मनोरञ्जन

‘लापत्ता सन्तान’ : वृद्धाश्रम पुगेकी एउटी आमाको कथा (भिडियोसहित)

By खबरहब

October 27, 2024

काठमाडौं- रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ मल्टिमिडिया प्लाटफर्म युट्युबमा सार्वजनिक भएको छ ।

आफ्ना सन्तानको भविष्य र खुसीका लागि आमाबुवाले गरेको सङ्घर्षको कथा यसमा देखाइएको छ । अर्कातर बुढेसकालमा तिनै सन्तानका कारण वृद्धाश्रममा पुगेकी आमाको कथाले फिल्मलाई मार्मिक बनाएको छ।

रामजी ज्ञवालीद्वारा निर्देशित सर्ट फिल्म ‘लापत्ता सन्तान’ शुक्रबार युट्युबमा रिलिज भएको हो । २० मिनेटको यो फिल्मको कथाले बोल्ने सन्देश वर्तमान सामाजिक परिवेशसँग मिल्ने खालको छ।

यस फिल्ममा जीवनको उत्तरार्द्धका सहाराका रुपमा बुढेसकालमा जन्माइएको छोरो हुर्किसकेपछि बदलिएको परिस्थितिलाई वर्णन गरिएको छ। आर्थिक रुपमा धनी नहुँदासमेत खेतबारी बेचेर चीन पठाएकै छोराले गरेको अवहेलनाका कारण आमा वृद्धाश्रम पुगेको कथा यसमा छ ।

छोरो डाक्टर बनेर फर्किएपछि गौरव गर्ने उनै आमालाई उसको बिहेपछि धक्का लाग्छ । छोराले काठमाडौंमै घरजम गरेर बंगलासमेत किन्छ । बुवाको निधनपछि उसले आमालाई सहरमा ल्याउँछ ।

सहरमा आएकी आमा र उसकी श्रीमतीबीच कुरा  मिल्दैन। त्यहीकारण आमाका लागि छोराको घर साँघुरो बन्छ। त्यहीकारण आमा वृद्धाश्रममा जान्छिन्। फिल्मको कथाबारे थाहा पाउन एक पटक युट्युबमा जानै पर्ने हुन्छ ।

यस फिल्ममा रश्मी भट्ट, अर्जुन आचार्य, आजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।