अन्तर्राष्ट्रिय

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

By खबरहब

April 27, 2024

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई मसाला ब्राण्ड एभरेष्ट र एमडीएचको गुणस्तरबारे अमेरिकामा पनि अनुसन्धान शुरू भएको छ ।

अमेरिकामा खाद्यपदार्थ गुणस्तर जाँच गर्ने सरकारी निकाय फूड एण्ड ड्रग एड्मिनिष्ट्रेशन (एफडीए) ले भारतीय कम्पनी उत्पादित मसालामाथि जाँच गरिरहेको जनाएको हो ।

हङकङले इथाइलीन अक्साइडको मात्रा अत्यधिक पाइएपछि भारतीय मसालामाथि प्रतिबन्ध लगाइसकेको छ । एभरेष्ट र एमडीएच ब्राण्डका केही उत्पादनको बिक्रीमा हङकङ प्रशासनले रोक लगाएको हो ।

लगत्तै सिङ्गापुरले पनि एभरेष्ट र एमडीएचका उत्पादन बिक्रीमा प्रतिबन्ध लगाइसकेको छ । भारतमा एमडीएच र एभरेष्ट सबैभन्दा चर्चित मसाला हुन् । यी ब्राण्डका मसाला भारतीय कम्पनीले यूरोप, एशिया र उत्तर अमेरिकी बजारमा बिक्री गर्ने गरेका छन् ।

मसलाको गुणस्तरमा प्रश्न उठेपछि एभरेष्टले आफ्ना उत्पादन सुरक्षित रहेको दाबी गरेको थियो । अमेरिकाले समेत अनुसन्धान थालेपछि भने एभरेष्टले हाल कुनै प्रतिक्रिया दिएको छैन ।

भारतीय खाद्य सुरक्षा अधिकारीले पनि यी दुबै कम्पनीको मसालाको गुणस्तर परीक्षण थालेका छन् ।