ब्रेकिङ स्टोरी

पहिरोले संघीय राजधानी जोड्ने तीन ठूला सडक ठप्प

By खबरहब

September 27, 2024

काठमाडौं– दुई दिनदेखिको बर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढेको छ ।

खासगरी संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने तीन ठूला सडक पहिरोका कारण ठप्प भएका छन्।

मुग्लिङ-काठमाडौं सडकअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९ सुरुङमार्ग र सिम्लेमा लेदोसहितको पहिरो खसेकाले यातायात ठप्प भएको छ ।

पहिरोका कारण मुग्लिङ-नागढुङ्गा सडकखण्डको सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उता मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ र ४ मा खसेको पहिरोका कारण फाखेल र सिस्नेरीबाट हेटौंडा जाने र आउने सवारी आवागमन प्रभावित भएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसय बेँसीमा खहरे खोलाले ह्युम पाइप बगाउँदा सवारी आवागमन आंशिक प्रभावित भएको छ ।

अहिले त्यहाँ एकतर्फी सवारीसाधन सञ्चालन गरिएको छ । उता मुग्लिङ-नारायणगढ र मुग्लिङ-पोखरा सडकमा भने सामान्य अवस्थामा सवारीसाधन चलिरहेका छन् ।