो त विपिनले फिल्म क्षेत्रमा सफलता हासिल गरेपछिको कुरा हो । त्यसभन्दा पहिले विपिन के गर्थे त ?
विपिन पढाइले अहेब हुन् । तर उनीसँग अहेबको सर्टिफेकेट मात्रै छ, काम गरेको अनुभव मुस्किलले दुई महिना पुग्ला !
आफूले नरुचाएको अहेबको जागिर नखान उनी काठमाडौं छिरे । काठमाडौं छिरेर मदिरा ओसार्ने काम गरे ।
यही बखत चिनजानका व्यक्तिमार्फत नाटक हेर्न गुरुकुलमा प्रवेश गरेका विपिनलाई त्यहीँबाट अभिनयको भोक जाग्यो । त्यही भोकले अभिनयको विद्यार्थी बनायो र फिल्मसम्म डोहोर्यायो ।
सैनिक अनुशासनमा हुर्काइ
कार्की दम्पतीका कान्छा छोरा हुन् विपिन । उनीभन्दा माथि एक दाइ र दिदी छन् । उनका दाइ अर्जुन सिनेमाकर्मी नै हुन् ।
वि.सं. २०३९ मा विपिन मोरङको बाहुनेमा जन्मिए । उनीले थाहा पाउँदासम्म बुवाले भारतीय सेनाबाट अवकास लिइसकेका थिए ।
विपिनको हकमा बुवा पेन्सनधारी हुनुको फाइदा र बेफाइदा दुवै थियो । पेन्सनका कारण अरूभन्दा बढी भौतिक सुखभोग गर्न पाए पनि बेफाइदाबारे उनी भन्छन्, ‘सैनिक अनुशासनमै बस्नुपर्थ्यो ।’
खरो स्वभावका बुवाको आदेश एक वचनमा मान्नुपर्ने र घण्टा–घण्टाको तालिकामा चल्नुपर्ने हुन्थ्यो । बुवाले कठोरतापूर्वक पालना गर्न लगाउने अनुशासनले कहिलेकाहीँ त पिञ्जडाकै सुगा बनाएजस्तो महसुस हुन्थ्यो ।
विपिनले सुनाए, ‘उहाँ आर्मी भएर होला, घरमा पनि ब्यारेककै जस्तो अनुशासन खोज्नुहुन्थ्यो । बिहान उठ्ने, खाजा खाने, आफूले खाएको भाँडा आफैँ माझ्नुपर्ने, स्कूल जाने, दैनिक नुहाउने, पढ्ने, खेल्ने र घरको काम गर्ने रुटिन नै बनाइदिनुहुन्थ्यो । त्यही अनुसार चल्नुपर्ने हुन्थ्यो ।’
बुवाले बनाइदिएको तालिका पालनामा एक मिनेटमात्रै ढिलो भए आफैँ जवाफदेही बन्नुपर्थ्यो । विपिनले यसैबारे एक रमाइलो प्रसङ्ग सुनाए ।
घरमा बेलुकी लालटिन बाल्ने जिम्मा विपिनको हुन्थ्यो । खेल्न गइएको छ भने पनि लालटिन बाल्नकै लागि समयमै घर आउपुग्नुपर्थ्यो ।
बुवाले कडा अनुशासनमा राख्न खोजेपनि विपिनका दाजुभाइ नै निकै चकचके थिए । बाल्यकालमा बदमासी गर्दा कयौंपटक बुवालाई थाहै नदिइ आमाले हर्जना तिर्नुपर्थ्यो ।
‘नियोजित त होइन, तर चकचक गर्ने बानीले गाउँलेलाई क्षति पुग्ने काम गरिन्थ्यो । बन्दै गरेको गारो भत्काउने, फलफूल चोर्नेजस्ता बदमासी खुबै गरियो,’ विपिनले सम्झिए, ‘बुवाले थाहा पाउनुभयो भने पिट्नुहुन्छ भनेर आमाले थाहै नदिइ हर्जना तिर्नुहुन्थ्यो ।’
विपिनको बदमासी देखेर छिमेकीले भन्थे रे, ‘बुवा नभएको भए यी केटाहरू कति बिग्रिन्थे होलान् !’
अर्काथरीले भन्थे अरे, ‘छोराछोरीलाई धेरै बन्देज लगाउन नहुने रहेछ, बिग्रिने रहेछन् । हेर त विपिनहरूलाई !’
पढ्नमा ठीकठाक
बाहुनी (विपिनको जन्मस्थान)को घर छेउमै प्राथमिक विद्यालय थियो । तर घरबाट करिब आधा घण्टा टाढाको जनता माविमा उनले स्कूले पढाइ पूरा गरे ।
भन्छन्, ‘पछि ठूलो स्कूलमै पढ्नुपर्छ भनी दिदी÷दाइले बोकेरै भए पनि टाढाको स्कूलमा लगे ।’
घरबाट टाढाको स्कूल भएकाले बदमासी गर्न झन् खुला भएको उनी बताउँछन् । भन्छन्, ‘चकचक चाहिँ गर्नैपर्ने ! घर र स्कूल टाढा भएपछि बदमासी गरेको बुवाले थाहा नपाउने । अनि मलाई के चाहियो ?’
चकचक बढी नै भए पनि विपिन स्कूलमा फेल नै भएनन् । उत्कृष्ट १० बाट पछि पनि परेनन् । न प्रथम÷द्वितीय नै भए । पढाइ मध्यम रह्यो ।
विपिन वि.सं. ०५४ सालको एसएलसीमा दोस्रो डिभिजनमा पास भएका विद्यार्थी हुन् । त्यसबेला एसएलसीलाई ‘फलामे ढोका’ मानिन्थ्यो । दोस्रो डिभिजनमा पास हुनु पनि ठूलै उपलब्धी थियो ।
उनी पढ्ने विद्यालयबाट एसएलसी दिएका कसैको प्रथम श्रेणी (फर्स्ट डिभिजन) आएको थिएन । पास हुनेहरूले कि दोस्रो, कि त तेस्रो डिभिजन ल्याएका थिए ।
अहेब अध्ययन
एसएलसी दिँदासम्म विपिनमा कलाकार बन्ने लक्ष्य थिएन । न उनले धित मर्ने गरी टेलिभिजन नै हेर्न पाएका थिए ।
भन्छन्, ‘टेलिभिजन हेर्न छिमेकीकहाँ जानुपर्थ्यो । त्यो पनि झ्यालबाट कि पछाडि बसेर लङ सर्टमा रामायण हेर्ने हो । अनि कसरी हिरो बन्ने सपना पैदा हुनु ?’
एसएलसीपछि उनी अहेब पढ्न उनी धनकुटा गए । किशोरावस्थामा थिए । चकचक गर्न छाडेनन् । सुनाए, ‘मैले छात्रवृत्तिमा निःशुल्क पढेको हो । तर यो कुरा घरमा भनिनँ । शुल्क तिर्न भन्दै रकम लिन्थेँ र साथीहरूसँग रमाइलो गर्दै उडाउथेँ ।’
भन्छन्, ‘साथीहरू धनाढ्य परिवारका थिए । उनीहरू भन्दा कम त बन्नुभएन । त्यसैले शुल्क तिर्न भन्दै रकम माग्थेँ । छात्रवृतिमा पढेको घरमा थाहै पो दिइनँ ।’
अहेब उत्तीर्ण गरे । ओजेटी गर्दा नै उनलाई जागिर खाने रहर पुग्यो । १०–४ बजेसम्मको अफिस ! उनलाई आफू बन्देजमा परेजस्तो लाग्यो । त्यसैले थप पढाइ गर्न काठमाडौं हान्निए ।
त्यतिखेरसम्म कलाकार बन्न सोच, चासो, चिन्ता र प्रक्रिया नै थाहा थिएन ।’
काठमाडौं बसाइ
वि.सं. २०६५ मा विपिन काठमाडौं आए । उनका दाइ काठमाडौंमै बसेर फिल्म लाइनमा सङ्घर्षरत थिए । उनलाई बस्न समस्या भएन । दाइसँगै लाजिम्पाटस्थित डेरामा बसे ।
सुरुवाती दिनमा दिउँसो आरआर क्याम्पसमा पढाइ र बिहानबेलुकी खाना पकाउनु उनको दैनिकी थियो ।
दाइले केही फिल्ममा सहायक भूमिकामा अभिनय गरिसकेका थिए । सोहीकारण उनलाई पनि यस क्षेत्रमा केही रुचि जाग्न लाग्यो । दाइ सिनेमाकर्मी भएका कारण फिल्मको प्रिमियर शो हेर्ने अवसर पाउँथे । फिल्मसम्बन्धी समाचार भएका पत्रिकाहरू पढ्न थाले ।
भन्छन्, ‘दाइले फिल्म हेर्न बोलाउनुहुन्थ्यो । रसियन कल्चरमा धेरैपटक फिल्मका प्रिमियर हेरेको छु । दाइले फिल्मको कार्यक्रममा बोलाउने कारण चाहिँ भाइ एक्लै छ खाना यतै खान्छ भनेर !’
यसरी प्रिमियर र फिल्मका विभिन्न कार्यक्रममा नियमित उपस्थित हुन लागेपछि भने फिल्म क्षेत्रप्रति आकर्षण बढेको विपिन बताउँछन् ।
भन्छन्, ‘फिल्मका प्रिमियरमा लगातार जान लागेपछि यस क्षेत्रप्रति स्वाभाविक रूपमै चासो बढ्ने भइहाल्यो । तर म कलाकार बन्छु है भन्ने चाहिँ लागेन । फिल्म क्षेत्रका घटना र समाचार पढ्ने बानी चाहिँ बस्यो ।’
काठमाडौंमा जागिर
स्नातक पढ्न लाग्दा बिहान क्याम्पस र दिउँसो साथीहरूसँग बरालिने विपिनको दैनिकी बन्यो ।
डेरानजिकै बस्ने दिदी भिनाजुलाई ‘साथीसँगतमा लागेर कुलतमा फस्छ’ कि भन्ने डर भयो । काम गर्न दबाब दिन थाले ।सो दबाब ठीकै लागेर उनले पनि काम गर्ने निर्णय लिए ।
दिदी भिनाजुले सम्झाएपछि उनलाई लाग्यो, ‘बीए पढ्ने उमेरको मान्छे ! त्यसै बरालिनु हुँदैन, काम गर्नुपर्छ, दिदी भिनाजुले भन्नुभएको ठीकै हो ।’
बरालिने टीमकै एक साथीले काम खोजिदिएपछि विपिनले मदिरा डिलरमा काम पाए । त्यो डिलर तिनै साथीकी आमाले चलाउँथिन् ।
प्रतिमहिना १६ सय रुपैयाँ तलब पाउनेगरी विपिनले जिन्दगीमा पहिलोपटक जागिर शुरू गरे । जागिरमा पनि बदमासी रोकिएन । कयौंपटक ‘छ्याकन’ मारे । त्यसरी जम्मा गरेको रकम तलबभन्दा धेरै हुन्थ्यो ।
केही समयपछि उनलाई रक्सी ओसारपसार गर्ने काम उचित लागेन । अब पढाइअनुसारकै अर्थात् अहेबकै काम खोज्न थाले ।
त्रिपुरेश्वरमा नचलेको एउटा मेडिकल रहेछ । बिरामी कुरेर बस्नुपर्ने ! ड्यूटी टाइममा काम नभए पनि कुरेरै बस्नुपर्ने ! त्यो काम पनि उनलाई बन्धनजस्तै लाग्यो, अनि महिनादिन पुग्दानपुग्दै छाडिदिए ।
अहेबको जागिर छोडेर उनी पुनः मदिरा डेलिभरीकै काममा लागे, उही पुरानै स्थानमा !
केही वर्षपछि उनी अर्को डिलरमा काम थाले । अर्को डिलरमा तलब धेरै थियो, तर बन्देज धेरै ! ‘छ्याकन’ त हान्न पाउँथे, तर कामको निर्धारित लक्ष्य पूरा गर्नैपर्थ्यो ।
त्यहाँ पनि टिक्न सकेनन् । फेरि पुरानै डिलरमा फर्किए । किनकी त्यहाँ स्वतन्त्र, माया र आम्दानी सबै हिसाबले ठीक थियो ।
साथीकी आमाको मदिरा डिलर त उनका लागि शरणार्थी शिविरजस्तै भयो ।
नाटकको चस्का
बीए तेस्रो वर्षमा पुगेपछि उनी छिमेकी दाइ कमलमणि नेपाल (खुपीका बा)सँग ठोक्किए, जो गुरुकुलका विद्यार्थी थिए ।
‘पाठ्यक्रममा भएका नाटक मञ्चन हुन्छन्, हेर्न आइज’ भनी कमलमणिले विपिनलाई गुरुकुल बोलाए । कमलले नबोलाएको भए विपिन नाटक हेर्न गुरुकुल सायदै जान्थे ।
जब उनी पहिलोपटक गुरुकुल छिरे – उनलाई नाटकले मोहित गरायो । ‘गर्ने काम त यो पो रहेछ’ भन्ने लाग्यो ।
चस्का त पसिसकेको थियो, निःशुल्क टिकट दिने कमलमणि छँदैथिए । अब गुरुकुलमा आउजाउ बाक्लिन थाल्यो । कुनै नाटक ३० शो भयो भने विपिनले २० शो त हरेकै हुन्थे । कुनै नाटकको त शतप्रतिशत शो नै हेर्थे ।
नाटकमा मोह पसेपछि कयौंपटक अफिस छोडेर गुरुकुल पुगे । दिनभर जागिर गर्यो, काम सकिनासाथ गुरुकुल पुग्यो । काम गर्न जान मन नलागेका दिन त बहाना बनाउने, गुरुकुलमै दिनभर बिताउने !
रङ्गमञ्चले रक्सी ओसार्ने ‘जागिरमञ्च’लाई धरापमा पारिसकेको थियो । गुरुकुलमा नाटक पढ्ने योजना बनाए । जागिर छाडिदिए । अब गुरुकुलको तेस्रो ब्याचका विद्यार्थी बने ।
गुरुकुल प्रवेश गर्न विपिनलाई मुख्यतः सौगात मल्ल र राजन खतिवडाको अभिनयले प्रेरित गरेको थियो । जागिर त छाडिसकेका थिए, गुरुकुलकै होस्टलमा बस्न थाले । गुरुकुलले दिने भत्ताले नै पकेट खर्च पुर्याउँथे ।
फिल्ममा प्रवेश
विपिन गुरुकुलमा वि.सं. ०६१ मा प्रवेश गरेका थिए । आठवर्षे गुरुकुल बसाइमा उनले करिब दुई दर्जन नाटक गरे । काम नै नाटक गर्ने र अभिनय सिक्ने थियो ।
नाटकमा अभिनय गर्न गुरुकुलबाट दक्षिण एसियाका सबै राष्ट्रमा पुगे । एकै झमेट झण्डै आधादर्जन देश घुमे ।
गुरुकुलकै बसाइँमा उनले एक फिल्ममा अभिनय गरे । त्यो फिल्म थियो – वरिष्ठ गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ !
सो फिल्ममा विपिनको भूमिका छोटो छ । भन्छन्, ‘फिल्ममा मेरो अनुहार पिलिक्क देखिएको छ ।’
गुमनाम खेलेका फिल्म
विपिन गुरुकुलमा रहँदै त्यहाँका कलाकारहरू फिल्मतर्फ लम्किँदै थिए । केहीले फिल्मबाटै ख्याति पनि कमाइसकेका थिए ।
नाटकका कलाकारलाई लिएर फिल्म बनाउने लहर नै चलेको थियो । उनले पनि नाटककै साथीहरूको प्रस्ताव र सिफारिसमा फिल्ममा काम पाउन थाले ।
भन्छन्, ‘सिनियर र साथीहरू फिल्म खेल्न लागेका थिए । मलाई पनि गन्तव्य नै फिल्म रहेछ भन्ने लाग्यो । प्रस्ताव आएका फिल्महरू खेल्न थालेँ ।’
सानो रोल, अनुहार पिलिक्क आउने रोलले अघाइसकेका थिए । यस्ता केही फिल्ममा काम गरेपछि ‘डाइलग’ बोल्ने भूत सवार भएको थियो । संवाद भन्ने भोक जागेको थियो ।
‘लुट’सम्म आइपुग्दा विपिनले चार फिल्ममा काम गरिसकेका थिए । ती हुन् – आचार्य, ताण्डव, कालोपोथी र सुन्तली । यी फिल्ममा आफूले सोचेजस्तो संवाद भन्न नपाएका उनलाई सानो भूमिका गर्न मन थिएन ।
‘लुट’मा पनि सानो भूमिकाकै लागि अफर आयो । उनले डाइलग नभएकाले अस्वीकार गरे । तर, कास्टिङ निर्देशक प्रवीण खतिवडा गुरुकुलको ‘ब्याजमेट’ भएकाले उनको प्रस्ताव विपिनले हार्न सकेनन् ।
नचाहँदै ‘लुट’मा जोडिए पनि त्यही फिल्मले ‘छड्के’मा अभिनय गर्ने ‘पुल’को काम गर्यो । लुटका मुख्य सहायक निर्देशक निगम श्रेष्ठ थिए । लुटमै काम गर्दा उनले विपिनलाई याद गरेका रहेछन् । छड्के बनाउने भएपछि उनले विपिनलाई प्रस्ताव गरे ।
विपिनले पहिलोपटक स्क्रिप्ट पढ्न पाएको फिल्म पनि त्यही थियो । सो फिल्ममा उनले केन्द्रीय भूमिका निभाए ।
विपिन भन्छन्, ‘यो फिल्ममा मैले डाइलगको भोक भेटिनेगरी काम गर्ने पाएँ ।’
यो फिल्ममा विपिनले निर्वाह गरेको पात्र ‘बिन्दु’ हो, जुन दर्शकमाझ प्रिय बन्यो । अहिले पनि सामाजिक सञ्जालमा ‘बिन्दु’बारे ‘मिम’ र ससाना क्लिप नाचिरहन्छन् ।
विपिन भन्छन्, ‘सोही पात्रले मलाई मेकरमाझ चिनायो र फिल्ममा अभिनय प्रस्ताव आउन थाल्यो ।’
‘फणिन्द्र’ बनेपछिको आत्मविश्वास
विपिनलाई दर्शकले सम्झने मुख्य पात्रहरू हुन् – छड्केको ‘बिन्दु’, पशुपति प्रसादको ‘भष्मे डन’, जात्राको ‘फणिन्द्र’ र लुटको ‘पित्तले डन’ ।
फिल्मी यात्राको डेढ दशकमा निर्वाह गरेका यी मुख्य चार पात्रकै कारण उनी दर्शकमाझ प्रिय बनेका हुन् ।
विपिनका लागि ‘जात्रा’ फिल्म अझ विशेष छ । ०७३ सालमा प्रदर्शनमा आएको यस फिल्म अगावै उनको ‘भष्मे डन’ र ‘विन्दु’ भूमिका हिट भइसकेको थियो ।
तर, विपिनलाई ‘जात्रा’मा फणिन्द्रको भूमिका निर्वाह गरेपछि आएको आत्मविश्वास हो – ‘अब मैले अभिनयबाहेक अर्को पेसा अपनाउनु पर्दैन ।’
०८१ सम्म आइपुग्दा विपिनले अभिनय गरेका फिल्म सङ्ख्या दुई दर्जन पुगिसकेको छन् । अहिलेहाल सबैभन्दा बढी पारिश्रमिक लिने नायकको सूचीमा उनी अग्रस्थानमै आउँछन् ।
प्रतिक्रिया