रवि हिरासतमा रहँदा कसले हाँकिरहेछ रास्वपा ? | Khabarhub Khabarhub

रवि हिरासतमा रहँदा कसले हाँकिरहेछ रास्वपा ?

नेताहरू भन्छन्, ‘कार्यवाहक तोक्न आवश्यक ठानेका छैनौँ’



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा यतिखेर जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । लामिछानेलाई कात्तिक ३ गते प्रहरीले पार्टी कार्यालय चमतीबाटै पक्राउ गरेर कास्की पुर्‍याएको थियो ।

सभापति पक्राउ परेर हिरासतमा रहेको आठ दिन बितिसक्दा पनि रास्वपाले कार्यवाहक सभापति तोकेको छैन । सामान्यतयाः दैनन्दित पार्टी गतिविधि सम्हाल्न शीर्ष नेतृत्व नहुँदा दलहरूले कार्यवाहक प्रमुख तोक्ने गर्छन् ।

त्यसैले यतिखेर रास्वपालक्षित प्रश्न उठिरहेको छ – के सभापति रवि लामिछानेले प्रहरी हिरासतबाटै रास्वपा चलाइरहेका छन् ?

यसअघि विदेश भ्रमणमा जाँदा र नागरिकता विवादमा सांसद् पद खारेज हुँदा लामिछानेले पार्टी उपसभापति डीपी अर्याललाई कार्यवाहक उपसभापति जिम्मेवारी दिएका थिए ।

वि.सं. ०७९ माग २४ सभापति रवि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतले निर्णय गरेपछि कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका थिए । तर, अहिले आफैँ प्रहरी हिरासतमा रहिरहँदा सभापति लामिछानेले अन्य नेतालाई कार्यवाहक जिम्मेवारी नदिएका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएर पक्राउ परेका लामिछानेविरुद्ध यतिखेर सङ्गठित अपराध मामिलामा पनि अनुसन्धान भइरहेको छ । यतिमात्र होइन, लामिछानेको सम्पत्ति छानबिन हुनुपर्ने माग पनि उठिरहेको छ ।

उनीमाथि सार्वजनिक स्तरबाटै ठगी, कीर्ते र ज्यूज्यानसम्मका झण्डै आधादर्जन आरोप छ । यी आरोपमा प्रहरी प्रशासनले अनुसन्धान गर्न चाहे लामिछाने लामो समयसम्म हिरासतमा बस्ने स्थिति बन्नसक्छ । अहिलेकै स्थितिमा पनि रास्वपालाई नेतृत्व तहमा कम्तिमा कार्यवाहक प्रमुख आवश्यक देखिन्छ ।

तर, रास्वपाका नेताहरू कुरा मान्न तयार छैनन् ।सभापतिलाई कुनै पनि दोष लगाउने बित्तिकै उनी आरोपित नभएकाले तत्कालै कसैलाई कार्यवाहक जिम्मेवारी दिइहाल्नुपर्ने अवस्था पार्टीले महसुस नगरेको प्रवक्ता मनीष झाको भनाइ छ ।

‘अहिले कसैले प्रश्न उठाउनुभएको छैन । हामीलाई काम गर्न पनि पूरै अधिकार दिनुभएको छ । हाम्रो सभापति आरोपित भएको कुनै निर्णय नभएकाले तत्काल कुनै निर्णय नगरेका हौँ,’ खबरहबसँग कुरा गर्दै झाले भने, ‘सभापतिज्यू देशभित्रै भएकाले पनि कार्यवाहक राख्न जरुरी ठानेको छैन । आवश्यक भयो भने निर्णय गर्छौं ।’

यसअघि रास्वपाले कुनै पनि प्रश्न उठ्नेबित्तिकै तत्काल पार्टीबाट निलम्बन गरेर मुद्दा नसल्टिएसम्म अर्कोलाई कार्यवाहक दिने अभ्यास गरेको थियो । पार्टीबाट समानुपातिक सांसद भएका ढाकाकुमार श्रेष्ठ र महामन्त्री मुकुल ढकालको सन्दर्भमा पनि रास्वपाले सोही उपाय अपनाएको थियो । तर, सभापति लामिछानेमाथि लागेको आरोपलाई रास्वपाले ‘राजनीति प्रतिशोध’ बताउँदै कार्यवाहक तोक्न नचाहेको हो ।

रास्वपा उपसभापति डिपी अर्याल ।

शनिबारको बैठकमा डिपीको सभापतित्व

सभापति पक्राउ परेपछि शनिबारमात्रै रास्वपाको औपचारिक बैठक बसेको थियो । सो बैठकको सभापतित्व पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नै गरे ।

रास्वपाका दुई उपसभापतिमध्ये पहिलो नम्बरका अर्याल हुने भने हुन् भने दोस्रो नम्बरका डा.स्वर्णिम वाग्ले हुन् ।

हिजोको बैठकमा स्वर्णिमले नै पार्टी बैठकको सभापतित्व डिपीले गर्ने जानकारी गराएका थिए । सोही बमोजिम अर्यालले पार्टी बैठकमा सभापतित्व गरेका हुन् ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकको निर्णय नम्बर तीनमा रास्वपाले गरिरहेको रवि पक्राउ विरुद्धको आन्दोलनको संयोजक उपसभापति अर्याललाई तोकेको छ । यता, नागरिक संवादको जिम्मेवारी अर्का उपसभापति डा. वाग्लेले पाएका छन् ।

‘साथीहरू सबैले दुई उपसभापतिलाई आ–आफ्नो कार्यभार तोकिदिनुभएको छ, हामी त्यसअनुसार काम गर्नेछौँ । अहिले हामीले कार्यवाहक सभापति लिन जरुरी ठानेका छैनौँ’, खबरहबसँग कुरा गर्दै उपसभापति अर्यालले भने, ‘मैले पाएको जिम्मेवारी अनुसार प्रदेशहरूमा पनि आ–आफ्नो कार्यविभाजन तोकेर पार्टीका प्रदेश समिति संयोजकलाई आन्दोलन गर्नसर्कुलर जारी गरिसकेको छु ।’

अर्यालका अनुसार अब प्रत्येक प्रदेशले निर्णय गरेर, निश्चित स्थान तोकेर आन्दोलन तयारी भइरहेको छ । काठमाडौँमा पनि आन्दोलनलाई निरन्तरता दिने उनले जानकारी दिए ।

अर्का उपसभापति वाग्लेले नागरिक संवाद गरेर आन्दोलनको विषयमा धारणा लिने जिम्मेवारी पाएका हुन् । वाग्लेले नागरिक र बौद्धिकस्तरबाट पनि रवि लामिछाने प्रकरणको विषयमा थप अध्ययन र अनुसन्धान गरेर सुझाव लिने बताएका छन् । वाग्लेको सचिवालयका अनुसार उनले नागरिकस्तरमा आन्दोलनबारे धारणा र रवि पक्राउको सन्दर्भमा संवाद र छलफल थाल्दैछन् ।

रास्वपाको पछिल्लो बैठकले न्यायालयलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्ने, तर अन्य दलहरूले न्यायालयलाई प्रभावित पार्न खोजे त्यसको विरुद्ध आफूहरू उत्रिने छलफल गरेको सो पार्टीका प्रवक्ता झाले बताए ।

उनले भने, ‘राजनीति प्रतिशोधका आधारमा सभापतिज्यूलाई हिरासतमा राखिएको छ, यो गलत हो । हामी आन्दोलनलाई निरन्तरता दिन्छौँ, तर शान्तिपूर्ण रूपले आन्दोलन गर्छौँ ।’

सबै मिलेर पार्टी चलाउँदैछौँ : अर्याल

‘सभापति पक्राउ परेयता अहिलेसम्म कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई तोकिएको छैन, पार्टी कसरी चलाई रहनुभएको छ ?’ भन्ने खबरहबको प्रश्नमा रास्वपा उपसभापति अर्यालले भने, ‘हामीले अहिलेसम्म कार्यभार लिनुपर्ने दिनुपर्ने विषयमा छलफल नै गरेका छैनौँ । किनकी राजनीतिक प्रतिशोधका आधारमा सभापतिज्यू हिरासतमा हुनुभएका कारण हामीलाई कार्यवाहक तोक्न कुनै हतारो छैन ।’

अर्यालले थपे , ‘आवश्यकता भए हामी त्यसबारे पनि छलफल गर्छौँ, तर अहिले हामीलाई आवश्यकता महसुस भएको छैन । हामीले समूहमै छलफल गरेर आवश्यक निर्णय गरिरहेका छौँ, शनिबारको बैठकको अध्यक्षता मैले नै गरेको थिएँ ।’

रास्वपा सभापति रवि लामिछानेसँग उपसभापति डा. स्वर्णिम वाग्ले (सेतो सर्टमा) ।

अर्याल र वाग्लेसँग रविको छलफल

सभापति लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापति दिनेबारे आफू र वाग्लेसँग छलफल गरेको अर्यालको भनाइ छ । त्यो बेलामा कार्यवाहक सभापतिको जिम्मेवारी दिन कुनै हतारो नगर्न वाग्ले र आफूले लामिछानेलाई सुझाएको अर्यालको दाबी छ ।

‘अहिले उपयुक्त समय नभएको कारण सभापतिले जसरी कम्फर्ट हुन्छ उसै गरी पार्टी चलाउन आग्रह गरेका थियौँ’, अर्यालले भने, ‘सभापतिले कार्यवाहक दिने सन्दर्भमा छलफल गर्नुभएको थियो, तर हामीहरू दुवैजना उपसभापति बसेर अहिले तत्काललाई यो निर्णय गर्न आवश्यक नरहेको सुझाव दिएका थियौँ ।’

जेल परेका नेताहरूसमेत पार्टीको अध्यक्ष भएको कुरा स्मरण गर्दै अर्यालले थपे, ‘नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले पनि जेलबाट नै पार्टी चलाउनुभएको थियो, पछिमात्र उहाँले रञ्जिताजीलाई जिम्मेवारी दिनुभएको हो । हाम्रा हकमा पनि कसैले पनि कार्यवाहक सभापति लिनुपर्ने आवश्यकता ठानेका छैनौँ । पार्टी सञ्चालनका काम सहज ढङ्गले नै अघि बढिरहेको छ । सभापतिज्यूले पनि कुनै निर्णयमा रोकतोक गर्नुभएको छैन ।’

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : २८ बजे

नेपाली महिला यू–१९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने

काठमाडौं – नेपाली महिला यू–१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको

आजका समाचार : माओवादी र रास्वपामाथि खनिए ओली, कुलमानले काटे उद्योगको बिजुली, अमेरिकामा वाकयुद्ध

रविबारे प्रधानमन्त्रीले भने- अनुसन्धान हुँदैछ, अदालतमै उफ्री उफ्री कराउनु ठिक

रेखालाई दोहोरो पहेँलो कार्ड, नेपाल १० खेलाडीमा सीमित

काठमाडौं – नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पहेँलो कार्ड पाएकी

काठमाडौं–तराई द्रुतमार्ग : खोकना क्षेत्रमा मुख्य समस्या

हेटौंडा – काठमाडौं–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरसँग सीमा क्षेत्र जोडिएको लतिलपुरको

ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट !

काठमाडौैं– नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारी