सङ्कटमा पर्दै आरन व्यवसाय « Khabarhub

सङ्कटमा पर्दै आरन व्यवसाय


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन-  फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो । आधुनिक उपकरणबाट निर्मित आयातित औजारले प्रभाव जमाउनु अघिसम्म आवश्यक देवीदेवताका मूर्तिदेखि घरायसी औजार आरनबाटै बनाइन्थ्यो ।

विगतमा यो व्यवसाय ग्रामीण समाजमा निकै प्रचलितत भएकामा अहिले आरनका साथै नयाँ पुस्ताले यसमा चासो नदिँदा संरक्षणमा चुनौती बढेको छ । बागलुङको निसीखोला गाउँपालिका–३ का ७३ वर्षीय वीरबहादुर विकले अघिल्लो वर्षसम्म आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आएकामा बुढ्यौलीले गर्दा अहिले काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनका दुई भाइ छोराले पनि सानैदेखि यो काममा चासो नै दिएनन् ।

घरेलु औजार बनाइदिएबापत गाउँलेबाट धान, गहुँ, मकैजस्ता खाद्यान्नको बाली उठाएर परिवारको गुजारा चलाउने गरिन्थ्यो । आफूले १०/१२ वर्षदेखि नै आरनमा काम गर्न सिके पनि अहिलेका युवाले यसप्रति चासो नदिएको उनको गुनासो थियो । “यो हाम्रो पुर्खौँदेखिको पेसा हो, मेरा बाउ, बाजे र जिजुबाले आरनको कामबाटै हामीलाई पालेका हुन्, हामी पनि त्यही काम गरेर यो उमेरसम्म आइपुगेका छौँ, अहिले मेरा हात पाखुराले काम गर्न छोडे, आँखाले देख्न छोडे, त्यही भएर काम गर्न सकिएन,” उनले भने, “मेरा नातिहरूले पनि यो पेसा गर्नतर्फ ध्यान दिएनन्, पहिले गाउँमा पनि धेरैले आरन चलाएका थिए, अहिले त धेरै घटे, यो पेसा बचाउन नसकिने भयो ।”

निसीखोला–४ का ६५ वर्षीय हीरामान सुनारको आरन व्यवसायबाटै परिवार अहिलेसम्म जसोतसो चल्दै आएको छ । उनले लामो समय बालीघरेको रुपमा कामसमेत गरे । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नु परेको नमिठो अनुभव पनि हीरामानले सुनाए । पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकोमा अहिले निकै कम भएको उनको भनाइ थियो ।

सुनारले आफूले दुई दशक बढीसमयसम्म बालीघरेका रुपमा काम गर्दा धेरै समस्या भोग्नु परेको बताए । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको छ । बजारमा थुप्रै रेडिमेड फलामका सामग्री पाउन थालेपछि आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्नाका साथै बालीघरे प्रथा नरहेको उनको भनाइ थियो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले सबै पेसालाई संरक्षण गर्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको बताए । पछिल्लो समय ग्रामीण क्षेत्रमा प्रचलित धेरै व्यवसाय धरापमा पर्दै गएकाले त्यसलाई संरक्षण गर्न अनुदान दिनाका साथै आधुनिकीकरण गर्न र नयाँ पुस्तालाई यसप्रति आकर्षित गरेर स्वरोजगार बनाइने उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ३८ बजे

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा

न्युयोर्कमा अत्यधिक चिसो, १४ जनाको मृत्यु

एजेन्सी – गएको हप्ता देखि न्युयोर्क सहरमा चिसोका कारण १४

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा’

भैरहवा– रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण बजारको चहलपहल

६ महिनामा साढे १० खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा साढे १०