दोलखा– शिक्षकहरूलाई समयमै उपस्थित भई नियमित पठनपाठन गराउन दोलखाको वैतेश्वर गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ ।
विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।
गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी सुरु गरिएको वैतेश्वर गाउँपालिकाकाका अध्यक्ष छबि लामाले बताए ।
विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा नसुन्न र गुणस्तरीय शिक्षामा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी सुरु गरिएको अध्यक्ष लामाको भनाइ छ ।
गाउँपालिकाले माध्यमिक तहका ८ र आधारभूत तहका ४ वटा विद्यालयमा ई-हाजिर जडान गरेको हो । गाउँपालिकाको हनुमन्तेश्वर मावि, जनज्योति मावि, कालिढुङ्गा मावि, वैतेश्वर मावि, कालिका मावि, विष्णु मावि, जलदेवि मावि, क्षत्रवति मावि तथा आधारभूत तहका ४ वटा विद्यालयहरु कालिदेवि, वुस्ती, धर्मसाला र जाल्पादेवि आधारभूतमा पहिलो पटक विद्युतीय हाजिरी सुरु गरिएको पालिकाका सूचना प्रविधि शाखा प्रमुख मनिक दाहालले जानकारी दिए ।
विद्युत्, कम्प्युटर, इन्टरनेट र अन्य आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेसँगै विद्युतीय हाजिरी सुरु गरिएको उनले बताए ।
शाखा प्रमुख दाहालले विद्यालयमा पुगेर हाजिर जडान गरी शिक्षकहरूलाई प्रणाली प्रयोग सम्बन्धी अभिमुखीकरण समेत दिएका थिए ।
विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ । शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै सुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिकाले जनाएको छ ।
विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको कालीदेवी आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल अधिकारीको भनाइ छ। शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भए पनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ।
गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तर बाटै छड्के अनुगमन तथा विद्यालयमा संचालन हुने परीक्षाको अनुगमन गर्ने गरिएको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।
पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि ई हाजिरीको व्यवस्थापन गरिएको उपाध्यक्ष उप्रेतीको भनाइ छ ।
गाउँपालिकाले वडा कार्यालय तथा स्वास्थ्य चौकी तथा अन्य सरकारी कार्यालयहरूमा पनि ई- हाजिरी लागु गरेको छ।
-सुबास बस्नेत
प्रतिक्रिया