भरत शर्माले डेढ दशक पत्रकारितामा बिताए । पत्रकारिता रुचिभन्दा रहरको विषय थियो । तर उनी कहलिएको पण्डित बन्न चाहन्थे । सानैमा ‘बा’ बितेपछि पण्डित्याइँमा हजुरबाले पाएको ख्यातीको सम्मोहनले बाल्यावस्थाका भरतलाई आकर्षित गर्यो। मावली हजुरबाको अभिभावकत्वमा हुर्किएका उनी बाक्य फुट्दा नफुट्दै संस्कृतका शब्दसंग लुकामारी खेल्न थालिसकेका थिए । पण्डित बनेर मात्र भएन, विद्वान पण्डित बन्नु थियो । त्यही प्राज्ञिक भोक मेटाउन बनारस हानिए । दिनरात मेहनत गरेर पढे । गुरुको सेवा सुश्रुषामा तल्लीन भए ।
अहिलेजस्तो सामाजिक सन्जालको विकास भएको थिएन । गुरुले पढ्ने अखबार बजारबाट ल्याउने दायित्व भरतको रुटिनमा थियो । आफूले श्रद्धा गर्ने गुरुले पढ्ने अखबारमा लेख्नु चाहिँ ठूलो काम भन्ने लागेपछि पत्रकारिताले उनलाई तानेको हो । बनारसमा शास्त्री गरेपछिकै समयमा हजुरबा दिवंगत हुनुभयो ।
शास्त्रीय मान्यताअनुसार हजुरबाले धानेका सबै जजमानी काम काँधमा आएपछि हाम्फालेर घर आए । त्यसपछि गुरुले पढ्ने अखबारमा लेख्ने कला सिक्ने ठाउँ खोज्दै जाँदा रत्नराज्य क्याम्पस फेला पर्यो । शास्त्री पास गरेका उनी आइएमा भर्ना भए । त्यहीँबाट बीए, एमए गरे । पाएको सीप व्यवहारमा ढाल्न पत्रकारिता पनि गरे । भारतसंगका भक्तजनसंगको सम्बन्धलाई कायमै राखे । त्रिभुवन विश्वविद्यालयबाट हिन्दी भाषामा स्नातकोत्तर र संस्कृतमा आचार्य गरे । यतिले मात्र भोक मेटिएन अहिले उनी पत्रकारितामा विद्यावारिधि गरिरहेका छन् ।
धार्मिक पर्यटन, पत्रकारिता, ज्योतिष, पुरोहित सबै कामलाई निरन्तरता दिँदै अहिले उनी चीनको विश्वविद्यालयमा आगन्तुक प्रोफेसर भएर काम गरिरहेका छन् । वर्षमा एक चौथाइ समय नेपालमै बिताउँछन् । विश्वविद्यालयसंग १४ वर्षको सम्झौता छ । चिनियाँलाई हिन्दी, संस्कृत र नेपाली धर्म संस्कृतिबारे पढाउँछन् । गज्जब त के छ भने प्रत्येक चिनियाँ विद्यार्थीको उनले नेपाली नाम राखिदिएका छन् । धादिङ, सल्यानटारमा २०३७ सालमा जन्मेका शर्माले बुवा जान्न पाएनन् । उनी दुई वर्षको हुदाँ उहाँको स्वर्गवास भएको थियो । बुवा भारतमा सरकारी जागिरमा हुनुहुन्थ्यो भन्ने कुरा उनले आमाबाट थाहा पाएका थिए । उनी एकल आमाले हुर्काएको एक मात्र सन्तान हुन् ।
२०७२ सालको विनासकारी भूकम्पमा आफ्नै घरले चेपिएर आमाको पनि चोला उठ्यो । त्यो समय गाउँमा एकल महिलालाई हेप्ने प्रवृत्ति थियो । आफ्नो घरमा बस्न नसकेर मामाको घरमा गएर बस्नुपर्यो । मामाघरमा उनलाई सबैले माया गर्नुहुन्थ्योे । मामा घरको हजुरबुवा पण्डित हुनुहुन्थ्यो । हजुरबुवासँग पाँच वर्षको उमेरदेखि उनी सुरो बोकेर हिँड्न थालेका थिए । उनै शर्मासंग खबरहबले गरेको अन्तरंग कुराकानी :
बनारसमा गएर संस्कृत पढेको मान्छे कसरी पत्रकारितामा लाग्नुभयो ?
बनारसबाट संस्कृतमा शास्त्री गरें । त्यहाँ सात वर्ष पढें । बनारसमा गुरुजीको सेवक थिएँ । बिहान पाँच बजे पत्रिका पु¥याउन जानुपथ्र्यो । मलाई के लाग्थ्यो भने त्यो पत्रिकामा के लेख्या होला ? यसरी सधै गुरुजीले पढ्नुहुन्छ । बिहान चोकमा गएर पाँचवटा पत्रिका बोकेर ल्याएर गुरुजीलाई दिनुपथ्र्यो ।
गुरुजीले पढेको देखेर यस्तो लेख्ने बन्नुपर्छ भन्ने लाग्यो । यो पढ्न नेपालमा कहाँ पाइन्छ ? भनेर खोज्दै जाँदा रत्नराज्यमा पढ्न पाइने रहेछ । त्यसपछि बनारसको पढाई छोडेर आरआरमा आइएदेखि भर्ना हुन आएँ । अभिभावक नहुँदा विक्षिप्त भएको थिएँ । के पढ्ने, कहाँ जाने, कसले सहयोग गर्छ भन्ने भयो । त्यसकारण रत्नराज्य कलेजमा पत्रकारिता भर्ना भए । आइए, बीए त्यहिँ पढें । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल गरें । हाल विद्यावारिधिको तयारीमा छु ।
बनारस पुगेको मान्छे नाम, दाम, अवसरका बाटाहरु उतै हुँदाहुँदै किन नेपाल फर्कनुभयो ?
यता गाउँमा हजुरबुवा बिरामी भएपछि जजमान पनि सम्हाल्ने जिम्मेवारी आइलाग्यो । बिरामी भएपछि, उहाँले बोलाउनुभयो । हाम्रो चलन के छ भने हजुरबुवाको मृत्यु भएपछि एक वर्षसम्म जजमान छोड्न मिल्दैन । पढाई नै छोडेर गाउँमा बसेर एक वर्ष जजमान् सम्हाले । एक वर्षपछि सबै जजमान्हरुलाई अब म पढ्न हिँडे । तपाईहरु आ–आफ्नो मान्छे खोजेर लगाउनु भनें ।
हजुरबाको विरासत मात्रै धानिन कि जजमानीको कर्तव्य निर्वाह गरें । अहिले पनि काठमाडौंमा एक घरमा मात्रै जजमान् गर्छु । मेरो गाउँको मान्छे यहाँ आएर घर बनाएर बसेको एक घरमा मात्रै गर्छु । एक घर मात्र किन गरेको भन्ने प्रश्न आउँछ । त्यो त मैले हजुरबुवाको कर्तव्यलाई पूरा गरेको हो । यति व्यस्त छु तैपनि एक घरमा जजमान् छोड्नेवाला छैन । अन्त फेरि जान्न । हजुरबुवाको कर्मकाण्डी पेशाको बिँडो थामेको हो । त्यसरी आफ्नो कर्मकाण्डी पेशालाई निरन्तरता दिएको छु ।
अर्को पत्रकारितामा राससमा पाँच वर्ष र राजधानीमा नौ वर्ष काम गरे । केही समय विमोचन मासिक पत्रिकामा पनि काम गरें । पत्रकारिता गर्दागर्दै २०६४ सालमा ‘टुर गाइड’ बनें । पत्रकारिताले मात्रै गरिखान सक्दिन भन्ने लाग्यो । पत्रकारितामा कसैलाई दुख दिन, अन्याय गर्न र कसैले दिएको धन ग्रहण गर्न सकिन । २०६८ मा ट्राभल एजेन्सी नै खोलें । आफैँ मालिक, मजदुर भएर पर्यटक घुमाउन थालें ।
त्यसपछि मेरो जीवन नै परिवर्तन भयो । तर पत्रकारिता र पढाइ छोडिन । पढाइ अहिले पनि छोडेको छैन । हालै हिन्दीमा एमए सकें । पत्रकारिता एमफिल र संस्कृतमा आचार्य गरें । अहिले म संस्कृतको घर–घरमा गुरुकुल शिक्षा अभियान अन्तर्गत विभिन्न पाठशालाहरुमा पढाउँछु । त्यहाँ ज्योतिष र कर्मकाण्ड पढ्छु । किनभने पढाइको सीमा छैन । मैले नजानेका कुरा धेरै छन् । त्यसकारण साधुसन्तहरुसँग पढ्छु ।
अहिले महेश गुरुकुल देवघाटमा पढिरेहको छु । गुरुहरुले अनलाइनमा पढाउनुहुन्छ । चीनमै बसेर अनलाइन पढिरहेको छु । यो कुनै तह होइन । यो श्रीमद्भागवत गीता, श्रीमद्भागवत महापुराण, रुद्री, चण्डी लगायतका शास्त्रीय तथा दर्शनका कक्षाहरु अनलाइनबाट पढाइन्छ । कोरोना महामारीपछि अनलाइन पढाउने गरिएकाले सजिलो भएको छ ।
त्यो भन्दा पहिले भौतिक रुपमा उपस्थित भएर पढ्नुपथ्र्यो । महामारीले मानिसलाई केही कुरामा सहज पनि बनाइदियो । अहिले जुमबाट पढ्ने पढाउने अभ्यासहरु चलिरहेको छ । ज्ञानको लागि त्यहाँ दर्शन, कर्मकाण्ड, ज्योतिषी, महापुराणको कुरा छ । शास्त्र चिन्तन गर्ने लत बस्यो ।
म जहिले पनि विद्यार्थीको रुपमा प्रस्तुत हुने प्रयास गर्छु । यहि क्रममा म २०१८ मा चीनको एक विश्वविद्यालयले नेपालबाट नेपाली, हिन्दी, अंग्रेजी र संस्कृत जानेको पात्र खोज्यो । मैले एप्लाइ गरें, नाम निस्क्यो । त्यही वर्षको डिसेम्बरमा चीनको हनान विश्वविद्यालयमा नियुक्ति पाएँ । २०१९ फेब्रुअरी २२ देखि लगातार चीनमा पढाइराखेको छु ।
त्यतिखेर म नै छानिनुको कारण बताउँछु । त्रिविका धेरै साथीहरुले एप्लाई गरेका थिए । म छानिनुमा हिन्दी राम्रो थियो । संस्कृत र अंग्रेजी पनि पढेको हुनाले चारवटै भाषाको ज्ञान थियो । किनभने त्यहाँ भाषा पढाउन जाने हो । यी चार भाषा कहिँ न कहिँ ठोक्किएर आउँछन् । नेपाली पढाए, हिन्दीका कुरा आउँछन् । हिन्दी पढाए, नेपाली कुरा आउँछन् ।
हिन्दी र नेपाली पढाउने विद्यार्थीलाई मैले संस्कृत सिकाउँछु । मेरो चिनियाँ विद्यार्र्थीलाई धेरै संस्कृतका कुरा सिकाउँछु । चीनमा मैले पढाउने भनेको हाम्रो पात्रो हो । पञ्चाङ्ग पढाउँछु । पात्रो भनेको हामीले वैशाखदेखि चैतसम्म के– के चाडपर्व तिथिमिति छ ? त्यो सबै पढाउँछु । त्यो संस्कृत नजानेको मान्छेले जान्दैन । नेपाली भाषा मात्रै पढेर त्यो जानिदैन ।
चिनियाँ विद्यार्थीले नेपाली पञ्चाड्ग पढ्न किन जरुरी भयो ?
उनीहरुले रोजगारीको लागि नेपाली भाषा पढ्छन् । पर्यटन मन्त्रालयमा, विदेश विभागमा, रेल विभागमा, एयरर्पोर्ट लगायतमा रोजगारी पाउँछन् । नेपालबाट जति पनि डेलिगेसनको लागि चीन जान्छन्, व्यापारीहरु जान्छन् । तिनीहरुलाई अनुवाद गर्नुपर्यो ।
अहिले हामीसँग पढेका सबै विद्यार्थीले रोजगार पाएका छन् । हाम्रो दक्षिण एशियाली अध्ययन केन्द्रमा दक्षिण एसियाको संस्कृति पढाउँछौ ।
भारतको संस्कृति पढाउँछौ । हिन्दी पढ्ने विद्यार्थीले पनि दक्षिण एसियाको संस्कृति पढेको हुन्छ । नेपालको संस्कृति पढेको हुन्छ ।
अर्को दक्षिण पूर्वी एसियामा दुईवटा विभाग पढाइन्छ । यो भित्र संस्कृति, संस्कार, समाज र यो क्षेत्रको राजनीति, भौगोलिक बनावटको बारेमा विश्वविद्यालयमा पढाइन्छ । पाठ्यक्रम बनाएर तालिकाअनुसार पढाइ हुन्छ ।
कुन देशको भाषा संस्कृति पढ्ने भनेर विद्यार्थीको चयन कसरी हुन्छ ? नेपाली भाषा संस्कृतिप्रति चिनियाँ विद्यार्थीको बुझाई कस्तो छ ?
उनीहरुको काउखाउ भन्ने परीक्षा हुन्छ । हाम्रो नेपालमा इन्ट्रास परीक्षा जस्तो । त्यो काउखाउ परीक्षाबाट छनौट भएर आउँछन् । अनि विश्वविद्यालयमा प्रवेश गर्छन् । विश्वविद्यालयमा प्रिजेन्टेसन हुन्छ । यसबखत तिमीहरु के पढ्ने ? सोधिन्छ । उनीहरुले कसैले नेपाली, कसैले हिन्दी, जापानी, लाओस, भियतनामी, कम्बोडियन भन्छन् । कुनै पनि देशको भाषा पढ्न पाइन्छ ।
संसारको कुनै पनि भाषा विद्यार्थीको लागि उपलब्ध छ । स्नातक (आठ सेमेस्टर) सकेपछि मास्टर्स पढ्नका लागि स्पेशल जस्तै स्नातकमा १६ विद्यार्थी छन् । अहिले चार जनालाई मात्रै मास्टर्समा ल्याएका छौं । अन्तर्राष्ट्रिय भाषाको पढाइ स्नातकबाट सुरु हुन्छ । चार वर्षको स्नातक हुन्छ ।
अधिकांश चिनियाँहरु स्नातक तह उत्तीर्ण गरेपछि रोजगारमा लाग्छन् । मास्टर्स पढ्ने अलि कम हुन्छन् । उनीहरुले नेपालीमा मास्टर्स गरेर हिन्दीमा जान्छु भने पनि पाउँछन् । अंग्रेजीमा जान्छु भने पनि स्वतन्त्र छन् । मेरा केही विद्यार्थीहरु स्नातक सकेर अंग्रेजीमा एमए गर्छु भनिरहेका छन् । अर्को भाषामा एमए गर्न पाइन्छ ।
चीनको विश्वविद्यालयमा नेपाली पाठ्यक्रम हुने कुरा भएन । तपाईंका कुरा सुन्दा पाठ्यक्रम भनेकै पढाउने गुरुमा निर्भर रहने देखियो । त्यहाँ गएर पढाउने गुरु आफैंमा कस्तो हुनुपर्छ ?
हो, हो त्यहि भएर मेरो जिम्मेवारी धेरै छ । ती विद्यार्थीहरुलाई भाषा, साहित्य, कला, संस्कृति, भूगोल, इतिहास, राजनीति, कुटनीति, धर्मसंस्कार सबै पढाएको छु । पाठ्यक्रमा नै नेपाली समाज भन्ने छ, त्यसमा राखेका छौं । नेपाली समाजभित्रको सबै चित्र बताउनुप¥यो । दुई सेमेस्टर पढ्छन् नेपाली समाज भनेर । विद्यार्थीले भन्दा शिक्षकले बढी मेहनत गर्नुपर्छ । पाठ्यसामग्री पनि उतिक्कै तयार गर्नुपर्छ । अडियो, भिडियो बनाउनु पर्छ ।
हाम्रो कुन विषय उनीहरुलाई बढी अनौठो मान्छन् ?
नेपालको संस्कृति देखेर अनौठो मान्छन् । यस्तो धेरै संस्कृति र परम्परा भएको देश अरु छैन भन्छन् । संस्कृतिको कक्षा पढाउँदा अत्यन्तै खुसी लाग्छ । संस्कृतिको कक्षा पढाउदाँ विद्यार्थी यति खुसी र आनन्दित हुन्छन् कि बयान गरी साध्य छैन् । गाइजात्रा, जनैपूर्णिमा, नागपञ्चमी, दशंै, तिहार, ल्होसार, माघेसंक्रान्तिको बारेमा पढाउँदा खुसी हुन्छन् ।
आमा खुवाउने औंशी, बुवा खुवाउने औंशी हुन्छन् । हाम्रो संस्कारभित्रै सबै कुरा छन् । एक वर्ष पढेपछि आहा कस्तो प्यारो छ भन्छन् । नेपालीहरुको सहयोगीपना मन पराउँछन् । जब म वैशाखदेखि चैतसम्मको पात्रो पढाइसक्छु, विद्यार्थीहरुले छर्लङ नेपाल बुझ्छन् ।
चिनिया विद्यार्थीले पढ्छन मात्रै कि त्यसअनुसारको संस्कृति अंगाल्ने रुचि पनि राख्छन ? दशैं, तिहार मनाउँछन् ?
म आफैं दशैंमा विद्यार्थीहरुलाई टिका लगाउने गर्छु । तिहारमा विद्यार्थीहरुबीच माला लगाउने अभ्यास गराएको छु । अर्को रोचक के भने कक्षा सबै अडियो भिडियो हुन्छ । गाइजात्रा भनेपछि त्यससम्बन्धी सबै भिडियोमार्फत पढाउने हो । दशैंको भिडियो देखाएर पढाउने हो । युटुब अथवा किनेर पनि भिडियोमार्फत पढाउने हो । पाठ्यक्रम विकास केन्द्रबाट पनि भिडियो प्राप्त गर्न सकिन्छ ।
केन्द्रले अडियो भिडियो सामाग्री बनाएको छ । त्यो नेपाल सरकारसँग मागेर पढाएको छु । उनीहरुले सबै अडियो भिडियो बनाएका छन् । भनेर मात्र विश्वास हुँदैन । सामग्रीले विश्वास दिलाउनु पर्छ ।
नेपालको कला संस्कृति पढेर एक्काइसौं शताब्दीको चिनियाँ विद्यार्थीलाई के फाइदा हुन्छ ?
भाषा पढ्ने विद्यार्थीले त्यो देशको संस्कृति नबुझी पूर्ण हुँदैन । कुनैपनि देश बुझ्नको लागि सबैभन्दा पहिले त्यो देशको संस्कृति जान्नुपर्छ । मानौ चीनमा तपाईंलाई कसैले निमन्त्रणा गरेको छ भने त्यहाँ ठूलो मान्छेले नखादाँसम्म अरुले खान पाउँदैन । त्यो त संस्कृति हो उनीहरुको । खादाँखेरि भाँडा बज्यो भने उनीहरु रिसाउँछन् ।
चपस्टिक ठाडो पारेर खाँदैनन् , त्यो त मान्छे मरेको बेला ठाडो पारेर शोक प्रकट गर्दा चपस्टिक ठाडो पार्ने हो । चपस्टिक हातले समाउँदा, खाना लिँदा, बस्दाको फरक फरक संस्कृति हुन्छ ।
हाम्रो नेपाली संस्कृतिमा पनि यस्ता अर्थपूर्ण विषय छन् । म यताका यिनै कुरा उनीहरुलाई सिकाउँछु । उनीहरु प्रश्न गर्छन– ‘गुरुजी, छोराले बाउआमा ढोग्नुपर्ने, अनि छोरीलाई किन बाउआमाले ढोग्न पर्ने ?’ चिनिया संस्कृति नेपाल भन्दा उल्टो छ । नेपालमा छोरीलाई दाइजो दिनुपर्छ । तर चीनमा छोराले केटीको घरमा दाइजो दिनुपर्छ । छोराको बिहे गर्दा केटीको आमालाई गएर पैसा दिएपछि मात्रै छोरी पाइन्छ । छोराको बिहे गर्न चीनमा धेरै गाह्रो छ । प्रशस्त दाइजो दिनुपर्छ ।
सासुलाई ‘तपाइँकी छोरी म पाल्छु’ भनेर कमिटमेन्ट गर्नुपर्छ । दाइजो संस्कृतिका बारे पढाउँदा तीनचार विद्यार्थी उत्तेजित बनेका थिए । यस्तो पनि हुन्छ ? भनेर आश्चर्यमा परे । मैले भारतीय संस्कृतिमा दाइजोको प्रभावबारे भिडियो बनाएर पढाएँ । दाइजोका धेरै घटनामध्ये त्यहाँ घटेको डाक्टरको घटना, नेपालको डाक्टरको पनि एउटा घटना थियो । यसैलाई सन्दर्भ बनाएँ ।
चीनमा बिहे गरेपछि छोराबुहारी घरमा बावुआमासँग बस्दैनन् । निश्चित समयसम्म अलग बस्ने हो । बाउआमासँग बस्यो भने झगडा हुन्छ । सम्बन्ध राम्रो हुँदैन भन्ने सोच छ । घर किनेर छोराबुहारीलाई छुट्टै राखिदिन्छन् । छोराबुहारीको सन्तान भएपछि मात्रै सँगै बस्छन् । संयुक्त परिवारमा बस्ने चलन छ ।
हाम्रोमा दाइजो प्रथा छ, छोरीलाई ढोग्न पर्ने संस्कार छ । छोरीलाई किन ढोग्ने भन्छन् । छोरी भनेको देवी हो भनेर अनेक शास्त्रीय तर्कले सम्झाएपछि अहिले मेरा केटा विद्यार्थीहरु घर गएर आमाबुवा ढोग्छन् । त्यो मैले सिकाएको हो । मेरो विद्यार्थी छ, भिम भन्ने । भिनाजुलाई भेटेपछि ढोग्ने हाम्रो चलन हो । उसले भिनाजुलाई भेट्यो कि ढोगिहाल्दो रहेछ ।
मेरो सालाले ढोग्यो भनेर खुसी भएर पैसा, लुगा दिने, धेरै माया गर्न थालेछन् । उसका भिनाजु चीनको परराष्ट्र र दिदी शिक्षा मन्त्रालयमा काम गर्ने । उनीहरुलाई युनान बोलाएर ढोग्न थालेछ । मेरो गुरुजीले सिकाएको, नेपाल गएर सिकेर आएको भन्दोरहेछ । अहिले उसले आमा र बुवालाई पनि ढोग्न थालेछ । सबैमा खुसी भरिएको छ, संस्कृतिले कति फरक पार्दोरहेछ । चीनमा आमाबुवालाई ढोग्ने खासै चलन छैन ।
उसले दिदीलाई पनि ढोग्ने रहेछ । सबै विद्यार्थिको नेपाली नाम राखिदिएको छु । सरस्वती, लक्ष्मी, अर्जुन यस्तै–यस्तै नाम छ । चिनिया नामसँग अर्थ मिल्ने हिसाबले । भिम किन राखेको भने उ बलियो छ । दौडिन्छ, खाइलाग्दो ज्यान परेको छ ।
३० केजी ढुङगा बोकेर दर्गुन सक्छ । उ सेनामा जान्छु भन्छ । भोलि सेना भयो भने नेपाली दूताबासमा जिम्मेवारी लिएर आउन सक्छ । उसलाई अंग्रेजी र हिन्दी पनि आउँछ । समय लाग्छ तर उसले अवसर पाउँछ ।
विश्वका भाषा, संस्कृतिमा चीनले यति विधि लगानी बढाउनुको कारण के हो ?
चीन विकास निर्माणमा चरमचुलीमा पुगिसक्यो । हार्डपावरमा उनीहरुले धेरै गरिसके । तर उनीहरु सफ्ट पावरमा कमजोर छन् । सबै शक्तिको लागि उसले शिक्षामा लगानी गरिरहेको छ । म मात्रै होइन, चीनको विश्वविद्यालयमा हिन्दी पढाउने हरेक विभागमा भारतीय विद्वानहरु छन् ।
भाषामा मात्रै नभएर वनस्पति विभागलगायत हरेक विभागमा विदेशी भित्र्याएको छ । उनीहरु शैक्षिक शक्तिलाई प्रवद्र्धन गर्न चाहन्छन् । संसारका टप टप मान्छेहरुले चाइनामा कति तलब माग्छ ? मागेजति दिएर तिनीहरुलाई ल्याइएको छ । उनीहरुको नीति अझै यो भन्दा माथि छ ।
चाइनाभरि नै उसले शक्ति केन्द्रित गर्न लागिरहेको छ । विकासमा अब्बल उनीहरु अरुलाई सिकाउने अवस्थामा छन् । तर उनीहरु आफूभित्रको एकेडेमिक कमजोरीलाई उठाउन चाहन्छन् । भाषा, संस्कृति सिकेर हो कि बीआरआईजस्ता परियोजनामा संस्कृति जोडिएको छ । कुनै देशमा दिएको प्रोजेक्टमा जागिर खान जानुपर्यो भने त्यो देशको भाषा र संस्कृति नबुझिकन उनीहरुले पठाउँदैनन ।
खासगरी तपाईंले पढाउने विषय के के हुन् ?
मैले नेपाली र भारतीय संस्कृति पढाउँछु । भारतका चाडपर्वहरु पढाउँछु । नेपालमा हामी रक्षाबन्धन बाँध्छौ, भारतमा राखी बाँध्छन् । उनीहरुलाई संस्कृतिसँग जोड्नुपर्छ । तिहारमा उनीहरुले दीपावली भव्य रुपमा मनाउँछन् । नेपाल र भारत दुवैको सिकाउँछु । दक्षिण एसियाको संस्कृतिका विषयमा हाम्रो छलफल हुन्छ ।
अरु शिक्षकले अरु– अरु देशको भाषा र संस्कृति सिकाउँछन् । उनीहरुको कक्षा धेरै हुन्छ । अरु पनि देशको संस्कृति सिक्छन् । जस्तै लाओस्, कम्बोडिया, भियतनाम, पाकिस्तान, बंगलादेशको सिक्छन् । बंगलादेशको शिक्षकले उसको संस्कृति पढाउँछ । हाम्रो पाठ्यक्रमअनुसार नै संस्कृति भनेर उनीहरुले जानेका बुझेका हुन्छन् । भाषा र संस्कृति नजानी अरुको देशको बारेमा जानिदैन भन्ने उनीहरुको ठहर छ ।
शैक्षिक क्षेत्रमा चीनले धेरै लगानी गरेको छ । हाम्रो विश्वविद्यालयहरुमा म जाँदासम्म ९ जना विद्यार्थी थिए, अहिले ४२ जना पुगिसक्यो । विभाग धेरै छ, हाम्रो त्रिभुवन विश्वविद्यालय भन्या जस्तै हो । मानौ त्रिवि जस्तै विश्वविद्यालय छ , त्यहाँ मेडिसिन लगायत सारा विषय छन् । म त दक्षिण एसियाली भाषा साहित्य विभाग अन्तर्गत पर्छु ।
यहाँ विश्वभाषा क्याम्पस जस्तो त्यो अन्तर्गत बनाएका छन् भाषा विभाग भनेर । त्यहाँभित्र दक्षिण पूर्वी एसिया र दक्षिण एसिया भन्ने दुईवटा विभाग छ । त्यसमा चिनियाँ शिक्षकहरु पनि छन् । विदेशी शिक्षकहरु पनि छन् ।
अरु देशका भाषा संस्कृति त कुटनीतिक दृष्टिले सान्दर्भिक नै मान्न सकिएला । उनीहरुलाई संस्कृत भाषाको जरुरी किन पर्यो ?
जो हिन्दी र नेपाली पढेका विद्यार्थी छन् , उनीहरुलाई संस्कृत जड लाग्यो । संस्कृत भनेको मूल चिज रहेछ भन्ने छ । मैले कक्षामा संस्कृत नजानीकन नेपाली र हिन्दी मात्रै पढेर तिमीहरु पूर्ण हुँदैनौ । संस्कृतमा के पढाइ हुन्छ ? यसमा श्रीमद्भागवत गीता, महाभारत पढाइ हुन्छ । चिनियाँले पनि पढाउँछन्, मैले पनि पढाउँछु । हाम्रो संस्कृति सबै पढाउनु पर्छ । पढाउँदा हाम्रो संस्कृत भाषा पनि जोडियो ।
मैले उनीहरुलाई ‘त्वमेव माता, च पिता त्वमेव..’ भनेर आमालाई, बुवालाई, गुरुलाई साथीलाई गर्ने व्यवहार के हो ? मैले संस्कृतमै पढाउँछु । श्लोक लेखेर त्यसको अर्थ बताइदिन्छु । सामान्य उनीहरुले बुझ्न सक्ने गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वर । किन हामीले गुरुलाई मान्ने ? व्यक्ति, समाज र राष्ट्रलाई किन मान्ने ? यी सबै कुरा संस्कृतसँग जोडिन्छ ।
चीनमा पढाउनु र नेपालमा पढाउनुको फरक के रहेछ ?
नेपालमा पनि मैले पत्रकारिता पढाइरहेको थिएँ । कलेजमा १५ वर्ष जति पढाएँ । तर चीनमा शिक्षकलाई असाध्य ठूलो सम्मान छ । चिनियाँ भाषामा लाउस्स भन्छ । कुनै रेल स्टेशन, बजार कहिँ पनि छुट हुन्छ । युनान विश्वविद्यालयको शिक्षक भनेपछि छुट हुन्छ । आर्थिक हिसाबले पनि निकै राम्रो सेवा सुविधा छ । एक सम्मान र अर्को आर्थिक सबलताको लागि गएको हो । र अर्को त्यहाँ अलि समय मिल्छ, शास्त्रीय अध्ययन गर्न पाइन्छ भनेर पनि गएको हुँ ।
म एक गृहस्थ ब्रह्मचारी हो । गृहस्थ भएपनि जीवनलाई ब्रह्मचारीय रुपमा बस्न पाए खुसी हुन्छु । परिवार काठमाडौंमा छन् । चार महिना पन्ध्र दिनमा नियमित नेपाल आउँछु । चार महिना पन्ध्र दिनको एक सेमेस्टर हुन्छ । त्यहाँ हुँदा बिहान पाँच बजे उठ्ने, रुद्री गर्ने, पाठ गरी भ्याउने, खाना बनाउने, विश्वविद्यालय जाने आउने एक तालिकामा चल्न पाउँछु । तर नेपालमा त्यो हुँदैन ।
चीनमा पढ्न जाने, काममा जानेहरु धेरै भइसके । त्यहाँ पनि कर्मकाण्ड गर्नुहुन्छ ?
हो कर्मकाण्ड पनि गरें । हाम्रै नेपाली दाजुभाइदिदीबहिनी पनि छन् । उनीहरुले दशैंको दुर्गा पूजा गराइदिनुपर्यो भने । टिकाको दिन टिका लगाइदिएँ । एकजना मित्रको श्राद्ध पनि गरिदिएँ । यता उनको दाइले गर्नुभएको रहेछ । हामीले खोलाको छेउमा गएर तर्पणादी कर्म गर्यौ । उनी खुसी भए ।
तपाईले जानेको कुरा जहाँ गएपनि गर्नैपर्ने हुने रहेछ । बेलायत, अष्ट्रेलिया, अमेरिकामा कर्मकाण्डको लागि अवसर पाएको थिएँ । त्यो अवसरलाई छोडेर विश्वविद्यालयमा पढाउन गएको हो । अमेरिकामा मसँग पढेको साथी कर्मकाण्डको लागि गए । मन्दिरमा पुजारी भएर बसेका छन् । मलाई आएको अवसरमा मैले अरुलाई पठाएँ ।
मलाई विश्वविद्यालयमा पढाउने ठूलो इच्छा थियो । ढाका टोपी कहिले पनि छोड्दिन । विशेष कार्यक्रमहरुमा दौरासुरुवाल नै लगाउँछु । पहिरन नेपालीको परिचय पनि हो । मेरो थप दख्खल भएकाले विद्यार्थीहरुलाई ज्योतिषशास्त्र पनि पढाउँछु । तिथि, बार, नक्षत्र यो कर्म उनीहरुलाई सबै आउँछ । सत्ताइस नक्षत्रको कुरा । किनभने ज्योतिषशास्त्रसँग संस्कृति जोडिएको छ । चिनियाँहरुको पनि तिथि छ । हामी सूर्य मान्छांै, उनीहरु चन्द्रमा अनुसार मान्छन् । मिल्छ पनि ।
हाम्रो पूर्णिमा भएको दिन कहिले अघिल्लो दिन कहिले पछिल्लो दिन हुन्छ । उनीहरु ज्योतिषमा पनि विश्वास गर्छन् । तर उनीहरुको आफ्नै ज्योतिषी छ । विवाह गर्दा ज्योतिषी हेराएर गर्छन् । जन्ममितिको आधारमा लेखेर कोरेर सबै गुण मिल्यो , राम्रो आयो भनेर ज्योतिषी आधारमा गर्छन् । विवाह गर्ने भएपछि बौद्ध गुम्बामा गएर धुप बाल्छन् । वृद्धहरु बसेका हुन्छन्, भोजन गराउने गर्छन् ।
राजनीतिक रुपमा एमसीसी, बीआरआरआईका विषयलाई लिएर नेपालमा राजनीति बाँडिएको छ । यी परियोजना समर्थन गर्ने र नगर्ने बीच अन्तर्राष्ट्रिय सम्बन्धमै खस्रो मसिनो देखिन्छ । एउटा प्राज्ञिक व्यक्तित्वको नजरले यो विषयलाई कसरी परख गरेको छ ?
एमसीसी , बीआरआई भनेको राजनीतिक पाटो हो । राजनीति पढाए हुँदा यी सबै पढ्छन् उनीहरुले । नेपालको राजनीतिक चरित्र पनि पढ्छन् । नेपालका सबै शीर्ष नेताहरुको बारेमा पढाएको छु । शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल, रामचन्द्र पौडेल र विद्या भण्डारी लगायत सबैको बारेमा पढाएको छु ।
माधव नेपाल चीन जाँदा मेरै विद्यार्थीले अनुवादको काम गर्छन् । माधव नेपालको चरित्र थाहा नपाई विद्यार्थीले अनुवाद गर्न सक्दैन । नेपाल को हो ? के हो ? भनेर पहिले पढाउनुपर्छ । प्रचण्ड जाँदा दोभाषेको काम पनि तिनै विद्यार्थीले गर्छन् । नेपालको राजनीतिक इतिहास सबै विद्यार्थीलाई थाहा छ । तर म कुनै पनि पार्टीको सदस्य छैन । विश्वविद्यालयमा काम गर्दासम्म कुनै पार्टी सदस्य बन्न मिल्दैन । भोट हाल्छु आफ्नो अधिकार प्रयोग गर्छु । जागिर पछिको अवस्था अहिले भन्न सकिन्न ।
हालसालै काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल चीन जानुभएको थियो । अब अनुवाद गर्नुपर्ने भयो । उनको बारेमा विद्यार्थीले सोधे । नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता, एमालेको मान्छे हो, उपमेयर हो भनेर सबै पढाएँ । दोभाषे काम गर्न जानुअघि उनीहरुलाई कक्षामा पढाएर पठाउनुपर्छ । बालेन जाने भनेर पढाइसकेको थिएँ, तर उनको कार्यक्रम स्थगित भयो ।
नेपालका नेताहरुको कार्यशैली, जीवनशैली बारेमा सुन्दा उनीहरुको कस्तो प्रतिक्रिया हुन्छ ?
नेपालको नेताहरु सबै कुरा हुन्छ भन्छन्, तर काम किन गर्दैनन् ? भनेर प्रश्न गर्छन् । उनीहरुको चलन जे गर्छु भन्यो नि त्यो दत्तचित्त लगाएर गर्छन् । उदाहरणको लागि माधव नेपालले कुन्मिङको कार्यक्रममा यो गर्छु र त्यो गर्छु भन्नुभयो । पछि काम केही भएन । उनीहरु निराश भए । नेपाल मात्रै नभएर नेपालका सबै नेताले गफ दिने हो, काम गर्दैनन् ।
त्यसकारण चीनको प्राथमितामा नेपाल परेको छैन । लाओस, भियतनाम, काजकिस्तान, मंगोलिया, रुस, उत्तरकोरिया, कम्बोडिया लगायत उनीहरुको १४ वटा देशसँग सीमा जोडिएको छ । उनीहरुले दिने सहयोग, छात्रवृत्तिमा नेपाल कम प्राथमिकतामा पर्छ । नेपालका राजनीतिक दल, अवस्था, नेताहरुको काम गर्ने शैलीको कारण अन्य देशको तुलनामा कम भएको छ ।
चिनियाँले अझै बढाउने भनेको त्यो देशको भ्रमण । चीनले यति पाहुना बोलाउँछ कि कुनै दिन कुनै प्रान्त खाली हुँदैन । भ्रमण पनि सफ्ट पावर जस्तै हो । नेपाल मात्रै नभएर हाम्रो विश्वविद्यालयमा बंगाली, श्रीलंकन, पाकिस्तानी, लाओस लगायत विश्वका सबै देशबाट पाहुना आउँछन् । विदेशी नआएको कुनै पनि दिन हुन्न । हरेक दिन डेलिगेसन आउँछ । विदेशीलाई कुनै न कुनै रुपमा देखाइरहने पोलिसी हो । घुम्दा, देख्दा नयाँ आइडिया आउछ । त्यहि अन्तर्गत नेपालीलाई पनि गराइराखेका छन् । अझ अरु देशको तुलनामा नेपालीहरुको भ्रमण थोरै हो ।
चीनमा तपाईंको सेवा अवधि कति छ ?
६ वर्ष भयो त्यहाँ पढाएको, अब दश वर्ष पढाउँछु भन्ने छ । अवकासमा उपदान जस्तो मिल्छ । पेन्सन हुँदैन । अहिले पनि विश्वविद्यालयले आवास, खाना, नेपाल आउने जाने खर्च, उपचार लगायत उनीहरुले शिक्षकलाई दिने सेवासुविधा सबै छ । सुरुमै समझौता गरिएको हुन्छ, त्यहि अनुसार चल्ने हो ।
चीनमा १८ वटा विश्वविद्यालयमा हिन्दी, ४ वटामा नेपाली, मध्य युनानको ४ वटा विश्वविद्यालयमा एमएसम्मको पढाइ हुन्छ । अरु ३ मा नेपालीको स्नातक तहसम्म पढाइ हुन्छ । ७ वटा हिन्दीमा एमए पढाइ हुन्छ । अरु विश्वविद्यालयमा स्नातक तहको पढाइ हुन्छ । मैले छोडेर आउँछु भनेपनि चीनले मलाई छोड्नेवाला छैन ।
चीनमा विद्यार्थीबाट भोटिङ हुन्छ, विद्यार्थीको उत्कृष्ट भोटिङमा परेको छु । २०२० पनि अर्को विश्वविद्यालयमा उत्कृष्ट विदेशी शिक्षक भए । हाल पनि त्यो कायम छ । नेपाली भाषा पढाउने म एक्लै छु । युनानको मेट्रो विश्वविद्यालयमा चिनियाँ भाषामा एमए गरेको निरज महर्जनलाई राखेको छ । डीबी कट्टेल ‘क’ वर्गको वैज्ञानिक भएर काम गरिरहेका छन् । हामी शिक्षक ‘ख’ वर्गको हुन्छौ । ३ र ६ महिने कोर्स पढाउन धेरै जाने आउने गर्छन् ।
बनारसमा बसेर सांस्कृतिक भारतलाई नजिकबाट हेर्नुभयो । चीनमा रहेर त्यहाँको समृद्धि देख्नुभएको छ । यी दुई दृश्यबीच हामी कहाँ छौं ? ती दुई देशबाट हामीले विशुद्ध सिक्नुपर्ने विषय के हुन् ?
भूगोलको हिसाबले हामी शक्तिशाली देशको बीचमा छौ । मलाई सबैभन्दा बढी मन पर्ने ठाउँ बनारस हो । किनभने बनारस कर्मभूमि हो, मैले त्यहाँबाट सबै सिकें । पढ्ने, पर्यटक घुमाउने, संस्कार, संस्कृति, खानपान सबै सिकें । अहिले पुरानोबाट आधुनिक बनारस बनेको छ । २०१० सम्म बनारस ढाँचा बेग्लै थियो ।
साँढे, साधुुसन्त, विद्धान, जेगी, भोगीसँग संवाद हुन्थ्यो । त्यहाँ बस्दा हरेक दिन गंगामा गएर सिंढीमा सुतियो । छानो भनेको आकाश थियो । एउटा तन्ना ओछ्याउने, सिरानी लैजाने र सुत्ने । हामीजस्ता हजारौ मान्छे सुत्थे । त्यति सुरक्षित थियो त्यो ठाउँ । घाटमा सुतेर आएको हुँ । खिचडी पाइन्थ्यो, पैसा नलाग्ने ।
खान, बस्न चिन्ता नभएको ठाउँ हो । साधु सभ्यता भएको स्थान हो । नेपालमा त्यो खालको छैन । चीनमा पूर्वीय संस्कृति छ । उनीहरु खाली विकास, विकास भनेर हिँडिरहेका छन् । बनिरहेको संरचना पनि भत्काएर अर्को बनाइरहेका छन् । अध्ययन अध्यापन अनुसन्धानमा २०१५ देखि अनवरत लागिरहेका छन् । त्यही अन्तर्गत हरेक विश्वविद्यालयमा पढ्ने र पढाउने काममा विदेशीहरुलाई लिने चलन बढिरहेको छ ।
भारत र चीनसंग के त्यस्ता सांस्कृतिक संस्कार छन, जो हामीले सिक्न योग्य छन् ?
मैले भारतीयहरुसँग धेरै संगत गरे । अहिले पनि राम्रो सम्बन्ध छ । म नेपाल र भारतको संस्कृतिको विद्यार्थी हुँ । भारतीय र चिनियाँ संस्कृतिलाई अबलम्बन गर्ने भन्दा पनि आफ्नै मौलिक गर्नुपर्छ । तर हामी सबैथोकमा हराउँदै गएका छौं । संस्कृति, नीति नियम, प्रशासनमा परनिर्भरता देखायौं । अर्को नेपालीमा निराशा बढिरहेको छ । यसको जग फेरि राजनीति हो । नेतृत्व गर्नेहरुले आशा जगाउन सकेनन् ।
यसलाई माथिबाट नसुधारेसम्म तल सुध्रिदैन । भारतमै मोदीको युग आएपछि धेरै परिवर्तन गरेको छ । बनारस कायापलट भयो, अयोध्या बन्यो । सडक बनेको छ । सय भन्दा बढी विमानस्थल बने । निर्माणको काममा धेरै फड्को मारेको छ । तर नेपालले कहिँबाट लाभ लिन सकेन । भारत र चीन कतैबाट पनि लाभ लिन सकेनांै । दुवै देशले हामीलाई विश्वास नगर्ने भैसके । उनीहरुबाट लिनुपर्ने राम्रो कुराहरु लिन पनि सकेनौ । हामी छरियौं ।
युरोप, अमेरिका र अष्ट्रेलियाको राम्रो कुरा गर्न थाल्यौं । नेपाललाई सुधार्न धेरै टाढा जान पर्दैन । छिमेकी दुई देशलाई सन्तुलन मिलाएर हाम्रो आवश्यकता के हो ? त्यो चिजलाई महसूस गरेर अगाडि बढ्ने हो भने हामी समृद्धिमा पुग्छौ ।
बुँदागत भन्नुपर्दा भारत र चीनबाट नेपालले के के लिनसक्छ ?
भारतसँग खुला सीमाना छ, विकास निर्माणका कामहरुमा सहकार्य गर्न सक्छौ । तराई र पहाडी क्षेत्रमा पूर्वाधार निमार्ण गर्न सक्छौ । चीनले हिमाली क्षेत्रहरुको समस्या समाधान गर्न चाहन्छ । नेपालले चीनसँग यो चाहियो भनेर मागेन । सडक निर्माणको लागि हामीले दुवै देशसँग सहकार्य गर्नुपर्छ । सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ । विकासको पहिलो पूर्वाधार सडक हो । सडक पनि बडेमानका बनाउनुपर्छ । पूर्वाधार यस्तो बनाउनुपर्छ कि आउँदो दुईचार पुस्ता लाभान्वित हुन सकोस् ।
मोदीले करोडौं भारतीयलाई बनारस घुमाए । अहिले अयोध्या त्यस्तै भइरहेको छ । हरेक मान्छे जीवनमा उकपटक बनारस अयोध्या हरिद्धार पुग्न चाहन्छन् । विकास यसरी हुन्छ । हामीले देवघाट, पाथिभरा, हरिहर क्षेत्र, पशुपति लगायत आफ्ना ठाउँको परिचय दिन सकेनौ । धार्मिक क्षेत्रलाई व्यापक बनाएर जाने हो भने पनि विकास गर्न गाह्रो छैन । भारतले सानो चिजलाई ठूलो महत्वको बनाइदिन्छ ।
चीनबाट हामी अर्को विकास निर्माण सिक्न सकिन्छ । त्यहाँ धेरै सस्तोमा प्रविधि सिक्न सकिन्छ । सुरुङमार्ग र रेलमा संसारमै पहिलो छ । सडक यातायात विकास नेपालमा ल्याउन सक्यौं भने अरु हामीलाई केही चाहिँदैन । पूर्वाधार विकास गरियो भने मान्छे आइहाल्छन् । त्यहाँबाट सुशासन पनि सिकिने भयो । चीन र भारतमा पनि भ्रष्टाचार छ, तर त्यसलाई कन्ट्रोल गर्ने संयन्त्र छ । भारत र चीनको यात्रामा चीनको चार प्रान्त जति घुमे समग्रमा चीन भिडियोग्राफीमा हेरेको छु । चीनको लागि नेपाल भनेको निकै सानो टोल हो । चीनको साना प्रान्तले मात्रै हेरिदिए मात्र पनि नेपाललाई पर्याप्त हुन्छ ।
गणतन्त्र आयो तर त्यो समाज, देश, जनता र इमानसँग जोडिएन । चीनमा पनि गणतन्त्र आएपछि यस्तै समस्या भएको थियो । माओसेत्युङले सयजनालाई गोली ठोकेको हो । नेपालको सहकारी समस्या अहिले जस्तो छ, चीनमा त्यस्तै थियो । सहकारी ठगहरुलाई गोली ठोकेर मारिएको थियो ।
अहिले चीनमा सहकारी छैन । सहकारी भनेको नागरिक लुट्ने ठाउँ रहेछ । ०६० को दशकसम्म सहकारी त्यहाँ पनि थियो । देङ सियाओपिङ आर्थिक क्रान्तिको एजेण्डा लिएर आए । अहिले सरकार बलियो छ । त्यहाँ जनता गरिब तर देश धनी छ । नागरिकहरुले नै हामी गरिब भएपनि देश धनी छ भन्छन् । सरकार बलियो, जनता कमजोर छन् ।
नेपालमा ठिक उल्टो छ । जनता धनी, सरकार गरिब छ । भारतमा मोदीले देशलाई बलियो बनाउन खोजेका छन् । संसारकै सबैभन्दा धेरै गरिब भारतमै छन् । तर चीनमा माग्ने भने देखिन । भारतमा जहाँ पनि माग्नेहरु भेटिन्छन् । चिनियाँहरुको खाने र काम गर्नेसँग मात्रै सरोकार छ । भारतीयहरुको खानपानमा ध्यान छैन । हाम्रो सभ्यता सिके चिनियाँहरुले, उनीहरुले सुर्यास्त भन्दा अगाडि खान्छन् । भारतीयहरु १२ बजे राती खाने गर्छन् ।
नेपालका तीर्थस्थलहरुमा आवश्यक पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके दुवै देशका धार्मिक पर्यटकबाट लाभ लिन सक्ने सम्भावना कतिको देखिन्छ ?
चीनबाट बुद्धिस्टहरु ल्याउन सकिन्छ । त्यहाँ २५ करोड जनसंख्या बुद्धिस्टमा आस्था राख्छन् । तिनीहरुलाई हाम्रो गुम्बाहरुमा ल्याउने । भारतकालाई पशुपतिनाथ, मुक्तिनाथलाई प्रवद्र्धन गर्न सकियो भने सबैभन्दा सम्भावना देख्छु । चीन र भारतबाट धार्मिक पर्यटक भित्र्याउन सडक हुनुपर्छ । उनीहरुको गुनासो नै नेपालमा सडक भएन भन्ने हो ।
भारतमा चौडा–चौडा सडक बनेको छ । जहाँ जान पनि सुविधा छ । नेपाल आउँदा सानो सडक देख्छन् , गाडीहरु अव्यवस्थित देख्छन् । अनि उनीहरु डराउँछन् । उनीहरु नेपाल घुम्न नआउनुको पहिलो र अन्तिम कारण भनेकै सडक हो । अर्को सरकारबाट स्वीकृतिप्राप्त हाइजेनिक फुड यहाँ पाइँदैन । भारतमै पनि खानेकुराहरु सरकारबाट मान्यता प्राप्त हुन्छ । त्यस्तै हामीले दिने प्याकेजहरुमा सहुलियत छैन । यहाँ त तलदेखि माथिसम्म पर्यटक ठग्ने प्रतिस्पर्धा चल्छ ।
सरकार र निजीक्षेत्रले सहकार्य गरेर पर्यटन प्याकेज दिनुपर्छ । यिनै कुराहरु नहुँदा पर्यटक ल्याउन सकिएको छैन । मान्छे खर्च गर्न आउने हुन् । एक पर्यटक आउँदा विमानस्थलदेखि ट्याक्सी, होटल, सपिङ सबैले आयआर्जन गर्न पाउँछन् । अन्तिममा उसले फर्किंदा मन्दिरमा दिने दानदक्षिणासम्म हुन्छ ।
भारत आफैंमा ठूलो देश छ । हिन्दुमार्गी पनि फरक फरक सम्प्रदायका छन् । त्यसो हुँदा उत्तर भारत, दक्षिण भारतका भक्तहरुले नेपालका कुन तीर्थस्थललाई कस्तो महत्व दिन्छन् ?
दक्षिण भारतीयहरुको प्राथमिकतामा पशुपति र मुक्तिनाथ पर्छ । उनीहरु असाध्यै आध्यात्मिक र सरल हुन्छन् । जीवनमा उनीहरु एकपटक मुक्तिनाथ जान चाहन्छन् । उनीहरुको लक्ष्य नै हुन्छ शालिगरामको पूजा । अझ कालीगण्डकी नदीमा स्नान गर्नुलाई जीवनकै ठूलो उपलब्धि ठान्छन् ।
उत्तर भारतीय घुम्ने, मिले पशुपतिको दर्शन गर्ने गर्छन् । पशुपतिको यात्रा सिद्राको व्यापार भनेजस्तै हो । अर्को मौसमका हिसाबले गर्मी छल्न नेपाल आउन चाहने भारतीयहरु धेरै हुन्छन् । एकपटक मैले मेरो नेटवर्कमा ‘गर्मीसे बेहाल, चलो नेपाल’ भन्ने अभिया नै चलाएँ । गर्मीको राहतको लागि आउँछन् । अर्को उनीहरु आउने मुख्य आधार भनेको पशुपति नै हो । अहिले नेपालको पर्यटन क्षेत्र भारतीयहरुले धानेका छन् । अन्य देशका निकै कम आउँछन् ।
त्यस्तै चीनबाट बुद्धिस्टहरुलाई नेपाल ल्याउन सकियो भने सम्भावना धेरै छन् । म लागिरहेको छु । पढाइबाट फुर्सद भएको बेला शनिबार र आइतबार चीनमा बुद्धिस्ट मन्दिर र लामाहरु कहाँ–कहाँ छन् ? उनीहरुलाई नेपाल कसरी लैजाने भनेर काम गरिरहेको छु । ट्राभल एजेन्सी छ मेरो । त्यस्तै धार्मिक पर्यटक ल्याएर बौद्धनाथ, स्वयम्भु, लुम्बिनी, बौद्ध तीर्थ घुमाउने हो । भारतीयहरुलाई हिन्दु र बौद्ध दुवै तीर्थ घुमाउने हो ।
हाम्रो देश धर्म संस्कृति देखाउने हो । मलाई पत्रकारिता गर्दैखेरि यसमा रुचि थियो । पहिले पनि बिहान पाँच बजे पशुपतिमा पुगेर ८,१० जनालाई पशुपति घुमाइदिन्थे । प्रोफेसर भएपछि पनि आफ्नो रुचिको काम छोडेको छैन । मेरो पेशा जहाँ गएपनि छोड्दिन । यो विदामा पशुपतिमा सयौ पर्यटकलाई घुमाइसकें । मठ मन्दिर घुमाउँदा निकै आनन्द हुन्छ । देवस्थलमा उर्जा प्राप्त हुन्छ ।
चीनको नयाँ पुस्तालाई देशको संस्कृति पढाइ राख्नुभएको छ । तर देशमा सनातन धर्मका नाममा आयोजित महायज्ञका गतिविधि आलोचित छन् । कथावाचकको आचरणमाथि प्रश्न उठेका छन् । के भन्नुहुन्छ ?
पछिल्लो समय यस्ता पुराणहरुले पैसा उठाउने मात्रै काम गरे । यस्ता कार्यक्रममा पुराण, शास्त्र, संस्कृतिको कुरा हुँदैन । आमा, बुहारी र छोराको कुरा हुन्छ । हुनुपर्छ । तर ती विषय शास्त्रसँग जोडिएर आउनुपर्छ । बलवानको कुरा आउँदा भिमको कुरा हुन्छ, सीताको कुरा हुन्छ । शास्त्रको मर्यादा विपरीत नाचिरहेका छन् । मानिसहरुलाई हिप्टोनाइज गर्ने काम गरिरहेका छन् ।
हाम्रो संस्कृतिमा पुराण भन्नेले कपाल फैलाएर गर्न मिल्दैन । कपाल छोप्नुपर्छ । महिलाहरु कपाल फिँजाएर पण्डालमा बसेका छन् । ब्युटिपार्लरमा गएर आएर व्यासनमा बस्छन् । हरेक मानिसमाथि देव, पितृ र ऋषि गरेर तीनवटा ऋण छन् । त्यो तिर्नुपर्छ । पुराणलाई तडकभड र अर्थोपार्जनसँग जोडे । शास्त्रले ‘कर्म गर फलको आशा नगर’ भन्छ । त्यहि भएर जसले जस्तो कर्म गरेको छ, त्यस्तै फल प्राप्त गरेको छ । सुन्नेले होइन पुराण भन्नेले भोग्नुपर्छ ।
धार्मिक गुरुहरुमा स्वयं भगवान बन्ने लालचमा किन आउँछ ? धर्मको आवरणमा आउने यस्ता ठगहरुलाई कसरी चिन्ने ?
भगवान् भनेको पशुपतिमा विराजमान शिवलिङ्गलाई हेर्ने दृष्टिकोण हो । भगवान त्यस्ता–त्यस्ता ठाउँमा बस्नुहुन्छ । बुढानिलकण्ठ जाँ विष्णु देख्छु, पशुपति जाँदा शिव देख्छु । स्वयम्भु जाँदा बुद्ध देख्छु । अहिले धर्मलाई गाइड गर्नेहरु आफैं भगवान बन्ने प्रयास गरिरहेका छन्, जुन गलत छ । भारतमा पनि यस्ता नक्कली साधुसन्त धेरै छन् । यिनीहरु गेरु वस्त्रधारी ठग हुन । साधना र कर्म जस्तो गर्यो त्यस्तै फर्कने हो ।
यिनीहरुलाई लवाइ, बोली, जीवनशैली, प्रवचनबाटै प्रष्ट चिन्न सकिन्छ । दारी पाल्ने, फेसन गरेको छ, ब्युटी पार्लर धाएको छ । कथा वाचन गर्नेहरु ब्युटीपार्लर नगई व्यासमा जादैनन् । त्यो बनावटी बनेर गएको हो । सबै माहोल नक्कली छ ।
साधनाबाट आएको चमक पो प्राकृतिक हो । भारतमा यस्ता साधना गर्ने धेरै छन् । तर उनीहरु प्रचारमा आउदैनन् । महिलाहरु साधुसन्त छन् । उदाहरणको लागि भन्छु , पशुपतिमा एक सदाशिवम् नामका साधु आउनुभएको थियो । म उहाँको सेवा गर्न गएको थिएँ ।
म बसिरहेको थिएँ, साधुले ‘तल जाउ एक महान् भ्रष्ट मान्छे आएको छ’ भन्नुभयो । तल गएर हेर्दा अचम्म परें, उहाँ अख्तियारमा पर्नुभएको सरकारी अधिकारी हुनुहुन्थ्यो । यो साधनाको सामथ्र्य हो । व्यसासनमा बस्नेको पद हुन्छ । नीति नियम हुन्छ । संकल्प गरेर मात्रै त्यहाँ गएर बस्नुपर्छ । दण्डहिनता र अनुशासन भारतमा पनि छ । तर चीनमा गल्ती गर्ने एकजना पनि छुट्दैन । सी जिनपिङ सत्तामा आएपछि ८ लाख भ्रष्टाचारीलाई खोरमा हाले ।
तपाईंको परिचयसंग ज्योतिष पनि जोडिएको छ । ज्योतिषशास्त्रका अनुसार देशको भविष्य कस्तो छ ?
शासकहरुका लागि आउँदो समय अनुकूल छैन । उनीहरुका लागि कठिन दिन आउँदैछ । फेरि पनि सरकार परिवर्तन हुने देखिन्छ । फेरि गुटबन्दी आउँछ । घरको मुली र संस्थाको मुली हरेक कुरामा होसियार हुनुपर्छ । त्यो नभएको कारण संकट आउने हो । शासकले व्यक्ति, समाज, राष्ट्रको काममा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ ।
हाम्रो नेपालमा शासक नै कमजोर भए । यी शासकहरुले जनताबाट अपमानित हुने अवस्था आउँछ । देश छोडेर हिँड्न पर्ने हुन सक्छ । शनि र मंगल ग्रह चलिरहेको छ । शासकले गर्ने कर्तव्य नगर्दा जनता पीडित भएका छन् । ग्रह र नियत दुवैले यिनीहरुलाई घुमाइरहेको छ ।
प्रतिक्रिया